युवा कवि तथा गजलकार रूपक अलङ्कार २०४३ भाद्र १३ थाक्रे ८ धादिङमा माता लक्ष्मी र पिता रामशरण अधिकारीको कोखबाट जन्मेका हुन् । आचार्य (वेद), स्नातकोत्तर (नेपाली) गरेका उनी जनसांस्कृतिक महासंघ नेपालका केन्द्रिय सदस्य समेत हुन् ।
साहित्य, समालोचना र अनुवादमा समेत,कुशल अलङ्कार
नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्छन । देशको पुर्पुरो(२०६७,गजलसङ्ग्रह), विश्रान्त(२०७८,महाकाव्य), चाणक्यनीतिदर्पण(२०८१) कृति प्रकाशपत उनका कविता,समालोचना तथा समसामयिक लेख विभिन्न पत्रपत्रिकामा आईरहन्छन । शब्दसंयोजन(मासिक पत्रिका), प्रज्ञा नेपाली बाल-गजल सम्पादन गरेका उनको भर्खरै चाणक्यनीतिदर्पण अनुवाद सङ्ग्रह प्रकाशित भएको छ यसै कृति.को सेरोफेरोमा अलङ्कारसँग सम्पादक जीवन खत्रीले सोेधेका पाँच प्रश्न र उनको जवाफ
१, चाणक्यनीतिदर्पणको अनुवाद भावानुवाद कृतिको बारेमा बताईदिनुस न ।
चाणक्यनीतिलाई स्वयम् चाणक्यले ‘राजनीतिसमुच्चय’ नाम दिएका छन् । पछि उनकै नामले यो कृति प्रसिद्ध भयो । उनले राखेको नामबाट यस किताबमा राजनीतिकै विषय छन् भन्ने नै अनुमान गर्न सकिन्छ । तर यसमा विशुद्ध राजनीति मात्र नभएर जनजीवनका अनेक विषय समेटिएका छन् । यसैले यो कृति शुक्रनीति, विदुरनीति जस्ता राजनीतिसित मात्र सम्बन्धित पुस्तक होइन ।
रजनीतिसित प्रत्यक्ष सरोकार नभएका मानिसलाई पनि यस ग्रन्थले उपयुक्त जीवनमार्ग प्रशस्त गर्न सक्छ । मानिसका जीवनमा आइपर्ने विभिन्न समस्या र संशयहरूलाई छेदन गर्ने ज्ञान यसले प्रदान गर्न सक्छ । यसैले पनि यो ग्रन्थ सार्वकालिक महत्त्व र लोकप्रियताले भरिएको छ ।
पुस्तक बजारमा निश्चय पनि चाणक्यनीतिको अभाव छैन । नेपाली, हिन्दी तथा अङ्ग्रेजीमै अनुवाद भएका पुस्तक पनि उपलब्ध छन् । अरू जुन भाषाको भए तापनि खास महत्त्व भनेको संस्कृत श्लोककै हो र त्यसमै मज्जा पनि छ तर सबैका लागि संस्कृत बोधगम्य हुने कुरा भएन ।
चाणक्यनीति लगायत संस्कृतका ग्रन्थहरूको अनुवाद भए तापनि तिनीहरूको सहज उपलब्धता छैन । त्यसका लागि भए पनि यस्ता ग्रन्थहरूको अनुवाद र प्रकाशन भइरहनुपर्छ । आफू संस्कृतकै विद्यार्थी भएकाले पनि यस कार्यलाई मैले आफ्नो कर्तव्य नै ठानेको छु । प्रायः अनुवादका ग्रन्थहरूमा भावानुवादलाई मात्र महत्त्व दिइएको पाइन्छ यसमा भने शब्दार्थको पनि समावेश गरिएको छ । चाणक्यका श्लोकहरू शब्दार्थसहित बोध गर्न चाहनेहरूका लागि यो ग्रन्थ उपयुक्त हुन्छ नै । नीतिशास्त्रको इतिहास, परम्परा, चाणक्यको जीवनसङ्घर्ष र सफलतालाई समेत भूमिकामा समावेश गरिएकाले यो पुस्तक सङ्ग्रहणीय छ भन्ने मलाई लाग्छ ।
२, सामान्य रुपमा चाणक्य भनेको दार्शनिक भन्ने बुझिन्छ । खासमा चाणक्य को हुन्?
