
दिपक समिर पेशाले सञ्चारकर्मी हुन् । उनी कथा, नाटक, गीत र कवितामा कलम चलाउँछन् । काभ्रे, पाँचखालमा जन्मेर हाल काठमाडौँ बस्दै आएका समिर सानैदेखि लेख्ने र रेडियो नेपालमा पठाउने गर्थे । त्यहीबाट प्रेरणा पाएर लेख्न सुरु गरेको बताउने उनको रेडियो नाटक र एफएम कार्यक्रम निकै चर्चित थिए । हाल नेपाल टेलिभिजनमा कार्यरत उनी टेलिभिजन कार्यक्रममा पनि प्रिय छन् । कथाकारको रुपमा धेरैजसो कथा स्वैरकल्पनामा लेख्न रुचाउने उनको हालै मुनामदनको डिभोर्स पार्टी नामको कथा सङ्ग्रह प्रकाशित भएको छ । यसै पुस्तकको सेरोफेरोमा रही सम्पादक जीवन खत्रीले समिरलाई गरेका पाँच प्रश्न र कथाकारको जवाफ;
१, मुनामदनको डिभोर्स पार्टी पुस्तकका लागि यहाँलाई बधाई तथा थप शुभकामना । यो सङ्ग्रहको बारेमा छोटकरीमा परिचय गराईदिनुहोस न् ।
– यहाँको शुभकामनाको लागि हार्दिक धन्यवाद। यो स्वेरकल्पनामा, स्वैरकल्पनामा आधारित जम्मा १४ वटा कथाहरु समेटिएको कथा संग्रह हो । जसमा विभिन्न देश, समय र सन्दर्भका पात्रहरुलाई नेपाली समाजका घटनाहरूसँग जोडेर फरक शैलीमा कथानक तयार पारिएको छ । कथाका शीर्षकहरू बलात्कारीलाई प्रेमपत्र, एकरात प्रेतसँग, नवराज बिकको भ्यालेन्टाइन्स डे , हिउँको सिन्दुर, हिटलरकी प्रेमिका, सत्य हरिश्चन्द्र र बेचैन बलिसरा, ब्रो लाइटर छ!, मैना, सेतो परेवा, मुनामदनको डिभोर्स पार्टी, मिसेस लिङ्कन @ आर्यघाट, स्वर्गीय सपना, उजेली तिमीलाई के ल्याइदिउँ ?, र किरा परेको गिरी रहेका छन् । विषयवस्तु र घटना हाम्रै समाजका भएपनि पात्रहरू काल्पनिक र विभिन्न कालखण्डका भएको कारण सुरुमा शैली अनौठो लाग्न सक्छ । तर स्वैरकल्पनाको यो एउटा फरक शैली हुनाले पढ्दै गएपछि पाठकको रुचि बढ्न सक्छ । यो एक किसिमले विश्व मानचित्रमा नेपाललाई दह्रिलो गरि उभ्याउने कोशिश पनि हो ।
२, नेपाली समाजमा मुनामदन भनेपछि प्रेमको सन्दर्भका लागि एउटा मिथकनै निमार्ण भएको छ । एउटा महान बिम्ब बनेको छ तर यहाँले उनीहरूको डिभोर्स गराएर पार्टी खानुभयो । अलि उल्टो भयो कि भन्नेहरू पनि छन्, यहाँको तर्फबाट प्रष्ट गरिदिनुस न् ।
– यो हिजो आज मलाई धेरै लखेटिरहने प्रश्न हो । जसलाई म स्वभाविक पनि मान्छु । यहाँले सोधेजस्तै मुनामदन प्रेमको मिथक हो, जसलाई महाकवि देवकोटाले अत्यन्तै सुन्दर तरिकाले स्थापित गर्नुभएको छ । तर मेरो शीर्षक र कथा त्यो मिथक भत्काउने या त्यसमा प्रश्न गर्ने हैन, आधुनिक समाजलाई झकझक्याउने र गलत बाटोबाट सही बाटोमा ल्याउन कोशिश गर्ने बिम्बात्मक व्यङ्ग्य हो। आधुनिकताको नाममा सामाजिक सञ्जालमा बढ्दै गएको विकृति, हामीले बिर्सदै गएका संस्कृति, हराउँदै गएको माया प्रेम प्रतिको गहिरो असन्तुष्टि कोशिश आदिले समाज र संसारलाई पुर्यऔन सक्ने विन्दूको चित्रण सहित सचेतनाको प्रयासको एक उदाहरण हो यो पुस्तक । जसको लागि उदाहरणीय जोडी खोज्ने क्रममा मैले मुना मदनलाई छानेको हुँ । के थाहा, यदि विकृति यसैगरी बढ्दै जाने हो भने एक दिन मुनामदन जस्तै आदर्श जोडी पनि छुट्टिने हुन् कि ! यो समाजबाट प्रेम भन्ने शब्द नै हराएर जाने हो कि ! देवकोटा जस्ता महान सर्जकका सिर्जनामाथि नै प्रश्न चिन्ह उठ्ने हो कि ! यो नै मेरो चिन्ता हो । यसमा न मुना मदनको कुनै अपमान गरिएको छ, न महाकवि देवकोटाको । म जस्तो सानो मान्छेले त्यो दुस्साहस कहाँ गर्न सक्छु र ? मिथक र बिम्ब प्रयोग गर्दा साहित्यमा उल्टो र सुल्टो बाटो भन्ने हुँदैन सबै बाटाहरु सुल्टा नै हुन्छन्। त्यसैले त साहित्य सुन्दर हुन्छ ।
३, टेलिभिजन र रेडियोमा चिरपरिचित अनुहार/आवाजले हज्जारौँ दर्शक श्रोताको प्रिय हुनुहुन्थ्यो । आफूले भन्नुपर्ने कुराहरू त्यहीँबाट भन्दा प्रभावकारी, छिटो र अर्थपूर्ण पनि हुन्थ्यो होला तर कथाबाट भन्नुपर्ने गरी के तेस्ता विषयहरू रहेछन् र कथामा आउनुभयो ?
– सबैभन्दा पहिलो कुरा त लेख्नुमा जति आनन्द अरु कुनै पनि कुरामा आउँदैन । त्यसैले देखेका,भोगेका र मनमा उम्लेका कुरालाई लेखेर अभिव्यक्त गर्ने मेरो चाहना लाई पूरा गर्न अर्थात् मूर्त रुप दिन पनि मैले लेख्ने प्रयास गरेको हुँ । अर्को कुरा पठनीय कृति युगौंसम्म बाँचिरहन्छ । त्यसैले पनि आफ्नो सिर्जना यो समाजलाई प्रदान गरौं भनेर त्यसलाई पुस्तकको आकार दिने प्रयास गरेको हुँ । फेरि पठन संस्कृति कम हुँदै गएको आजको परिप्रेक्षमा झन् लेख्नै छोडियो भने त एक दिन दिन लेख्ने र पढ्ने कुरा नै एकादेशको कथा नबोल्ला भन्न कसरी सकिन्छ र ? फेरि लेखनमा एउटा यस्तो शक्ति हुन्छ जसले स्पर्श गरेको हरेक मान्छेले एक दिन पुस्तक लेख्ने र समाजमा प्रदान गर्ने सपना देखिरहन्छ । त्यही सपना पूरा गर्न मैले सञ्चार कर्मबाट केही समय चोरेर यो पुस्तक लेखेको हुँ । पुस्तक लेख्ने कुरामा नै मेरो सञ्चार कर्म संचार यात्रा र श्रोता दर्शकको अपार प्रेरणा छ । त्यसैले मेरो सञ्चार कर्म र लेखन अर्थात् पुस्तक प्रकाशन एक अर्कासँग अत्यन्तै अभिन्न सम्बन्ध राख्छन् ।
४, एक चर्चित सञ्चारकर्मी साहित्यप्रति आकर्षित हुनु स्वभाविक रुपमा राम्रो कुरा किनकि हिँडीरहेको साहित्य सञ्चारको काँधमा चढेर दगुर्छ भनिन्छ । नेपाली कथामा यहाँको कृतिको स्थान केही महिना र वर्षहरू पछि होलान बरु पाठकलाई यहाँको सञ्चार कर्मबाट कथासङ्ग्रह सम्मको यात्रा बताईदिनुस न ।
– स्वभाविक रूपमा म सानैदेखि केही न केही लेखिरहन्थेँ। त्यसै क्रममा कविता, गीत बढी लेख्थें । पछि व्यावसायिक बन्दै जाने क्रममा मैले नाटकहरु बढी लेखें । आजसम्म १६०० भन्दा बढी रेडियो नाटकहरू लेखेको छु। रेडियो नेपालमा प्रसारण गर्नका लागि गीति कथाहरु पनि सानैदेखि लेख्थें । एकदिन पुस्तक प्रकाशन गर्नुपर्छ भन्ने चाहना मनको कुनै कुनामा गुम्सिरहेको थियो । जब सपरिवार कोभिड भएर म घरमा बसें त्यसबेला समय बिताउने मुख्य उपाय भनेको सिर्जनात्मक काम थियो । त्यसै क्रममा यो पुस्तककै एउटा कथा लेखेँ- हिटलरकी प्रेमिका । जुन कथा अनलाइनखबरमा प्रकाशित भयो । त्यसलाई मेरो परिवार, साथीभाई, शुभचिन्तक सबैले मन पराइदिनु भो । त्यसले मलाई हौसला बढ्दै गयो र क्रमश अरु कथाहरु लेखेर यो पुस्तक तयार पारें । जुन पुस्तक मैले मेरा श्रोता दर्शक सँगै मेरा दिवंगत मातापिता प्रति समर्पित गरेको छु । जसले मलाई सिर्जनात्मक काममा सधैंभरि हौसला दिइरहनु भयो । तर उहाहरु अहिले यो संसारमा हुनुहुन्न । तर जुन रुपमा जहाँ रहे पनि ढिलै भएपनि मेरो ‘सर्जक’ रुप देख्ने उहाँहरूको त्यो चाहना पूरा गर्न पनि पनि मैले पुस्तक लेखेको हुँ ।
५, आजको पुस्तालाई हतार हतार लेख्नुछ र रातारात हिट लेखक हुनुछ । तपाईँ वर्षौँदेखि रेडियो टेलिभिजन रेडियोमा कथा लेख्दै भन्दै आउनु भएको छ । हिट त पहिल्यै हुनुहुन्थ्यो । किताबको रुपमा आउनु किन ढिला ? यो कथाप्रतिको जिम्मेवारीबोध कि समय अभाव ? र अब आयो, पाठकले किन पढिदिउन भन्ने लाग्छ?
– साँच्चै हो, पुस्तक आउन ढिला भएकै हो । यसका दुईवटा कारण छन् । पहिलो त सञ्चारकर्मले मलाई प्रदान गरेको व्यस्तता, जसले गर्दा खुल्ला रुपमा सिर्जनात्मक काम गर्ने समय र वातावरण मिलाउन सकिन । दोस्रो कारण पुस्तक बजारमा आइसकेपछि त्यसको प्रभाव कस्तो होला, त्यसले मेरो परिचयलाई कस्तो बनाउला भन्ने कुरामा म सधैं सचेत रहें र एक किसिमको डर मनमा रहिरह्यो । त्यसैले ढिला भएकै हो । तर अब आँट गर्नुपर्छ भन्ने सोचेर यो पुस्तक ल्याएको छु । जहाँसम्म किन पढ्ने भन्ने प्रश्न छ, यो पुस्तक नेपाली समाजलाई बुझ्न पढ्ने । स्वैरकल्पनाको प्रयोग गरिएको हुनाले फरक स्वाद लिन पढ्ने । अनि हाम्रा आगामी बाटाहरू र हाम्रो दायित्वलाई कलात्मक हिसाबले बुझ्न पढ्ने । मैले गर्न खोजेको प्रयोग र मलाई आजसम्म आएको प्रतिक्रिया अनुसार एक फरक खालको स्वाद पक्कै पनि छ। यसभन्दा अगाडि रेडियो र टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा रहदा मलाई मेरा प्रिय श्रोता दर्शकहरुले जसरी मन पराइदिनुभो र मार्गदर्शन दिनुभो त्यसैगरी पुस्तक यात्रामा पाठकको रुपमा पनि सबैजनाले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।
***
प्रतिक्रिया
-
४