
– सरोज भण्डारी सर्वहारा
हाम्रो जन्म भयो गर्यौं कतिकुरा माटो सँगै हुर्कियौँ
माटोमा पसिना बगाउन सिक्यौँ उब्जाउँदै पालियौँ
यो सम्बन्ध निकै पुरातन न हो माटो सँगै मानव
मुठ्ठी सास रुक्यो भने पलक मै, माटो हुने हौँ सब
बाँचौं मित्र सदैव बालक जसै उन्मुक्त हाँसो लिई
पाईँदैन कदापि हाँस्दछु भनी यो सिद्धिए जीवनी
धर्ती सुन्दर बाग हो, कुसुम हौँ हामी सबै मानव
डालीबाट खसे मिनेट भरमै माटो हुने हौँ सब ।
सारा मानिसको समान गतिले भो थालनी जीवन
मर्दा मृत्यु विशेष पार्नुछ भने थालौ न नौलोपन
केही कर्म गरेर बाँच्नुछ सखे, अर्को शताब्दी पर
बाँच्ने पौरख कर्म हो जगतमा माटो हुने हौँ सब ।
लड्दैछौ किन भाइभाइ बिचमा तेरो र मेरो भनी
जानै पर्छ चिहानको पथ हुँदै, संसार जित्ने पनि
कोही छैन अजम्बरी बुझिबुझी के जुध्दछौ मानव
ईष्र्या द्वेष घमण्ड त्याग मनुवा माटो हुने हौँ सब ।
छन्द – शार्दूलविक्रीडित
प्रतिक्रिया
-
४