चाणक्य विद्वान् हुन्, ऋषि हुन्, दार्शनिक हुन्, राजनीतिज्ञ हुन् र अर्थशास्त्री हुन् । उनको बहुआयामिक व्यक्तित्वलाई एकै विशेषणमा समहित गर्न सकिँदैन । विष्णु गुप्त, चाणक्य तथा कौटिल्यजस्ता नामले उनलाई चिनिन्छ । झन्डै साँढे दुईसहस्राब्दी पहिलेको चाणक्यका बारेमा अनेक धारणा छन्, मतभिन्नताहरू छन् र त्यो स्वाभाविक पनि हो । चाणक्यका कृतिहरूमा राजनीति, अर्थनीति, कुटनीति, लोकनीति सबै पाइन्छन् त्यसैले उनी विधागत रूपमा नीतिशास्त्री हुन् । राजनीतिका उनी सिद्धान्तकार र योजनाकार हुन् । उनले आफ्नो नीतिलाई आफैँले प्रयोग गरे । सिकन्दरले बुत्याउन आँटेको भारतवर्षलाई चन्द्र गुप्तमार्फत जोगाए । आर्यसभ्यता र संस्कृतिलाई लोप हुनबाट बचाए । नन्दवंशको विनाश गरेर चन्द्र गुप्तलाई सम्राट् बनाउने विशिष्ट राजनीतिक क्षमता भएका चाणक्यले राजनीतिक शक्तिलाई स्वार्थका लागि प्रयोग गरेनन् । निःस्पृहभावले कर्मलाई अँगालिरहे । त्यसकारण चाणक्यलाई एउटै परिचय र परिभाषामा बाँध्न गाह्रो हुन्छ ।
३, चाणक्यका बारेमा अयसअघि पनि केही कृतिहरू पाईन्छन् । यो कृति भावानुवाद गरी ल्याउनु पर्छ भन्ने किन लाग्यो?
यस प्रश्नको उत्तर पहिलो प्रश्नमा पनि केही खुलस्त पारिएको छ ।
चाणक्यका बारेमा विभिन्न अनुसन्धान भएका छन् । साहित्यिक कृतिहरू लेखिएका छन् । चलचित्र पनि बनेका छन् । विशेष गरी भारतीयहरूले चाणक्यका बारेमा धेरै कार्य गरेका छन् र हामीले तिनकै आधारमा चाणक्यलाई चिनिरहेका छौँ । नेपाली भाषामा विनोदप्रसाद धितालले अनुवाद गरेको ‘आचार्य विष्णु गुप्त’ नामक उपन्यास प्रकाशित छ । चाणक्यका बारेमा नयाँ तथ्य पत्ता लगाउने उद्देश्यले मैले यो कृति तयार पारेको होइन यो त चाणक्यका महत्त्वपूर्ण कृति मध्ये एक चाणक्यनीतिदर्पणको शब्दार्थसहित भावानुवाद हो । यो जीवनवोध गराउने, मानिसलाई सत्कर्ममा प्रेरित गराउने, दुष्ट र सज्जन चिन्न सिकाउने, जीवनयापनको मार्ग देखाउने, नैतिकता र सदाचार सिकाउने उपयुक्त कृति हो । यस्ता कृतिहरू धेरैभन्दा धेरै लेखिनुपर्छ, अनुवाद हुनुपर्छ र छपिनुपर्छ भन्ने मनसायले कलम चलाएको हुँ ।
४, महिला, राजा लगायतका बिषयमा मात्रै नभई अनेकौँ विषयमा चाणक्यले दिएका ज्ञान विरधाभाष मात्र नभई आजको समाजमा कामै नलाग्ने भन्ने कुराहरू पनि छन् नि?
