
– प्रमुना दाहाल पौडेल
मुक्तक–१
चाहान्छौ भने तिम्रो मन जलाएर देखाउँछु
प्रत्येक अंगमा स्पर्श सल्बलाएर देखाउँछु
मेरा लागि के गर्न सक्छ्यौ भनी नसोध न
सिन्दुर देउ न तिम्रो घर चलाएर देखाउछु ।
मुक्तक– २
पहिले झैँ प्रेमिल बिहानी फेरि होला नहोला
हाम्रो प्रेममा मनोमानी फेरि होला नहोला
अंगाली दिएकी छु तिमी निदाएर सुत प्रिय,
मेरो काख तिम्रो सिरानी फेरि होला नहोला ।
मुक्तक– ३
बाँचुन्जेल खाने गाँसको के घमण्ड गर्छौ
दुईदिने जिन्दगी खासको के घमण्ड गर्छौ
पानीमा तैरिएको मानवलाई हेर एकपटक
सबै सकिन्छ उडे श्वासको के घमण्ड गर्छौ ।
मुक्तक– ४
एकबारको जिन्दगी प्रेमिल भएर बाँच्नु पर्छ
आपसिए सम्झौताले अंगालीमा नाँच्नु पर्छ
मानव जीवन घुमाउने काम गर्छ रे समयले
दैवसंयोग खुसी मिल्दा रमाएर नै हाँस्नु पर्छ।
मुक्तक– ५
भेट भैएछ दोबाटोमा संयोग मान्नु पर्छ
प्रेमिल जीवन बाँच्ननी आफ्नै ठान्नु पर्छ
बाँच्नु मर्नु जन्मनु त भगवानको मर्जी रे
जंघार तर्दा पानी भित्र हिँड्न जान्नु पर्छ ।
मुक्तक – ६
नगदमा छाै तिमी उधारो बन्न म कसरी आउँ
सबैको आँखाभरि तारो बन्न म कसरी आउँ
जब तिमी अर्कैको मायामा खुसी हुन्छाै भने
तिम्रा ति खुसीमा तगारो बन्न म कसरी आउँ ।
***
प्रतिक्रिया
-
४