✍️ निरूपा प्रसून

…तर विद्रोह , खोज्दछ आँधी ।
मानौं शान्ति छ आँधीभित्र ।।
मिखाइलको कविताको हरफ जस्तै ।

एउटा संसार छ । जहाँ प्रेम हुनुअगाडि स्पर्श हुन्छ । दुई–चार दिनको चाटाचाटपछि सकिन्छ प्रेम । सबै कुराको समाप्तिपछि नै सुरुवात हुन्छ भनेजस्तै कसैको अन्तिम कसैको शुरुवात हुन्छ अनि त्यही सुरुवात एक दिन अन्त्य । यहि प्रकिया दोहोरिरहेको छ यस मायावी सृष्टिमा । अहिले प्रशस्त उदारवादी युवायुवती छन् । पहिलेका जमानाका ति भद्रभलादमी नरनारीहरु कहाँ गए होलान् ?

कुरै कुरामा कोको मान्छे आफ्नो जस्तो लाग्नु कुनै आश्र्चयको कुरा त थिएन नै । छिटै मान्छेसँग आर्कषण हुनु त्यति धेरै टाढाको मान्छेको मायामा चुलुम्म डुब्नु । अँचम्म ! बिहे गरीवरी छोराछोरीकी आमा हुने बेला पनि प्रेमिका हुनुमै आफ्नो जीवनको सर्वाेत्तम समय मानेर बिताइरहेकी थिई प्राश्ना । उसको आफ्नै विचार र सिद्धान्तहरु प्रतिपादित छन् । उसलाई बिहेमा रत्तिभर पनि विश्वास छैन । प्रेमलाई भने सास फेर्नुुसँग तुलना गर्छे । ‘हलगोरुको गोडा र लोग्ने–स्वास्नीको जोडा कहिले पनि मिल्दैन । मान्छेहरुको सम्बन्धमध्ये बिहे त सबैभल्दा थर्डक्लासको सम्बन्ध हो,’ भन्छे प्राश्ना । बिहेप्रति सधँै यस्तै नेगेटिभ धारणा छ उसको । आमा–बुवाको बिहे भएरै आफु अस्तित्वमा आएको कुरा भुसुक्कै बिर्सिदिन्छे ।

उसलाई प्रेम गर्न मन छ । अथाह प्रेम । हतारमा शरीर सुम्पिएर फुर्सदमा पछुताउने प्रेम हैन । अथाह आनन्दमा रुँदैरुँदै समर्पित हुने र सुँक्कसुँक्क गर्दै फेरि अङ्कमालमा बेरिने खालको प्रेम । पछुतोबिनाको आनन्द पनि, सन्तुष्टि पनि । तर यस्तो प्रेम अब कहाँ ?

दाँयाबाँया घुमाइफिराइ कुरा गर्न कहिल्यै आएन उसलाई । उस्तै निडर , आफूमा भरपुर आत्माविस्वास भएकी स्वरोजगार युवती , आफ्नो उमेरभन्दा धेरै जनाको प्रेमलाई अस्वीकार गरिसकेकी छे । अहिले भने आफूभन्दा सानोे युवक इगुवालाई प्रेम गर्छे मरिमेटेर । सुन्दर आवरण हुनुको सदुपयोग गरी या दुरुपयोग म मेलोमेसो पाँउदिन ।

०००

‘फुपू ! बिहे गरेर हजुर भिनाजुको घर गइस्यो न, ’

प्राश्नाकी सानी भदैनी गम्भिर हुँदै भन्छे । अचानक नौ बर्षकी बच्चीले के बुझेर सोधी होली । प्राश्ना पनि एकाएक गम्भीर बनी । ऊ जन्मिनुभन्दा धेरै अगाडिदेखि यो घर आफ्नै थियो । अब यो घरबाट अर्काको घर किन जानु ? छोरीमान्छे बिहे गरेर जाने जात हो भन्ने कुरा कसरी घुस्यो होला बच्चीको मनमा ? संस्कार परम्परा भनेको यही त हो । नयाँ पिढीँले नभनेरै सबै देखेरै चाल पाउँछन् ।
‘किन भुन्टी ?’ चुरोटको खरानी एस्ट्रेमा टक्टकाउदै सोध्छे ।

‘हजुरको बिहेमा भिनाजुको जुत्ता लुकाउनुपर्यो । पैसा चाहिएको थियो मलाई ।’ आँखिभौं एक्कासि खुम्चाउँछे ।
प्राश्ना हाँसो थाम्न सक्दिन । यहाँ पैसाको खाँचो सबैलाई नै परेको छ ।
‘अहो ! यत्तिको लागि पो मैले बिहे गर्नु ?’

