– युवराज नयाँघरे
सम्बन्धले समाज बनाउँदो रहेछ नयाँ–नयाँ ।
सामाजिक व्यक्ति, परिवार, नातागोता, कुटुम्बसम्म जोडिइहाल्छन् । एउटा सम्बन्ध गाँसिएपछि अरु बिस्तारै गाँसिदै जाँदा रहेछन् । एउटा मान्छे जोडिनु भनेको त्यो मान्छेका पछाडि रहेका अनेकौँ सम्बन्धका लहरमा छाल भएर टाँसिनु रहेछ, गाँसिनु रहेछ, मिसिनु रहेछ ।
दिदीले मित लगाउनु भयो ।
दिदीकी मितिनी त एक जना हुनुहुन्थ्यो । मेरी मितिनी दिदीले अर्कीसँग लाउनु भो मित । ती अर्की पनि मेरी मितिनी दिदी नै हुनुभो । ती अर्की दिदीले पनि मित लाउनु भो । उहाँ पनि मेरै मितिनी दिदी हुनुभो ।
यसरी एउटी मितिनी दिदीबाट फैलेको लहरो बढेको बढेकै भो । फैलिएर, झाँगिएर, लहरिएर अनि हौसिएर मितिनी नातो गाउँबाट अर्को गाउँसम्म पुग्यो । पारि गाउँ, पल्लो गाउँ, उपल्लो गाउँ र मास्तिरको गाउँ भएर अहिले मितिनी दिदीसँगैको नाता पुगेको छ सहरसम्मै ।
गाउँभरि नातो थियो ।
बजार किनमेल गरेर घर फर्किंदा बाटैभरि मित दाइहरु भेटिन्थे । मित दाइ, मित काका, मितिनी सानीमाहरु भेटघाट भइरहन्थे ।
मित मामा र मित भिनाजुहरुलाई नमस्कार गर्न पनि छोडिनँ मैले । दिदीले बेला–बेलामा सम्झाएर भन्नुहुन्थ्यो– ‘त्यो पाडरीको रुख छेउका मोटे भँडारी मितिनीका मामाका ससुरा हुन् रे, यसो शिर झुकाउनु है ।’
खुरुक्क मानेँ मैले ।
यस्ता धेरै नाता थिए । बाटोवारि, खोल्सापारि, बाँसघारी उता, खोला यता सबै मितिनी दिदीसँग खाप्सिएर आएका नाता र आफन्तीहरु ।
गाउँ पस्ने–पस्ने बेलामा भेटिन्थिन् मितिनी दिदी । दिदीले मित लगाउनु भएकी मितिनी दिदीबाट थपिँदै, गाँसिदै र जोडिँदै बनेकी आठाँैं नम्बरकी मितिनी दिदी उनी ।
उनीसँग मेरो नजिकैको र आत्मीक व्यवहार हुन्थ्यो ।
‘दिदी, भान्जा खोई त ?’
म स्कुलबाट फर्कंदा प्रायः सोध्थेँ ।
जाँदा मलाई फुर्सद मिल्दैनथ्यो । हतारमा म कुदेको हुन्थेँ । बिहान त उनी पनि भ्याई नभ्याईमा हुन्थिन् कि । प्रायः देखादेख पनि हुँदैनथ्यो बिहानी बेला ।
‘विराटनगरतिरै छ ।’
मित दिदीले भनेको सुन्थेँ ।
भान्जाले एसएलसी पास गरे ।
समयका हिउँद–बर्खा फग्लेटा जोडिने र फुस्किने गरिरहे । तिनै जोडघटाउमा परेँ मै नि । हिउँदको छारो र बर्खाको भेल हेर्ने पाहुना भएँ म पनि घरका लागि । घरले राम्रोसँग चिन्नै पाएन मलाई । एक–दुई दिन मेरो छायाँ आफैँ जन्मिएको आँगनमा सर्याक–सुरुक गरेर हराइहाल्थ्यो ।
‘दिदी के छ भान्जाको खबर ?’
मैले सोध्न छोडिनँ ।
‘बेन्कको विषय ले’र पढ्दै छ सखरे ।’
‘नोट गन्ने होला नि पछि कट्कटाउँदा सुकिला नोट ।’
उत्तर पनि दिदीकै थिए ।
आशा, विश्वास, भरपत्यार र अपेक्षामा मितिनी दिदीका परेलीले सखरेलाई हेरेका होलान् । पर्खाइ वा बाटो कुराइ होला नि दिदीको पनि ।
‘बाख्रो कराएर हत्ते हाल्यो अनि घाँस काट्न सखरखण्ड बारीमा गएथेँ । त्यहीँ जन्मियो यो ।’
मितिनी दिदीले भनिरहनु भयो ।
‘सखरखण्डको ड्याङमा जन्मिनेले राजकुमारको नाउँ काँ पाउनु । सबैले ‘सखरे’ भने । मैले पनि ल्याप्चे हानेँ त ।’
मितिनी दिदीसँग आफ्नो वाणिज्य शास्त्रमा स्नातक गरिरहेको छोराको जन्म–कथा बाँचेकै रहेछ भर्भराएर । सन्तान पाउनु आगो ओकल्नु हो नि । खरानी जस्तो भुतभुते जीवनमा आगो बिर्सनु पो कसरी ?
भान्जा सहरमै पढिरहेथे ।
म सबै कुराले पुगेर गाउँ फर्किएँ सहरबाट । त्यसपछि मितिनी दिदीसँग बाक्लै भेट हुन थाल्यो । पहिला आउँदै–आउँदैनस् भन्ने मितिनी दिदीलाई अचेल मैले भन्नु परेको थियो– ‘बोलाउँदै बोलाउनु हुन्न ।’
‘सखरे भान्जा कस्तो गर्दैछन् ?’
मितिनी दिदीको एउटै उत्तर मैले सुनिरहेँ–
‘काक चेष्टा, बको ध्यानम्, स्वान निद्रा तथै वच
अल्पहारी, गृह त्यागी, विद्यार्थी पञ्च लक्षणम् ।’
‘यति कुरा सुनाइ दिइराखेकै छु । अरु उसका ज्ञान उही जानोस् ।’
सहरले सबै कुरा गाउँबाट लिइराख्न अबेर गरेन । गाउँबाटै पढ्न आए । बिरामी भएर अस्पताल चहार्दै आए । जागिर खोज्नेहरु आए । पसिना भएकाहरु चुहाउने ठाउँ खोज्दै आए । पैसावालहरु बैंक खोज्दै आए । सपना हुनेहरु पोख्ने ठाउँ हेर्दै आए ।
सहरले गाउँलाई तानिरह्यो । बुझेर–नबुझेर गाउँलेहरु सहरका घुमाइमा परिरहे ।
‘सखरे पढ्दै छ ।’
मितिनी दिदीका कुरा सुनिरहन्छु । दिदीले भान्जालाई गाउँका उत्पादन पठाइरहनु भयो । घर छेउको राजमार्गमा रात्रि बस कुद्थे । तिनैले पनि लान्थे नै । अचेल त घरैमा आएर झटपट सेवा दिन मरिहत्ते गर्छन्– माइक्रोका कामदारहरु ।
मित दिदीले शिशीका शिशी अचार पठाउनु भयो भान्जालाई ।
शिशी पनि थरीथरीका । मुख साँघुरा, भुँडे, भ्यात्ते, मुख ह्वात्तै तर पिँध सुकेका परी–परीका शिशी ।
‘बइममा हालेको आँपको अचार पठाएर आएको ।’
मित दिदीले भन्नुभो ।
सहरले सबै सोसेपछि भरिलो हुन म गाउँ पसेथेँ । आँगन, चौतारो, पिँढी, सिकुवा, इनार तुलसीको मठ हेर्दै हेर्थें म । परेवाका गञ्जक, कुखुराका खोर, बाख्राका टाट्ना र भैंसीका भकारा हेर्दै पाइला घिसारिरहन्थेँ म ।
दिदीले खल्पी, भोगटेको अमिलो, नुनमा चोबलेका कागती, अमिलोले पुर्रिएका अकबरे खुर्सानी, आँपका चाना, सुकेका बयरको अचार, तेलमा डुबाइएका निबुवा र अमलाका अचार शिशी भित्र हाल्दै पठाइरहनु भयो ।
बेला–बेलामा तामाको अचार पनि खेपिरहनु भो भान्जाका भान्सामा ।
‘तँ घर आउँदा ती शिशी ल्याउन भुल्लास् नि ।’
मित दिदीको उर्दी कडा हुन्थ्यो ।
दशैं, तिहार, माघे संक्रान्ति, नयाँ वर्ष वा न्वागी खाने बेला घर फिर्दा भान्साले झोलाभरि यिनै शिशी फर्काउनु पथ्र्यो गाउँमा । एकातिर फुट्लान भन्ने पीर अर्कातिर छुट्लान् भन्ने डर त्यत्तिकै हुन्थ्यो– सखरे भान्जालाई ।
‘त्यो हर्लिक्सको दुई वटा शिशी ल्याइनछस् त ।’
मित दिदीको गनगन यथावत् हुन्थ्यो ।
‘अब घिउ, तेल केमा लैजान्छस् नि ?’
