– गोल्डेन उद्भास

मलाई नशा लागेको छ
या त ठूलै दशा लागेको छ
नत्र, यतिखेर खेतमा
म के गर्दै छु ?

कृषिप्रधान देशको म एउटा किसान !

म आशाका विउहरू रोपेर
सपनाहरू फलाउछु
थाँक्राभरी उमंगहरु झुन्डिएको हेर्छु
मेरो उत्साह !
मेरो गौरव !

मेरो क्रान्तिको हरियो आगो
मेरो विजयको न्यानो
बोराभरी भरेर तिम्रो शहरमा
दाखिल हुन्छु
तिमीलाई झोला भरेर प्रेम दिन्छु
बदलामा तिमीले दिएको
दयाको भेटी समेटेर
हतार हतार
आरोहण गर्न निस्किन्छु
दु:खको अर्को सगरमाथा

मलाई नशा लागेको छ

कोदालीले कविता लेख्छु भनेर
खेतमा पसेको कवि
निधारमा “किसान” लेखाएर फर्केको छु
सबै शान सक्किएपछि
किसान होइने रहेछ
किसान अर्थात म
जसलाई,
फूलको भन्दा गोबरको सुगन्ध
प्रिय लाग्छ
जो,
किराहरूसित लुकामारी खेल्दैमा
फुर्सद पाउदैन
जसको,
झारसित कुस्ती लड्दा लड्दै
दिन सक्किन्छ
जीवन सक्किन्छ
मलाई दशा लागेको छ

स्थायी शत्रु/मित्र
खेती नीतिमा पनि नहुने रहेछन
घाम
कहिले शत्रु भैदिन्छ, कहिले मित्र
वर्षा
कहिले शत्रु भैदिन्छ, कहिले मित्र
हावा
कहिले शत्रु भैदिन्छ, कहिले मित्र
तर
असिना र तुषारोझैँ
यहाको बजार

यो देशको सरकार
जहिल्यै स्थायी शत्रु किन ?

यतिखेर खेतमा
म के गर्दै छु ?

मलाई नशा लागेको छ
कि
यो देशलाई दशा लागेको छ ?

कृषिप्रधान देशको म एउटा किसान
सुसाईडल-स्पटबाट सोध्दैछु
कृषिप्रधान भनेको
किसान प्रधान भनेको होइन र ?

***

प्रतिक्रिया

सम्बन्धित खवर