– जीवन खत्री
अलिकति गन्थन –
राजेश सुवेदीकृत उपन्यास अभिसार चार बसाइमा पढेर सकेँ । पढेपछि लाग्यो केही त जरुर लेख्नु पर्छ । तर के लेख्ने केही दिन मनमा कुरा खेलिरह्यो । लेख्न सकिन । तेसो त खासमा पढेका किताबहरूको बारेमा मैले खासै लेखेको छैन् । लेखकले लेखेका कुरामा थप जान्ने भएजस्तो गर्न मन मान्दैन तर अचेल लाग्दैछ लेख्नु भनेको थप जान्ने हुने भन्ने कुरा खासै गतिलो जवाफ हैन् क्यार ।
काम सकेर घर फर्किँदै थिएँ एकसाँझ । छन्द कवितामा बल गरिरहेका कवि सरोज सर्वहाराले फोन गरे । भने, -“दाइ राजेश सुवेदीको नया उपन्यास प्रकाशित भएको छ अभिसार । किताबको बिमोचन यतै हुनेभो । तपाईँले बोलिदिनु पर्यो ।”
राजेश सुवेदीलाई नजिकबाट सम्झिन खोजेँ, अनुहार झालाकझुलुक आयो तर रचनाका माध्यमले ठ्याम्मै याद भएन । तर हामी बुझ्दैनौँ, हामीले थाहा नपाएका कति कुरा हुन्छन् । र ती राम्रा हुन्छन् । यसलाई बुझ्न नसक्नु हाम्रै कमजोरी हो । यसो सम्झेँ, ‘हप्तामा एकदिन बिदा हुन्छ । थाकेको शरिर । किताबलाई पूरै पढ । धाएर जाउ । बोल । राम्रो नभने अनुहार फुस्रो देखिएला । राम्रो भनौँ मनले झुट नबोल भन्ला । लु भो है ।’ कसोकसो म तर्किएँ । स्वयम् उपन्यासकारको फोनलाई पनि यताउति भनेर टारेँ । पछि निर्धारित समयमै कार्यक्रम भयो । कवि मित्र आर.एन. अधिकारीले बोलेछन् । अपमान गर्यो कि भन्ने सोचे होलान् भन्ने मनलाई थोरै राहत भयो । के गर्नु त परदेश हो, आयोजकले पक्कै बुझे होलान् ।
फेरि कसोकसो किताब भनेपछि लोभ लाग्छ । परदेशमा पनि कताकताबाट ३ बोराजति किताब जम्मा भएका छन् । र्याकमा सजाएर राखेको छु । घरजानेबेला के गर्ने भन्ने सम्झेर यिनको माया लाग्छ । सबै लान पनि सक्दिन होला । यसै छाड्न त झन् कसरी सक्छु र? उनको किताब पढ्नुपर्छ भन्नेचाहीँ मनमा थियो । बोल्न जान्छु भनेको भए किताब पठाउँदा हुन्, किताब पाईएन । मनमा अलिकति थकथक बाँकीनै रह्यो ।
एकदिन अनेसास कोरियाको एक कार्यक्रममा राजेश सुवेदीलाई भेटेँ । उनले खुरखुर केही लेखे र किताब उपहार दिए । उनले लेख्का रहेछन्, -‘अग्रज साहित्यकार जीवन खत्रीज्यू यहाँको माया साथ सहयोग र प्रेरणाले लेखनमा थप उर्जा मिल्नेछ ।’
उनले जे लेखे । झुट लेखे । अग्रज त म के हुन्थेँ ? समकालीन हो । हामी एउटै समय लेखिरहेका छौँ । साथ, सहयोग र प्रेरणा भन्ने कुरा पनि तेस्तै तेस्तै हो । स्वयम् लेखकको इच्छाशक्ति कति छ भन्ने कुरानै प्रमुख हो । कतै म गलत छु भन्ने सच्याईदिनुहोला ।
अब किताबतिर –
जे होस् किताब अभिसार पढेँ
पूर्विय वाङ्मयको नाम मात्रै लिँदा पनि भरतमुनिको विशाल दरबारको गजुर चम्किन सुरु भैहाल्छ । (अहो दरबारमा गजुर हुन्छ हुन्न जान्दिन यदि हुन्न भने छानो भनौँ न ।) उनैको नाट्यशास्त्रमा सात नायिका छन् जसमध्येकी एक अभिसारिकाले आफ्नो प्रेमी भेट्न गरेको त्याग, तपस्या, विशाल संघर्ष र कठिन यात्रालाई अभिसार भनिएको छ । तर के सुवेदीकृत उपन्यास अभिसार त्यही कठिन यात्राको अर्को कथा हो त?
अभिसार पढेपछि लाग्यो, उपन्यासकी मुख्य पात्र सारिकालाई पनि उनै मुनिकी अभिसारिकासँग तुलना गर्न मिल्छ । एउटा पागलजस्तो लाग्ने, घर न घाटको देखिने मानिसक रोगी अभि, जसको न पढाइ छ, न गतिलो जागिर । खास भन्ने हो भने केही पनि छैन अभिसँग । उसले आफ्नो मानसिक असन्तुलनको अवस्थामा झण्डै मारिदिन्छ सारिकालाई । बालबाल बचेकी सारिकाले फेरि त्यसैलाई सम्पूर्ण दु:खहरूबाट मुक्त गर्छे र जीवनसाथीको रुपमा ग्रहण गर्छे ।
खासमा यो प्रेम भन्ने जिनिस के हो ? जवाफ खोज्दै जाँदा सिङ्गो जीवन कम पर्छ तर सर्वमान्य जवाफ पाईन्न । करोडौँ वर्षदेखि आजसम्म खोज्नेहरूले प्रेम खोजिरहेकै छन् । गर्नेहरूले प्यार गरिरहेकै छन् । तर हरेकको, जवाफ मात्र हैन् मुटु-मुटुको ढुकढुकनै फरक फरक हुन्छ । हुन्छ र त सर्वमान्य जवाफ आउन सकेको छैन् । सायद प्रेमको सर्वमान्य परिभाषा कहिल्यै भेटिने छैन् । तेस्तै होस् जस्तो लाग्छ मलाई पनि । कसैलाई सागरमै पनि प्यास नबुझ्ला कसैले कुवामा पनि तृप्ति भेट्छ । फरक फरक मान्छे, फरक फरक मुटु ।
अँ त, आफू भन्दा हर कोणमा कमजो अभिलाई सारिकाले पाउन गरेको अनेक दु:खनै उपन्यासको मुख्य कथा हो । उसले चाहेकी भए कथामा बग्दै आउने डाक्टर राकेशको प्रेमप्रस्तावलाई स्विकारेर सहज र शानदार जिन्दगी बिताउन सक्थी तर उसले त्यसो गरिन । के आजका केटीहरूले त्यसै गर्लान् ? प्रश्न चिन्ह ठूलो ठूलो भएर जान सक्छ । तर अक्षरको फन्ट उस्तै र उत्रै हुन्छ यता ।
हुन त सारिका आजकै केटी हो । त्यसैले त ऊ यो उपन्यासको नायक हो । पात्र हुन सजिलो होला तर नायक हुन सजिलो छैन् । सजिलो बाटोले त कोही पनि नायक बन्दैन । यो पनि उपन्यासको अप्रत्यक्ष सन्देश हो ।
उपन्यासको अर्को बिशेष पक्ष भनेको आजको विज्ञानले प्रमाणित गरेको उपचार पद्धति र हज्जारौँ वर्षदेखि हाम्रा पुर्खाले अनेकौँ योगबल, ध्यान, साधनाबाट प्राप्त गरेका ज्ञान (जसलाई आजको विज्ञानले मान्दैन्) बिचको भेद देखाउनु पनि हो । के पृथ्वीका हर कुरालाई विज्ञानले प्रमाणित गरेको छ त? तन्त्र, मन्त्र, यन्त्रजस्ता ज्ञान मान्छे झुक्याउने खेल मात्र हो त ? के आजको पुस्ताले यसको अध्ययन गरेर मात्र बोलेको छ? कतै पश्चिमा प्रभाव बढेर हाम्रा परापूर्वकालदेखिबाटनै हस्तान्तरण हुँदै आएका सम्पूर्ण विश्वास र पूर्वजहरूको ज्ञान धूलो त हुँदैछैन्? हो, यो पक्ष पनि उपन्यासको बुलन्द पक्ष हो । हाम्रा पुर्वजहरूको ज्ञान आज किन कमजोर देखिन्छ? यसमा कस्ता मान्छे र व्यक्तिहरूको गलत भूमिका देखियो । यसले हामीलाई कति कमजोर बनाउँछ र कसरी विदेशी संस्कृति हावी हुँदा हाम्रा संस्कृतिइतरका कुरामा समेत प्रभाव पर्छ र समाजनै कमजोर हुँदै जान्छ । उपन्यासले यस कुरालाई मनन गर्न बाध्य बनाउँछ ।
उपन्यासमा विश्वयुद्धताका नेपाली युवाहरू कसरी परदेशका लागि बेचिए । कसरी नेपाल युवा बिहिनजस्तै भयो र कसरी सुरु भयो लाहुरे संस्कृति र आजसम्म त्यसले कसरी जरा गाडिरहेको छ भन्ने कुरालाई संकेत गर्छ ।
उपन्यासका पात्रहरू हरेकका आफ्नै कथा छन् । हरेकका आफ्नै दु:ख, पिडा, आँसु र हाँसोले उपन्यासलाई रोचक बनाएको छ । धनेदाइ, गौरी, तपेन्द्र, नीलकण्ठ, माइली दिदी, मनकुमार, धम्मने, देउकाजी, कुलबहादुर, अभि, अभिका ठूलाबा खडकसिङ, सारिकाकी आमा, दीपा, कमरेड पदम, उजेली आमा लगायतका पात्रहरूमध्ये कसैले आवेग भर्छन् कसैले भावुक बनाउँछन् तर आफ्नो भूमिका राम्ररी निभाएका छन् ।
उपन्यासको बीचतिर र अन्त्यतिर अलिकति देखिन आईपुगेकी सारिकाकी आमाको भूमिका किन पृष्ठभूमिमा होला ? अझ धुमिल धुमिल किन होला भन्ने प्रश्न पनि पाठकलाई लाग्ला नै ? अर्कैको बाजेको तीनपुस्ते हरहिसाबको चपेटामा परेर हत्यारा बन्न पुगेका नीलकण्ठको बास्तविकता के थियो? अर्कैको गोटी किन बन्न पुगे होलान ? भन्ने पक्ष गौण बन्दा पाठकले उनीप्रति अन्याय भयो कि भन्ने भावना मनमा पाल्लान नै । यसको प्रष्टिकरण लेखकको जिम्मामा ।
समग्रमा उपन्यास राम्रो छ । सरिकाको तर्फबाट प्रथम पुरुष दृष्टिबिन्दु भई कथा सुरु भएको उपन्यास रैखिकजस्तो देखिए पनि वृताकार ढाँचामा अघि बढ्छ । पोखराको भूगोललाई परिवेश बनाए पनि यसले पोखराको स्थानलाई खासै बल गर्दैन् । पाठकले नेपालको मध्य पहाडी आफ्नै भूगोलको कल्पना गर्न सक्छन् ।
सकभर सबै कथा र कथाका हरेक पात्रलाई कतै न कतै अन्तिमसम्म जोड्दै जान सक्नु उपन्यासकारको सबल पक्ष हो । बिगत केही वर्षदेखि कोरियाको श्रम बजारमा दैनिक १२/१४ घण्टासम्म आफूलाई बेचिरहेका सुवेदीले समय कसरी मिलाउन सके भन्ने प्रश्न सँगै उनीसँग एकखालको लोभ मलाई भयो । एउटा कथा राम्ररी पूरा गर्न महिनौँसम्म नसकेको कुण्ठा पो हो कि मेरो ? जे होस् उनले गरेर देखाए । साधुवाद छ ।
अन्त्यमा, उपन्यास अभिसारमा भाषिक त्रुटीहरू थुप्रै छन् । सम्पादन पक्ष फितलो छ । कतै वाक्य संरचनानै पनि नमिलेको देखिन्छ । आञ्चलिक शब्दमा लेखक चनाखो हुन खोज्दा खोज्दै पनि कतै फुस्किएको भान हुन्छ । कुनै कथा बढी तन्केजस्तो त कुनै कथा हतारमा टुङ्ग्याएजस्तो मलाई मात्र लागेको हो कि अरु पाठकलाई पनि लागेको होला ? भनेर जिज्ञासा मनमा टड्कारो छँदैछ । यदि तेस्तै हो भने उपन्यासकारले दोस्रो संस्करणमा थप बल गर्नुपर्यो ।
लेखकले ध्यान दिनै पर्ने कुरा के छ भने अध्यायहरूको तालमेल र विभाजन हो । कुनै कथा सकिएर अर्को सुरु हुँदा पनि अध्याय परिवर्तन हुँदैन् र कुनै एउटै कथा तन्किँदै छ तर अध्याय फेरिइन्छ । यस्तोमा सम्पादन बिग्रियो कि भनेर पाठकले पत्ता लगाईहाल्छन् । किनकि यो समय १५ सेकेन्डको रिल पनि पूरै हेर्न नभ्याउने जमात हो झण्डै १० घण्टा बढीको समय दिएर धैर्य राख्ने पाठकलाई कम आँक्नु हुन्न भन्ने लाग्छ मलाई । लेखक हतासिनु पर्ने केही छैन् यो पहिलो कृति भएकाले पाठकले पर्खेलान तर दोस्रोमा पनि यस्तै हतारो भयो भने यतिको सबल लेखक कमजोर पर्लान कि भन्ने एक सुर्ता मात्र हो मेरो । आशा छ, लेखक अर्को पटक खर्हो उत्रन सकुन् ।
उपन्यास पढ्न दिएकामा लेखकलाई आभार । आगामी लेखन यात्रा उज्वल रहोस् ।
***
पुस्तक – अभिसार
विधा – उपन्यास
उपन्यासकार – राजेश सुवेदी
मूल्य – ५९९ रुपैँया
प्रकाशक – इन्डिगो इन्क
पृष्ठ – ३६३
***
इन्छन, दक्षिण कोरिया
२०२५ / ११ / ०९ / आइतबार
प्रतिक्रिया
-
४
