– पदम विश्वकर्मा

मम्मी, मम्मी ! अब म र ड्याडी पनि उतै आउँछम्, हजुरसँग छिट्टै भेट हुन्छ हाम्रो ।’

छोराको यो भनाइले आमाका आँखा छचल्किए ।

विमला साथीसँग मिलेर डिपेन्डेन्ट भिसामा लण्डन जान सबै बन्दोबस्त पछिऊ लण्डनको उडानमा हिथ्रो एअरपोर्ट अवतरण भई ।

छोरा तिमी र ड्याडी आएपछि रमाइलो हुनेछ,’ फोन राखेपछि विमलाले आँखा पुछपाछ पारी र आफूलाई संयमित राख्न प्रयास गरी ।

विमला विदेश बस्न थालेको चार वर्ष भैसकेको थियो । घरमा तीन वर्षको छोरा, लोग्ने र सासु ससुरा अनि घरपरिवार छाडेर विदेश एक्लै बस्नु पर्दा भित्रभित्रै उकुस मुकुस भैसकेकी थिई । हुर्कंदै गरेको काखको छोरार लोग्नेको माया ममता चटक्क छाडेर विदेश बस्नुपर्दा उसलाई हुनसम्मको अत्यास र छटपटीले गाँजेको थियो ।

मनभरि सपना र छोराको सम्झना बोकेर लामो हवाई यात्रा पूरा गरेकी थिई । छोरा र लोग्नेको विछोडले दुइ दिनको यात्रा वर्ष दिनको जस्तैः कसैसकसमा बल्लतल्ल सकियो । सानो उमेरको छोरालाई चटक्क छाड्न आमाको मन नमाने पनि घरायसी सल्लाहअनुसार पाएको अवसरलाई त्याग्न सकेन विमलाको परिवारले, र विमला हुत्तिएर लण्डन टेक्न पुगी । एक/दुई वर्षमा कागजपत्र बनिहाल्छ, त्यसपछि त श्रीमान् र छोरासँगै बस्न पाइहालिन्छ – दलालले भनेको थियो ।

विदेश पुगिसकेपछि विमलालाई पारिवारिक र खासगरी छोराको चिन्ताले थिलोथिलो बनायो । महिनौ दिनसम्म त छोराको सम्झनाले सताइरह्यो । लोग्नेसँग फोनमा कुरा गरेपिच्छे उसका गहभरि आँसुका डल्ला लड्बडिँदै गालाभरि खस्थे । कैयन रात सिरानी निथ्रुक्क भिजे । साथीहरूले नदेख्ने गरी त कति रोई कति ऊ, त्यसको गन्ती नै छैन । छ्या, छोरा र लोग्नेको कति चिन्ता गरेकी यल्ले ? सबैको यस्तै हो नि, रुममेटकी साथी प्रतिभाले सम्झाउने कोसिस गर्थी । काममा पनि कयौँ दिन आँखाभरि आँसु बोकेर दिनहरू बित्थे । सहकर्मीहरूले देख्ने डरले कुनातिर फर्केर सलले आँसुु पुछी धेरै पटक । दैनिक काम र साथीहरूसँगको हेलमेलसँगै दिनहरू एवं रितले बित्दै गए । अत्यास पनि समयको चक्रसँगै हट्दै जाने रहेछ । हट्दै गयो पनि ।

निष्ठुरी धेरै अँध्यारा रातहरू रोएरै बिते । विहान उठ्दा आँखाहरू सुन्निएर डर लाग्दा र राताराता देखिन्थे । तिमी त रातभर रोएरै बितायौ विमला ? विदेश कोठाममा पनि यसरी आफ्नो शरीर गलाएर कसरी सम्भव हुन्छ ? विदेश धाउनेहरूको नियती यस्तै त हो नि,’ – प्रतिभाले पटक पटक सम्झाउने कोसिस गर्थी । प्रतिभा र विमला कामका पनि साथी, डेराका पनि साथी ।

राता आँखासहित ऊ हतार हतार काममा पुग्थी । कामै गर्न परिवार छाडेर विदेश हानिएकी विमलाले जसरी तसरी मनभरि अनेक पीडार वेदना लिएर पनि काममा जानै पर्थ्यो । शोकमा काम पनि छुट्यो भने परिवार र काम सबै छुट्ने डर अर्कोतिर छँदैथियो । उसका सहकर्मीहरूको हविगत पनि उसकोभन्दा भिन्न थिएन । कसैको लोग्ने नेपालमा, कसैकी श्रीमती नेपालमा, कसैको व्याइफ्रेण्ड–गल्फ्रेण्ड अर्को देशमा । यस्तै यस्तै थिए जिन्दगीका पानाहरू सबैको ।

काम, चिन्ता, पारिवारिक बिछोड आदिले विमलालाई आफ्नै देश फर्कन मन लागिरह्यो । यी सबै दुःखका पहाड पार गर्न एउटी युवतीलाई सजिलो थिएन । घरीघरी उसको मन उडेर लोग्नेको काखमा पुग्थो त घरीघरी छोरा आफ्नै काखमा खेल्थ्यो । आधा मन यता, आधा उता ।

विदेशका अनेक कष्ट सहन नसकेर आफ्नै आँखाअगाडि देश फर्किनेको सङ्ख्या पनि कम थिएन । कुनै दिन कसैलाई पत्तो नदिइकनै टिकट काटेर फर्कूं कि भन्ने नलागेको पनि होइन विमलालाई । घरकासित सल्लाह ग¥यो भने पक्कै नआइज भनिहाल्छन्, उनीहरूलाई पनि थाहै नदिई एकैचोटि सप्र्राइज दिने सोच पनि घरीघरी पलायो उसभित्र । तर कागजको घिड्घिडोले उसका हरेक पाइलाहरू रोकिए ।

कागज बनाउन सबै कागजात तयार पारेँ । बर्थ सर्टिफिकेट, म्यारिज सर्टिफिकेट, सिटिजनसिप सर्टिफिकेट, के के सर्टिफिकेट हुन् केके ? सर्टिफिकेटै सर्टिफिकेटको पत्र रहेछ जिन्दगी । लयर खोजेँ, अनेक झन्झटिला भडखलाहरू पार गरिरहेँ । यो कागज चाहियो भन्छ, अर्को कागज चाहियो भन्छ, हैरानी माथि हैरानी । पैसा पुगेन, थप चाहियो भन्छ, अन्तरर्वार्ताको लागि अभ्यास पुगेन भन्छ । कति हण्डर खप्नु थियो जिन्दगीका पाइलाहरूले ती सबै हण्डर खेपेँ । यति मात्रै भएन दुःख पनि । मान्छेहरू विदेश भनेपछि सुखै सख र ऐश आराम हुन्छ भन्छन्, प्रत्येक रुखमा फल्छ भन्छन्, यी सबै कष्टहरू भोग्नेलाई मात्र थाहा हुन्छ ।

विमलालाई रन्का छुटथ्यो ।

बल्लबल्ल दुई वर्षपछि अन्तर्वार्ताको दिन आयो । विमलासँगै निवेदन दिनेहरूको अत्तोपत्तो थिएन । सहकर्मीहरू कानेखुसी गर्थे — ‘विमलाको त कति छिटो अन्तर्वार्ताको डेट आएछ । हाम्रो मात्रै केही पत्तो छैन । भाग्यमानीको भूतै कमारो ।’

लयरले भनेअनुसारका कागजातहरू झोलामा मिलाएर राखी । मनभरि अनेक तानाहरू खहरेको भेल जस्तै उर्लिए । के के प्रश्न सोध्ने हुन् ? पास भइएला नभइएला ? पास नभए के गर्ने ? अनुहार र मन चिटचिट पसिनाले निथ्रुक्क भिजे । मन मुटु लगलग कामिरहेका थिए । ओठ थरथराइरहेका थिए ।

सबेरै उठेर श्रीमानलाई फोन गरी, ‘अन्तर्वार्ताको लागि जान लागेको । सारै डर लागिरहेको छ ।’

‘नआत्तिनू, जे होला । आत्तिएर पनि त हुने केही होइन नी ।’ श्रीमान्ले ढाडस दिए । अलिकति साहस थपियो विमलाको ।

‘जीवन धान्नको लागि परदेशमा के के नाटक गर्नुपर्ने हो के के ! आफ्नो देशमा भए यतिविघ्न पक्कै गर्नुपर्ने थिएन ।’

विमलाको मन कत्तिखुसी थिएन अझै ।

प्रतिभाले ट्याक्सी रोकी । अर्पाटमेन्ट अगाडि ट्याक्सी रोकियो । ‘विस यु अल द बेष्ट विमला,’ प्रतिभाले हात हल्लाउँदै भनी, र बिदा गरी । बाटाभरि विमलाको मनमा अनेक थरीका डर कल्पनाका छालहरू उर्लिरहे ।

ट्याक्सी इमिग्रेशन अफिस विल्डिङको पार्किङलटमा रोकियो ।

‘हेलो विमला ! आरयु रेडी ?’

आफैँलाई दिने जवाफकेही थिएन विमलासँग ।

विमला एकछिन अक्मकिई । के रेडी छु भन्ने ? डर र शङ्का, उपशङ्काले मन यसैयसै विचलित बनाएको छ । नभए पनि केही चिन्ता छैन । बस्नको लागि घर छँदैछ । गरिखान पाखुरा छंदैछन् । मीठो खान नपाए पनि भोको त बस्नु पर्दैन । झन चाहेजस्तो हुन्छ । आखिर यहाँ पनि उस्तै दुःखको महासागर हो । घरमा फर्किेएर पनि तिनै दुःख हुन् । दुःख र विछोडको दुवै झटारोले सधैँ गरेको प्रहार सहन त पर्दैन । नभए पनि केही फिक्री छ्रैन, विमलाको मन बोल्यो तर कसैले पनि सुनेन ।

‘एस ! आइएम रेडी, मिष्टर पिटर ।’ विमलाको बनावटी बोली फुट्यो ।

‘नो ओरी विमला । यु विलगेट देयर ।’

अनेक सोचका लहराहरू लहरिए । सफल होला वा विफल । विमलाले आफ्नो मन त पहिल्यै बलियो बनाएकी थिई । सफल नभए नि ठीक छ, पराइको देशमा गर्ने दःुख आफ्नै देशमा ग¥यो भने के सम्भव छैन र ? प्राकृतिक हराभरा, जलस्रोतले भरिपूर्ण, मलिलो माटो । मिहिनेत ग¥यो भने सुन नेपालमै फल्छ, तामा, पित्तल नेपालमै उम्रन्छ, नासा नेपालमै खडा हुन सक्छ । केही वर्षमै कायापलट बन्न सक्छ हाम्रो देश । नेपालीहरू किन आफ्नो देशमा ढलेको सिन्को । उठाउन नचाहने, विदेशमा भाँडा मोल्नर चर्पी सफा गर्न पनि पछि नहट्ने ?

राष्ट्रियताले छचल्कियो विमलाको भावना ।

दुई महिनापछि चिठी आयो । विमलाका हातहरू थरथर काम्दै थिए ।

‘खोल खोल विमला चिठी । किन डराएकी?’ प्रतिभाले विमलालाई साथ दिई ।

‘कङग्रयाचुलेसन विमला, वी एप्रुभ योर एप्लिेकशन ।’ — चिठीको माथि लेखिएको थियो ।

विमला र प्रतिभाले हर्षका लामा सास फेरे, एकैचोटि । कल्पना नगरेको चिज प्राप्त भएको थियो विमलाको जीवनमा । विमलालाई पत्यार लागेकै थिएन यस्तो नतिजा आउला भनेर ।

‘भाग्यले साथ दियो विमला तिम्रो । धेरै धेरै बधाई छ तिमीलाई । हेर, तिमी बीचमै फर्कने विचार गर्दै थियौ, फर्केको भए कति आलोकाँचो हुने रहेछ तिम्रो निर्णय,’ प्रतिभाको बोली एकैचोटि पोखिए ।

धेरै जना असफल भएर पनि आफू सफल बन्न सकेकोमा विमलाले आफूलाई भाग्यमानी ठानी । काममा पनि विमलाकै चर्चा भयो । मनमा जे जस्तो भए पनि देखावटी रूपमा सबैले बधाई ज्ञापन गरे ।

विमलाले लोग्नेलाई फोन गरेर खुसी साटी । घरका सबै सदस्य खुसीले भरिभराउ भए । आफूहरू पनि कुनै दिन सपनाको देश बेलायत टेक्न पाइने सोचले ओतप्रोत भए ।

बधाई छ नेप्टी !

भरतले माया गरेरबोलाउने नाम थियो नेप्टी ।

भरत छोरासहित केही महिनामै लण्डन उड्ने दिनरातै सपना देख्न थाल्यो । नेप्टीलाई धन्यवाद दिइरह्यो । लण्डन उड्ने दिनको गन्ति सुरू भयो । छोरा यतिबेला राम्ररी बुझ्ने र बोल्न सक्ने भएको थियो । फोनमा उसले भन्यो, मम्मी अब हामी छिटै भेट हुनेछौँ ।

भरत आफ्नै स्वभावको थियो सानैदेखि, एक्लो छोरो, पुलपुलिएको । मोजमस्ती, ऐश आराम र घुमफिरमा यतिका वर्ष विताएको थियो उसले । नगरकोट, गोदावरी, पोखरा, सौराहा त हरेक महिना पुग्थो । आफैँ कमाउने, आफैँ उडाउने । न कसैको धन्दा, न केहीको धन्दा, मस्तिराम । स्कूल, कलेजमा पनि भरतका अघिपछि केटी साथीहरूको लामो लर्को लाग्थ्यो । लप्पनछप्पन केही थिएन भरतमा । आफ्नो विहेको प्रसंगमा भरतले भनेको थियो – मेरा गर्लफ्रेण्डहरू छन् कलेजमा, पहिल्यै भनेको छु, पछि किचकिच गर्न पाईंदैन ।

सोझी विमलाले हुन्छ भनेर सहमति प्रकट गरेपछि उनीहरूको विहे सम्पन्न भएको थियो ।

बिहेपछि भरत र विमलाको दाम्पत्य जीवन मीठासपूर्वक नै विबत्यो । भरतको बानी यस्तै हो भनेर उ जता पुगे पनि विमलाले नाइँनास्ती केही गरिन । होटल, बार, क्लब, रिसोर्टबाट फर्केपछि पनि उ कहाँ पुगेको थियो, ती प्रश्नहरू मनभित्रै राखी । पिउन थालेपछि दिनरात वितेको पत्तै हुँदैन्थो । दिउँसो सुरू भएको पिउने खेल रात नपरी फत्ते हुँदैनथ्यो । राति सुरु भएको खेल बिहान नभएसम्म फत्ते नहुने । दुई÷चार बोत्तल ढलेको पत्तो हुँदैनथ्यो भन्थी विमला । यस्तैबीच पनि जीवन चलेकै थियो दुवैको । छोरा जन्मेपछि त विमलालाई पारिवारिक दाम्लोले झन् मज्जाले कस्यो । ऊ दाम्लो चुँडालेर फुत्किन पनि सकिन, उम्कन पनि सकिन । बिहे भएको पाँच वर्षपछि विदेश लागेकी थिई, तीन वर्षको छोरा छाडेर ।

‘यसरी नखानू न, स्वाथ्यको लागि राम्रो हुन्न । देख्ने मान्छेले पनि के भन्लान् ? आफ्नो इज्जतको पनि ख्याल राख्नुपर्छ नि । उसको खानपिनप्रति चिन्ता व्यक्त गर्दै विमलाले धेरै पटक आग्रह गरी । तर विमलाले जतिपटक अनुरोध गरे पनि एक कानले सुन्यो, अर्को कानले उडायो । विमलाको केही सिप लागेन ।

विमलाको आग्रह–अनुग्रहपछि पनि केही सीप नलागेपछि भरतका हरेक हाउभाउ, भनाइहरूमा उसको नकरात्मक प्रतिउत्तर प्रकट हुन थाल्यो।  भरत –  मलाई यहाँ बस्न मन लाग्न छाडिसक्यो ।

विमला – नेपाल फर्किए भैहाल्यो नि त । कल्ले बस्न कर गरेको छ र ? तँ आजभोलि मायानै गर्दिनस् त !’ भरतको गुनासो व्यक्त भयो । ‘माया साया गर्न जान्दिनँ !’ विमलाको जवाफ आउँथ्यो ।

विमला र भरतबीचका सम्बन्धका डोरी कस्सिँदै जानूको सट्टा पलपल फुस्किँदै गएको प्रतीत हुन्थो । बिचरीले लण्डनमा काम गर्दै दुःखजिलो जीवनका पलहरू बिताई । दुःख त यसैपनि साथै थियो ।

काम, पारिवारिक बिछोड, शारीरिक, मानसिक सबै पीडा ऊ माथि खनिएका थिए – एक्ली महिलामाथि । त्यसमा पनि कमाएर घरखर्च, छोरा र श्रीमान् को माग पूरा गरिरहनु पर्ने – आइप्याड, आइफोन, म्याकबुक आदि पठाएर । लोग्नेलाई पकेट खर्च, जाँडपानीको लागि खर्च आदि सबै यतैबाट निर्वाह भैरहेको थियो । यता उता दुवैतिरको खर्चपानी विमलाकै कमाइको भरमा अडेको थियो ।

श्रीमान् र छोरालण्डन आउने स्वीकृति पत्रले विमलामा उत्साह र उमङ्गका टुसेराहरू अंकुरित भए । अपार्टमेन्ट हैन, अब उसको चाहना घरतर्फ मोडियो ।

बुहारीको चाहना पूरा गर्न ससुराले कलङ्कीको चार आना घडेरी बिक्री गरे । त्यसैबाट घर किन्नको लागि डाउन पेमेन्ट, छोरा र नातिनीको हवाइ टिकट, तिरोतारोको बन्दोबस्त भयो ।

भरतकी नेप्टीले घर किनेको हल्ला टोल छिमेक भर सनसनीपूर्ण तरिकाले फैलियो ।यता विमला खुसी, उता भरत र उसका बा आमा पनि खुसी । स्वदेश–विदेश दुवैतिर खुसियालीले छायो ।

लण्डनतर्फ उड्ने दिननजिकिँदै आयो ।भरत र छोराको पहिलो पाइताला बेलायती भूमिमा टेकिए । विमलाको चार वर्षको कष्टका दिनले बिटमार्ने आशाका त्यान्द्राहरू पलाउन थाले ।

भरत, विमलार छोराको जीवनको नयाँ अध्याय आरम्भ भयो, त्यस दिनदेखि। नयाँ अध्याय आरम्भ भए पनि भरतको जीवनको अध्यायका पानाहरू फेरिन सकेनन् । रातदिनै रक्सीमा डुबिरहे । नानीदेखि लागेको बानी, विमलाले जति गर्दा पनि हट्नै सकेन ।

काममा बिताउनु पर्ने उर्वर दिनहरू रक्सीको नशामा बिते । रक्सी सेवनसँगै विमला र भरतबीचको सम्बन्धमा पहिले देखिको ङ्यारङुरले निरन्तरता पायो ।

रक्सीले जित्दै गएपछि अनेक निहुँका बाटाहरू निस्किरहे ‘निकै फेरिएकीछस् नी तँ लण्डन आएपछि । मलाई वास्ता नगर्ने भए किन बोलाएकी त रु’ भरतको नियमित डाइलग थियो।

जति सम्झाएपनि, जति आग्रह गर्दा पनि भरतको स्वभावमा एक आना पनि परिवर्तन आउन सकेन ।

विमला उसको स्वाभाव देखेर खिन्न मात्र भइन, हरेश खान थाली ।छोरा र ड्याडी आए पनि विमलालाई सन्तोष हुन सकेन ।

विमति र असहमतिकै बीचमा विमला दुई जीउकी भई । आफ्नै पेट विमलालाई निल्नु नओकल्नु भयो । हुनसम्मको भारी भयो। असतीले झगडा गरीगरी झुक्याएर बच्चा बोकाइदियो, मनमनै भरतलाई सरापी । मनमनै पेटमा बसेको बच्चाले दिनसम्म चिन्ता दियो । एक मनले भन्यो
— विमला, तैंले ठूलो गल्ती गरिस् । थाहा हुँदाहुँदै पनि आफ्नो हात आगोको भुंग्रोमा हालिस्। समय र आफ्नो जिन्दगी चिन्न सकिनस् ।अर्को मनले भन्यो— जे भयो, भै नै सक्यो । त्यो अन्जान बालकमाथि अन्याय गर्ने काम कदापि नगरेस् । त्यही भ्रुण हुर्किएर भविष्यमा तेरो जीवनमा बलियो पहरो बन्नेछ ।

साथीहरू, अविभावकहरूले भ्रूण हत्या गर्ने सल्लाह पटकपटक दिए पनि उसले कल्पनासमेत गर्न सकिन् । भ्रूण हत्या महापाप ठानिरही ।हातमा जे आयो, उसले विना हिच्किचाहट थापिरही ।

एकदिन, आइतबारको दिन, अर्थात् भरतको छुट्टी हुने दिन । शनिबार बेलुका बोतल अगाडि राख्यो । साँझ परेसँगै बोतल रित्तिँदै गयो । नशाले समात्दै गएपछि भरतका मुखबाट रिस उठ्दा नमीठा बाँणहरूको प्रहार सुरू भयो, अरू दिनहरू जस्तै ।

सवाल जवाफको क्रममा विमलाले रक्सी खान नछाड्ने भए मलाई तिमी पनि चाहिन्न भनी । ‘उसो भए म नेपाल फर्कन्छु,’ — भरतले घुर्क्यायो ।

‘छोडपत्र गर्छु त्यसो भए,’ — विमलाले रोश प्रकट गरी ।

एक कान दुई कान, मैदान भयो कुरा ।

विमलालाई उसको बानी अभ्यस्त भैसके पनि नमीठा बाँणहरूले भने बिझाइरहे। उसलाई जीवन निर्वाहको चिन्ता पनि उत्तिकै छ । विदेशको ठाउँमा, छोरो सानै छ । यस्तो पाराले कसरी चल्न सक्छ जिन्दगीका रथहरू ? विमला आफैँ भित्र सन्ताप मानिरही । सजिलो छैन विदेशको बसाइ ।

खर्च पानी, खाना, घरको ऋण, बत्तीपानीको बिल, गाडीको खर्च ।

सहारा दिने लाग्नेको हाल पनि यस्तो छ। कहाली लाग्दो विदेशको बसाइ, कसरी पार लगाउने ? विमलाको मनभरि सोचाइका ज्वारभाटाहरू तँछाड–मछाड गरिरहे ।

पेटभित्रको भ्रूण दिनानुदिन बढ्दो क्रममा छ। अर्को महिना त ड्यु डेट नै तोकेको छ डाक्टरले ।

आइतबार त यसैपनि पूरै दिन छुटी। बिहानै बोत्तल खोज्न थाल्यो भरत। तर बोत्तल सबै रित्ता थिए, अघिल्लो रात नै सिनित्त पारिएका ।

रक्सी नभेटेपछि ढुन्मुनिँदै पसलमा पुग्यो ।तर पसल खुलेको थिएन । टोलका दाइको घरकोढोका ढक्ढकायो भरतले। बिहानको छ मात्रै बजेको थियो।

‘ओहो, एकाबिहानै आउनु भएछ नि ।’ छिमेकी लाहुरे दाइले आँखा मिच्दै ढोका खोले ।

‘अँ दाइ, तपाईंसँग कुरा गर्नुछ ।’

हान्निदै भरत किचनतिर पस्यो । ड्रिङ्क्स राखेको ठाउँतिर गयोर बोतल समाएर ल्यायो ।

छिमेकी दाइले अचम्म मान्दै, अहो, यतिछिटो के गर्नुभा भने ।

‘टेन्सनछ दाइ,’ भन्दैउसले गिलास भर्यो र घुट्को मार्यो ।

दाइ हेरिमात्रै रहे ।

पहिलो बोत्तल सिनित्तै पार्यो । रन्थदिँदै किचनतिर फेरि पस्यो र अर्को बोत्तल निकाल्यो — ब्ल्याक लेबलको । ब्ल्याक लेबलको घुट्कीसँगै उसको दुःखका पानाहरू उप्किँदै गए ।

‘दाइ, म आजै नेपाल जान्छ । टिकट काटिदिनू । टिकटको लागि लाग्ने रकम नेपाल पुग्नासाथ पठाउँछु,’ भरतको एकोहोरो अनुरोध थियो । जिब्रो बटार्दै उसले थप्यो— एएएक बस्स्स्दिनँ, दुइइइइ बस्स्स्दिनँ, तीतीतीन बस्स्दिनँ । यस्स्स्तो पाराले कककसरी बस्ने ? बच्चा पनि ककसरी बस्यो, मलाई थाहा छैन न न ।जा, जाँसुकै जा आआआ भन्छे । ल भन्नु तम अब कसरी बसूँ याँ ? आआको वर्षदिन बित्यो। यय यत्तिक्कै टोकसो छ अअ, कुनैदिन मिमिमि मिठो बोली छैन, सधैँ झरररको र फअअअर्को, सँधै किचकिच छ। सँगै सुतेको पनि थाअअ छैन। पुग्यो अब, म बस्दिन दाइ यहाँ ।’

रक्सीको बेसुरमा उसको गुनासो रोकिएको थिएन ।

धेरै बेरसम्म छिमेकी दाइले सम्झाए — भरे भोलि भएको बेलामा एक्लै छाड्नु हुन्न। यति बेला विमलाले जे भने पनि सहनुपर्छ, गर्भको बच्चा जति बेला पनि जन्मन सक्छ, उसको ख्याल गर्नुपर्छ र उसको दुःखमा साथ दिनुपर्छ ।

बच्चा जन्मिएपछि बच्चालाई हेर्नू । केही समय आफ्नो बच्चासँग बिताउनू अनि यस्तै भैरह्यो भने त्यतिबेला विचार गर्नुहोला । यो बेला विमलालाई जे पनि हुन सक्छ, अस्पताल लैजानु पर्ने हुन्छ।

फेरि उसको पनि त आफ्नो भन्ने तपाइँं बाहेक अरू को नै छ र यहाँ ? हेरचाह गर्ने बेला नै यही हो ।यतिबेला नगरेको हेरचाह कहिले गर्नुहुन्छ ? उसलाई यो अवस्थामा छाडेर जान पाप लाग्छ। यस बारेमा सोच्नु पनि महापाप हुन्छ ।’

अचेत अवस्थाको भरत कुरा गर्दा गर्दै भुइँमा ढल्यो । छिमेकीले घिसार्दै लगेर लिभिङरुममा सुताए र माथिबाट ब्लाङ्केट ओढाइदिए । एकैछिनमा ह्वालह्वाल्ती निस्क्यो भरतको पेटभित्रको सबै ।

