✍️ कमला न्यौपाने

कादम्बिनी उनको नाम थियो
जो हरेक वसन्तमा पिपलको रूखमा बस्थिन्
र सुनाई रहन्थिन एउटा विरहको गीत

मौसमको ख्याल नगरी
कहिले बिहानै आउँथिन मेरै बरण्डामा
र सुनाउँथिन मेरै बेथा

उनी जानेबेला
आँखाको बाटो हुँदै बगिसक्थ्यो पीडाको खोला
हलुङ्गो हुन्थ्यो मन

उनले
कैयन हुरी बतास खपेकी थिईन
कैयन बादल र झरी सहेकी थिईन
पन्छाएर आफ्नो सम्पूर्ण दुःख
उनी सुनाउँदै हिँड्थिन्, अरुको आँसु

अचेल
वर्षौ भयो उनलाई नदेखेको,
कहाँ पुगिन् होला नि मेरी कादम्बिनी ?

यो भौगोलिक जन्जालमा
अस्त व्यस्त यो बातावरणमा
कतै श्वास फेर्न गार्हो भयो कि उनलाई ?
वा भेट्यो कि कुनै शिकारीले
र पार्यो कि उसले निशानामा ?
कठै कहाँ पुगिन उनी
अहिले गाउँबाट हरायो उनको त्यो मधुर बोली

प्रिय कादम्बिनी
कसैगरि तिमीले यो खबर पायौ भने बुझ्नु
म तिम्रो पर्खाईमा अझै पनि हेर्छु
कहिले पिपलको रूख, कहिले आफ्नै बरण्डा

प्रतिक्रिया

सम्बन्धित खवर