✍️ सुन्दर शिरीष
हरेक साँझ
रित्तो पेट समाउँदै चिसो चुलो हेर्दा
किन लाग्छ पृथ्वी घुमेसरि भनन्न् रिङ्गटा ?
गाउँ पसेको सिंहदरबार
बेलुका भएपछि सुटुक्क छिर्छ महाजनको दरबार
र धोक्छ विदेशी ब्राण्डका रक्सी
रात क्रमसः बढ्दै गएपछि
लात हान्दै हिँड्छ हामी गरिबका झुपडीको दैलोमा ।
बिहानै आईपुग्छ
हाम्रो कठालो समाउन उही सिंहदरबार
र छोडेर जान्छ
सम्पत्ति कर,
बिजुली कर,
पशु कर,
खानेपानी कर,
लगायत एक हात लामो करको सूची
र सँगै छोडेर जान्छ
डर, त्रास,
गरिबी, महंगी, अशान्तिको ठूलो बाकस ।
आफ्नै छाला काढेर छाउँदा पनि झुपडी
किन ह्वाङ्गै हुन्छ छानो
र दुख्छ मुटु निकोटिन, टारले अँठ्याएसरि ?
साँझ परेपछि किन आउँछ हाम्रो बस्तीमा सरकार
र गिजोल्छ हाम्रा चेलीहरुको स्तन
त्यसै रात
‘सर्च अपरेशन’ भन्दै किन छापामार्छ गाउँ
र लैजान्छ जम्मै युवा
छोडेर कण्डमका खोलहरु ।
हाम्रै बुढीऔला काटेर
हाम्रै करङको भ¥याङ चढी सरकार बनेकाहरु
किन हाम्रै ज्यानमा आगो झोस्न खोज्दैछन् ?
र निरन्तर प्रहार गरिरहेछन्
ऐन नियमको धारिलो अस्त्र ।
सम्झी ल्याउँदा–
हाम्री आमैले उडाउने गरेको सूर्तिभन्दा
निक्कै हानिकारक रहेछ सरकार
सूर्तिले त आमैको चोलामात्रै उठायो,
तर हामी सबै गरिबको
चोला उठाउँदै छ सरकार ।
रित्तो आकाश मुनि
रित्तै मन लिएर निँदाउन खोज्दा पनि
डरलाग्दो सपना बनेर किन तर्साउँछ सरकार ?
किन हाम्रा नानीबाबु तर्सर्ने गरि
साइरन बजाएर धुलो उडाउँदै गाउँ छिर्छ सरकार ?
किन हाम्रो नारीहरुको स्तनमा मात्रै
आँखा गाड्छ सरकार ?
अब कति चुप बस्नु नबोली
अब कति हेरी बस्नु नदेखेकोजस्तै
अब कति पाल्नु प्राणघातक रोग
ओ, यो देशका सबै गरिबहरु हो !
अब इलाजमा जुटौं प्राणघातक रोगको
उन्मूलन गरौं बस्तीबाट
र फेरि छिर्न नदिऔं संक्रमणहरु
त्यसपछि
सूर्तिको बट्टामा टाँसिने बैधानिक प्रावधानजस्तै
हरेक झुपडीको दैलोमा टाँसौ
जहाँ लेखिएको हुनेछ –
‘सरकारलाई गरिबको बस्तीमा प्रवेश निषेध छ ।’
र, सँगै लेखौं ठूलो अक्षरमा
बैधानिक प्रावधानः
सरकार गरिबको लागि हानिकारक छ ।
प्रतिक्रिया
-
४
