कवि, डा. अस्मिता विष्ट नेपाली कवितामा उदाउँदो नाम हो । महेन्द्र बहुमुखी क्याम्पस धरानमा अंग्रेजी विषय प्राध्यापन गराउँदै आएकी डा. विष्टका लैङ्गिक दृष्टिकोणबाट नेपाली आख्यान र सिनेमा बारे ४ दर्जन बढी लेखहरू प्रकाशित छन् । उनले ‘कन्फाइन्मेन्ट ट्रान्सग्रेसन लिवरेसन : डाइनामिक्स अफ जेण्डर रोल इन कन्टेम्पोररी नेपाली नोबल्स एण्ड फिल्मस्’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी हुन् । सम-सामयिक विषयमा राष्ट्रिय दैनिकमा कलम चलाउँदै आइरहेकी उनको भर्खरै ब्ल्याकहोलमा गीतहरू नामक कविता सङ्ग्रह प्रकाशित भएको छ । यसै सङ्ग्रहको सेरेफेरोमा रहेर कविसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र कविको जवाफ ;

१, “ब्ल्याकहोलमा गीतहरू” कृतिका बारेमा केही बताईदिनुस न् ।

ब्ल्याकहोलमा गीतहरू’ कविता सङ्ग्रहमा पैतालिस वटा कविताहरू समावेश छन्। यी कविताहरूले मैले बाँचिरहेको समाजको समग्र चित्रलाई प्रतिविम्बित गर्छन्, जसको केन्द्रबिन्दु मानवता हो। वास्तवमा, यो कृति मानवताको एउटा सशक्त सँझ्याल हो।

मानिस जीवित र जिवन्त रहनका लागि वास, गाँस र कपास जत्तिकै अपरिहार्य कुरा भनेको मानवताको अभिव्यक्ति हो। मानवता प्रेम, सहानुभूति र समानुभूतिको रूपमा प्रकट हुन आवश्यक छ। कविको दायित्व पनि आफ्ना सिर्जनामार्फत यस्ता मूल्यहरू समाजमा प्रवाहित गर्नु हो, भन्ने विचार केन्द्रमा राखेर लेखिएका कविताहरू छन् सङ्ग्रहमा।

समाज अवलोकनको मेरो दीर्घ यात्रामा मैले देखेका मानवताका विभिन्न आयामहरू यस सङ्ग्रहमा अभिव्यक्त भएका छन्। कतिपय मानिसबाट हराउँदै गएको मानवता र त्यसबाट समाजले भोग्नुपरेका पीडाहरू पनि यहाँ समेटिएका छन्। सङ्ग्रहाका कविताहरूमा प्रकृतिले सधैं रोमाञ्च मात्र होइन, कहिलेकाहीँ विध्वंस पनि निम्त्याउने दृश्यहरू प्रस्तुत गरिएको छ। बुबाको सन्तानप्रतिको संघर्ष र प्रेम, दुई फरक पुस्ताका आमाहरूको सन्तानप्रतिको भिन्न अभिव्यक्ति, क्रान्ति र देशप्रेमको अनुभूति, पहिचानको प्रश्न, प्रेम र विछोडका विविध आयामहरू—यी सबै विषयहरूलाई कवितामा सजीव रूपमा चित्रण गरिएको छ। त्यस्तै, वैदेशिक रोजगारीका कारण उत्पन्न परिस्थितिहरू र त्यसले देश तथा समाजमा पारेको कारुणिक प्रभाव पनि यस कृतिको महत्वपूर्ण पक्ष हो।

२, ब्ल्याकहोलमा त प्रकाशसमेत निस्किन सक्दैन भनिन्छ । तपाईँ गीतहरूको कल्पना गरिरहनुभएको छ । खासमा एउटा पाठकले यसबाट बुझ्नुपर्ने कुरा के के हो ?

ब्ल्याकहोलमा गीतहरू” शीर्षकले गहिरो प्रतीकात्मक अर्थ बोकेको छ, जसलाई पाठकले जीवनका अनुभवहरूसँग जोडेर सहजै बुझ्न सक्छन्। यदि हामीले बाँचेको जीवनका सम्बन्ध, भोगाइ र अनुभवहरूलाई एउटा तारा मान्ने हो भने, समयसँगै त्यो तारा क्रमशः खुम्चिँदै गएर अन्ततः ब्ल्याकहोलमा रूपान्तरण हुन्छ। त्यसरी बनेको ब्ल्याकहोलले हाम्रा अनुभूतिहरूलाई आफ्नो अनन्त गुरुत्वाकर्षणमा तान्दै लैजान्छ, जहाँबाट सामान्य मानिसका लागि फर्किनु असम्भवजस्तै हुन्छ। समाजबाट आशा, आवाज र संवेदनाहरू हराउँदै जाने क्रममा, अन्याय, विछोड, वैदेशिक रोजगारीका पीडा र मानवताको क्रमिक क्षय स्पष्ट देखिन्छ।

तर यति हुँदाहुँदै पनि, यही अन्धकारभित्र “गीतहरू”—अर्थात् कविताहरू—जन्मिन्छन्। ती कविता दबिएका आवाजहरू, नबोलिएका अनुभूतिहरू र भित्री संघर्षहरूको सशक्त अभिव्यक्ति हुन्। यसरी, यो शीर्षकले देखाउँछ कि जीवनका सबैभन्दा कठिन र सुनसान क्षणहरूमा पनि मानवता र सिर्जनशीलता मरेका हुँदैनन्; बरु तिनै अन्धकारका गर्भबाट आशा र अर्थको नयाँ उज्यालो जन्मिन सक्छ। र पाठकले यो कविता सङ्ग्रहलाई कविले ब्ल्याकहोल भित्र गुन्जाएको गीत हो भनेर बुझ्न सक्छन्। यी कविताहरूको गुरुत्वाकर्षणले कवि वाचेको समाज र समयलाई आफुभित्र ग्रहण गरेका छन् भनेर पनि बुझ्न सक्छन्।

३. कविता किन लेख्नुहुन्छ? कृति प्रकाशनको आवश्यकता किन पर्‍यो?

जीवन भोगाइहरूले म भित्रै प्रतिध्वनि गराइरहेको आवाजलाई सरल, सहज र सटिक ढङ्गले जगत समक्ष पुर्‍याउन कविता उत्तम माध्यम हो कविताको यहि विशिष्ट गुणबाट प्रभावित भएर म कविता लेख्छु। जीवनका सुन्दर अनुभूतिहरूलाई सुन्दर ढङ्गले प्रतिबिम्बित गर्ने कला कवितामा मात्र सम्भव हुन्छ।

कवितामा सम्पूर्ण जगतको मौनतालाई अर्थपूर्ण रूपमा व्यक्त गर्ने क्षमता हुन्छ। त्यो क्षमता प्रयोग गर्दै मौनतालाई आवाज दिनु कविको जिम्मेवारी हो भन्ने बोधले मलाई कविता लेख्न प्रेरित गर्छ। जीवनमा देखिने अन्याय, असमानता, वेथिति ले जब मलाई उद्वेलित बनाउछ, तब ती भावनाहरू कविता भएर प्रकट हुन्छन्।

कविता मेरो हृदयलाई शान्त राख्न, सेल्फ हिलिङको माध्यम हो, यो निराशाको गहिरो गर्तबाट बाहिर निकाल्ने शक्तिशाली साधन हो। यसले मलाई उज्यालो तर्फ डोर्याउँछ, सहानुभूति र समानुभूतिको भावना कायम राख्न सिकाउँछ, र मलाई जीवित भएको महशुस गराउँछ।

कविताले मलाई लौकिक र अलौकिक दुनियामा विचरण गराउँछ, आशा र आनन्दको उज्यालोले नुहाइदिन्छ। यसले मलाई एकै समयमा सुन्दर, सभ्य, कोमल र क्रान्तिकारी बनाउँछ। कविताले मेरो भित्री आवाजलाई व्यक्त गर्न पनि मद्दत गर्छ, जुन सचेत अवस्थामा म व्यक्त गर्न सक्दिन।

यी सबै अनुभव र अनुभूतिहरू पाठकसमक्ष पुर्‍याउन आवश्यक थियो। हरेक कविको आफ्नै विशिष्ट अनुभव हुन्छ, र मेरो अनुभवलाई मेरो निजत्व र शैलीमा प्रस्तुत गरेर पाठकको अन्तस्करणलाई स्पर्श गर्ने प्रयास नै यो कृति प्रकाशनको उद्देश्य हो।

४, कृति भित्रको कुनै एउटा कविताको रचनागर्भ सुनाईदिनुहोस् न ।

मेरो कविता कृति ‘ब्ल्याकहोलमा गीतहरू’ मा रहेको ‘सम्झना को धागोमा उनेर’ शिर्षकको कविता छ- मेरो आमा स्वर्गिय भए पश्चात मैले यो कविता लेखेकी हुँ। जब मैले आमा गुमाए, मलाई महशुस भयो -म भित्रको एउटा अस्तित्व आमासङ्गै चोइटिएर गयो। उमेरको यो मोडमा आइपुग्दा पनि मभित्रको वालापन जीवित रहेछ, जो हरसमय आमाको उपस्थिति खोजिरहन्थ्यो/ खोजिरहन्छ। आमा विनाको जीवन मेरो निम्ति अन्धकार र सुन्यताको कुहिरोले ढाकेको जस्तो भयो । अनि त्यहि पीडाको कुहिरो मा आमाको वात्सल्य को प्रकाश खोज्दै मैले यो कविता लेखे। आमा विनाको मेरो माइति घरमा मैले अनुभुति गरेका पलहरु यस कवितामा प्रतिविम्बित छन्।

५. “ब्ल्याकहोलमा गीतहरू” पाठकले किन पढ्नुपर्छ ?

“ब्ल्याकहोलमा गीतहरू” सङ्ग्रहमा समावेश कविताहरू मैले वाचेको समयको प्रतिध्वनि हुन्। पाठकले यो सङ्ग्रह पढेर यस समयको आवाज सुन्न सक्छन्। यसले म बाचिरहेको समाजको प्रतिबिम्ब प्रस्तुत गर्छ, त्यसैले समाजको चित्र बुझ्न र महसुस गर्न यो सङ्ग्रह पढ्न आवश्यक छ।

साथै, यसले मेरो व्यक्तिगत आवाज र अनुभूति बोकेको छ। ती आवाज सुन्न र मेरो आवाजलाई नेपाली तथा विश्व साहित्यमा प्रस्तुत अन्य आवाजहरूसँग तुलना गर्न यो सङ्ग्रह अवश्य पढ्न आवश्यक छ भन्ने म ठान्दछु। मलाई लाग्छ मेरो जीवन र जगतप्रतिको दृष्टिकोण बुझ्न पाठकलाई यो सङ्ग्रहले अवश्य मदत गर्ने छ।

अन्ततः, मेरा कविताहरू केवल कल्पनाको उडान हुन् कि समाजप्रतिको जिम्मेवारी बोधको दस्तावेज पनि हुन् भन्ने बुझ्न पनि यो सङ्ग्रह महत्वपूर्ण छ।

प्रतिक्रिया

सम्बन्धित खवर