– विजयिता भण्डारी

छातीमा फलामको ढक बोकेर
मुस्कुराएको  दिन
आँखा भरिएको थियो

चुहिएको भए
पानी बनेर सकिन्थ्यो होला
केही थान रहरहरूले देखेका रहरहरू
केही जोडा आँखाले देखेका स्वर्णिम  सपनाहरू

हातहरूले आकाश छोइसक्दा
पाइलाहरूले धर्ती टेकिसक्दा
हजारौँ आवश्यकताका गर्भभित्र
जाडोको बाक्लो कपडा लगाएर
उकुसमुकुस भएको सांस लिएर
हेर न  बिहानको घामसँग उदाईरहन्छ
एउटा अर्को घाम

मानौँ
गहिराइका मापदण्ड जस्तै
देखिने अग्लाइहरूलाई
होच्याइरहन्छ आस्थाको मुहारले
एउटा क्यानभासलाई भविष्यको रङ्ग दिन
बलिरहन्छ वर्तमान मैनझै बनेर

अभावका आकृतीहरूमा समृद्धिको रङ्ग भर्न
पसिनासँग मितेरी गाँस्दागाँस्दै  भुल्नै लागेछु मैले  रगतको प्राचीन साइनो
सबैसबै सपनाहरूलाई  साक्षी राखेर
अलि पर हेर्दा
रित्ता हातले सुम्पिएका
भरिपूर्ण आशिर्वाद देख्छु
तेजिलो ताप छलेर उड्नै लाग्दाको
तिम्रो देशले बाटो कुरिरहने छ
पहाड कराए जस्तो भयानक आवाज सुन्छु

तर
मेरा आँखाहरूले आफ्नै आकाश देख्न सक्दैनन्
देख्न सक्दैनन् क्षितिज पनि
कुनै समय छैन हृदयको आँखाले नखोजेको
सकुनको निन्द्रा  दिने रात
उज्यालोको आभास गराउने घाम
बा-आमाको ओठको निस्वार्थ हाँसो
खुशीलाई  गोजीमा लुकाएझैँ
लुकाएर राख्ने साथीभाइसँगको साँचो
जब समयले परिवेशको भार उचाल्छ
बालुवा जस्ता खालिपनमा
कुनै सुन्दर फूललाई फुलाउन
टक्क अडिएर
पैँचो माग्ने छु म समयसँग
अलिकति समय
र यहीँ माटोको टीका लगाएर
आफैँलाई उपहार दिने  छु  ,आफैँ
आफ्नै देशलाई , आफ्नै आमालाई ।
**

 

प्रतिक्रिया

सम्बन्धित खवर