
– ईश्वर पोखरेल
अमितकुमार रामदुलारीको एक्लो छोरो । पढाउँथ्यो; कमाउ जनशक्ति जोसुकैको नजरमा पर्ने नै भयो, पर्यो; बेलैमा बिहे भै हाल्यो । बिहे गरेपछि सासूबुहारीका बीचमा कुरा मिल्न छाड्यो । अर्थाद् भने हुन्छ— अमितकुमार मध्यस्थतामा चुक्यो र श्रीमतीको पक्षमा उभियो । अन्ततः त्यही भयो; जुन सामान्यतया हुने गर्दछ । अमितकुमारले घर छाड्यो र परिवारसहित बजारमा बस्न थाल्यो । त्यसपछि ऊ उतै रमायो ।
रामदुलारी सधै दुःखमै थिइन् । उनको दुःख घटेन; बरु बढ्यो । अब रामदुलारीसंग खेतमा काम गर्ने शक्ति पनि थिएन; भाँडा माझेर जीविकोपार्जन गर्थिन्; कमजोर त थिइन् नै; अब बाक्लै विरामी पनि पर्थिन् ।
हिजो पनि विरामी परिछिन्— रामदुलारी । कसैले पुर्याएछ— अस्पताल । र, राति त्यहीँ भएछ— उनको मृत्यु ।
अमितकुमारले बिहानै पायो— यो जानकारी । र, फेसबुकमा लेख्यो— ‘म टुहुरो भएँ । आमाले आज छाडेर जानु भयो ।’
लेखिसकेर दोहोर्याएर पढ्यो । यसपछि भने अमितकुमारलाई कसैले उसको व्यवहार विवाह गरेको मितिदेखि हेर्दै आएको छ भन्ने लाग्यो । अरुले भनून् कि नभनून्; त्यो मान्छेले त पक्कै भन्ने छ— ‘बाबु अमित! तेरी आमाले तँलाई आज छाडिन् र तँ टुहुरो भइस् । तँ आफैले आमालाई उहिल्यै एक्लै छाडेर टुहुरो बनाएको थिइस् नि । त्यो चै बिर्सिस् ? भन् त, कसले पहिले कसलाई टुुहुरो बनाएको हो ?’
अमितकुमारले जे लेखेको थियो; त्यो हत्तपत्त मेट्यो । र, यताउता हेर्यो ।
त्यसपछि ऊ धेरै समयसम्म ‘के लेखौं; के लेखौं’को अवस्थामा रहेको देखियो ।
***
प्रतिक्रिया
-
४