मैले अघि पनि भनेको छु चाणक्य आजभन्दा धेरै पहिलेका हुन् । त्यतिबेलाको समाजिक, राजनीति, आर्थिक, सांस्कृतिक, जातीय तथा लैङ्गिक अवस्थाहरू आजका भन्दा फरक अवश्य पनि थिए । उनका विचार आजको समयसित सर्वतो भावेन समञ्जस्य राख्छन् भनेर सोच्न सकिन्न त्यसैले उनका केही कुराहरूसित हामी सहमत नहुन पनि सक्छौँ । त्यस्ता कुरा त एकदम नगण्य मात्रामा होलान् । औँलामा खटिरा आयो भनेर मान्छेलाई नै खाल्टामा पुर्ने कुरा त हुन्नहोला । हाम्रै विचार पनि अहिलेको समयमा सर्वस्सीकार्य कहाँ छ र ? फेरि त्यो छापाखानाको युग त होइन । भोजपत्रहरूमा लेखिँदै, मुखमुखमा कण्ठ हुँदै हुँदै सुरक्षित हुँदै आजसम्म उनका श्लोक अइपुगेका हुन् । कतिपय उनका विचारहरूलाई मानिसले आपूmअनुकुल फेरबदल पनि गरेहोलान् । अर्काे कुरा कुनै व्यक्तिविशेषमा हुने अवगुणलाई चाणक्यले उल्लेख गरेको कुरालाई हामीले जात वा वर्गाविशेषमा लाद्नु पनि हुँदैन । सबै जात, वर्ग तथा समुदायका अवगुणहरूलाई चाणक्यले निर्मम भएर लेखेका छन् । उनी सत्यवक्ता हुन् । कसैका डरले आफू र अरूलाई ढाँट्ने काम उनले गरेका छैनन् ।
हामी बजारबाट तरकारी, फलफूल किनेर ल्याउँछौ तर सबै पकाउँदैनौँ सबै खाँदैनौँ । बोक्रा फाल्छौँ, बियाँ फाल्छौँ, कुहेको बिग्रोको रहेछ भने कटेर फाल्छौँ र राम्रो जति खान्छौँ । पुस्तकलाई पनि सोही हिसाबले सदुपयोग गर्न पाठक स्वतन्त्र हुन्छ नै ।
.
५, समग्रमा यो कृति नपढ्ने हो भने पाठकले के कुरा गुमाउला?
कुनै पुस्तक पढ्दा उत्पात हुने र नपढ्दा बर्बाद हुने भन्ने कुरा त नहोला । यो कुनै मौसमी किताब होइन । निश्चित समयमा नपढेमा फ्लप हुने होइन । (यो मैले गरेको अनुवादको कुरा गरेको होइन चाणक्यनीतिदर्पण मूलग्रन्थको कुरा गरेको हो । चाणक्यका अगाडि अनुवादकको के हैसियत ? हजारौँ वर्ष अघिका महर्षिले रचना गरेको किताब मातृभाषामा अनुवाद गर्ने अवसर जुट्नु भनेको भाग्यको कुरा हो) यो आजै पढेर सक्नुपर्ने ग्रन्थ पनि होइन । प्रतिदिन श्लोक श्लोक चिन्तन गर्न योग्य कृति हो । यो आफ्नै विशिष्ट महत्त्वका कारण हजारौँ वर्षदेखि जीवन्त छ । पढिदिएर यसलाई हामीले जोगाउने होइने बरु यसलाई पढेर हामी जोगिने हो । कयौँ भाषामा यसको अनुवाद भएको छ । लाखौँ मानिसका दराजमा सुरक्षित । लाखौँ मानिसले यसलाई मुखाग्र गरेका छन् । भविष्यमा पनि यसको अनुवाद हुने छ । यसका प्रत्येक श्लोकमा चिन्तन हुने छ । यसमा जीवनलाई सहज बनाउने सूक्तिहरू प्रशस्त छन् । यसको अध्ययनले पाठकको दृष्टिकोण, चिन्तन, तर्कशक्ति तथा भाषिक कौशलमा अवश्य पनि प्रभाव पार्ने छ । नपढ्दा के हुन्छ ? त्यसको चिन्ता अब नगरौँहोला ।
***
प्रतिक्रिया
-
४
