युवापुस्ताकी लोकप्रिय गजलकार सुमन स्मारिकाको कैफियत र महफिल संयुक्त गजल सङ्ग्रह प्रकाशित गरेसकेकी उनको भर्खरै साहेब गजल सङग्रह प्रकाशित भएको छ । यसैको सेरोफेरोमा सम्पादक जीवन खत्रीले गजलकार स्मारिकालाई गरेका पाँच प्रश्न र उनको जवाफ;

१. ‘साहेब’ सङ्ग्रहका बारेमा छोटकरीमा बताईदिनुहोस् न।

-‘साहेब’ गजल संग्रह होइन—यो मेरो आवाजको घोषणापत्र हो। यो समयसंगको ठोक्काइ हो जहाँ म प्रेम, असामनता र शक्ति-संरचना संग प्रत्यक्ष भिडेकी छु। ‘साहेब’ मेरो भाषामा एउटा प्रश्न हो, जसको उत्तर यो समाजसंग छ तर ऊ दिन चाहन्न। यहाँ म कुनै पुरुषलाई होइन,’सिस्टम’ लाई सम्बोधन गर्दैछु। ‘साहेब’ भित्रका गजलहरूमा लुकेका छन्,शोषणका दस्तावेज र आत्मसम्मानका हस्ताक्षर ।

‘साहेब’ मैले लेखेकी हुँ तर बोलेको छ एउटा पुस्ताले—जसले अब मौन रहन छोडिसकेको छ।
जसले अब आफ्नो चेतना प्रयोग गर्न थालिसकेको छ।यो किताबले गजलको भाषा प्रयोग गरेर समाजसँग कुरा गर्छ,जसले दशौँ वर्षदेखि आदेश दिइरहेको ‘साहेब’लाई पहिलो पटक प्रतिप्रश्न गर्छ।

किताबको ‘साहेब’ ती सबै हुन्—जसले बोल्नेहरूलाई चुप गराउँछन्,जसले प्रेमलाई पनि अनुमति पत्रमा बाँध्छन्।

‘साहेब’ केवल एउटा व्यक्ति होइन —व्यक्तिमा आधारित किताब होइन।यो एउटा सिस्टम हो, एउटा विचार–सत्ता हो।’साहेब’ त्यो शक्ति हो जसले आदेश दिन्छ,सीमा तोक्छ,र प्रेमलाई पनि अनुमति पत्रमा बाँध्छ।यो त्यो सामाजिक संरचना हो जसले स्त्रीलाई ‘सौन्दर्य’मा बाँध्छ, पुरुषलाई ‘स्वामी’बनाउँछ, र दुवैलाई ‘अधूरो’ बनाउँछ।
र सबैभन्दा कठोर सत्य — यो ‘साहेब’ हामीभित्र पनि छ।हामी आफैंले बनाएका यी बंदिशहरूको,मूल्यहरूको,डरहरूको ‘साहेब’।यसलाई चुनौती नदिँदा हामी कहिल्यै पूर्ण स्वतन्त्र हुँदैनौं।

‘साहेब’ त्यो विरोध हो—जुन हामीले आफ्नै अस्तित्वसँग गरिरहेका छौं। यो किताब त्यो साहेबलाई बोलाउँछ,र सोध्छ: ‘तिमीलाई कसले धिकार दियो,मेरो आवाज बन्द गराउने?,मलाई बोल्न नदिने?, मेरो अस्तित्व माथी कुप्रश्न गर्ने?’

अर्को अति महत्त्वपूर्ण अर्थमा ‘साहेब’ संग्रहका बारेमा भन्नु पर्दा म किताब भित्रको ‘साहेब’ लाई नै लिंगमा बाध्दिँन।जसरी कुनै स्त्री,स्त्री पनि हो र  पुरुष पनि हो—
किनकि यो समाजले दुवैलाई अधुरो बनाइदिएको छ।
‘साहेब’ त्यो पात्र हो,जसको आधा देहलाई देवी भनेर पूजा गरिन्छ,
र आधा मनलाई अपराधी भनेर धिक्कारिन्छ।
‘साहेब’ त्यो आत्मा हो—जो आधा स्त्री,आधा पुरुष भएर पनि पूर्ण मानवीय हुन खोज्दैछ।
तर हाम्रो समाजले लिङ्गको ढोका बनाएर उसको आत्मालाई बन्दी बनाएका छन्।त्यो घृणित भनिएको अस्तित्व,जसले प्रेम गर्दा पनि प्रश्न झेल्छ,र जसको शुद्धता अरूले नाप्छ—उही हो मेरो किताबको ‘साहेब’।

२. गजल के हो? किन लेख्नुहुन्छ?
-गजल मेरो लागि तुकबन्दी होइन—युद्ध हो।
म गजल लेख्छु जब समाजले मलाई बोल्न रोक्छ,बोल्न दिदैन।
म शब्दहरुमा घाउ लेख्छु,ताकि कसैले फेरि कुनै आवाजलाई सुन्दैन भने पनि त्यो आवाज कागजले चिच्याओस्।
म गजलको लयमा म प्रेम पनि राख्छु, तर त्यो प्रेममा रगत मिसिएको हुन्छ—असमानताको, तिरस्कारको र आत्मसंरक्षणको।

३.तपाईंलाई लोकप्रिय बनाउने गजल र त्यसको रचनागर्भको बारेमा बताईदिनुस न।

-‘तिमी नभएको शहरमा म एक्लै बाँचिरहेकी छु’—यो गजलले मलाई चिनायो।
तर यो गजलको केन्द्र ‘म’ होइन,यो गजल केवल प्रेमको बयान होइन, कुनै ‘अनुपस्थितिले बनाएको अस्तित्वको,राजनीतिको बयान ‘हो। त्यो गजल तब जन्मियो जब मैले देखेँ—समाजले स्त्रीको पीडा पनि सौन्दर्यको फ्रेममा मात्र हेर्न खोज्छ,चाहन्छ।मैले त्यही फ्रेम तोडेर यो गजल लेखेँ,किनकि अरु कसैले लेखेन्।

लोकप्रियता त्यसपछि आयो,तर मेरो उद्देश्य चोटलाई गजल बनाउनु थियो,उपचार होइन।

४.गजल गेयात्मक विधा मानिन्छ। बहर र गैरबहरको किचलो गजलकारहरूमा छँदैछ,अर्कोतिर गजल गाउनुको सट्टा किताबहरू बढी आएका जस्तो लाग्छ। यो विषयमा तपाईंलाई लाग्ने कुरा के हो?

-अरुको बात मलाई थाहा छैन तर म गजल गाउनलाई होइन, बुझ्नलाई लेख्छु। यधपी मेरा थुप्रै गेय गजलहरु पनि नभएका, नछापिएका, नगाइएका होइनन्।
गजल गुनगुनाउने युग सकिएको छैन तर गजलको रूप बदलिएर आएको छ। अब गजल ‘मजा’ र ‘टाइमपास’ वा ‘शोक’ भन्दा माथि उठेर कसैको ‘पेशा’ बनेको छ। ‘आए स्रोत’ बनेको छ। ‘परिचय’ बनेको छ। जीवन बनेको छ।आजका गजलहरू स्वरभन्दा बढी विचारका रूपमा प्रस्तुत हुँदैछन्। बहर र गैरबहरको ‘गेडा गनेर लेख्नु पर्ने’ विवादभन्दा ठूला विषयहरू छन्—असमानता,अस्थिरता, प्रतिरोध।

मलाई लाग्छ, गजल गाउनुभन्दा पहिला त्यसलाई बुझ्नु पर्छ।

बहर, काफिया, रदीफ—यी सबै शिल्पका औजार हुन्,तर औजारले आत्मा बनाउँदैन। आजका गजलहरूले स्वरभन्दा अर्थलाई प्राथमिकता दिएका छन्, र मलाई यो सुन्दर लाग्छ।
गजल गाउनेहरूले स्वर बाँड्छन्,
गजल लेख्नेहरूले चेतना बाँड्छन्।
अब म चाहन्छु, गजल केवल मिठो होइन, मिथक तोड्ने बन्नुपर्छ।उसो त म आफैलाई पनि गजल गाउन र बोल्न दुबै बेहद मजा लाग्छ।

५.तपाईं आफूलाई ‘साहेबा’ भन्नुहुन्छ। तपाईंको किताब बाहिरको ‘साहेब’ को हो? किताब ‘साहेब’ किन पढ्ने पाठकले?

-‘साहेबा’अब मेरो नाम होइन, मेरो विद्रोह हो।
हुन त मलाई पहिलो पटक ‘साहेबा’ सम्बोधन मलाई चाहनेहरुले बडो प्रेमले गर्नु भएको थियो र अझै पनि गर्नुहुन्छ तर अब यसलाई मैले आफैंलाई दिएको उपाधि मान्छु।
‘साहेबा’ भनेर मैले आफूलाई झुकाएकी होइन, उभ्याएकी हुँ।

म ‘साहेबा’को रूपले त्यो स्त्रीको प्रतिनिधित्व गर्छु—जसले अब ‘आदेश’ मान्न बन्द गरिसकेकी छ।

मेरो किताब बाहिरको ‘साहेब’ बारे तपाईंले सोधिहाल्नु भो यत्ति भन्छु:प्रेम दर्शन हो, प्रर्दशन होइन ।

पाठकले ‘साहेब’ पढ्नुपर्छ किनकि यो प्रेमका गजल होइनन्, प्रश्नका गजल हुन्—जहाँ प्रत्येक शेरले समाजलाई ऐना देखाउँछ, र प्रत्येक ऐनाले केही लुकाइएको सत्य भत्काउँछ।

यसमा गजलभन्दा बढी प्रश्नहरु छन्,र ती प्रश्नहरू तपाईंको मनमा पनि उस्तै छन्।
यो किताब गुनासो होइन,गनगन पनि होइन—यो शब्दको प्रतिरोध हो।

र यो किताब एउटा आधा–आधा मान्छेको स्वीकारोक्ति पनि हो—जहाँ लिंग,प्रेम,र शक्ति,समाज,कानुन,दृष्टिकोण सबैको परिभाषा पल्टिन्छ।
यो किताब पढ्दा तपाईं आफूभित्रको आधा स्त्री,आधा पुरुष र आधा मौन आत्मालाई देख्नुहुनेछ—जो आजसम्म बोल्न डराएको थियो तर अब कसैसंग डराउँदैन,न बोल्न न बोलाउन।

अन्त्यमा तपाईँ-जीवन जि र सेतो माटोलाई सप्रेम आभार।

***

प्रतिक्रिया

सम्बन्धित खवर