जाजरकोटका क्षितिज समर्पण गजल, कविता, गीत र कथा लेखनमा सक्रिय छन् । ‘बाह्रखरी कथा प्रतियोगिता (२०७६ र २०७७)मा पुरस्कृत उनको ‘आगोका फूलहरू’ एकल गजल सङ्ग्रह (२०६७), ‘कैफियत’ संयुक्त गजल सङ्ग्रह (२०७०) प्रकाशित छ । ‘गोपी’ चलचित्रले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगिता (२०७५) का विजेता उनी दशौं राष्ट्रिय खेलगीतका रचनाकारसमेत हुन् । फुटकर कथा लेखिरहेका उनको ‘तोरकीन’ पहिलो उपन्यास हो । यसै उपन्यासको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र समर्पणको जवाफ;

१, तोरकीन शब्दले उपन्यासमा जनाउने अर्थसहित उपन्यासका बारेमा छोटकरीमा बताइदिनुहोस् न ।

– धन्यवाद । तोरकीन ल्होवा भाषाको शब्द हो । ल्होवा भाषा नेपालको माथिल्लो मुस्ताङ लगायतका क्षेत्रमा बोलिने भाषा हो । यसको अर्थ हराउनु, लोप हुनु भन्ने हुन्छ । उपन्यासको मूल मर्म अथवा भावलाई जनाउनका लागि यो शीर्षक राखिएको हो । तोरकीन उपन्यासमा हराउँदै गएको माथिल्लो मुस्ताङको संस्कार, परम्परा, रहनसहन र इतिहासको कथा छ । त्यहाँका दरबार र गुम्बाको सामाजिक एवं सांस्कृतिक इतिहासको कथा छ । उपन्यासमा पग्लिँदै गएका हिमाल, रित्तिँदै गएका गाउँवस्ती, चिसिँदै गरेका हाम्रा मनहरूको कथा छ । यो प्रेम, सपना र सम्बन्धहरूको कथा पनि हो ।

विकास र जलवायु परिवर्तनले मावन सभ्यतामा पारिरहेको असरको चिन्ता र अझ निम्त्याउन सक्ने जोखिमप्रतिको चेतावनी पनि हो उपन्यास – तोरकीन । मूलत: यो मौलिक नेपाली उपन्यास हो । भर्खर अक्षर चिन्न जानेकोदेखि अक्षर देख्नसक्ने उमेरसम्मका पाठकले यसलाई पढ्न सक्नुहुन्छ । सबै उमेर समूहका पाठकलाई यसले छुनेछ, महसुस गराउनेछ भन्ने लाग्छ ।

२, तोरकीन उपन्यासले ऐतिहासिक समय र स्थान विषेशलाई समेत प्रमुखताका साथ उजागर गरेको छ । यो विषयमा लेख्ने सोच र यसका लागि गर्नुभएको मेहनत जानौं न ।

– उपन्यास लेख्ने सपना पहिलेदेखि नै थियो । जीवनमा कुनै न कुनै दिन उपन्यास लेख्छु भन्ने सोचेको थिएँ । र, लेखिरहेको पनि थिएँ । तर तोरकीन लेख्दालेख्दैको एउटा अर्को पाण्डुलिपीलाई थाती राखेर लेखिएको उपन्यास हो । आधाउधी लेखिसकेको त्यो पाण्डुलिपीमा अब काम गर्छु या गर्दिनँ, गरेँ भनेपनि कहिले गर्छु थाहा छैन । किनकी तोरकीनले एउटा जिम्मेवारी बढाएको छ । तोरकीनप्रति प्रिय पाठकहरूले देखाउनुभएको असीम प्रेमले मलाई थप संवेदनशील हुन र लेखनमा अझ परिस्कृत हुन चुनौती थपिएको छ ।

तोरकीन एउटा संयोगले लेखिएको उपन्यास हो । नत्र अहिले तोरकीन नभएर मेरो अर्कै उपन्यास बजारमा हुन्थ्यो । शुरूमा म माथिल्लो मुस्ताङ घुम्न गएको थिएँ । साथमा साथी सागर अधिकारी र विशाल भण्डारी हुनुहुन्थ्यो । काठमाडौंबाट जाँदा सागर र म मात्र गएपनि माथिल्लो मुस्ताङमा विशालजी जोडिनुभएको थियो । उहाँ त्यहीँ कार्यरत हुनुहुन्थ्यो । त्यसले पनि हाम्रो भ्रमणलाई सहज बनायो ।

जब म माथिल्लो मुस्ताङ पुगेँ त्यहाँको भूगोल, वातावरण, त्यहाँका मान्छेहरूको संस्कार र अनुशासनले मलाई लोभ्याइरहेको थियो । त्यसपछि त्यहाँका बारेमा थप चासो राखेँ । त्यहाँका ऐतिहासिक गुम्बा, दरबार, इतिहास, परम्परा, रहनसहन र मिथकहरूले मलाई झन् उद्देलित बनाए । अनि सोचेँ- यी त लेखिनुपर्ने कुरा हुन् । मैले किन नलेख्ने भन्ने लाग्यो । एक हप्ते भ्रमण सकेर काठमाडौं फर्किँदै गर्दा झोलाभरि कथाका प्लट बोकेर फर्किएँ । जब म काठमाडौं आएँ मलाई माथिल्लो मुस्ताङले हानिरह्यो । अनि केही दिनपछि म फेरि माथिल्लो मुस्ताङ गएँ । त्यहीँका मानिससँग बसेँ । खाएँ । गुम्बा गएँ । काङ्ग्योर पूजामा सहभागी भएँ । लाप्सीहरू बोकेँ । महाकालाको थांकाको दर्शन गरेँ । जुन चराङ दरबारमा राखिएको छ र वर्षमा एकपटक मात्र प्रदर्शन गरिन्छ ।

यसरी पटक-पटक गरेर उहाँहरूसँग करिब दुई महिना समय बिताएपछि उपन्यासले एउटा आकार ग्रहण गर्‍यो ।

३, कविता, गजल, कथा लेख्ने एउटा साहित्यकार जसलाई के त्यस्तो पर्‍यो र उपन्यास लेख्नुपर्‍यो, जुन कुरा अन्य माध्यमबाट सम्बोधन गर्न सकिएन ।

– मैले अघि पनि भनेँ उपन्यास मेरो सपना हो । थाहा छैन, यो सपना कहिलेदेखि देख्न थालेँ । तर मेरो जीवनमा उपन्यास लेख्ने कुरा एउटा सपनाका रूपमा थियो । म जाजरकोटमा जन्मिएको मान्छे, जहाँ साहित्यिक किताब मुस्किलले पुग्थे त्यो बेला । अहिलेजस्तो सहज थिएन । म रेडियोमा उपन्यास सुन्दै हुर्किएको हुँ । उपन्यासप्रतिको लगाव त्यो बेलादेखिकै हो ।

हो, म लेखनको हिसाबले गजल, कविताबाटै आएको हुँ । पछि कथा र गीत लेख्न थालेँ । यी विधामा कलम चलाउँदै गर्दा मैले मेरो उपन्यास लेखनको सपनालाई मर्न दिएको थिइनँ । जसलाई अहिले आएर पूरा गरेँ । अझ भनौं एउटा खुड्किलो उक्लिएँ । अझै लेख्नु त कति छ कति !

लेखनका हिसाबले पाठकमा जुनै विधाले पनि पुग्न सकिन्छ,आफ्नो उपस्थिति जनाउन सकिन्छ । मेरा लागि कुनै विधा कमसल र कुनै अब्बल भन्ने लाग्दैन । मुख्य कुरा लेखन हो । तर, मेरो व्यक्तिगत स्वाभावको कुरा गर्नुहुन्छ भने मलाई गजल र कविता पढ्न भन्दा सुन्न मज्जा लाग्छ । गजल र कवितामा भन्न नसकेका कुरा भन्नलाई मैले उपन्यास लेखेको हुँ । एउटा गजल वा कवितामा भन्न नसकेका कुरा म उपन्यासमा भन्न सक्छु भन्ने लागेर यो दुस्साहस गरेको हुँ ।

४, बिक्रीका हिसाबले पनि र लेखकहरू सेलिब्रेटी बन्ने विधा पनि उपन्यास भन्ने आम बुझाई छ, तपाईं के ठान्नुहुन्छ ? तर, नेपाली उपन्यास विश्व साहित्यमा पुग्न र सफल हुन केले रोकेको हो?

– हाहाहा ! सेलिब्रेटी बन्ने कुरालाई म मुख्य ठान्दिनँ । गजल लेखेर पनि, कविता लेखेर पनि धेरै जना ‘सेलिब्रेटी’ बन्नुभएको छ । उहाँहरूको छुट्टै फ्यान फलोइङ छ । गजल, कविता सुनाउन विदेशका मञ्चसम्म पुग्नुभएको छ । त्यसकारण उपन्यास लेखेर मात्र त्यो स्थान पाइन्छ भन्ने होइन ।

तपाईंले भनेजस्तो बिक्रीका हिसाबले र मानिसले लामो समयसम्म पढिरहने विधा चाहिँ उपन्यास हो भन्ने लाग्छ । मैले अघि भनेकोजस्तो धेरै जनालाई गजल र कविता पढ्न भन्दा वाचन सुन्न नै मज्जा लाग्छ । त्यसकारण गजल, कविताका किताब कम बिक्री भएका हुन् कि !

यद्यपि, उपन्यास प्रकाशन गर्नेबित्तिकै ह्वात्तै बिक्री भइहाल्छ भन्ने पनि होइन । त्यसले आमपाठकलाई कति छुन सक्यो, उहाँहरूको हृदयमा स्थान बनाउन सक्यो कि सकेन भन्ने मूल प्रश्न हो । एक वर्षमा कयौं कृति आउँछन् तर सबैको चर्चा हुँदैन । उपन्यासमा उठाइएको विषय, लेखन शील्प र प्रयुक्त भाषाले पनि त्यसको बिक्री र चर्चामा अर्थ राख्छ होला ।

नेपाली उपन्यास विश्व साहित्यमा पुग्न र सफल हुन केले रोक्यो भन्ने सन्दर्भमा चाहिँ हामीसँग अनुवादकको अभाव भएर हो कि जस्तो लाग्छ । फेरि हामीले लेखेका विषयमा विदेशी लेखक, जसले अनुवाद गरिदिन सक्छन् उनीहरूलाई बुझाउन सकेनौं कि ! हामीसँग विषयको विविधता छ, कथाको विविधता छ, मौलिकपन छ र पनि हामीले सोचेजस्तो नेपाली साहित्यसलाई विश्वबजारमा पुर्‍याउन सकेका छैनौं ।

हामी म्याक्सिम गोर्की, बेन्यामिन, हारुकी मुराकामी, तसलिमा नसरिन, पाउलो कोहेल्हो, उदय प्रकाशलगायत थुप्रै विदेशी लेखकका किताब पढ्छौं । तर, विदेशी पाठकलाई हाम्रा पुस्तक पढाउन सकिरहेका छैनौं । यो चाहिँ विडम्बना छ । तर, केही शुरूआत भएको छ । आशा गरौं आगामी दिन यसले थप गति लिनेछ ।

५, उपन्यास तोरकीन नपढ्ने पाठकले छुटाउने कुरा के हो ?

– एउटा लेखकका रूपमा आफ्नो किताब सकेसम्म धेरै जनाले पढिदिनुहोस् भन्ने लाग्नु, सकेसम्म धेरै जनासम्म पुग्न पाए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो जस्तो लाग्छ । जुन चाहना ममा पनि छ । त्यसकारण साहित्यमा रूची राख्ने सबैले तोरकीन उपन्यास पढिदिनुस् भन्ने मेरो विनम्र आग्रह छ । तर, जबर्जस्ती गर्ने कुरा त भएन !

पाठकले किताबलाई आफ्नो स्वाद अनुसार ग्रहण गर्नुहुन्छ । तोरकीन चाहिँ सबै प्रकारको स्वाद भएका पाठकका लागि उपयुक्त हो भन्ने लाग्छ । तपाईं प्रेमको दृष्टिकोणबाट पढ्न चाहनुहुन्छ भने पनि उपयुक्त । सम्बन्ध र सपनाहरूको कथा त हुँदै हो । त्यसैगरी तपाईं वातावरणप्रेमी हो, जलवायुले हाम्रो वातावरणलाई कस्तो असर परिरहेको छ र त्यसले हिमाली क्षेत्रको मानव जीवनमा कस्तो संकट निम्त्याइहेको छ भन्ने थाहा पाउन पनि तोरकीन पढ्नै पर्छ ।

मूलत: माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु-संस्कार, रहनसहन, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहाससँगै सम्बन्ध र सपनाहरूको कथामा आधारित उपन्यास हो, तोरकीन ! त्यसकारण त्यहाँको सांस्कृतिक, सामाजिक, भौगोलिक र ऐतिहासिक विविधता र मिथकबारे जान्न/बुझ्न पनि तोरकीन पढ्नैपर्छ भन्ने लाग्छ ।

एउटा लेखकका रूपमा होइन पाठकका रूपमा मैले भन्नुपर्दा तोरकीन नपढ्ने पाठकले धेरै कुरा छुटाउनुहुन्छ । खासगरी एउटा मौलिक नेपाली उपन्यास उहाँहरूले छुटाउनुहुनेछ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर