✍️ दिर्गराज प्रियसी
गजल – १
कुलो सम्झेको छैन्,नहर सम्झेको छैन
शहरमा बस्नेले गाउँघर सम्झेको छैन
सम्झेको छ मात्र छातीमा लागेको घाउ
मुटु भित्र पुगेको असर सम्झेको छैन
फूलले फूललाई फूल सम्झेको होला
पत्थरले आफूलाई पत्थर सम्झेको छैन
काम सकिएपछि अर्को काम सम्झेको छ
मजदुरले आफूलाई दिनभर सम्झेको छैन
आज त बाढि आएर बगर भरीभराउ छ
आज त बगरले बगर सम्झेको छैन
शरीर यतिबेला घाम पाएर घाम ताप्दैछ
चिसोबाट जोगाएको च्यादर सम्झेको छैन।
गजल – २
मनमा पिर, बारीमा झार कति छ कति छ
हे भगवान ! तेरो अवतार कति छ कति छ
साईँलीको पनि छोरी भई गल्ली साँघुरो भयो
के सुनाउँ दुःख पिडा सरकार कति छ कति छ
बिडम्वना यो भित्ताको कुनै समाचार छैन
भित्ताको टिभीमा समाचार कति छ कति छ
बसेर एकछिन गफ लडाउँ भनीरहेछौ तिमी
घरमा काम छ मलाई हतार कति छ कति छ
जाउँ अब हामी पनि यो किनार छोडेर जाउँ
डुलेर सकिदैन यो किनार कति छ कति छ
***
प्रतिक्रिया
-
४