✍️ गोविन्द गिरी प्रेरणा

मैले मेरो भनेर दावी गरेको कविता
अब मेरो हातमा छैन
मेरो संरक्षणमा छैन
मेरो सुरक्षामा छैन
मेरो स्वामित्वमा छैन
मैले मेरो भन्नु बाहेक !

वेथितिको विरोधमा
विसंगतिको विरोधमा
असमानताको विपक्षमा
अन्यायको विपक्षमा
आगो ओकल्न
लाभा ओरल्न
हरदम तयार मेरो कविता
पक्षाघातले थलिएको छ
सरकारी अस्पतालको ओछ्यानमा
थला परेको छ
मैलो भुईंमा कुरूवा वस्नुको
विकल्प अरू क्यै छैन ।

लोलाएका छन् अक्षरहरू
टोलाएका छन् शब्दहरू
निशब्द छन् वाक्यहरू
निस्लोट ज्वरो आएको छ परिच्छेदहरूलाई
अर्थहरू बेहोसीमा छन्
अहो ! मेरो कवितालाई के भयो
कसरी ब्यूंताउने
कसरी सारसौंदो बनाउने
कसरी पहिला झैं
क्रान्तिकारी बनाउने
बढो अलमलमा थिएं !

अचानक डाक्टरहरूले भने
अब आइसियूबाट
उपचार सम्भव छैन
हाम्रो प्रयास
निरन्तर जारी छ
हामी तपाईंको कविका
वचाउन कटिबद्ध छौं
तर बाँच्ने नबाँच्ने
हाम्रो पनि हातमा छैन
अन्तिम प्रयासका लागि
अब भेन्टिलेटरमा राख्छौं
बाँकी त भगवान भरोसा !

यो डाक्टर बोलेको हो कि
धुर्त व्यापारी
यो डाक्टर वोलेको हो कि
कृतघ्न मित्र
यो डाक्टर बोलेको हो कि
नैतिकता टाट उल्टेको नेता
म आतंकित छु
म आशंकित छु
र म दोधारमा छु
मलाई भेन्टिलेटरको छेउमा बस्ने
अनुमति छैन
मेरो कविता
वेवारिस छ भेन्टिलेटरमा
म अस्पताल वाहिर
कुरिरहेछु !

प्रतिक्रिया

सम्बन्धित खवर