– प्रोल्लास सिन्धुलीय

प्राक्कथनः

पहिले हाम्रो समाज अहिलेको जस्तो थिएन । सबै एकअर्कामा समभाव राख्थे र मिलिजुली बस्थे । कालान्तरमा मान्छे–मान्छेबीच विभाजनका रेखा कोरिँदै गए ।
हिन्दू समाज क्रमशः जातजातिमा बाँडिँदै गयो । खेतीपातीका साथै जनसेवाको काम गर्ने शूद्र, धर्मकर्म, पाठपूजा गर्ने ब्राह्मण, राजकाजसम्बन्धी कार्य गर्ने क्षत्री अनि व्यापार गर्ने वैश्य तोकिए । खासमा बाठाहरू ब्राह्मण, बलवान् क्षत्री, व्यापारी वैश्य अनि श्रमशीलहरू शूद्र ठानिए । बाठाहरूले बिठ्याइँ गरी व्यक्तिको शीलस्वभाव र पेशाअनुरूप निर्धारण गरिनुपर्ने प्रथालाई बिस्तारै जन्मजात बनाउँदै लगे । तत्पश्चात्, धर्मग्रन्थकै भावना–प्रतिकूल जो जे–जस्तो स्वभाव, आचरणको भए पनि जुन कुलमा जन्मियो, त्यही जातको हुने कुचलन चल्न थाल्यो । शूद्रको घरमा जन्मेको मान्छे जति नै विद्वान् भए पनि शूद्र नै ठहरिने अनि ब्राह्मण परिवारमा जन्मेको मान्छे ज्यास्तै श्रमशील निस्किए पनि ब्राह्मण नै हुन थाले । त्यतिमात्र होइन, शूद्रहरूलाई हेलाहोचोको शिकार बनाउँदै लगियो । उनीहरूले छोएको पानी नचल्ने कुप्रथासमेत फैलिँदै गयो ।
अल्पसङ्ख्यक बलियाले बहुसङ्ख्यक निर्धालाई जति नै शोषण, अन्याय, अहित गरे पनि प्रतिकार नगर्ने, सहने कुसंस्कृति अहिले त कार्यकारी छ भने झन् पहिले के थियो होला ! धूर्तहरूले ‘धर्म’ लाई नै ‘कानून’ बनाइदिए अनि त्यसैको आडमा कमजोरहरूलाई ‘नर्क’तुल्य परिवेश प्रदान गर्दै आए ।
‘अति भयो भने खती हुन्छ’ भन्छन् । दुख्नेगरी कुट्यो भने घरमै पालेको कुकुरले धरी ङ्यार्र गर्छ । अपार पृथ्वीले समेत अधिक थिचाइ सहन गर्न नसकेर ज्वालामुखी पड्काउँछिन् भने चेतनशील मानवले मात्रै कतिन्जेल सहिरहलान् !
श्रमशीलहरूले आफ्नो शक्ति बिस्तारै चिन्दै गए, आफ्नो जातिमाथिको युगीन घात पहिल्याउँदै गए । जसले नरोपिदिने हो उनीहरूको खेत बाँझै हुन्छ । जसले खेती नगरिदिने हो भने ठूला जाति भनाउँदाको मुखमा माड लाग्दैन । जसले नबनाइदिने हो भने उनीहरूको शिरमाथि छाप्रोधरी हुँदैन । किन्तु….. गर्ने–बनाउनेहरू नै सदैव निमुखा बन्नुपर्ने ! बिचरा हुनुपर्ने ! निरीहता स्विकार्नुपर्ने ! कतिन्जेल ?
तथाकथित ‘तल्लो जात’का भनिएकाहरूको भित्री चेतनाको आगो क्रमशः बल्दै गयो । अन्ततः उनीहरूले थोरैले धेरैमाथि गर्दै आएको शासन एक दिन भताभुङ्ग पारिदिए ।
जसरी सामाजिक सत्ता मातृहरूको हातबाट पितृहरूमा सरेको थियो, त्यसरी नै यो समाजले फेरि पल्टा खायो । पानी नचल्ने भनिएका दमै, कामी, दुसाध, डोम, चमार, सार्की, पोडे, च्यामे इत्यादिको स्थानमा बाजे–काजीहरू ओर्लिए । धनीहरूको ठाउँमा गरीब आए । सामाजिक परिपाटी पूरै उल्टोपाल्टो भयो ।
यी कथा अहिलेको समयभन्दा धेरै पछिका हुन् । यिनका कालपात्र सुदूर–भविष्यका हुन् ।

कोही भएनन् देउमायाको शव उठाउनेः

जन्मिँदा केकसो थियो कोनि, मर्ने बेलामा भने देउमाया बूढीमाउलाई कुसाइतै परेछ ।
उसै त गाउँमा युवाको बिउ थिएन भन्दिँदा हुन्थ्यो । त्यो टोलमा युवा नाममा सिर्फ दुई जिलो थिए— स्थानीय स्वास्थ्यचौकीको पिउन कृष्णप्रसाद घिमिरे अनि प्राथमिक स्कूलमास्टर जितेन्द्र थापाछेत्री । ती पनि ठ्याक्कै यही बखत कामविशेषले शहर छिरेको मौका परेछ ।
देउमाया बूढीको नश्वर देह उठाउने कोही भएनन् ।
मान्छे नै नभएका भने होइनन् गाउँमा । दुई–चार वटा खेललाई खाल पुग्ने बूढापाका अनि अधबैँसे थिए छनलाई त । दिनभरि खेलिने तासको खाल उठाइसकेका पनि हुन् उनीहरूले— बूढीको अन्त्य–खबर आउनासाथ । सबै देउमायाको आँगनमा जम्मा भइसकेका थिए किन्तु बूढीमाउको शव छुन तम्सिने हिम्मत कोही–कसैको भएन ।
उपाध्याय बाहुनकी एक्ली छोरी रहिछन् देउमाया । उमेरमै अर्को गाउँको भरोसालाग्दो ठिटो बस्नेत काजीसित उनको लसपस भएछ । ‘अर्कै जातकी ल्याएछ…’ भन्दै बाहुनी नानीलाई बस्नेत काजीको परिवारले बुहारी नस्विकार्ने र घरमा नभित्य्राउने निर्णय लिएछ । बूढेसकालसम्म पनि उनले छेत्रीको मूलघरमा विधिवत् छिर्न पाइनछन् ।
आफूले मनपेट दिएर ल्याएकी देउमायालाई खलककी बुहारी बनाएर इज्जतसाथ घरमा भित्य्राउन नपाएको झोकमा बस्नेत काजीले बाउमाथि अंशमुद्दा हालेछन् ।
दुवै परिवारको अस्वीकृति सहेर भागी–बिहे गरेको चार वर्ष नपुग्दै बस दुर्घटनामा बस्नेत काजीको देहान्त हुन पुगेछ । उनको अकालगमनपश्चात् निःसन्तान देउमाया सधैँसधैँका लागि समाज र परिवारबाट झनै एक्लिन पुगिछन् ।
धन्न ! लोग्नेले अड्डा–अदालत धाएरै भए पनि, आफन्तसँग दुश्मनी मोलेरै भए पनि उनका लागि गाँसबासको सिर्जना गरिदिएका थिए र मात्रै ! अन्यथा, काजीको देहान्तसँगै देउमाया पनि सतीतुल्य हुनुपर्थ्यो होला ।
हुन त बाहुन–छेत्री; यी दुवै जात त्यस समाजमा एउटै अर्थात् तथाकथित ‘तल्लो जात’कै दायराभित्र थिए । उहिल्यैको समाजको संरचनामाथि प्रगाढ आस्था राख्नेहरू ‘ऊबेलामा छेत्रीभन्दा माख्लो जात बाहुन थियो; अहिले पनि त्यही हुनुपर्ने’ ठान्थे । ‘समय परिवर्तन भएर कहाँबाट कहाँ पुगिसक्यो; अझै उही पुरातन सोच राखेर हुन्छ !’ भन्दै कुर्लिनेहरू जातीय प्रथा पर्लक्कै उल्टिएको र उल्टिँदाखेरी बाहुनभन्दा छेत्रीको जात माख्लो हुन पुगेको दाबी गर्थे ।
खासमा, ‘कलम ठूलो कि तरबार ?’ ‘शिक्षा ठूलो कि धन ?’ ‘विज्ञान अभिशाप कि वरदान ?’ भनेजस्तै ‘बाहुन ठूलो कि छेत्री ?’ यो शीर्षक बच्चाहरूको वादविवादको विषयजस्तो बनेको थियो, जसको निर्णय कसैले गर्न सक्दैनन् । गरिहाले भने पनि त्यो निर्णय स्थापित हुँदैन अनि युगौँयुग वादविवादकै विषय बनिराख्छ । यस्तोमा जसले जुन पक्ष रोज्यो, त्यसैको हितमा वकालत त गर्ने नै भयो ! यही वादविवादको किचलोले नै हो बूढीमाउको शव उठाउन कसैको हात नगएको ।
बूढीमाउका माइती खलकले आफ्नोभन्दा तल्लो जातको केटोसित बिहे भएकाले उनको शव आफ्नो जातिकाले नछुने निर्णय गरे भने घरपक्षकाले जात नमिलेकै कारण घरमा नभित्य्राइएकीलाई आफूहरूले छुनै नहुने अडान लिए । यही जातीय अहङ्कारको रन्कोमा आँगनको तुलसीको मठसम्म ल्याइएकी बूढीमाउलाई श्वास छाड्नासाथ छुने कोही निस्किएनन् ।
देउमायाका कुनै सन्तान रहे–भएका भए वा आधुनिक सोचका कुनै युवा गाउँमा भइदिएका भए सायद तिनको हातचाहिँ बूढीको शवतिर जान्थ्यो कि !
‘उनको काजकिरिया गर्ने कोही आउँदै छ’ भनेझैँ गरी बूढीमाउको शव रुँगेर बसे गाउँलेहरू । आफूले शव नछोए पनि कुकुर–बिरालाले छुनबाट भने उनीहरूले बचाए; सुरक्षा दिइराखे ।
बिर्खबहादुर मङ्ग्राती, बलराम विश्वकर्मा र धनबहादुर गोले त्यहाँ आइपुग्दा दिउँसोको साढे चार बजिसकेको थियो । बिहान नौ बजेतिर बितेकी बूढीमाउको शवमा त्यसबखतसम्म कोही–कसैको हात गएको थिएन ।
पल्लो गाउँका यी तीन ठिटाले त्यहाँ केही भइरहेछ, पहिले त पर्गेल्नै सकेनन् । जब इतिवृत्तान्त थाहा भयो, यी तीन बूढीमाउको शवलाई काँध हाल्न तयार भए । आफ्नोभन्दा माथिल्लो जातका ठिटाहरूले नै हात लम्काइदिएपछि तल्लो जातका बाहुन–छेत्रीहरूलाई कर पर्‍यो । सबै मिलेर बूढीमाउको शव त्यहाँबाट उठाए । नजिकैको घाटमा उनको सदगती गरिने तय भयो । किरिया बस्ने कोही नभएकाले पुरेत झपडबहादुर दर्जीले कुशको छोरो थापेर घाटमै सबै विधि सम्पन्न गरिदिने मेसो मिलाए ।
त्यो दिन एउटा यस्तो कोसेढुङ्गोतुल्य मिति बन्यो । सोही मितिमा देउमाया बूढीमाउको भुईंतले घरमा आगोको झिल्को फुक्ने कोही नरहे–नभए पनि उनको शवदाहसँगै पुरातन कुसंस्कारमाथि पल्लो गाउँका ठूला जातका युवाले अलिकति भए पनि आगो झोसिदिएका थिए । त्यसको धुवाँ निकै दिनसम्म कुरोको पेटारो बनेर चारैतिर फैलिइरह्यो ।
देउमाया बूढीमाउको देह खरानी भएको दिन नै त हो— कल्पनाकुमारी आचार्यको मनमा बिर्खबहादुर मङ्ग्रातीमाथि विश्वास र प्रेमको टुसो एकसाथ टुसाएको !

आउने नै भयो कल्पनाको भित्रिने साइतः

“आखिरी जे नहुनु थ्यो, त्यै भो ! मेरो कुरो सुन्ने, गुन्ने फुर्सत कसैलाई भा’ पो !” आउँदा–आउँदै पिँढीमा टुक्रुक्क बसेर अचार्जे बूढा फतफताउन थाले ।
घरको मूलढोका ढप्क्याइएको थियो । आलो दाउरो परेछ क्यार ! भित्र भरिएर घरको जस्केलो र धुरीबाट निस्केको कुइरीमण्डल धुवाँ वायुमण्डललाई आकार दिँदै थियो ।
“आउँदा–आउँदै यी बूढाको केको गनगन हो !” अचार्जे बूढी दैलो खोलेर बाहिर निस्किन् । उनीसँगै एक मुठी धुवाँ पनि मूलदैलोबाटै बाहिरियो ।
बूढीको टर्रो स्वरले सायद, बूढालाई झट्ट केही बोलिहाल्न मन भएन । बूढाको खिन्न अनुहार देखेर सायद, बूढीलाई पनि थप सोधिहाल्ने जाँगर चलेन । चुपचाप भित्रै पसिन् र छिनभरमै चियाको गिलास बोकेर आइन् ।
“ख्वै ! सानी आइपुगिन स्कूलबाट ?” अचार्जे बूढाले नै कुरोको पोयो फुकाए ।
“टिउसन छ रे त्यस्को । आज’ट एक घन्टा ढिलो आउँछे रे ! तै, सरासर आ’की भा’ आइपुग्नु त पर्नी हो ! त्यो नखर्माउलीको के ठेगान ! तीँ तल खोल्साँ गट्टा खेलेर बस्न बेर छैन !” उनले बाटोतिर आँखा तन्काउँदै भनिन् । उनले मुन्टो घरतिर फर्काउन नभ्याउँदै कान्ला उक्लिँदै गरेकी सानी देखा परी ।
“लु ! आइपुगी यो नि ! आयु त यस्को लामै छ !” बूढीले आँखा बाटोतिरै बिछ्याउँदै सुनाइन् ।
“आयु कस्को के छ, कल्लाई था’ र ! भाग्यचैँ यस्को फुट्या रै’छ बरा ! के गर्नु ! टुहुरी भनूँ बाउआमा जिम्दै छन् ! गर्भेटुहुरीजस्तो बाउको मया कस्तो हुन्छ, यस्ले जन्मजात देख्न पाइन । झिनु आशा थ्यो— यस्को मुहार देखेर दयामया पलाउला, हाम्री छोरीलाई ढिलोचाँडो घराँ भित्य्राउलान् कि भन्ठान्या ! त्यो नि तुरियो बूढी आजदेखिन् !” बूढाले लामो सुस्केरा हाले ।
“के भन्छन् यिनी ! तिनर्को छिःछिः दुर्‌दुर् खाएरै जन्मेकी हो यो; खाइरा’की छे । त्यस्ता असत्तिले राम्रो बेहोरा गर्लान् भन्ने कल्ले आस गर्‍या छ र ! फेरि आजै के आश्चर्जे थप्पियो नौलो ?” बूढीले यत्ति भन्न एक सास पनि लगाइनन् ।
“यस्का बाउको ब्या हुने भो रे ! हाम्रा कानाँ पार्दिनू भन्या थे रे कर्किनी भाउजूलाई । अघि चोकाँ सुटुक्क सुनाउँदै थि’न् ।” उनले स्पष्टीकरण दिए ।
“आ ! हुन्देऊ बूढा ! यी विष्टका फुइँ नै ठूला ! ऊबेला हाम्री छोरीलाई बाटो छेकीछेकी र्‍याल काढे । अ‍ैले अनेक नौटङ्गी देखाउँचन् !” बूढालाई भनेजस्तो गर्दै उनले आफ्नो मन आफैँ सम्हालिन् ।
“तेरा सन्तानलाई मेरो कुराको कानाँ बतास लाग्नी ह्वैन ! अर्कालाई के भन्नु ! हाम्रै छोरी उस्ती ! येल्ले यसो जातधर्मको विचार गर्देकी भा आज यो दिन देख्नु अवश्य परोइन !” बूढाको सुस्केरा कायमै थियो ।
“त्यसो भन्नलाई तिनको ओछ्यानमा यो लम्पसार पर्न गा’की हो र ! अनेक तिक्डम रचेर बाटो छेक्ने तिनी ! हुरुक्कै भएर रोइलो गर्दै हिँन्ने तिनी ! ‘पढ्ने–गुन्ने खालेकी छिन्, मेरो साथ पाए यिनले क्यै न क्यै गरी देखाउँछिन् । आजको जमनामा जातधर्म क्यै ह्वैन, मान्छे–मान्छे उस्तै हुन्, रगत नि उस्तै हुन्छ…’ नानाथरि भनेर हाम्लाई धरी फकाउन आ’ थे । त्यत्ति हुँदा नि टेरपुच्छर ला’की थि’न यल्ले । ‘घरसल्ला नि भो बा ! मनले खा’को मान्छे नपाए घरै छोडेर हिँड्दिन्छु भनेपछि बाआमाले माने’ भन्न आए’छि तिम्ले नै ‘उसोभने लौ’ भन्देका हैनौ ? त्यसपछि हो यल्ले बल्ल विष्टलाई मन दे’की ! तिम्ले टाउको नहल्लाइदे’का भे यल्ले मरिकाट्टे मान्ने थि’न !” बूढी खद्दरको फरिया सुर्क्याउँदै उफ्रिन थाली ।
भित्रैबाट बाउआमाको रँडाको सुनिराखेकी कल्पना बाहिर निस्की र केही थाहा नपाएझैँ बाउको छेउमा टुसुक्क बसी ।
आज उसलाई कसैको केही सुन्ने इच्छा थिएन । ‘बिर्खेको बिहे हुँदै छ अरे !’ यो खबर घुइरोघुइरो उसको कानमा अस्तिनै परिसकेको थियो । कोसित; कहिले; किन; कसरी ? उसले चासै दिइन । सुनाउनेले पनि त्यसभन्दा अघिको कुरो सुनाइदिएन ।
दुई हप्ताअघि बिर्खबहादुरसित उसको जम्काभेट भएको थियो बजारमा । उसले पहिले छोरीको बारेमा सोधेको थियो । अनि, यत्ति भन्दै बाटो तताएको थियो, “म केही गर्दै छु । जे हुन्छ, अब राम्रै हुन्छ ! आशा गर्नू, भरचैँ नपर्नू ! म पनि खसीबोकाजस्तै जातीय दाम्लोमा बाँधिएको मान्छे न हुँ !”
कसैको भरोसाको आशा भए न त्यो तोडिने डर हुनु ! ऊ त घर न घाटको जिन्दगी बिताइरहेकी थिई । न कुनै गुनासो गरेकी थिई न कुनै आशा न कुनै रोध–प्रतिरोध नै ! उसको तर्फबाट बिर्खे ‘आफ्नै हात जगन्नाथ’ भनेझैँ जे गर्न पनि, केही नगर्न पनि स्वतन्त्र थियो । यस्तोमा उसलाई बिर्खेको बिहे भए नि के; नभए नि के !
बिर्खबहादुर मङ्राती; उसले तन–मन दिएको मान्छे । ऊ अर्थात् कल्पनाकुमारी आचार्य र बिर्खबहादुरको जात, कुलघराना सबै अमिल्दो । मनचाहिँ उत्पातै मिल्थ्यो यिनको । बिर्खबहादुर मङ्राती जिम्दारको छोरो, माथिल्लो जातको, कल्पना अचार्जे बाहुनकी छोरी, तल्लो जातकी । जातको पक्षपात गाउँमै छाडेर जब यी स्कूलमा झर्थे, ‘बिर्खु–कल्पु’को जोडी खूब जम्थ्यो ।
सुरुसुरुमा गाउँकै स्कूलमा एउटै कक्षामा पढ्थे यी दुई । घरी बिर्खबहादुर पहिलो, घरी कल्पनाकुमारी पहिलो । शिशुदेखिन् पाँच कक्षासम्म यी दुईले कहिल्यै तेस्रो हुनुपरेन । जब छ कक्षा पढ्न तीन खोलापारिको माध्यमिक स्कूलमा जानुपर्ने भयो, कल्पनाको सपनाको आयु सिर्फ त्यत्ति रहेछ । बूढा बाउ, दीर्घरोगी आमा, चा–चार जना भाइबहिनी….., उसको पढ्ने इच्छा पाँच कक्षामै तुहियो । छ कक्षा पढ्नका खातिर तीन खोला तर्नु तीन समुद्र पौडेर तर्नुजत्तिकै भयो उसका लागि । सिरुबारी डाँडाको एकधरो पाखो नै उसको विद्यालय, महाविद्यालय अनि विश्वविद्यालय बन्यो । एक दिन गाउँकै दुम्जाली बूढाका छोरा रामचन्द्रले उसलाई सोध्यो, “दिदी, तँ किताब पढ्न सक्छेस् नि ?”
उसले एक पलक पनि नलगाई जबाफ फर्काई, “फरर…!”
“अङ्ग्रेजी नि ?” उसले फेरि सोध्यो ।
अलिअलि अन्कनाउँदै उसले भनी, “…त्यो नि सक्छु सक्न त ! पढ्न छाडेको निक्कै भो, गाह्रैगाह्रै होला कि !”
“पढाउन सक्छेस्, पढाउन ?” रामचन्द्रको जिज्ञासा थपियो ।
उसले फ्याट्टै भन्दिई, “पाँच क्लाससम्म हो भने जे नि पढाइदिन्छु ।”
“स्मार्ट छे यो दिदी ! यस्ती चतुर मान्छेले पढ्न छाडेकी चैँ किन ?” रामचन्द्रको यो प्रश्नको जबाफ भने उसले यसरी दिई— मुसुक्क मुस्कुराएर ।
त्यही दिनदेखिन् हो कल्पनाले पढाउन थालेकी । पारिपट्टिको गाउँ दमारमा अक्षरसमेत नचिनेका बूढाबूढीलाई प्रौढशिक्षा पढाउन सुरु गरेकी थिई उसले । एकपछि अर्को गाउँ गर्दै उसले झन्डै नौ वर्ष प्रौढशिक्षा पढाउने काम पाई । सोही क्रममा उसले बिर्खेको गाउँका बूढापाकालाई पनि पढाउनुपर्‍यो । अरू त अरू, बिर्खेकै आमालाई अक्षर चिनाउने र कनीकुथी किताब पढ्न सक्ने बनाउने मास्टर्नी कल्पना नै भई ।
यसबीचमा पढाउने काममात्र गरिन उसले, पढी पनि । औपचारिक शिक्षा त होइन, स्वअध्ययन भने उसले निकै राम्रोसँग गरी । त्यही रामचन्द्रेले करकर–करकर गरेर उसलाई आठ कक्षाको जाँच दिने प्रबन्ध मिलाइदियो । त्यो उत्तीर्ण गर्नासाथ उसले प्राइभेट टेस्ट र एस.एल.सी. पनि दिई । राम्रै त होइन, ठीकै नम्बर ल्याएर पास गरी । त्यसपछिको उच्चशिक्षा अध्ययन गर्न भने उसलाई उसकै पारिवारिक औकातले दिएन ।
पढ्न त दलित कोटामै भए पनि नाम निकालेर डाक्टरी पढ्न मन थियो । करकर गर्ने अर्को कुनै ‘रामचन्द्रे’ कहाँबाट पाओस् ! त्यस्तैमा आइलागेको थियो उही बालसखा बिर्खबहादुर मङ्ग्राती ।
रामचन्द्रले झैँ बिर्खेले पनि पढ्ने कुरामा कल्पनालाई निकै सघायो । क्याम्पसका किताब बटुलिदिनेदेखिन् प्राइभेट परीक्षा फर्म भरिदिनेसम्मका काममा दत्तचित्त भएर लागिपर्‍यो । ब्याकपेपर दिँदै भए पनि कल्पनाले आई.ए. हुँदै बि.ए.सम्मको जाँच उत्तीर्ण गरी ।
बिर्खेले रामचन्द्रले झैँ ‘सघाएको मात्र’ भने होइन । बाल्यकालको दोस्ती–दौँतरीको हवाला दिँदै उसले कल्पनाको कति छेकारो काट्यो; भनिसाध्यै छैन । तथापि, त्यस विषयमा भने उसले टेरपुच्छर लगाइन । माथ्लो जातकासित बिहेवारी भएर गएका आफ्नै दिदीबहिनीहरूको हुर्मत यी ठूला जातेले कसरी काढ्छन्‌; उसले देखिसकेकी थिई । ‘तिमीलाई नपाए मर्ने’ खालको बिर्खेको सस्तो धम्कीले त उसको दृढतालाई हल्लाउनसमेत सकेन ।
एक दिन प्रौढकक्षा सकेर निस्कँदै गर्दा बिर्खेकी आमा उसको हात समात्न आइपुगिन्, “नानीसित यौटा गुनासो गर्नु थ्यो !”
“भन्नू न आमा !” उसले अनुमति दिई ।
“मेरो छोरोलाई नानीले कि सम्झाई–बुझाई गरिदिन परो कि उसले भन्या मान्दिन परो ! नानी भनेछि हत्ते गर्छ त्यो । नानीलाई पाइनँ भने कि अपहत्ते गर्छु कि घरै छोडेर हिँन्छु भनेर उधुमै गर्न थालिसक्यो । एक्लो छोरो, बुढेसकालाँ सुखले बाँच्न नि दिनी भएन बा त्यल्ले !” उनले आँसु नै चुहाउँलाझैँ गर्दै भनिन् ।
कल्पनाले कल्पनै नगरेको कुरा थियो त्यो । आफूले पछि लाग्दालाग्दा केही सीप नलागेपछि बिर्खेले आमालाई हतियार बनाएर उससँग कुरा गर्न पठाउला भन्ने उसले चिताएकै थिइन ।
बिर्खबहादुर उसलाई मनै नपरेको मान्छे भने थिएन । माथिल्लो जातका विष्टसँग बिहे गरेर समाजको अतिरिक्त छिःछिः, दूरदूर खेप्नुपर्ने जानेर ऊ पछिपछि सर्दै आएकी थिई । किन्तु, बिर्खेकी आमाले नै छोराको कुरा सुनिदिन आग्रह गरेपछि उसले मन पगालिदिई । सोही ताका देउमाया बूढीको लास काँध हाल्न गएको देख्दा बिर्खेमाथिको भरोसा पनि बढ्यो ।
केही दिनपछि बिर्खेका आमाछोरा नै उसको घरमा आए अनि बाउआमासित खुला हृदयले कुरा राखे ।

“एक्लो छोरो ! आफूलाई त आफ्नै जातकी केटी खोजेर झ्याइँझ्याइँ बाजा बजाएर भित्य्राउने रहर थ्यो ! परन्तु, छोरो मोरोले मन यता सारेछ । के गर्नु गाउँ–समाज यै हो ! यीँ जिन्नगी बितौनुपर्च । यिनैसँग जोरी खोजेर बस्न मन थे’न ! छोरो नै रहेन भने केको घर, केको समाज ! छोरोको खुशीको निम्ति हाम्ले यो सम्बन्ध गाँसिदिने निधो गर्‍यौँ । सम्बन्धी हुने भे’छि भ’को कुरो भन्नुपर्छ मैले— यस्का बाउ त आउन्नन्, मचैँ हुन्चु । मन्दिराँ ब्या गर्देर केही ट्याम यिनर्लाई शहराँ पठाम्ला । त्यस्पछि यसो साइत हेरेर घराँ भित्य्राउँला ।” बिर्खेकी आमाले हुने–सक्नेजति आश्वासन दिइन् । उनले इच्छ्याएअन्सार नै केही दिनपछि यी दुईको बिहे भयो ।
केही समय शहरको चक्कर काटेर उनीहरू गाउँमा फर्किए । समय अनुकूल नहुन्जेलका लागि बिर्खे आफ्नै घरमा गयो, ऊ यता आई । त्यसलगत्तै बिर्खे पुनः शहर छिरेको सम्चारमात्र कल्पनाहरूको कानसम्म आइपुग्यो । त्यसको केही महिनापछि जन्मिई सानी । कुशको बाउ थापेर उसको न्वारन गरियो ।
किन्तु, मङ्राती जिम्दारको घरमा भित्रिने त्यो ‘साइत’ कल्पनाको जिन्दगीमा कहिल्यै आएन ।
आएको थियो त सिर्फ बिर्खबहादुरको बिहेको खबर; त्यो पनि सानी आठ कक्षामा पढ्ने भइसकेपछि ।
“बाको कुरो सुनिस् नि तैँले ! के लाटी न बाठीजस्तो कानाँ तेल हालेर बसेकी ! याँ आइज ! कुरा गर् !” आमा च्याँट्ठिइन् ।
“के टोकस्छेस् हँ यल्लाई ! के गरोस् बिचरीले ! यस्को के बिराम छ र ! यस्को कर्म नै फुट्या रै’छ । ढकाल काइँलाका सन्तान माग्न आ’थे; तिन्लाई दिन पा भे बरु तै हुन्थ्यो ! गरीब भए नि आफ्नै जातमिल्दोमा जेनतेन प्रकारेन गुजारा गर्थी ! जात नमिले नि मन मिल्या जोडी भन्ठानियो, यी अ‍ैले धोका भो ! यो तल्लो जातकाले माख्लो खालको सप्ना देख्नु नि पापै रै’छ ! पछुता’र क्यार्नु अब !” बूढा बाले आफ्नै जातलाई धिक्कारे ।
“के भो काका ! केको हल्लीखल्ली हो आज ?” आलीबाट हाम फाल्दै उसैबखत रामचन्द्र उनीहरूको आँगनमा झर्‍यो ।
“के हुनु छोरा ! यै तेरी दिदीको कुरा नि ! जिम्दारको छोरो बिर्खेले ब्या गर्न आँटे अरे ! क्यार्नी हो क्यार्नी ! उल्झनमा पो परियो बा !” आमाले कुरो ओकलिन् ।
“के गर्नु भन्नु नि अब ! बिहेमा जाने, जन्तेबाख्रो खाने, दुलाहा–दुलहीलाई आशीर्वाद दिने, आउने नि !” उसले खिसीमा हिसी थप्यो ।
“हिम्मत हुनुपरो नि बा त्यसो गर्न ! कुन आँटले जानु ज्वाइँको ब्यामा ?” आमा झण्डै रुँलाझैँ गरिन् ।
“छोरीज्वाइँको बिहेमा तिमी नगए को जान्छ ए बूढीमाउ ! हैन यिनर्ले मलाई जिस्क्या’का हुन् कि साँच्चै भन्या हुन् ? कि क्यै थाहापत्तो छैन हँ यिनर्लाई ?” रामचन्द्रले आश्चर्य प्रकट गर्‍यो ।
“…..के कुरा हो ? के भन्न खोज्या रामचन्द्र ?” यस पटक बाउ बोले ।
“बिर्खबहादुरको बिहे कसले, कहिले र किन गर्न आँट्या ? त्यो पनि था’ छैन कि ?” कल्पनातिर हेर्दै उसले झन् ठूलो स्वर उराल्यो, “ए दिदै ! तिम्लाई नि मालुम नहीं कि कसो ?”
कल्पना ट्वाल्ल परेर रामचन्द्रको मुहार हेर्न थाली ।
“लौ ! यो परिवारसँग अबचैँ साँच्चि नसकिने भो ! कत्रो लडाइँ गरेर बिहेको चाँजो मिलायो, यता त हात लाग्यो शून्य भनेजस्तो पो छ ! हाम्रो दलित बाहुन समाजले बिहेको सप्पै कार्जे गर्दिने भा’ छ । ए आमै ! तिम्रो ज्वाइँनारानको तिम्रै छोरीसित ब्या हुन लाग्या हो के ! यी थुप्री दिदीले भनिनन् क्यै ? कि लोकसेवामा नाम निक्ल्या नि सुना’की छैनन् घरमा ? यिनर्की छोरी अफिसर भइसकी, यिनर्लाई चैँ मर्‍या गाईको छाला स्याहार्दैमा फुर्सद छैन ! ए दिदै ! तिम्लाई लोकसेवाको रिजल्ट ’नि थाहा थे’न कि बरै ?” रामचन्द्रको स्वर उसै त ठूलो; झन् चर्को भयो ।
खासमा केही थाहा थिएन कल्पनालाई । दुई–तीन पटक लिखितमा नाम निस्किए पनि अन्तरवार्तामा फालिएपछि उसले पछिल्लो पटकको परीक्षाको खबर बुबाआमालाई सुनाउनै अल्छी गरेकी थिई । यही रामचन्द्रले “दलित र महिला कोटा दुवैमा भर न ! नाम निस्किने चान्स धेरै हुन्छ” भनेर सुझाएपछि उसले पहिलो पटक त्यसै गरेकी थिई । हुनचैँ उसलाई खुलामै नाम निकालेर देखाउनुको उत्पातै रहर थियो ।
फतफताउँदा–फतफताउँदा थाक्यो सायद, एक गिलास कालो चिया रित्याएर रामचन्द्र हिँड्यो । ऊ उकालो लाग्दै गर्दा घाम पनि ओह्रालो लाग्दै गरेको देखियो । छिनभरमै घर, आँगन अनि परिवेशभरि क्रमशः अँध्यारो पोतियो ।
बिर्खेको गाउँमा बिजुलीबत्ती बलिसकेको देखियो । अचार्ज बाजे सिलाउँदै गरेको छालाको जुत्ता पिँढीबाट टिपेर खोपामा घुसार्दै भित्र छिरे । यस्तो अन्धकारमा पनि घर किन उज्यालो भयो भन्ठानेको त अचार्जे बजैले साँझबत्ती बालिसकेकी रहिछिन् !

ननिभोस् अब खलाँतीको आगोः

“के ले’र आयौ ए बूढा ?”
“त्याँ तल दमै हजुरकाँ गा’थेँ । दमिनी हजुरले एकमुठी मस्यौरा पोको पार्दिन् ।”
“यसो कसैकाँ पसेर मोई ल्या’ भा’ हुने !”
“पस्या त हो नि ! खोई, पार्‍या छैन भने ! हाम्लाई दिन भनेछि हातै झर्लाझैँ गर्छन् !”
दुम्जाली बूढा आफ्नो पुर्खाले ‘कमाइ गरेर खा’ भनी छाडेको खलाँतीको धुलो टकटक्याउन थाले । त्यसमा जताजता च्यातिँदै जान्थ्यो, उनी त्यतैत्यतै टाल्दै र रफु भर्दै जान्थे । गोरुको हो कि गाईको छालाको त्यो खलाँती दशौँ टुक्रा जोडेर बनाइएको कलात्मक कृतिजस्तो देखिन्थ्यो, जस्तो कि उनको आफ्नै जिन्दगी ।
सिरूबारी डाँडाको एउटा भित्तामा दुम्जाली बूढाको दुई कठ्ठाजति पुर्ख्यौली छाला छ । बाउको पालासम्म त्यो ढिस्कै उनीहरूको थियो, छ भाइ छोराहरूलाई बाँड्दा टुक्रियो । जङ्गलतिरकै पाटो भागमा परेकाले मास्तिरको वनमारा घारी फाँडेर उनले भने बाउ–बाजेको सम्पत्तिमा अरू एकाध कठ्ठाजति ऐलानी थप्न पाए ।
गिर्खे ढुङ्गायुक्त त्यो माटोमा उब्जाउको नाउँमा दश–बीस पाथी कोदो र चालीस–पचास डोका मकैका पुड्का आउँछन् । त्यस्तो बन्जरको खेती दुःखमात्रै त हो ! आम्दानीभन्दा श्रम कति हो कति धेरै ! भलै दुई–चार महिना त त्यसैले पनि धानिदिन्छ । बाँकी दिन विष्टहरूकहाँ बनिबुतो गरेर चलाउनुपर्छ । खुर्पा, हँसिया, चुलेसी, खुकुरीहरू अर्झापेर, कोदालो, हलो, खन्तीहरू बनाएर आएको ५–१० पाथी धानले उनीहरू चाडपर्व मनाउँछन् ।
धर्मप्रसाद र दुम्जाली बूढाको साँध जोडिएको छ । धर्मप्रसादको हालत पनि दुम्जालीजत्तिकै निर्बल र निरीह नै हो । धर्मप्रसादले भने आफ्नो पुर्ख्यौली पेशा छाडिसके भन्दा पनि हुन्छ । पहिले गाउँमा उनको एकलौटी थियो । ठूलाठालु भनाउँदा ल्वान्द्रे कामी, पिपिरे दमै, मुङ्ग्राती कान्छा, फ्याती दमिनी आदिहरूको लुगा सिउने ठेकेदार नै उनी थिए । पछि बजारतिर आधुनिक टेलर्सहरू खुले । धनीमानीहरूलाई धर्मप्रसादले सिएको लुगा मन पर्न छाड्यो । च्यातिएका र उध्रिएका पुराना लुगा च्याप्नेबाहेक नयाँ लुगा सिलाउने मान्छे धर्मप्रसादको छाप्रोतिर उक्लिन छाडे । तेल हालीहाली खिया पर्न नदिएको हाते मेसिनले काम पाउन छाड्यो । ‘त्यो मोरो धर्मे’ले सिलाएको लुगा लगाएर हिँड्न यी ठूलाबडा भनाउँदाहरूलाई लाज हुने दिन आए ।
दुम्जाली भने त्यस्तो ठान्दैनन् । त्यही धर्मेले सिलाएको ज्वारीकोट लगाएर उनले दुम्जाल्नी कान्छीलाई भित्य्राएका थिए कुनै दिन । रङ खुइलिए पनि, प्वाल परे पनि त्यो कोट अझै उनीसँगै छ किन्तु धर्मेले सिलाएको सिलाइ एकधरो उध्रिएको छैन ।
आफ्ना भुराभुरीलाई नाङ्गो–भुतुङ्गो राखेर धर्मप्रसाद कामी–दमैका बच्चाहरूलाई सिँगार्थे । उनका बच्चा अहिले पनि नाङ्गै र फाटे–टालेकै अवस्थामा छन्‌; कामी–दमैका छोराछोरी रेडिमेड लुगा लगाएर झिलिक्क पर्न अभ्यस्त भइसके ।
खलाँती टाल्दै गर्दा उनको कान्छो छोरो रामचन्द्र काखीमा झोला च्याप्दै आँगनमा उक्लियो ।
“दिनभर काँ गा’थिस् ए कान्छे !” दुम्जाली बूढाले स्वरमा सकेसम्म रबाफ भरेर सोधनी गरे ।
“क्याम्पसमा गा’ थीँ नि !” रामचन्द्रले सहजै उत्तर दियो ।
“तिमरू अचेल कोनि के जातीमा लाग्या’ छौ रे ! विष्टहर्को विरोधाँ पर्चा बाँड्दै हिँड्छौ रे ! चालामाला निको देख्दिनँ म ! सम्साँझै खुर्मुर्‍याउलान् नि !” दुम्जालीले सम्झाएझैँ गरी हकारे ।
रामचन्द्रले शान्त र मायालु नजरले आफ्नो बाउलाई हेर्‍यो । बाउले हकारेको नसुनेझैँ गरेर भन्यो, “पहिले हामी बाहुन–छेत्रीकै राज थियो रे यो समाजमा । अहिलेका ठूला जात दमै, च्यामे, कामी, सार्की, पोडे, खत्वे, बाँतर, चमार आदि सबै अहिलेका हामीजस्तै अछूत थिए रे ! तिनका पुर्खाले पनि आफ्नो सन्तानलाई यसैगरी हकारपकार पारेर तह लगाउन खोज्या भए…., क्रान्ति गर्न रोक्या भए…., अहिले हाम्ले यसरी तल्लो जातमा खसेर पानी नचल्ने, अछूतो बन्नुपर्ने थिएन होला हगि बा !”
झर्कोफर्को गर्ला भन्ठानेको छोरोको अर्कैखाले जबाफसँगै दुम्जाली एक छिन लाटा न बाठाजस्ता भए ।
‘हन, याँ फेरि के भाँडभैलो हुन लाग्यो !’ सम्झँदै गर्दा उनको आङ जिरिङ्ङ भयो । एक छिनको मौनतापछि उनले सुस्तरी सम्झाए, “आज्कलको ठेउको न परिस् ! तँ हाम्रो कुरो के सुन्थिस् ! पितापुर्खादेखिन् चलिआ’को संस्कार–संस्कृति तँ नाथे पिउसोले तोडेर तोडिन्छ ! व्यर्थै पापको भागी हुनुपर्छ ! तैँले गर्‍या कर्मले हाम्लाई पाप नलागोस् ! तैँ जान्नी, तैँ बुझ्नी, तैँ विद्वान् ! अर्थोक म के भनम् !”
दुवै बाबुछोराको कुराकानी सुनिरहेकी दुम्जाल्नी बजैले आँखाभरि आँसु पारेर खुइय गरिन्, “हुन्दे बाबै ! ज्यानै जोखिममा हालेर हाम्लाई माथ्लो जात हुनुपरोइन् ! बाँचुन्जेल शान्तिको जिन्नकी ज्यूँन पाम् ! हाम्लाई बुढेसकालाँ नसक्नी भएछि तैँले हातले दुई छाक खान दिएस्, एकसरो आङ ढाक्न दिएस्‌; त्यत्ति भए क्यै चाइन्न !”
आमाको पीडायुक्त आग्रहलाई रामचन्द्रले फिस्स हाँसेर उडाइदियो । दुम्जालीलाई पनि किनकिन आज बूढीको सुझाउ मन नपरेझैँ लाग्यो । उनी सोचाइको दहमा कताकता हराउँदै गए । सोच्दै जाँदा उनलाई आफ्नो विचारसमेत आफैँलाई चित्त नबुझ्दो लाग्दै आयो । सुस्तरी भने, “हाम्रै पुर्खाले गरेको पापको फल भोग्नुपर्‍या हो हाम्ले । तिनर्ले त्यो बखत त्यस्तो पक्षपाती व्यहोरा नदेखाउँदा हुन् त अहिले हामी बाहुन–छेत्री नि उनीहर्कै हैसियतका हुन्थिम् होला !”
रामचन्द्रले बाउको झैँ नरम स्वरमा भन्यो, “हुन त होला के बा ! परन्तु, पुर्खाले गरेको अपराध सन्ततिलाई लाग्ने हो भने हिजो हामीजस्तै तल्लो जातका थिएछन् अहिलेका ठूला जातेहरू । के धर्म गरेका थिए होलान् र तिनीहरूका पुर्खाले ? इतिहास हेर्दा त सबैभन्दा धेरै दुःख, श्रम गर्ने गरेको मात्रै देखिन्छ । काम गर्नु, पसिना बगाउनु पापकार्जेजत्तिकै ठानिन्छ अहिले त; त्यो जमानामा धर्मै के मानिन्थ्यो होला र ! आज हेर्नू त— तिनीहरूका दिन कस्तरी आए ! तल्लो जातका भनेर दुनियाँले हेप्ताहेप्तै उनीहरू नै माख्लो जातका भए ! गर्नुपर्ने ठाउँमा गर्दा, बोल्नुपर्ने ठाउँमा बोल्दा क्यै न क्यै हुँदो रहेछ त ढिलोचाँडो !”
छोरोको मुहारमा क्वारक्वार्ती हेर्नुको अलावा दुम्जाली बूढासित कुनै शब्द थिएनन् ।
रामचन्द्रले टुकी बाल्यो । बाल्दै गर्दा भन्यो, “तिनीहरूले मान्छेसरह बन्न खोज्दा आफ्ना छोर्‌छोरीलाई हकारे होलान् ! संस्कार, संस्कृति तोड्नै नहुने कुरा हो, विरोध गर्नै हुँदैन पनि भने होलान् ! बाठाहरूले तोकिदिएको ‘पापधर्म’ हुबहु पत्याएर त्यससँग आफू पनि डराए होलान्, सन्तानलाई पनि डर देखाए होलान् ! यस्तै कर्म त गरे होलान् हगि बा ! तपाईंको हिसाबमा यो त पापकर्मै भइहाल्यो नि ! अन्यथा, कसरी लाग्यो होला उनर्‌लाई पुर्खाको कर्मको धर्म ! कसरी पो भए होलान् उनेरू ठूला जाते !”
तलको गाउँमा बिजुलीबत्ती बलिसकेको थियो । कथित ठूला जातका भनाउँदा दमै, कामी, खत्वे, बाँतर, चमार, सार्की, पोडे, च्यामे….का घर उज्याला भइसकेका थिए ।
दुम्जाली बूढाले त्यही पुरातन खलाँतीको आगोले टुकी सल्काए अनि खलाँतीको आगो निभाए ।
किन्तु, निभाउनै नसकिने भइसकेको थियो— पछिल्लो पुस्ताले भित्रभित्रै फुकिरहेको आधुनिक खलाँतीको आगो !
०००

प्रतिक्रिया

सम्बन्धित खवर