– मणिराज सिंह

बाटो ढुकेर सुटुक्क फ्याकेका
प्रेमपत्रका पानाहरू
देखे पनि नदेखेझैँ कुल्चेर
फटाफट हिड्यौँ
निष्ठुरी ।

गाइएका गीतका धूनहरूमा
किन पोत्यौ?
कर्के नजरका  बेरङ्गहरू
उन्मुक्त सपना
र मधुर रहरहरूसित
लेख्यौ आशुका थोपाहरू
निष्ठूरी।

हावाको झोक्कासँगै
पिपलको पातले सुसाएका
विवस, उदास ढुङ्गे मन
र, घामले रङ्ग खुइलेका सिरकले मुख छोपेर
हरेक दिन निदाउने
आकाशका जून ताराहरूलाई पर्खेर
किन समेट्यौ?
लजालु खुसीमा उराठ प्रशंसा
चिरा चिरा सम्बेदना
रित्तो आकाश
र एक मुठ्ठी क्रन्दन!
तिमी लतपतिएझैँ लाग्यो
पानीको छाँयामा लुछुप्पै
अनि, घामको बैजनी स्पर्शमा
निष्ठूरी!

***

प्रतिक्रिया

सम्बन्धित खवर