✍️ दिलिप बान्तवा

जब देख्छु
लहरहरु ठोक्किएर आकाशिएको समुन्द्र
सम्झिन्छु आफ्नै चोमोलुङ्मा,
आएथेँ एक दिन
चोमोलुङ्मा माथिको आकाश नाघेर
बोकेर त्यही चोमोलुङ्माभन्दा अग्लो सपना

जब देख्छु
लखतरान आँखाहरुको मझेरिमा
तिरिमिरी-तिरिमिरी भैरहने आगोका फूलहरु
सम्झिन्छु मेरै घरमाथिको रा…तो गुराँस
दौडिएँथेँ एकदिन
त्यहीँ गुरासको रंग बोकेर
गुराँस भन्दा रा….तो परिवर्तन ल्याउन

जब देख्छु
हर साँझ तँछाड मछाड गर्दै चम्किरहेका ताराहरु
सम्झिन्छु ग्लोबको कुनै बिन्दुमा मुर्झाईरहेको मेरो देश
छोडेथेँ एकदिन
ताराहरुको उज्यालो निस्तेज पार्ने
जुनभन्दा नि चम्किलो आशा बोकेर
घाम जस्तै जाज्वल्यमान किरण खोज्न

जब देख्छु
क्षितिज रंग्याएर खसिरहेको साँझ
सम्झिन्छु मझेरिमा अडेस लागेर छोरो सम्झिरहेकी आमा
छोडेथेँ एक दिन
आमाको मुहारमा परेको चाउरिहरुभन्दा
कैयौ गुणा सपना आमालाई सुनाएर
आमाको ओँठमा सदाबहार हाँसो थमाईदिन

तर म अचेल,
घाम अस्ताएर तारा उदाउनुअघिको
साँझ जस्तै उभिएको छु।
पल पल स्वाभिमानको प्रश्नमा
छातिमाथी आफैँ बुट बजारिरहेको छु।
आँसु र पसिनाको फरक नै बिर्सेर।
आफ्नै अघिल्तिर देखिरहेछु,
सपनाहरुको रंगिन क्यानभास
क्रमशः स्यामस्वेत हुँदै गएको१
स्मृतिका धुनहरु
बिस्तारै धुमिल धुमिल हुँदै गएको।

र पनि,
जिवित छ एउटा अठोट
मेरो अन्तिम सिरानी
मेरो आफ्नै माटोमा लगाउनेछु।

प्रतिक्रिया

सम्बन्धित खवर