नेपाली साहित्यमा विद्यावारिधि गरेका शंकरप्रसाद गैरे पेशाले प्राध्यापक हुन् । त्रि.वि. त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा कार्यरत गैरेको जन्म बगनासकाली–७, पाल्पामा भएको हो । २०६०/०६१ तिरबाट सक्रिय रूपमा साहित्यमा लागेका गैरेले साहित्यका सिर्जनात्मक तथा समालोचनात्मक क्षेत्रमा कलम चलाउँदै आएका छन् । प्रारम्भमा मूलतः कविता, गजलमा सक्रिय गैरे पछिल्लो समय आख्यानमा अधिक सक्रिय देखिन्छन् । विभिन्न विधा र क्षेत्रका आठ कृति लेखिसकेका गैरेको हालसालै प्रकाशित उपन्यास सूतपुत्रको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले डा. गैरसँग गरेका पाँचप्रश्न र उत्तर ;

१, उपन्यास सूतपुत्रका बारेमा केही बताइदिनुस् न ।

सूतपुत्र मेरो तेस्रो प्रकाशित उपन्यास हो । यसअघि उज्यालोतिर र कृष्ण प्रकाशित छन् । यो मूलतः महाभारतको जगमा उभिएर लेखिएको कृति हो । कर्णलाई यसमा नायक बनाइएको छ । यस अघि कृष्ण लेख्दैगर्दा र लेखिसकेपछि अर्को नयाँ काम गर्ने क्रममा मलाई कर्णको सङ्घर्षपूर्ण जीवनले निकै प्रभावित पार्यो । त्यसपछि यसलाई नै उपन्यासको विषय बनाउनुपर्छ भन्ने अठोट गरेर लेख्न बसेको हुँ । उपन्यासमा महाभारतको कथा र त्यससम्बद्ध पात्रमात्र छैनन् । यसमा थुप्रै पात्र र परिवेश नवीन छन् अर्थात् काल्पनिक छन् । उपन्यास पढिसकेपछि धेरै पाठकले ती पात्रको उल्लेख गर्दै “कुन पुराणमा तिनको कथा पाइन्छ ?” भनेर पनि सोधेका छन् । यसको प्रमुख कारण उपन्यास लेखनको मेरो उद्देश्यलाई बलियो तुल्याउनु हो । पुस्तक पढेका पाठकले वा पढेपछि यो कुरा सहज रूपमा बुझ्न सकिनेछ ।

 

२, महाभारतका एक महान् पात्र कर्ण जो कौन्तेय थिए र पनि आफूलाई बाचुञ्जेल सूतपुत्रका रूपमा मात्र स्विकारे । जस्तै भए पनि कुन्ती उनकी माता थिइन् र उनका पनि बाध्यता थिए । तर कुन्तीबाट उनी किन भाग्न मात्र खोजे ? कुन्तीको बाध्यतालाई सहर्ष स्वीकारेर कौन्तेय पनि त हुन सक्थे हैन र ? उनी त दानवीर पनि थिए, आमाको भुललाई उनले स्वीकार्न नसकेजस्तो किन देखिएको हो ?

त्यसो त आख्यानमा लेखकले पात्रलाई वा घटनालाई आफ्नो उद्देश्यअनुकुल परिवर्तन गर्ने अधिकार राख्दछ, र पनि मूलतः यहाँले जुन प्रश्न गर्नुभयो त्यो उपन्यासको कथामा आधारित भएर होइन कि महाभारतको कथामा आधारित रहेर गर्नुभएको हो भन्ने लाग्छ । त्यस रूपमा यहाँको प्रश्नलाई बुझ्दैगर्दा के कुरा बुझ्नु आवश्यक छ भने कर्ण कौन्तेय भएर त्यस कुरालाई उनले स्वीकार नगरेर आफूलाई सूतपुत्रका रूपमा चिनाएको होइन । उनलाई त प्रथमतः आमा कुन्तीले नै तिरस्कार गरेकी हुन् । यद्यपि उनको बाध्यता थियो । कुमारी उमेरमै जन्मिएको बालकका कारण राज्य तथा मातापिताको प्रतिष्ठामा लाग्ने कलङ्कका कारण उनले कर्णलाई नदीमा बगाउनुपर्यो । र पनि कुन्तीले कर्णलाई तिरस्कार गरेकी हुन् ।

अर्को कुरा कर्णले आफूलाई सूतपुत्रका रूपमा चिनाएका होइनन् । समाजले उनलाई सूतपुत्र भनेर अपहेलना गर्न खोजेको हो । त्यसलाई उनले सहज रूपमा लिइदिए र उनको परिचय सूतपुत्रका रूपमा रहन गयो । कुन्तीबाट उनी भाग्न खोजे भन्ने कुरा पनि तार्किक छैन । किनकि कर्णले कुन्तीलाई चिन्नुभन्दा पहिला कुन्तीले कर्णलाई चिनेकी हुन् । किनकि बगाउने बेलामा उनले कानमा लगाइदिएका कर्णकुण्डलले (वा जन्मजात प्राप्त भने पनि) कर्ण मेरो छोरो हो भन्ने कुन्तीले चिनेकी थिइन् । कर्णले त धेरै पछि मात्र मातालाई चिनेका थिए ।

“कुन्तीको बाध्यतालाई सहर्ष स्विकारेर कौन्तेय पनि त हुन सक्थे हैन र ?” भन्ने तपाईको प्रश्नमै कर्णको बाध्यताको उत्तर छ । कुन्तीको बाध्यताले नै कर्णलाई कुन्तीबाट टाढा तुल्याएको हो । अनि उनी कसरी कुन्तीलाई स्वीकार गर्न सक्थे ? । अब अर्को कुरा कुन्तीले कर्णलाई पुत्रका रूपमा कहिले स्वीकार गरिन् भन्ने महत्त्वपूर्ण कुरा छ । कुन्तिले कर्णलाई पुत्र मान्दै उनीसामु पहिलो पटक त्यतिबेला पुगिन् जतिबेला कुरुक्षेत्रको युद्ध घोषणा भइसकेको थियो । त्यसपूर्व कर्णले जेजस्तो सङ्घर्ष गर्नुप¥यो, तिरस्कार सहनुप¥यो त्यसमा प्रत्यक्ष परोक्ष पाण्डव दाजुभाइको हात रह्यो र त्यसमा दुर्योधनले मात्र साथ दियो । जसले एक सामान्य सारथिको छोरालाई राजा बनायो, त्यस मित्रप्रतिका केही दायित्व थिए कर्णसँग; जसले गर्दा कुन्तीको आग्रह स्वीकार गरेनन् । अन्यथा कुन्तीलाई कर्णले स्वीकार नगरेको भन्ने अवस्था महाभारतमा कतै पनि देखिँदैन ।

दानवीर भएर आमाको भुललाई किन स्वीकार गर्न सकेनन्  भन्ने प्रश्न छ । यदि कर्णले आमाको प्रस्ताव स्वीकार गरेको भए दुर्योधनको साथ छोड्नुपथ्र्यो र त्यसो गरेको भए  कर्ण कृतघ्न मानिने थिए । किनकि जसले दुःखमा साथ दियो । उसलाई उसको दुःखमा छोडेको ठहरिने थियो । त्यसकारण कर्ण दोषी पात्र होइनन्, उनको जीवन परिस्थितिको उपज हो ।

३, कर्णलाई महान् मानेर नायकत्व दिँदै धेरै उपन्यास, कथा, महाकाव्य लेखिए तर पापी जान्दाजान्दै दुर्योधनलाई उनले किन साथ दिए होलान् ? मित्रको उपकारमा पापलाई बढाउनु त्यो पनि कुरु(धर्म)क्षेत्रमा … यसरी त उनी कसरी नायक हुन् ?