छिमेकीले बाल्टी लाँदालाँदै कार्पेटभिजि हाल्यो, पेटको सबै निस्कियो, बाल्टी थापेको भए पक्कै भरिन्थो। पेटभित्र पुगेपछि रक्सी झनै नमीठो गन्हाउने रहेछ ।दुर्गन्धले छिमेकी दाइको पेट बटार्दै ल्आयो। उनी बाथरुमतिर छिरे ।

साँझपख छिमेकीले नै भरतलाई घर पुर्याइदिए।

अर्को हप्ता नवआगन्तुक छोराको फोटोले फेसबुक भरियो । बधाई र शुभकामनाको ओइरो लाग्यो। विमला र भरतको जिन्दगीमा दोस्रो सन्तान थपियो।

केही महिना त भरतले आफूलाई सुधार्न कोसिस गर्यो । तर सानैदेखिको बानी, भरतको स्वाभाव फेरि विगततिरै फर्कियो । दिनरातै रक्सीविना ऊ उभिन सकेन । रक्सीविना उठ्न बस्न त परै जाओस्, उसको आवाजसमेत निस्कँदैनथ्यो।

यतिबेलासम्म धेरैवटा कामहरू पाउनु र गुमाउनु एकैचोटी भए। विमलाले कामको लागि उसलाई धेरैजनासँग अनुनय विनय गरी, एकदुई दिन भन्दा उतै पनि टिक्न सकेन । रक्सीको मीठो गन्धले काममा वरिपरि कोही कर्मचारीहरू उभिन मानेनन, कष्टमरत छाडौँ ।

विमला र भरतको सम्बन्ध पहिलेको जस्तै कुकुर–बिरालाको जस्तो भयो । कुनै परिवर्तन आउन सकेन उनीहरूको सम्बन्धमा । आपसी भनाभन, गाली गलौज र झगडाले घर अशान्तिको घेराबाट छुटकरा पाउन सकेन ।

अब अति भो, यो पाराले जिन्दगी चल्न सक्दैन ।

‘यो छोडपत्रको कागजमा सही गरिदिनू,’ विमलाले छोडपत्रको कागज टेबलमा राखिदिई ।

भरतले नशाकै सुरमा छोडपत्रको कागतमा हस्ताक्षर गरिदियो । भरत र विमलाबीचको पति पत्नीको सम्बन्ध सदाका लागि टुट्यो ।

छोडपत्रमा हस्ताक्षर गरेपछि भरतले दुवै छोराहरूलाई अँगाल्यो। उसका आँखाहरू अविच्छिन्न छचल्किए ।

‘ल बाबू, राम्रोसँग बस है । कुनै दिन अवश्य भेट्न आउनेछु ।आमातिर हेर्दै छोराको आँखा भरिए । उसले सानो बालक छोरालाई पनि के के भन्यो यस्तै मायाका शब्दहरू। तर नाबालक छोराले बुझ्न सकेन।

भरतले आफ्ना लुगाफाटो थोत्रो झोलामा पोको पार्यो र तिनै छिमेकी लाहुरे दाइको घरतिर लाग्यो, विमलासँग सदाका लागि बिदा भएर । विछोडको सन्ताप माउसले फेरि ब्ल्याकलेबलको अर्को बोत्तल सिनित्त पार्यो र दुःखहरू लाई रक्सीमा डुबायो ।

उनैले भरतको फिर्तिटिकट काटिदिए ।दुई जोर लुगाफाटो र छोराहरूको सम्झना बोकेर पर्सिपल्ट भरत काठमाडौँ विमानास्थलमा रक्सीले हल्लिँदै उत्रियो ।

छोराहरूको अभावमा भरत दिनरात छटपटिइ रह्यो, पश्चात्तापको भूमरीमा डुबिरह्यो ।

राम्ररी बस्नू सधैँ स्कूल जानू, ज्ञानी हुनू — मनमनमा यसै भन्दै भरत नेपाल पुग्यो, र रक्सीकै नशामा छोरालाई सम्झन पुग्यो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर