कवि अनमोल कँडेल हाल संयुक्त राज्य अमेरिकाको लस एन्जलस शहरमा बसेर अनुसन्धान र काव्य रचना गर्दै छन्। पेशाले अनुसन्धानकर्ता रहे पनि, उनको हृदय सधैं कविता र दर्शनका आयाममा स्पन्दित रहन्छ। सेतो रक्तकोशिकासम्बन्धी इम्युनोलोजीमा विद्यावारिधि (PhD) प्राप्त गरेका डा. कँडेल अहिले City of Hope Cancer Center मा लिम्फोमा क्यान्सरको भ्याक्सिन निर्माण तथा इम्युनोथेरापीसम्बन्धी अनुसन्धानमा संलग्न छन्। उनको जीवन अहिले चेतनाको रहस्यहरूलाई कला र विज्ञानका माध्यमबाट बुझ्ने यात्रा बनेको छ ।

उनको ‘ईश्वरको कारागार’ शीर्षक कविता सङ्ग्रह भर्खरै प्रकाशित छ । कंडेलभो पहिलो कविता कृति ईश्वरको कारागारमा दर्शन, प्रेम, पीडा, विद्रोह, मौनता र मुक्ति सबै एकैसाथ उपस्थित छन्। कविताहरू केवल भावनात्मक आवेग मात्र होइनन्, ती बोध वाक्यहरू पनि हुन् जसले पाठकको हृदयमा गहिरो र अनौठो संवेदना उत्पन्न गराउँछन्। यसै कृतिको सेरोफेरोमा रहेर कवि कंडेलसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र उनको जवाफ;

१, ईश्वरको कारागार सङ्ग्रहका बारेमा केही बताईदिनुस् न ।

“ईश्वरको कारागार” को मूल विषय मान्छेको अस्तित्वभित्र रहेका बन्धन र मुक्तिका बीचको शाश्वत संघर्ष हो। मानिस एक मायावी कारागारमा बाँधिएको प्राणी हो, जहाँ उसलाई स्वतन्त्रताको भ्रम त छ, तर उसको चेतना निरन्तर मुक्ति खोज्दै रहन्छ। जैविक, सामाजिक, सांस्कृतिक, धार्मिक र अस्तित्वगत नियमहरूको सिक्रीले उसलाई बाँधेको हुन्छ, तर भित्रको चेतना सधैं त्यस बन्धन पार गर्ने प्रयत्नमा हुन्छ। यस सङ्ग्रहका कविताहरू चेतनाको गहिराइमा प्रवेश गर्ने एउटा निम्तो हुन्, जसले पाठकलाई आफ्नै अन्तरदर्पणसँग सामना गराउन, आफ्ना विरोधाभासहरू चिन्न र अन्ततः आत्ममुक्तिको दिशातर्फ अघि बढ्न प्रेरित गर्छ।

२, धार्मिक गुरूहरूबाट ईश्वरले त प्रेम बाँढ्छन् भनेको सुनिन्छ । प्रेम बाँढ्ने ईश्वरको कारगार तपाईँले कसरी देख्नुभयो । तपाईँले कवितामा भेटेको ईश्वर कि अर्कै हो ?

मानिसका लागि ‘ईश्वर’ प्रायः उसको आफ्नै ‘अहम्’ को सर्वोच्च प्रतिबिम्ब हो। त्यसैले ऊ ईश्वरलाई पनि आफ्ना मानवीय गुणका साँचोमा कल्पना गर्न रुचाउँछ। यस दृष्टिले “ईश्वरको कारागार” वास्तवमा ‘अहमको कारागार’ हो, जहाँ मानिस आफैंले आफैंलाई बन्दी बनाएको हुन्छ। यस अर्थमा, ईश्वरको कारागारलाई कसैले प्लेटोको गुफा रूपकसँग पनि जोडेर बुझ्न सक्छ।

प्रेम केवल कोमल भावनामा मात्र व्यक्त हुन्छ भन्ने मान्यता राख्नु भनेको अध्यात्मको अपमान गर्नु हो। गलत केन्द्रहरूको विरुद्धको संघर्षमा प्रेम कहिलेकाहीँ कुरुक्षेत्रको युद्धजस्तै तीव्र रूपमा पनि प्रकट हुन सक्छ। गुलियो स्लीपिङ ट्याब्लेट बेच्ने र तीतो निमको चक्की बाँड्ने दुवै किसिमका गुरुहरू संसारमा भेटिन्छन्। “ईश्वरको कारागार” तीतो निमको चक्की हो जुन तपाईंको आध्यात्मिक स्वास्थ्यका लागि औषधिजन्य बन्न सक्छ। यसको उद्देश्य कुनै विचारको पैताला मिच्नु वा कुनै आदर्शलाई पूज्नु होइन – यो करुणाको जगमा उभिएर आत्मबोधको यात्रातर्फ निम्तो दिने पुस्तक हो।

३, कविता के हो ? किन लेख्नु हुन्छ?

जुन कुरालाई न त भौतिक समीकरणका रूपमा प्रस्तुत गर्न सकिन्छ, न त ठोस तर्कको ढाँचामा समेट्न सकिन्छ, त्यसको परिभाषा बेच्ने प्रयास नै भ्रामक हुन्छ। प्राज्ञिक आनन्दका लागि कामचलाऊ परिभाषा बनाउन सकिन्छ, र त्यसले प्रयोजनका हिसाबले सुविधा पनि दिन सक्छ। तर यदि यस विधालाई वास्तवमै न्याय गर्ने हो भने, कवितालाई धनात्मक रूपमा भन्दा ऋणात्मक शैलिमा बुझ्दा उत्तम हुन्छ। कविता के हो भन्ने प्रश्न सधैं खुला रहन्छ, तर कविता के होइन भन्ने प्रश्नमा ध्यान केन्द्रित गर्न सक्यौं भने, नेपाली साहित्यमा हामीले केही मौलिक र सार्थक योगदान दिन सक्छौं।

मेरो लागि लेखनको उद्देश्य मानव चेतनामा व्याप्त विकृति र विसङ्गतिहरू विरुद्धको संघर्ष हो। तर समाजमा प्रचलित विचारहरूभन्दा फरक रूपमा, म मान्छु कि कुनै पनि वास्तविक क्रान्ति मनोवैज्ञानिक स्तरबाट सुरु हुन्छ। सामाजिक स्तरबाट जबर्जस्ती गरिएको क्रान्तिहरू यसर्थ अपूरा रहन्छन् र केवल केही स्वार्थी समूहहरूको समीकरण बदल्ने बिन्दुमा सीमित रहन्छन्।

मेरो कविताको मूल उद्देश्य मलाई आफ्ना भ्रम र विकृतिहरूसँग साक्षात्कार गराउनु हो। यी कविताहरू पढ्ने पाठकले पनि त्यही साक्षात्कार गर्नेछन्, किनभने मेरो व्यक्तिगत चेतना नै हाम्रो सामूहिक चेतनाको अंश हो। मभित्र रहेका डर, असुरक्षा, घृणा र ईर्ष्याका भावहरू हामी सबैको मानसिक जीवनका प्रारूप हुन्। यस अर्थमा, मेरो लागि इमानदार लेखन एउटा ऐना बन्ने प्रक्रिया हो – जहाँ लेखकले आफूलाई मानवजातिको प्रतिनिधिको रूपमा उभ्याउँछ र आफ्नै कमजोरीहरूको ऐनामा मानवजातिलाई केही महत्वपूर्ण बोधहरूसँग साक्षात्कार गराउने ध्येय राख्छ।

एउटा असल लेखक बन्नुअघि, पहिले एक इमानदार मानिस बन्नु आवश्यक हुन्छ। इमानदारी भन्नुको अर्थ तपाईंको चेतनाको तीव्रताले निर्धारण गर्छ। जति उचो सोच्नुहुन्छ, तपाईंका लागि इमानदारीको स्तर पनि त्यति नै उचो हुँदै जान्छ। आफूभित्र रहेका कमजोरी, भ्रम र गलत सोचहरूसँग आँखा जुधाउने साहस राख्नु, निष्पक्ष अन्वेषण गर्नु, भ्रमबाट जोगिनु, संसार र मन दुवैको गहिरो अध्ययन गर्नु, र आन्तरिक बोधहरूबाट सिक्दै “म” बाट “हामी” मा रूपान्तरण हुनु नै एक सच्चा लेखकको नियति हो।

४, देशभन्दा टाढा परदेशमा बस्छ एउटा मान्छे। कविताभन्दा निक्कै उल्टो बिषयमा गम्भीर अध्ययन गर्छ तर हृदयले कविता भन्छ र सोच्छ देशकै बारेमा । यो कसरी सम्भव छ ? यसले देशकै लागि देखिने तात्विक भिन्नता पनि दिन्छ कि भावनामा मात्र देशको ऐना पुछिरहन्छ?

आजको युगमा संसारलाई एउटा परिवारका रूपमा हेर्नु नै सबैभन्दा विवेकपूर्ण दृष्टि हो। परिवर्तनका लागि कुनै निश्चित ठाउँमै बस्नुपर्छ भन्ने कुरा अब यथार्थ छैन। तर देशलाई केवल बदलिंदो भूराजनैतिक नक्सामा सीमित गरेर बुझ्नु पनि गलत हुन्छ। सभ्यता, भाषा, संस्कृति, प्रकृति – यी सबै देशभन्दा परम्परागत र गहिरा उर्जा हुन्, जो हाम्रो रगत, हड्डी र अवचेतनमा मिसिएको हुन्छ।

मानिसको अवचेतन मन आफ्नो जन्म, बाल्यकाल, सभ्यता र सांस्कृतिक आवरणले बनिरहेको हुन्छ, त्यसैले कविता र देश स्वाभाविक रूपमा एकअर्कासँग गाँसिन्छन्। लेखनलाई जीवनको हिस्सा बनाउने व्यक्ति संसारको जुनसुकै कुनामा बसेर पनि तात्त्विक भिन्नता दिन सक्छ। “देश” लाई विश्व परिवारको सापेक्षमा बुझ्न सके, आफ्नो देशको दार्शनिक, सांस्कृतिक र चेतनागत दिशाबारे अझ सूक्ष्म रूपले बुझ्न सकिन्छ। यस्तो दृष्टिबाट सिर्जना गरिएको साहित्यले नेपाली भाषा, सभ्यता र सामूहिक चेतनामा गहिरो प्रभाव पार्ने क्षमता राख्छ। तात्त्विक परिवर्तन ल्याउन राजनीतिमा नै लाग्नुपर्छ वा देशभित्रै बसेर संघर्ष गर्नुपर्छ भन्ने धारणा पनि सीमित हो। आजको आवश्यकता देशलाई विश्वसँग जोड्ने पुल निर्माण गर्नु हो, ताकि भोलिका पुस्ताहरु लोकल र ग्लोबल दुवै पक्षमा सबल र सचेत बन्न सकून्।

तर तपाईंको प्रश्न भावनात्मक पक्षसँग पनि जोडिएको छ, त्यसैले म अर्को कोणबाट उत्तर दिन चाहन्छु। म देश बाहिर वैज्ञानिक अनुसन्धान गर्न आएको हुँ, जहाँ म कविताभन्दा पूर्ण रूपमा फरक विषयमा कार्यरत छु। त्यो अनुसन्धानले मेरो मस्तिष्कको दायाँ भागलाई सन्तुष्टि दिन्छ, तर मभित्रको रचनात्मक स्पेस र बाँया मस्तिष्कले कविता र संगीतलाई प्रेम गर्छ। यी दुईबीच सन्तुलन मिलाउन म जहाँ हुनु पर्छ, त्यही हुन्छु। आज म जहाँ छु, भोलि त्यहाँ नहुन पनि सक्छु। यो त केवल परिस्थितिको र आवश्यकताको खेल मात्र हो, तर कविता भने हरेक ठाउँमा मभित्र बाँचिरहन्छ।

५, तपाईँ किताबको रुपमा पहिलो पटक आउनुभाछ । प्रकाशनको अनुभव कस्तो रह्यो ?

पुस्तक निकाल्नु आफैंमा एउटा चुनौतीपूर्ण यात्रा रहेछ। कविताहरूको छनोट, सम्पादन, र क्रमाङ्कन गर्दै तिनलाई एउटै धागोमा जोडेर थिमको निरन्तरता कायम राख्नु सजिलो काम होइन। ईश्वरको कारागार भित्रका कविताहरू पछिल्ला दस वर्षमा लेखिएका भए पनि तिनलाई पुस्तकको रूपमा प्रस्तुत गर्न मैले करिब डेढ वर्ष समय सम्पादन र अनुवादमा समर्पित गरेँ। यो प्रक्रिया कहिलेकाहीँ कठिन र धैर्य परीक्षण गर्ने जस्तो लाग्थ्यो, तर अन्ततः यसले मलाई सृजनात्मक रूपमा गहिरो सन्तुष्टि र नयाँ उर्जा दिएको छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर