✍️ मणि पौडेल

             गजल – १

दिलले सब चिज छोड्छु भन्छ मात्र तिम्रो अभाव भयो
मुटु भित्रै बिझी राख्छौ अचम्मको तनाब भयो

तराजुमा बस्ने पनि कति सम्म छ भलाद्मी
सुन र फलाम उस्तै देख्ने खै यो कस्तो निसाब भयो

उसको प्रेममा फसेपछी बल्ल बुझ्यो जिन्दगी यो
यहि मेरो पाठशाला भो यहि मेरो किताब भयो

प्रेमको ब्यापार चलिराख्छ आँखा हेर्छन् टुलुटुलु
अब साच्चै चोखो माया एसिड भयो तेजाब भयो

दलदल भित्र फसिएछ पश्चतापमा परेँ बल्ल
उनलाइ दिलज्यान सुम्पिएर मणि साह्रै खराब भयो ।

          गजल – २

अचानक यो जीवन किन रङ्गिएर गयो
थियो सादा दोभान पुग्दै मिसिएर गयो

आफ्नो धर्म बिर्सिएछ सलेदोले आज
तेलको साथमा खरानी भै सल्किएर गयो

मैले उसलाई हरदम एउटा गुरु मानिरहेँ
खै ! किन हो मलाई दुश्मन सम्झिएर गयो

त्यसलाई मात्र असल प्रेमी ठानेकोछु मैले
जस्ले मेरो दुखको दिन पर्खिएर गयो

बाध्यता भो डुङ्गा जस्तै रहर बन्यो पानी
छाल आउदा रहर पुरै मेटिएर गयो ।।

प्रतिक्रिया

सम्बन्धित खवर