अविनाश श्रेष्ठ 

कवि-लीला : नाङ्गै नुहाउने सनक

सङ्क्रमणकालबाट गुज्रिरहेको देश दुर्दशा भोग्न बाध्य। जनता दुःख पाउन विवश। चारैतिर हाहाकार। जताततै आतङ्क। हत्या। अपहरण। बम-विस्फोट। आगजनी। लुट। धम्की। जबरजस्ती चन्दा। सामूहिक नरसंहार। बलात्कार। अर्काको जग्गा, धनसम्पत्ति कब्जा। बन्द। हडताल। चक्काजाम। झन् त्यसमाथि थपिन आइपुगेको ‘मधेस एक प्रदेश’को बबन्डर। तराई बन्दको अन्तहीन सिलसिला। मट्टीतेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यासको अभाव र कालोबजारी। जनतामा जताततै वितृष्णा, हाहाकार र हताशा। महँगी। आधा पेट। पैसाको अवमूल्यनभन्दा चर्को अवमूल्यन मान्छेको, मानवताको। यी सबै भद्रगोलको कारक- टपरटुइँया राजनीतिबाजहरूको अत्यन्त विवेकहीन फोहोरी राजनीति।

देश यस्ता सिलसिलाबद्ध राजनीतिक पासोहरूमा पररिहेका बेला एक जना चर्चित कविलाई सार्वजनिक स्थलमा नाङ्गै नुहाउने कुत्सित सनक चढ्यो। यो कुरो उसले एक जना अन्तरङ्ग मित्र कविलाई सुनायो। मित्र कविले हौस्यायो, “तिमी साँच्चिकै त्यसरी नाङ्गै नुहाउने नै हौ भने म धाराप्रवाह कविता सुनाउँला हुन्न?”

दुवैका कुरा एकजना छुद्र बुद्धिको तर प्रत्युत्पन्नमति भएको साहित्यकारले छेवैमा उभिएर सुनिरहेको थियो। प्रकटमा उसले दुवैलाई प्रोत्साहितै गर्‍यो तर भित्रभित्रै भने नाङ्गै नुहाउन चाहने कविलाई कसरी बदनाम गर्ने भन्ने व्यूह रचनामा उसको षड्यन्त्रकारी दिमागी द्रुतगतिमा दगुर्दो थियो।

दुवै कवि नाङ्गै नुहाउने र कविता पाठ गर्ने दिन र स्थान तय गरेपछि छुट्टिए।

नग्न-स्नान र कवितापाठ

कवि लहडमा एकएक गरी वस्त्र फुकाल्दै गयो उसले। अन्तमा गन्जी र कट्टु पनि फुकालेर फ्याँक्यो। ऊ जन्मँदा जस्तो थियो, त्यही रूपमा देखियो। अर्थात् र्सवाङ्ग नाङ्गो। त्यसपछि ऊ मजा लिई-लिई शरीरमा पानी खन्याउँदै, साबुन दल्दै मस्त नुहाउन थाल्यो।

मान्छे उसले त्यसरी निर्लज्ज बनी नाङ्गै नुहाइरहेको देखेर व्यङ्ग्यपूर्वक हेर्दै जान्थे। कोही हाँस्दै जान्थे। कोही कविको अघोरी चाला देखेर मुख छोप्थे, लजाउँथे। कोही कोही बटुवा भने ‘ए के गरेको यस्तो लाजैमर्दो?‘ भनी कराउँदै जान्थे। ठिटीहरू कर्के आँखाले पुलुक्क हेर्थे र आँखा बटार्दै सराप्न थाल्थे, “छिः छाडा, मात्तेको बूढो !!”

कविलाई पर्वाह थिएन कसैको। ऊ मनमनै सोचिरहेथ्यो, “नाङ्गो हुनु, सार्वजनिक स्थलमा नाङ्गै नुहाउनु मेरो स्वेच्छा हो, अधिकार हो, लहड हो, दुस्साहस हो। यससँग अरूलाई के मतलब?”

मित्र कविले छेवैमा उभिएर कविता भट्याइरहेथ्यो:

नाङ्गै छ आकाश/नाङ्गै छ धरती

नाङ्गै मुस्कुराइरहन्छन् तारा-जून

नाङ्गै नाच्दै झर्छन् उल्कापिण्ड।

ऊ धक फुकाएर नाङ्गै नुहाइरह्यो।

मित्र कवि सबथोक बिर्सेर आनन्दमा डुबुल्की मार्दै कविता सुनाइरह्यो।

यस दृश्यले रोम जलिरहँदा निरोले बाँसुरी बजाइरहेको दृश्य सम्झना गराउँदैनथ्यो भन्न मिल्दैन।

कवि नाङ्गै नुहाउनमा कति निमग्न थियो भने एकजनाले मोबाइल फोनमा जडित क्यामराको एक मिनेटको मेमोरीले चलचित्र खिचेको उसलाई हेक्कै भएन। अर्कोले डिजिटल भिडियो क्यामरा लिएर आयो र खिच्न थाल्यो भकाभक। तर, यीभन्दा पहिल्यै छेवैको एउटा बिल्डिङ्को झ्यालबाट फोटोपत्रकारहरू कविले लुगा फुकाल्दादेखिका दृश्य गोप्य रूपमा खिच्नमा तल्लीन थिए। छेउमा उभिएर प्रत्युत्पन्नमति साहित्यकार ‘छिःछिः छिःछिः !!’ भन्दै माहोलमा घृणा घोलिरहेथ्यो। पत्रकारहरू मसलायुक्त समाचार साँध्न पाइएकोमा दङ्ग देखिन्थे।

मित्र कविको धाराप्रवाह कवितापाठ जारी थियो।

बतास छ नाङ्गै/आगो छ नाङ्गै

पानी त झन् नाङ्गै/माटो छ नाङ्गै जताततै

नाङ्गै हुइँकँदै आउँछ आँधीबेहरी र नाच्न थाल्छन् नाङ्गा रूखहरू हाँगा मर्काउँदै…।

नाङ्गै नुहाइरहेको कवि, कवितापाठमा तल्लीन कवि, घृणाको खेती गररिहेका प्रत्युत्पन्नमति साहित्यकार, पत्रकारहरू, फोटो पत्रकारहरू र रमितेहरू सबै सबै आ-आफ्नो रसमा डुबेर दङ्गदास थिए त्यहाँ।

सङ्कटमा घेरिएको कवि र बुद्धत्व प्राप्ति

आखिर त्यही भयो जे हुनु थियो।

त्यसो होला भन्ने कल्पनासम्म गरेको थिएन नाङ्गै नुहाउने ५२ वर्षे कविले। वास्तवमा सार्वजनिक स्थलमा नाङ्गै नुहाएर उसले एउटा र्सवाङ्ग, सम्पूर्ण आनन्द मात्र उपलब्ध गर्न खोजेको थियो। आदिम अनुभूतिको रोमाञ्चलाई आत्मसात् गर्ने दाउ मात्र थियो त्यो कृत्य उसका निम्ति। तर, साँझदेखि नै टीभी च्यानलहरूले उसले नाङ्गै नुहाइरहेको दृश्यको क्लिपलाई लगातार प्रदर्शित गरिरहेका थिए डिम पारेर। पत्रपत्रिकाहरूमा दोस्रो दिन प्रथम पृष्ठमा प्रमुखतासाथ उसले नाङ्गै नुहाइरहेको छाप्न मिल्ने कोणबाट लिइएका तस्बिरसहित समाचार छापिएका थिए।

देशभर तीव्र प्रतिक्रिया। तीव्र रोष। तीव्र असन्तुष्टि। तीव्र घृणा। देश जलिरहेका बेला, देशमा अराजकताले ताण्डव मच्चाइरहेका बेला- कविलाई नाङ्गै नुहाउने यो कस्तो बौलठ्ठी चढेको– किन यो नङ्गता– किन यो छाडापन– किन यो पशुता– किन यो बर्बरता– किन यो आदिम जङ्गलीपनको प्रदर्शन – यस्तै यस्तै चौतर्फी प्रश्नहरूले घेरिँदै गएको थियो ऊ। ५२ वर्षे प्रौढ परिपक्क व्यक्ति, त्यो पनि मुलुकले मानेको कविले यस्तो हर्कत गर्न सुहाउँछ– चारैतिर उसको पक्ष-विपक्षमा बहस चल्न थाल्यो भोलिपल्टदेखि। पाठक-प्रतिक्रिया स्तम्भमा नियोजित रूपमा उसका विरुद्ध लेख्न लगाइयो। छाप्न लगाइयो।

सुस्त-सुस्त घरभित्रको र बाहिर समाजको माहोल आफ्नाविरुद्ध गएको देखेर ऊ केही आत्तियो। परिस्थिति र वातावरण झन्झन् आफ्नाविरुद्ध गएपछि ऊ अतास्सियो, निस्सासियो।

उसले यस परिस्थितिबाट उम्कने धेरै बाटो सोच्यो। मित्रहरूसित टेलिफोन सम्पर्क गरीगरी विचार विमर्श गर्न खोज्यो। तर, कसैले उसलाई उपाय सुझाउन चाहेको देखिएन। कति त उसले फोन गरेको थाहा पाएर फोनको छेउमा आउन चाहेनन्। मोबाइल हुनेले फोन उठाउन छाडे। ऊ झनै हताश भयो।

सङ्कट थालिएको यही चार दिनमा उसका छोराबुहारी, छोरीज्वाइँ, भतिजाभतिजी, नातिनातिना उसको नग्न, छाडा व्यवहारबाट रुष्ट बनी उसलाई परित्याग गर्ने बिन्दुसम्म पुगिसकेका थिए। उसको कुकृत्यले गर्दा उसकै नाम भँजाएर बाँचिरहेकाहरूलाई अहिले उसको नातेदार हुँ भन्न लाज भइरहेथ्यो। उसले गर्दा अहिले उनीहरू सबैको प्रतिष्ठा धरापमा परेको अनुभव उनीहरूलाई भएकाले नातेदारहरू सबै सबै ऊसित चिढिएका थिए। ऊजस्ताको नातेदार बन्नु वा हुनुपरेको त्यो कुदिनलाई धिक्कारिरहेका थिए।

यसैगरी अत्यन्त बदनामी, निन्दा र तिरस्कारको अमिलो गन्धमा डुबेका दिव्य पाँच दिन कविको जीवनबाट बडो कष्टका साथ घस्रँदै बितेर गए। यी कठिन दिनहरूमा उसलाई साथ दिने र उसको मनोबललाई भाँचिन नदिने एक मात्र उसकी सुधी श्रीमती थिई। बिचरी ऊ सधैँझैँ ऊमाथि आँखा चिम्लेर पत्यार गररिहेकी मात्र थिइन, परम विश्वासका साथ बारम्बार दोहोर्‍याइरहेकी थिई, “हजुरजस्ताले त्यो पनि सार्वजनिक स्थलमा नाङ्गै नुहाएपछि त्यसको पनि कुनै न कुनै गम्भीर अर्थ हुनुपर्छ।”

स्वास्नीले बारम्बार आफूप्रति जाहेर गरेको विश्वासले उसको गएको सातो फर्कँदो थियो, गुमेको आत्मविश्वास लौटँदो थियो। उसले पनि विचार गर्न थाल्यो, “हो त, मजस्तो देशको चर्चित कविले नाङ्गै सार्वजनिक स्थानमा नुहाउने दुस्साहस त्यसै त गरेन होला नि!” अब ऊ घोरियो। सोचमग्न बनिरह्यो। हुन पनि सङ्कटमै मान्छे सर्वाधिक सक्रिय बन्दछ। यस्तैबेला वर्षौंदेखि बन्द चेतनाका झ्यालढोका आफ्आफैँ उघ्रन थाल्छन्। र, केही घण्टा दिमाग खियाएपछि उसलाई आफू नाङ्गै नुहाउनुको अचूक बुद्धत्व प्राप्त भएथ्यो।