‘हजुरलाई कसैले पत्याएनन् हो फुपू ? हजुरभन्दा सानो मेरो मामाघरको बिमला दिज्युको त बिहे भइसक्यो ।’ उस्तै गम्भिर कायमै राखेर भन्छे । पत्याउनुलाई बिहेसँग तुलना गरिदिई ।
‘हो त पत्याएनन् कसैले पनि’ हठात् ओठ थरथराउन थाले । नचाहेरै घाँटीमा रोकियो उसको आवाज ।
‘हजुर मेरो लुगा लगाइस्यो । टाईट हुन्छ अनि छोटो पनि हुन्छ । थाहा छ हजुरलाई ? टाईट र छोटो लुगा लगाएपछि पत्याउछ नि केटाहरुले । ’ आफैले सिद्धान्त निर्माण गरी सानीकेटीले आफ्नो फुपुको लागि केटाहरुले मन पराएर बिहे गर्ने तरिका । यस्तायस्ता कुरा कसरी जान्दछन् अचेलका बच्चाहरु ?

०००

कुनै पनि सम्बन्धले छुन सकेको थिएन प्राश्नालाई । त्यो दिनपछि हर सम्बन्धहरु हर संवादहरु बोझिल र अमूर्त लाग्न थालेको थियो । नबुझिने कविताको उपनाम दिन थालेकी थिई आफ्नो जिन्दगीलाई । हा,े त्यस्तै झेलिएको अस्प्रष्ट सम्बन्धहरुसँगै आफूलाई हिँडाइरहेकी थिई । हिँडाइरहेकी मात्र के भन्नु ! उडेर नै पुगी – अनलाईनमा भेटेको (भेटेको के भन्नु ? प्रेमनै बसेको) इजिप्टको केटो इगुवालाई भेट्न, कायरो ।
पर्खाइको रात कति लामो, कति चिसो ,कति पट्यार लाग्दो …। इगुवा लामो बिदा मिलाउनको लागि रातभर काम गर्दै थियो । ऊ मात्रै थिई कोठामा नत्र प्राश्नाले भन्ने थिइन कि यो पर्खाइको रात भनेर । त्यो शहरमा प्राश्नाले चिनेकी त्यही एउटा मान्छेमात्रै त थियो । हावा चलेकै थियो । पृथ्वी घुमिरहेकै थियो ।

झ्यालबाट सुटुक्क छिरेर यसरी स्पर्श गरिरहेको थियो कि रातले मानौं प्राश्ना यस धर्तीकै होइन । अर्को ग्रहबाट आएको हो र रातलाई मज्जा आइरहेको छ –नौली प्राश्नालाई छोईछोई जिस्काउन । अब त्यो रातले प्राश्नालाई अङ्कमाल गर्नमात्रै बाँकी थियो ।

‘यसरी स्पर्श नगरिदे ए रात ! यो देह विलिन भइजाने छ । मैले इगुवाको मनैदेखिको हाँसो प्रतक्ष्य अनुभूत गर्न बाँकी नै छ । उमेर पुगेर भइरहेकी तरुनी उसले पनि प्रतक्ष्य भोग्न बाँकी नै छ । ए रात ! यसरी मलाई बहकाउन नआउ है ।’

भन्नलाई त भनी तर त्यो सुन्दर भयंकर रात अटेरी बनिरह्यो । गृहिणीलाई भान्छा प्यारो भए झै रातलाई प्राश्ना मन परिरह्यो ।
जब इगुवा आफ्नो काम सकेर प्राश्ना भएको कोठामा आइपुग्यो तबसम्म त त्यो सुन्दर भयंकर रात गइसकेको थियो ।
‘खाना खायौ ?’ इगुवाले मायाले हेरेको भए पनि आँखा तरेको जस्तो लाग्थ्यो ठूलो । इगुवाको गोरो ठूलो अनुहारमा सुहाएको थियो ठूलै आँखा, त्यही ठूलो आँखा तन्काउदै सोधेको थियो प्राश्नालाई ।
‘खाना त खाएँ प्रिय , तर खाएजस्तै लाग्दैन आजकल ।’

