
– सन्तोष सरिल
हावाको कोमल स्पर्शले
उडाउँदै उडाउँदै लगेर
गुलाबको शिरमा सजिएको कपासजस्तै
तिम्रो प्रतिविम्ब
मेरो छातीमा टाँसियो ।
खैरी बाख्रीले जन्माएको
एक महिने धोबीने पाठो जस्तै
प्रेमले बुरुक्क बुरुक्क भएको हृदयले
कयौं रात आँखालाई निदाउन दिएन
बर्षौपछि ओठमा फुलेका सुनाखारीलाई ओइलाउन दिएन
अब यो मन खुसीका लागि काकाकुल हुनुछैन ।
एक बिहान ,
सेता फूलहरूले टम्मै ढाकिएको नास्पातीको बोटछेउ
थोरै छेकिएर
भएभरको रङ्गिन प्रेमलाई चोरेर
बनाए एउटा रातो बिन्दी
र त्यसभित्र लुकाएर मेरो भाग्य
तिम्रो निधारमा टाँसिदिएँ
हरेकदिन
कुनै कविको मास्टरपिस कविताको
नवीन बिम्ब बनेर
तिमी मलाई मेरो अस्तित्वबोध गराइरहन्छौ
अचेल हरेकपल तिम्रा आँखामा
मास्टरपिस प्रेम कविताहरू पढिरहन्छु ।
***
प्रतिक्रिया
-
४