भनिन्छ नि कुरो र कुलो जता लग्यो उतै जान्छ । तपाईले नै भन्नुभयो “कर्णलाई महान् मानेर नायकत्व दिँदै धेरै उपन्यास, कथा, महाकाव्य लेखिए” यस कुराले पनि के पुष्टि हुन्छ भने लेखक अध्येताहरूले कर्णलाई नायक स्वीकार गरे । पहिलो कुरा दुर्योधनलाई पापी मान्ने आधार के हो ? यो महत्त्वपूर्ण प्रश्न छ । दुर्योधन अति जिद्दी थियो यो सत्य हो । त्यो बाहेक उसलाई सारै दोष दिने आधार के ? आफ्ना बाबु जेठो छोरा र राजा हुँदाहुँदै आफू युवराज बन्न पाउने अधिकार खोसिने षड्यन्त्रको विरुद्धमा ऊ सक्रिय भयो । अब कर्णले कुरुक्षेत्रको युद्धमा दुर्योधनलाई किन साथ दिए भन्ने प्रश्न । कर्णसँग त्यसको कुन विकल्प थियो त । यदि पाण्डव पक्षबाट युद्ध गरेको भए मित्रको मित्रता, सहयोग, योगदान र विश्वासमाथि घात गरेको भन्ने आरोप कर्णलाई लाग्दैनथ्यो ? त्यस अवस्थामा उनलाई अझ बढी स्वार्थी, कृतघ्न, घाती मान्ने थियो इतिहासले ।

४, महाभारतमा दुर्योधन पक्ष खलपात्र र पाण्डव पक्ष धर्मको पक्षधर नायकको रूपमा व्याख्या गरिन्छ । उनै पाँच पाण्डव धर्मको पक्षमा भए पनि कुन्तीपुत्र कर्ण विपक्षी देखिए । एउटा मान्छे असल हुन जन्मकोख भन्दा पनि सङ्गतले असर गर्छ हो ? नत्र कुरुक्षेत्रमा आफू मर्दैछु भन्ने जान्दा जान्दै पनि आफ्नै दाजुभाइ मार्न किन तम्सिए कर्ण ? उनका दाजुभाइको दोष के हो ?

तपाईको यस प्रश्नको उत्तरले एउटा भनाइ सम्झायो ः “इतिहास जित्नेको लेखिन्छ ।” कुरुक्षेत्रको युद्धमा पाण्डवहरूको जित भयो र उनीहरू सत्तामा पुगे । व्यासले सत्ताको पक्षमा लेखेको पनि त हुन सक्छ । नत्र पाण्डवहरू धर्मका पक्षधर र कौरवहरू पापका पक्षधर भन्ने आधार के ? राधा उपन्यासमा कृष्ण धरावासीले लेखेका छन् कुरुक्षेत्रको युद्धमा कौरव पक्षले भन्दा धेरै युद्ध नीतिको उल्लङ्घन पाण्डव पक्षले गरेका छन् । यहाँ कसले के गर्यो भन्ने कुरा भन्दा कर्ण कौरव पक्षमा उभिन किन विवश भए भन्ने कुरा महत्त्वपूर्ण छ । तपाईको कर्ण दाजु भाइ मार्न तम्सिए भन्ने प्रश्न गजबको छ । त्यसो भए अर्जुनले त हजुरबा (भीष्म)लाई मारेकै हुन् । गुरुलाई मार्न तम्सिएकै हुन् । अर्जुनमात्र होइनन् सबै भाइ पाण्डवले युद्धमा कसलाई मारे ? कृष्णले आफू पाण्डव पक्षमा रहेर सारा द्वारकाको सेनालाई कौरव पक्षबाट लड्न पठाए । अर्जुनलाई कौरव सेनाको विनाश गर्न उक्साउदा के आफ्नै सेनाको विनाश भएको होइन ? त्यसकारण कुरो र कुलो जता लग्यो त्यतै जान्छ । र कर्णले आफ्नो जीवनमा धर्मसङ्कटका बेला जे निर्णय गरे त्यो उनका अगाडि देखिएको सर्वोपयुक्त विकल्प थियो ।

 

५, यहाँको यसअघि पनि कृष्ण उपन्यास आएको थियो । सूतपुत्र पनि पौराणिक ग्रन्थबाटै उपन्यास निर्माण गरिदिनुभयो । छोटकरीमा तपाईँले बुझेको भागवत गीताका सूतपुत्र र तपाईँले लेख्नुभएको सूतपुत्रमा के के नयाँ छ ? गीता पढिसकेका र नपढेका पाठकले सूतपुत्र किन पढ्नुपर्छ होला ?

गीता आख्यान होइन विचार हो, ज्ञान हो । द्वापर युगमा विशेषतः सान्दीपनि विद्यापीठमा भक्तिज्ञानको शिक्षा दिइन्थ्यो । कृष्ण त्यसबाट पूर्णतः सहमत थिएनन् । उनी कर्मज्ञानमाथि विश्वास गर्थे । कर्मज्ञान कर्म गर्नुपर्छ, कर्म, मान्छेको आफ्नो दायित्वमा पछि हट्नुहुँदैन भन्ने भावबाट प्रेरित छ । कृष्णले अर्जुनलाई सम्झाएको नै त्यही थियो । युद्धमैदानमा उपस्थित भएपछि कोही आफन्त नातागोता हुँदैन । जो विपक्षमा छ त्यो शत्रु हुन्छ र जो शत्रु हो ऊसँग युद्ध गर्नु, सके उसलाई पराजित गर्नु योद्धाको धर्म हो । कृष्णले अर्जुनलाई सिकाएको मुख्य कुरा यो हो (तर यतिमात्र नभएर गीतामा धेरै कुरा छ) ।

कृष्ण लेखिसकेपछि मलाई कर्णको चरित्रले आकर्षित गर्यो र सूतपुत्र लेखेको हुँ । कृष्णमा अतिदैवीकरण गरिएका पात्र र घटनालाई मानवीकरण तथा सामान्यीकरण गरेर प्रस्तुत गर्ने प्रयास गरिएको थियो । सूतपुत्रमा महाभारतको कथा केवल माध्यममात्र हो । यसमा मूलतः समाजमा विद्यमान जातीय विभेदलाई प्रस्तुत गर्दै त्यसको आलोचना गर्नु र समन्यायपूर्ण, समतामूलक समाजको निर्माण गर्ने सन्देश दिनु सूतपुत्रको महत्त्वपूर्ण लक्ष्य वा उद्देश्य हो भन्ने मेरो मान्यता हो । त्यसका लागि यसमा पर्याप्त मौलिकता प्रदान गरिएको छ । प्रस्तुतिकरणमा नवीनता, जीवनीमूलकता मैले गरेको नयाँ प्रयास हो । पाठकले महाभारतकथामा भन्दा सूतपुत्रमा कर्णको कथालाई पर्याप्त मौलिक रूपका साथ भेटाउनुहुने छ र यहाँलाई नयाँपनले पूर्ण सन्तुष्टि दिनेछ भन्ने कुरामा म विश्वस्त छु ।

अन्त्यमा, आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा धन्यवाद । यहाँले जे जे प्रश्नहरू राख्नुभयो, तिनको उत्तर ज्यादै प्रष्ट पार्न अलि लामो उत्तर दिनुपर्ने हुन्छ, जो यहाँ सायद सम्भव नहोला । यस्ता जिज्ञासाकाे समाधान गर्ने अनेक र पर्याप्त प्रसङ्गहरू सूतपुत्रमा छन् । तसर्थ पाठकवृन्दसँग म के अनुरोध गर्दछु भने यहाँहरूले एकपटक सूतपुत्र पढ्न आग्रह गर्दछु र पौराणिक विषयमा मैले लेख्नुको कारण बुझ्नका लागि सम्भव हुन्छ भने कृष्ण समेत पढ्न अनुरोध गर्दछु । धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर