
कवि प्रेमप्रकाश रोल्पामा बसेर आफ्नो मगर खाम र नेपाली दुवै भाषाबाट पहिचान र प्रगतिवादी कविता लेखिरहेका छन् । उनको ‘रगतको तर्पण’ समकालीन नेपाली कविताको महत्त्वपूर्ण उपलब्धी हो । उनका यसअघि दुई कवितासङ्ग्रह, तीन गजलसङ्ग्रह, एक निबन्धसङ्ग्रह र एक आधुनिक गीतिएल्बम प्रकाशित छन् । उनको हालै प्रकाशित कविता सङ्ग्रह रगतको तर्पणको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले उनलाई गरेका पाँच प्रश्न र उनको जवाफ ।
१, रगतको तर्पण सङ्ग्रहको बारेमा छोटो परिचय गराईदिनुस् न ।
– यो मेरो सातौं सङ्ग्रह हो भने कविता विधाका हिसाबले तेस्रो पुस्तक हो । यसमा मैले तीन खण्डमा कवितालाई बाँडेको छु । पहिलो खण्डमा ‘माटोमाथि केही अन्धकार’ दोस्रो खण्डमा ‘जीवनसँग जहिल्यै पनि’ र तेस्रो खण्डमा ‘भावहरूको भव्य भग्नावशेष’ छ । यी प्रत्येक खण्डका कविताबाट पाठकलाई सङ्ग्रहबारे बुझ्न सहज हुनेछ भन्ने विश्वास लिएको छु ।
२, ‘रगत तर्पण’ । अलि भिन्न नाम रोज्नुभएछ कृतिको । यसको बारेमा केही बताइदिनुस् न ।
– साँच्चै रगत नभएकोभए के हुन्थ्यो ? एकपटक सोचौँ त ? अहिले पृथ्वीमा जेजे छ, केही रहन्थेन । संसारमा ठूल्ठूला क्रान्तिहरू हुने थिएनन् । नेपालको राजनैतिक इतिहासमा ‘रोल्पा’ क्रान्तिको प्रतीक हो । जसले ठूलो बलिदानी पनि गरेको छ । तर रोल्पाप्रति केही नकारात्मक भाष्य खडा गरिएका छन् । परिवर्तनका विभिन्न कालखण्डमा रोल्पाको भूमिका नकारात्मकमात्रै कसरी हुन सक्छ ? सचेततापूर्वक कविले त्यसलाई चिर्नुपर्छ भन्ने लाग्छ ।
३, प्रगतिशील चेतमा कलम चलाउने कवि, गजलकार, नियात्राकारको रुपमा चिनिनुहुन्छ, तपाईँ । यो कृतिमा प्रगतिशील चेतका कविताहरू टन्नै होलान् । हामी, नेपाली समाज कहाँनेर पुगेपछि प्रगतिशील कविताहरू नलेखे पनि हुन्छ ?
– प्रगतिशील कविताको यात्रा लामो छ । यसको निरन्तरता शताब्दीयौं जाला । किनभने हामीले कल्पना गरिरहेको साम्यवादी दुनियाँको प्राप्ति नहुँदासम्म प्रगतिशील कविता लेखिने नै छन् । हामीले नलेखे पनि भोलिका समयमा अरू कसैले लेखिरहनेछन् ।
४, तपाईँ रोल्पाको माटोबाट हुनुहुन्छ । रोल्पा सम्झनासाथ जनयुद्ध (कसैले जनयुद्ध मान्दैनन् पनि)को केन्द्रभूमि मानिन्छ । तपाईँभित्रको कविमनलाई प्रगतिशील चेत थप्न यसको भूमिका छन् कि ? केही पृष्ठभूमि/ केही सम्झना सम्झिन मिल्छ ?
सम्झिनका लागि थुप्रै कुरा छन् । देश परिवर्तनको हरेक मोर्चाहरूमा र जनयुद्ध एवम् जनआन्दोलनमा रोल्पाले हुँकार बोल्यो । म रोल्पा जिल्लाको तत्कालीन गाविस उवाको स्थायी बासिन्दा हुँ । जुन गाविस रोल्पा जिल्लामा दोस्रो ‘सहिद गाविस’ हो । यस गाविसका सहिद दिलकुमार पुन ‘ज्वाँर’को नामबाट रोल्पाको तिलामा तत्कालीन ‘ज्वाँर स्मृति ब्रीगेड’ सञ्चालित थियो । जसबेला प्रगतिशील अभियानहरू थिए । जनकम्युनहरू स्थापित थिए । सामना सांस्कृतिक परिवारको जनप्रिय कार्यक्रमहरूको निरन्तरता थियो । जन्म, विवाह र मृत्युमा जनतान्त्रिक संस्कार थियो । समाजमा जनवादी जीवनशैली व्याप्त थियो ।
५, कवि श्यामलले तपाईँको कृतिमाथि चिरफार गर्दै भूमिका लेख्नुभाछ र पढ्नुपर्ने कृतिको रुपमा रगतको तर्पणलाई लिनुभाछ । तपाईँ आफैँ भन्दिनुस् न पाठकले रगतको तर्पण किन पढ्ने ?
– कवितालेखन एउटा आन्दोलन हो । लेखनले सत्तालाई सचेततापूर्वक मार्गनिर्देश गर्नुपर्छ । कवि लेखकहरूले सत्तामाथि बौद्धिक र वैचारिक प्रश्नहरू उठाउनुपर्छ । जुन प्रश्नबाट देश परिवर्तनको वैकल्पिक बाटोहरू खुल्छन् । ‘रगतको तर्पण’ परिवर्तनको एउटा इँट्टा हो । तसर्थ परिवर्तनको पक्षमा निरन्तर लागिरहनको निम्ति एकपटक सम्पूर्ण पाठकले ‘रगतको तर्पण’ पढ्नुपर्छ ।
***
प्रतिक्रिया
-
४