✍️ बिकेश कविन
चौधौँ शताब्दीको
पाचौँ र छैटौँ दशकमा फैलिएको
प्लेग अर्थात् ब्युबोनिक प्लेग
अर्थात् ब्ल्याक डेथले
सिंगो युरोपलाई नै थला बनाइदियो
युरोपियनहरूका भाग्यरेखा नै बदलिदियो
महामारीको त्यो बीभत्स पर्वमा
लाखौँ मानिसहरू मरे
तथापि
मानिसले मानिस बुझेन
मानिसले प्रकृति बुझेन
मानिसले मृत्यु बुझेन
मानिसले महामारी बुझेन ।
मानिसहरूकै चरम अमानवीयता
मानिसहरूकै अग्घोर अंहकार
मानिसहरूकै प्रगाढ क्रोधले
पृथ्वीलाई पुर्याइदियो
लिटिल आइस एज अर्थात् लघु हिमयुगमा
मरेकाहरू हिउँ भए
जीवितहरू हिउँ भए
सारा क्रोध, सारा अंहकार हिउँ भयो
सारा अमानवीयता हिउँ भयो
तथापि
मानिसले मानिस बुझेन
मानिसले प्रकृति बुझेन
मानिसले मृत्यु बुझेन
मानिसले महामारी बुझेन
बुझ्नुपर्ने कुराहरू मानिसहरूले केही बुझेनन्
मानिसले जीवन बुझेन
मानिसले मरण बुझेन
मानिसले मानिस बुझेन
मानिसले प्रकृति बुझेन ।
उन्नाइसौँ शताब्दीको
आठौँ दशकमा
अफ्रिकाभरि राइन्डरपेष्ट भाइरसले
फैलायो( ब्लेग
जसको आहार भए
नब्बे प्रतिशतभन्दा बढी जनावरहरू
महामारीको आतङ्क फैलाए मानिसहरूले नै
भाइरस र प्रतिकूलता फैलाए मानिसहरूले नै
तर मरे निर्दोष जनावरहरू
तर मरे निर्दोष पशुपक्षीहरू
मानिसहरू
पशुपक्षीहरू
साथसाथै पूरै प्रकृति नै महामारीग्रस्त भयो
तथापि
मानिसले मानिस बुझेन
मानिसले प्रकृति बुझेन
मानिसले मृत्यु बुझेन
मानिसले महामारी बुझेन
सारा कुरा बुझ्ने निरङ्कुश र प्रकृतिहीन मानिसले
प्राकृतिक संवेदनशीलता बुझेन
पशुपक्षीको रोदन र आँसु बुझेन
पृथ्वीको विदीर्णता बुझेन
रुख र चराको गीत र संगीत बुझेन
माटोको जीवन बुझेन ।
सन् १९१८ को स्पेनिस फ्लु
सन् १९२९ को सुगाज्वार अर्थात् सिटाकोसिस
कुनै(कुनै महामारीको जटिलता पनि बुझेन मानिसले
कुनै(कुनै महामारीको जीर्णता पनि बुझेन मानिसले
कदापि बुझ्न पनि खोजेन मानिसले
मानिसले मानिस बुझेन
मानिसले प्रकृति बुझेन
मानिसले मृत्यु बुझेन
मानिसले महामारी बुझेन ।
बिसौँ शताब्दीको इबोला भाइरस
एक्काइसौँ शताब्दीको सिँढीमा चढिसक्दा पनि
इबोला केवल मानवीय अट्टहास सम्झिइयो
बस् एउटा ‘हा…हा…’ र ‘हु…हु…’ सम्झिइयो
मानिसले महामारीलाई ज्ञान सम्झिएन
महामारी पुनः फर्किएला भन्ने तर्क–वितर्क गरेन
नगर्नुपर्ने सबै कुरा गर्ने दरिद्र मानिसहरूले
गर्नुपर्ने केही कुरा पनि कदापि गरेन ।
एक्काइसौँ शताब्दीको सुरुवात नै
महामारीमय भयो
कहिले सार्सले आतङ्क मच्चायो
कहिले मर्सले आतङ्क मच्चायो
युगहरू फेरिए
शताब्दीहरू फेरिए
तर,
मानिसको साँघुरो र पुँजीवादी मगज
कहिल्यै–कहिल्यै फेरिएन
मानिसको प्रकृति दोहन गर्ने (कु)मानसिकता
कहिल्यै–कहिल्यै फेरिएन
नयाँ–नयाँ रोगहरू
नयाँ–नयाँ महामारीहरू
आइरहे
पुनः दोहोरिरहे
तर मानिसको
प्रकृतिको शिर र छातीमा
लात हान्ने र घाँटी न्याँक्ने बानी
कहिल्यै–कहिल्यै फेरिएन
मानिसको सङ्कीर्णता र घोर अनैतिकता
कहिल्यै–कहिल्यै फेरिएन
मानिसले मानिस बुझेन
मानिसले प्रकृति बुझेन
मानिसले मृत्यु बुझेन
मानिसले महामारी बुझेन ।
आज
एक्काइसौँ शताब्दीको
तेस्रो दशकको भव्य जन्मदिवसमा
जन्मदिवसको शुभकामना दिन
आइपुगेको छ – कोरोना भाइरस
अर्थात् कोभिड – १९
सार्स कोभ(२ को बृहत् विमानमा चढेर
कोभिड–१९ को शुभकामना
ग्रहण गर्ने क्षमता
यो एक्काइसौँ शताब्दीसँग छैन
यो विज्ञान तथा प्रविधिको युगसँग छैन
कमसेकम
अब त मानिस गम्भीर हुनुपर्ने हो
महामारीप्रति बहुत संवेदनशील हुनुपर्ने हो
प्रकृतिको संरक्षक हुनुपर्ने हो
रुख, चरा, खोला र पृथ्वीको साथी हुनुपर्ने हो
तथापि
अहिले पनि मानिस
आफ्नै पुँजीको पहाड निमार्णमा व्यस्त छन्
अहिले पनि मानिस
प्रकृतिको रगत चुस्न र व्यापार गर्न व्यस्त छन् ।
सन् १९८० देखि सन् २०१३ सालसम्म
जम्माजम्मी तेत्तीस वर्षमा
दुई सय पन्ध्र महामारीका मिसाइल
यो पृथ्वीमा खसे
यो मानवसभ्यतामा खसे
ती महामारीका भूत, वर्तमान र भविष्यका पुस्तक
मानिसहरूले सिर्जना गर्नुपर्ने थियो
तर
मानिसहरू कुन्नि कता ९अस्त०व्यस्त छन्
र गरिरहेका छन् सारहीन कार्यहरू
मानिसले मानिस बुझेन
मानिसले प्रकृति बुझेन
मानिसले मृत्यु बुझेन
मानिसले महामारी बुझेन ।
अब
अन्तिम क्षण आएको छ
यदि अहिले पनि मानिसले
बुझेनन् भने अन्तिम सिकाइ
बुझेनन् भने मानवता
बुझेनन् भने प्रकृतिप्रतिको उदारता
बुझेनन् भने मृत्युको संवेदनशीलता
बुझेनन् भने महामारीको गहनता
पुनः भोलिका दिनमा
यी कुराहरू बुझ्ने
चिन्तन र मनन गर्ने
दिनहरू सायद आउने छैनन्
आजका हामी मानिस
पृथ्वीकै अन्तिम मानिस पनि हुनसक्छौँ ।
प्रतिक्रिया
-
४
