✍️ छविकिरण अधिकारी
मुक्तक – १
भएन आशाको दियो निभेको पत्तै भएन !
विवशताको भारीले थिचेको पत्तै भएन !!
दुःख पछि मात्रै सुख आउँछ भनेर पर्खिरहे,
दुखै दुःखमा जिन्दगी बितेको पत्तै भएन !!
मुक्तक – २
खुसी टाढिएर जान्छ,आँसु नजिकिएर आउँछ !
सोच्या थिइनँ समय यसरी बदलिएर आउँछ !!
हिजो दिलमा सजाएको मान्छे यसरी टाढियो,
जब सम्झिन्छु मन मुटु नै भक्कानिएर आउँछ !!
मुक्तक – ३
हावा बनेर आउँला अनि भुवा बनेर आउँला !
कहिलेकाहीँ भेट गर्न म बटुवा बनेर आउँला !!
तिमी सधैं मेरै बाटो हेरि बसिरहनु प्रिया,
मरेपछि नि म पछ्याउँदै धुवा बनेर आउँला !!
मुक्तक – ४
हजारौं कथा, कहानी किताब पढेर !
सकियो बरू जवानी किताब पढेर !!
र पनि अझै बुझ्न सकिएन साथी,
के हो जिन्दगानी ? किताब पढेर !!
मुक्तक – ५
सपनाहरू जति सारा यत्रतत्र बनाएर !
अनि आँसु नै आँखामा सर्वत्र बनाएर !!
हो कोही यात्राबिच छुट्टिएको छ आज,
जिन्दगीभर मलाई अलपत्र बनाएर !!
***
प्रतिक्रिया
-
४