उत्थान पथको यात्रामा कवि …

छैटौँ दिन होहल्ला र हाहाहुहुका बीच उसले विराट पत्रकार सम्मेलनको आयोजना गर्‍यो। पत्रकारहरू थप मसाला जोगाड हुने लोभमा ठूलो सङ्ख्यामा जुट्दा भए।

टीभी क्यामराहरू आफ्नै लय र गतिमा चालू थिए।

पत्रकारहरू प्रश्नका गोला बर्साउन थाले, “तपाईंजस्तो सम्मानित कविले त्यस्तो सार्वजनिक स्थलमा नाङ्गै नुहाउने बौलठ्ठी – त्यो पनि यस्तो पाको उमेरमा – के होसैमा गर्नुभएको हो?”

“हो, मैले होसैमा गरेको हुँ।” उसले गुरु गम्भीर मुद्रामा उत्तर पस्क्यो।

“त्यसो गर्न तपाईंलाई अलिकति पनि लाज, दकस, शरम लागेन?” पत्रकारहरूले अर्को प्रश्न तेर्साए।

उसले धीरप्रशान्त मुद्रामा प्रतिप्रश्नको पासा फ्याँक्यो, “लाज, दकस, शरम मलाई किन हुने?”

“भनेपछि त्यत्रो निर्लज्ज कामको रत्तिभर ग्लानि पछुतो तपाईंलाई छैन?” एउटा पत्रकारले ताकेर मट्याङ्ग्रो प्रहार गर्दो भयो कविको मर्मस्थलमा।

कविले मुस्कुराउँदै भन्यो, “हेर्नोस्, मैले जे गरेँ विवेकसम्मत ढङ्गबाट गरेँ, सोचीविचारी गरेँ। …त्यसैले मलाई न कुनै लाजशरम छ, न त कुनै पछुतो नै छ।”

“नाङ्गै नुहाउनु त्यो पनि सबैका अगाडि! यस्तो निकृष्ट कर्तुत सोचीविचारी किन गर्नुपर्‍यो त कवि महोदय तपाईंजस्तो हस्तीले?” एक जना अर्को पत्रकारको जिज्ञासा।

कविले अब ओजस्वी वाणीमा भन्न थाल्यो, “सुन्नुहोस् मित्रहरू! वर्षौंवर्ष भइसके नेपाली जनताले दुःख, कष्ट र अपार विपदाहरू झेल्दै आइरहेका छन्। किन – र, कसका कारणले – कहिल्यै विचार्नु भएको छ?”

“किन – र, कसका कारणले?” कोरसमा प्रतिप्रश्न  तेर्साउँदै पत्रकारहरू आफैँ अब तर्कको अनन्त भासमा जानाजानी जाकिन तयार देखिए।