इगुवा मायाले सुम्सुम्याउदै प्राश्नालाई आत्मीयता व्यक्त गर्न चाहन्थ्यो । तर डर लाग्थ्यो उसलाई । मुटुको ढुकढुकी बढ्थ्यो । हातहरु थरथराउथे उसका । प्राश्नाले के सोचिरहेकी होली भनेर केही गर्दैनथ्यो । मायाको भाषा हुन्न । देश हुन्न । कुनै रङ्ग हुन्न नत कुनै कद नै हुन्थ्यो । यो कुरा अवगत त थियो उसलाई । नर्भस भएको थियो क्यारे । अलमल–अलमलमै थियो इगुवा ।
प्राश्नाको प्रायः फेसबुकका तस्बिर पौडी पोखरीका हुन्थे । अनलाइन कुरा गर्दा इगुवा प्राश्नालाई ‘जलपरी’ भन्ने गथ्र्यो ।
अनलाइन कुरा गर्न थालेको निकै समय पछिको एकदिन इगुवाले सम्बोधन गर्यो, ‘जलपरी ! तपाईलाई धेरै कुरा गर्न आँउदो रै’छ है ?’
प्राश्ना : कुरा त त्यस्तै हो । मलाई तिमी मन पर्छ ।
इगुवा : साँच्चिकै ?

प्राश्नाः हो त । तर तिमी तस्बिरमा किन हाँस्दैनौ ?
इगुवा : मनमा दुःख हुनेहरु बाहिर हाँसेर देखाँउँछन् । मनभित्र आनन्द हुनेहरुलाई हाँसो जरुरी छैन ।
प्राश्ना : क्या दार्शनिक कुरा ।
इगुवा : दर्शन होइन । अनुभव भएको कुरा हो ।
प्राश्ना :  😊
इगुवा : प्रिय ! के गर्दै छौ तिमी ?
प्राश्ना : म त प्रथम रजस्वलापछिकी घाम तापिरहेकी छु । रापिलो , तापिलो लाजले रातो रातो भएकी घाम ।
इगुवा : रजस्वला हुदाँ कति पिडा भोगी होली ? कति दःुखी भएकी थिई होली बिचरी त्यो घाम ? कविहरु त्यतिकै सुकोमल कविता लेखिदिन्छन् । होइन, भन त ? मैले पनि त्यो र्दुलभ अनुभूति गर्न पाएँ ? कस्तो रहर लाग्या छ ।
प्राश्ना : रहर पनि कस्तो कस्तो होला..हुने कुरा गर न । नचाहिने कुरा..यो जुनीमा त सम्भब नैे छैन । अर्को जन्म हुन्छ भन्ने विस्वास पनि लाग्दैन मलाई त ।
इगुवा : हो हो , अर्को जन्म हुन्छ भन्ने विस्वास त मलाई पनि लाग्दैन ।
प्राश्ना र इगुवाबीच कुराहरु यसरी मिल्न थाल्छन् मानिलिउँ मन एउटै हो शरीरमात्र दुई ।

०००

‘मलाई निद्रा असाध्यै प्यारो लाग्छ । आजकल तिमी पनि निद्रा जत्तिकै प्यारो लाग्न थालेका थियौ । त्यसैले यहाँसम्म आइपुगेकी छु । कताकता सभ्यताको शहर हेर्ने रहर पनि मिसिएको थियो मनसँग,’ घरको बार्दलीमा बसेर दुवै पालै पालो ‘माटे टि’ पिउदै थिए । प्राश्ना मनभित्रको कुरा इगुवालाई सुनाउँछे ।

‘यही सभ्यताको कारण नै त अहिलेसम्म मलाई अभद्र हुन दिएको छैन नि ! हतार गर्न पनि भएको छैन मैले,’ इगुवा मनभित्रको कुरा प्राश्नालाई सुनाउँदैन ।प्राश्नालाई इगुवाको सामिप्य असाध्यै मनपर्छ । घरीघरी नजिकै गएर बस्छे, उसैसँग छोइएर । इगुवा आफ्नो पुरै समय प्राश्नालाई दिइरहेको छ । राती अबेरसम्म बसेर आफ्नो–आफ्नो कोठामा जान्छन् ।

प्राश्ना इगुवाको घरमै बस्छे । घरमा इगुवाको अलावा कोही पनि छैन । ठूलो घरपछाडि केरसाबारी छ । दिउँसोभरी अनेक पार्क र अनेक ठाँउ घुमेर बिताउँछन्, कहिले भने दिनभर केरसाबारीमा पुतली समाउने खेल खेल्दाखेल्दै झमक्क साँझ परेको पनि बिर्सन्छन् ।

इजिप्टको ठूलो सहर कायरो, जहाँबाट पुरै इजिप्टबारे थाहा हुन्छ । इतिहासको धनी देश साह्रै सुन्दर लाग्यो प्राश्नालाई । एघारौं शताब्दीमा बनेको बब जुलिया टावरबाट कायरो पुरै देख्दा खुबै मख्ख परेकी थिई । सिटाडेल टावर, इजिप्टियन म्यूजियम , प्यारामिड गेजा जाँदा कम्ता दङ्ग परेकी होइन । डाउन टाउन कायरोलाई ‘पेरिस अफ द इस्ट ’ पनि भन्छन् भनेर इगुवा प्राश्नालाई अथ्र्याउदै हुन्थ्यो । अल अजरजस्ता धुप्रै सुन्दर मस्जिद देख्दा आँखा हटाउन मन गरेकी होइन ।

०००

प्राश्नालाई बाँसुरी बजाउने सोख छ । राधा थिई तर कृष्ण जस्तै सिपालु थिई बाँसुरी बजाउन । इगुवालाई उपहार लिएर आएकी थिइ बाँसुरी । उज्यालो घाम लागेदेखि बाँसुरी बजाउन आभ्यासमै तल्लिन भएकी छे । बेलुका इगुवा फर्कदासम्म मिठो धुन सुनाउनुछ । इगुवा खुसी भएर आलिङ्गन गर्नेछ । त्यो पल आफुलाई संसारकै भाग्यमानी प्रेमिका ठान्नेछे ।

रातको जुन उदाउँदै गर्दा इगुवा आइपुग्यो । त्यति बेलासम्म प्राश्नाले बाँसुरीका अनेक धुन निकाल्दैमा घाम अस्ताएको पनि याद गरिन । घामको साटो जुन उदाइरहेको ठानिरही । हत्तपत्त आफूले जानेकीमध्ये सबैभन्दा मिठो प्रेमिल धुन इगुवालाई सुनाई । साँच्चै इगुवाले आफूलाई रोक्नै सकेन । अप्रत्याशित किसिमले प्राश्नालाई कसिलो आलिङ्गनमा बेर्यो अनि आँखामा , निधारमा पालैपालो चुम्बन गर्यो । उसले आफ्नो छातीमा प्राश्नाको अनुहार टाँस्यो । यो अप्रत्याशित क्षण मन पर्यो प्राश्नालाई । उसले खोजेकै यही क्षण । मानौँ जीवनमा पहिलोपल्ट आयो यो क्षण । जीवनमा उसले शरीर सुख पनि पहिलोपल्ट भोग्दै थिई । नितान्त बेग्लै अनुभूति भयो उसलाई । इगुवा जति ऊभित्र स्थापित हुँदै थियो, ऊ उतिउति रुँदै थिई । अथाह आनन्दसहितको रुवाई । पछुतोबिनाको रुवाई ।
उसले सुक्क सुक्क गर्दै लुगा लगाई ।

त्यो ठूलो घर प्राचीनताको एउटा राज्यजस्तो थियो । प्राश्ना र इगुवा त्यस राज्यका अनौठा जीव भएका थिए यति बेला ।
आँसुका केही थोपा इगुवाको छातीमा टिलपिल गरिरहेका थिए ।

समाप्त !

प्रतिक्रिया

सम्बन्धित खवर