
– छवि किरण अधिकारी
१)
हो तिमी नै मेरो तन मन जीवन भन्नेले!
म मुटु तिमी चाँहि मेरो धड्कन भन्नेले!!
आज घर न घाटको बनाएर गएकी छे,
हिजो म मुना, तिमी मेरो मदन भन्नेले!!
२)
सधैं रोईरहनेलाई मान्छेलाई रुन सिकाए जस्तो!
र, घामले मलिन अनुहार धुन सिकाए जस्तो!!
म दुखीलाई दु:ख के हो ? के सिकाउँछौ यार,
छोरीले आमालाई सुत्केरी हुन सिकाए जस्तो!!
३)
हो एकपछि अर्को गर्दै लगातार आउँछ!
एकाबिहानै बजारमा अखबार आउँछ!!
बिचरा, गरिब भोकै मर्छ केही थाहा हुन्न,
नेता ज्यू घुम्न गएको समाचार आउँछ!!
४)
सपनाहरू जति सारा यत्रतत्र बनाएर!
अनि आँसु नै आँखामा सर्वत्र बनाएर!!
हो कोही यात्राबिच छुट्टिएको छ आज,
जिन्दगीभर मलाई अलपत्र बनाएर!!
५)
जब जिन्दगीमा कोही आए जस्तो भयो!
ढुङ्गा खोज्दा देउता भेटाए जस्तो भयो!!
त्यही मान्छे जब टाढियो नि यो दिलबाट,
तब सारा नै सर्वस्व गुमाए जस्तो भयो!!
***
प्रतिक्रिया
-
४
-
१०