
– मुक्ती न्यौपाने
चिसो साँझलाई साक्षी राखेर,
ऊ हिँड्छ
आफैँ सङ्ग बाजी राखेर
बाध्यता र जिम्मेवारीको
पोको बोकेर ,
धन कमाउने धोको बोकेर
धूमिल आशा ,
विफल स्वप्ना,
बा -आमाको आशीर्वाद
र गाउँको माया बोकेर ।
व्यस्त बिमानका धावनमार्गमा
उड्छ ,
आफ्नो गन्तव्यतिर
सर्वोच्च सगरमाथाबाट
होचो मृतसागरतिर ,
दुवई, कतार र साउदीतिर,
टोकियो र सउलतिर ,
न्युयोर्कतिर ,
सिड्नी र लण्डनतिर
अथाह गोरेटोमा
शहरका गल्ली छिचोल्दै ,
कुदिरहेछन् पाईलाहरु
अर्थहिन जिन्दगी बटुल्न ,
कठै !
हिमालको काख,
पहाडको आड
र तराई फाँटमा
स्वतन्त्र उडेको चरो
आज
पिँजडामा तर्सिरहेछ
विरानो परिवेशसङ्ग ,
पासपोर्टको खोलसङ्ग,
पैसाको मोलसङ्ग ।।।
के म मान्छे हुँ ?
आफैँ अनुत्तरित हुँदै
अथक लडिरहेछ १
भारी मनमा विस्फोटित
गालिको बोझसँग,
दिनको थकानसँग ,
अनिदो रातसँग
कहालीलाग्दो वर्तमान
र भविष्यसङ्ग
महत्वाकांक्षा ,
खरानी भैसक्यो
जवानी ,
हानी भैसक्यो
पिएर पिडा ,
आँसु ओकल्ने बानी भैसक्यो
काँचका गगनचुम्बी भवन
होइन
झुपडीमा भरोसा लाग्दै छ ,
ए सि, हिटर र झिलिमिली ?
होइन
प्रकृतिको शितलता
र रापसङ्ग आनन्द मिलेको छ
प्रिय परदेश
उसले दशक बिताईसक्यो
तिम्रो मट्टीमा
प्रत्येक गल्ली ,
रेल्वे,
चोक र भट्टीमा
अब मोडिदेउ बिन्ती
जहाँ,
उसको संघर्ष सार्थक कहलिन्छ
एक थकित योद्धा ,
शिथिल पृष्ठभूमिमा ओट लगाएर
बिसाउन खोज्दै छ
आफ्नो युद्धकाल
पठाऊ
उसकै अस्तित्वतर्फ
जहाँ
मातृत्व ,
स्वतन्त्रता ,
प्रेमभाव,
देश,
समाज
र परिवार छ
यत्ती गर्न सकोस् ,
बाँच्न र मर्न सकोस्
ढुक्कसँग ,
एक अञ्जुली जिन्दगी पिएर ।।।।।।
प्रतिक्रिया
-
४