✍️ सुनाखरी निर्मला आचार्य
मुक्तक – १
विस्तारै उठ्दै छु अब तल झर्नु छैन मलाई
एकपटक त मरिसके अझै मर्नु छैन मलाई
जीवनमा सबैभन्दा मनपरेको मान्छे तिमी
मेरो नभएपछि फेरि माया गर्नु छैन मलाई
मुक्तक – २
जतिसुकै कक्षा पढे पनि त्यो मान्छे खरानी लाग्यो
जसलाई म सबैभन्दा शिक्षित छु भन्ने बानी लाग्यो
तर अशिक्षितमा न घमण्ड न नम्रतामा नै कमि छ
त्यसैले शिक्षित भन्दा अशिक्षित बुद्धिमानी लाग्यो
मुक्तक – ३
तिमी जति प्रगति गर्छौं नि त्यति दुनियाँ जल्ने गर्छ
अपशोच आगोमा घ्यू थपे अझ बेस्सरी बल्ने गर्छ
त्यसैले यहाँ जसले जस्तो गर्यो त्यस्तै गर्न सक्नुपर्छ
किनकि अचेल औकात अनुसार व्यवहार चल्ने गर्छ
मुक्तक – ४
के निकाल्ने होला नि अब उपाय सोचिरहेछु
पाउँछ पाउदैँन होला उसले सजाय सोचिरहेछु
न्याय गर्ने न्यायाधीश नै अपराध गर्न थालेपछि
कसले दिन्छ होला जनतालाई न्याय सोचिरहेछु ।
मुक्तक – ५
छोरो सहरमा काम नपाएर बेरोजगारी भा छ
त्यहीँ बेरोजगारीले त्यहाँ पुरै भोकमारी भा छ
यता गाउँमा बाले दुःख गरेर जोडेको जमिन
खेती गर्न मान्छे कोही नभएर जङ्गलघारी भा छ
प्रतिक्रिया
-
४
