✍️ राज विर्सजन
गजल – १
केवल भित्ताहरु भएको छत नभएको
म पनि एक मान्छे हुँ,बहुमत नभएको
खाममा श्रृङ्गार गरिएको प्रेम पत्र आइपुग्यो
प्रेमिलाई समेत खोल्न इजाजत नभएको
गोर्खाली रगत हो भन्नू सान जस्तो भयो
संसारमा कुन चै प्राणी छ,रगत नभएको
कतिपय कुराका प्रमाण हुँदैनन् भन्थे
शरिरको कुनै घाउ छैन खत नभएको
सुन्दरीको आँखा नलागेको एक योग अनुहार हो
अर्को तिम्रो मन हो,म बाट जफत नभएको
गजल – २
सपनामा सजायको घर कहिल्यै मिलेन
मिलाउन खोजेँ हाम्रो थर कहिल्यै मिलेन
कुनै विकल्प रहेन बधाई छ भन्नू बाहेक
प्रेम प्रस्ताव राख्ने अवसर कहिल्यै मिलेन
धेरै मिलेका हुन् जिन्दगी मेटाउने जहर
तिम्रो याद मेटाउने जहर कहिल्यै मिलेन
छ न त उ भन्दा निकै शुरक्षाआत्मक छ
र पनि जुत्तालाई टोपीको स्तर कहिल्यै मिलेन
कसरी मिलूँ यतिका छिमेकीसँग
एउटा नदि सँग त बगर कहिल्यै मिलेन
प्रतिक्रिया
-
४