“हाम्रा लफङ्गा, अर्धसिल्ली राजनीतिबाज भेडाहरूका कारणले। यिनले देशलाई आज निकासविहीन चेपुवामा पुर्‍याएर ठहरै पारेका छन्। जनतालाई लगातारको बन्द, हडताल, महँगी, बलात्कार, अपमान उपहार दिएर आत्मसम्मानविहीनताको स्थितिमा पुर्‍याएका छन्। राजनीति गर्नेहरूकै कारण आज मुलुक कङ्गाल, हरितन्नम अवस्थामा पुगेको छ। अन्तर्राष्ट्रिय रूपमा हाम्रा भेडा नेताहरू कति नाङ्गिइसके भने विदेशीहरू यिनलाई नाङ्गाभुतुङ्गा माग्ने भिखारी ठान्न थालेका छन्। यिनीहरू कतिसम्म नाङ्गा र निर्लज्ज छन् भने आफूहरूविरुद्ध लागेका भ्रष्टाचारका मुद्दा अवसर हेरेर आफ्नो पक्षमा फैसला गराउनसमेत लजाउँदैनन् र भन्ठान्छन्, जनता सजग छैनन्। जनताको स्मृति छोटो हुन्छ। जनता विस्तारै सबथोक बिर्सन्छन्। यिनीहरू कति भाँती नाङ्गा छन् भने आफूहरूलाई १०-१० लाख उपलब्ध नगराए बजेट पास गरिदिँदैनौँ भनी धम्काउँदै संसद्लाई सामूहिक ‘ब्ल्याकमेल’को थलो बनाउँछन्। यिनीहरू कति नाङ्गा छन् भने…!” उसले धाराप्रवाह नेताहरूको नाङ्गोपनलाई एकएक गरी नङ्ग्याइरह्यो। पत्रकारहरू मन्त्रमुग्ध बनी सुनिरहे। अन्तमा उसले कुरोको चुरो फोयो, “त्यसैले मैले आफू कवि हुनुको हैसियतले यी हुतिहाराहरूको नाङ्गोपनलाई नङ्ग्याउनु जरुरी ठाने र यी नाङ्गा नेताहरूको अश्लील नग्नतालाई उदङ्ग्याउन खोजेको मात्र हुँ। मैले प्रतीकात्मक रूपमा भन्न चाहेको कति मात्र हो भने- हेर नाङ्गा तिमीहरू कति विभत्स छौ, कति फोहोरी छौ, कति घृणित र कति भयावह रूपमा कुरूप देखिन्छौ। यसभन्दा बढी मैले गर्न खोजेको अरू केही होइन। अब पनि तपाईंहरू मेरो विवेकसम्मत नग्न स्नानलाई गलत ठान्नुहुन्छ भने मलाई आफ्नो सफाइमा अरू केही भन्नु छैन मित्रहरू!”

कविले आफ्नो भनाइ तुरेको मात्र के थियो, हल तालीको गडगडाहटले गुञ्जायमान भयो। वातावरण अब भावुक र पारदर्शी बन्दै गइरहेको बाठो कविले बुझ्यो र निर्धक्क निष्कृतिको सास फेर्‍यो।

पत्रकारहरू त्यसपछि अप्रत्यासित भव्य चियाखाजाले तृप्त बनी बाटो तताउँदा भए।

पत्रपत्रिका, च्यानलहरूको स्वर त्यसपछि फेरियो। सबै सबै कविको त्यो नाङ्गै नुहाउने दुस्साहसको प्रशंसा गर्न थाले। महानताका गीत अथक गाउन थाले। मिडियाले प्रशंसाको बाँधको पानी कति धेरै खर्च गर्‍यो भने उसलाई आफूले साँच्चिकै महान् कार्य गरेछु भन्ने भ्रमसमेत भयो। अब नाङ्गै नुहाउने कविको गुमेको इज्जत सयौँ गुणा थपिएर फिर्ती सवारी भएको कुरो पनि यहाँ धेरै लेखिरहनु नपर्ला। उसका नातेदार, आफ्ना आफन्ती ऊजस्तो बहुप्रशंसित, व्यक्तित्वको आफन्ती हुन पाएकामा पुनः गर्वित थिए, गद्गद थिए।

उपसंहार

केही समयपछि …।

नेपाली बानी अनुसार एउटाले जे गर्‍यो, त्यही तत्कालै अर्कोले गरहिाल्नुपर्ने चलनमुताबिक अर्को एकजना चर्चा पाउन व्यग्र कविले चर्चित कविको सफलताको सिको गर्दै मिडियाबाट यस्तो सूचना प्रचारति गरेको देखियो:

“म फलानो ढिस्कानो यहाँहरूको प्यारो कविले फलानो सार्वजनिक स्थानमा, फलानो मिति, वार र समयमा सार्वजनिकरूपमा नाङ्गो भई दिसा बस्ने कार्यक्रम तय गरेको हुँदा सोमा उपस्थितिका निम्ति निवेदन गर्दछु। साथै, आदरणीय पत्रकार मित्रहरूलाई यस ऐतिहासिक क्षणको साक्षी बनिदिन विशेष आग्रह गर्दछु।

वि.द्र. :चिया नास्ताको तगडा व्यवस्था कार्यक्रमस्थलमै गरिएको छ।

इति।”

प्रतिक्रिया

सम्बन्धित खवर