यो प्रश्न पनि दिदीको भइरहन्थ्यो ।
गाउँबाट भरिएर गएको शिशी रित्तिएर गाउँ आउँथ्यो । फेरि अर्को पटक त्यसै गरी जान्थ्यो । निम्ठो भएर ती शिशी जाँदा मात्र सहर अघाउँथ्यो ।
०००
‘हिजो पठाएँ दुई बोरा चामल ।’
मित दिदीले भन्नु भएको सम्झेँ ।
दिदीले मन्सुली, नुनजिरा, पोखरेलीका चामल बोराका बोरा भान्जालाई पठाउनु भयो ।
‘आज मन्सुलीको भात मन पराउँदैन । साटेर ३०–३० किलाका दुई बोरा पोखरेली चामल पठाएँ नि ।’
तीन मैना अघि रात्रि बसमा खलासीसँग गलफती गरेको मैले देखेकै थिएँ । त्यै कुरा मित दिदीले अहिले सुनाउनु भयो ।
सहरले सिकाउँछ । त्यो सिकाउँदा भोक, तिर्खा, आनन्दी र जाँगरका लागि गाउँबाटै अन्नपात नठेली भएन । मित दिदीले चामल बोराका बोरा पठाइरहनु भयो । भान्जा सखरेले जाउली, गिली, पुलाउ, ढकने र बासी भात बनाएरै पनि खाइरहे । सहरसँग धेरै खालका स्वाद हुन्छन् । त्यही स्वादले रमाई–रमाई खान भान्जालाई सिकाइरह्यो ।
मित दिदीले बोरामा चामल खेप्न छोड्नु भएन ।
उही चिन्ता मित दिदीलाई– बोराको ।
भान्जा घर फर्किने बेलामा मित दिदीले भनिरहनु प¥यो– ‘लौन, तैँले चामल लगेका बोरा सबै ले त ।’
‘फेरि पनि जाँदा चाहियो । त्यो बोरा नबिर्सी ले नि ।’
मित दिदीको खप्की घोलिएको बोली आउँथ्यो ।
भान्जाले कोठामा थुप्रेका चामलका बोरा कोच्नु पथ्र्यो झोलामा । गाउँ जाने २–३ अघिदेखि मुुसाले गुँड लगाएका, साङ्लाले हगेका, छुचुन्द्राले बच्चा हुर्काएका, माउसुलीले घरजम गरेका बोरा राम्रैसँग टक्टकाउनु पथ्र्यो । नत्र घरमा फेरि गाली खानु पथ्र्यो ।
कोठाभरि खात भएर थुप्रेका हुन्थे जुटका, प्लास्टिकका बोराहरु । मित दिदीले ख्याल गरी बस्नु हुन्थ्यो ।
‘फागुनमा, साउनमा, असोजमा, पुसमा गरी आठ वटा बोरा सखरेले लगेको छ । बिर्सेला कि घर आउँदा ।’
मित दिदीलाई यो चिन्ताले मसान्तदेखि सक्रान्तिसम्म पिरोलिरहन्थ्यो । त्यै भएर भान्जाका झोला पुटुक्क हुन्थे बोरा र शिशीहरुले ।
०००
साँझ होस् वा बिहान घुम्दै मित दिदीको घर भएर फर्कन्थेँ । मेरो मनको तहबाट सहरले सबै चित्र खोसेर लगिसकेको थियो । ती फेरि बाँचून्, बिउँतिऊन् र ऊर्जा पाऊन् भनेर म घुमिरहन्थेँ ।
दुई हप्ता अघि मित दिदीसँग फेरि भेट भो ।
‘भान्जाले कति पढे ?’
मैले सोधिहालेँ ।
‘चाहिने पढ्ला । उसको खुराक म पठाउँछु । अरु बुद्धिको जोहो उसैले गर्ला ।’
मित दिदीले भन्नुभयो ।
अनि फेरि थप्नुभो– ‘मैले तीन बट्टा घिउ पठाएँ । त्यो अलिक घिउको भोगी छ । खाने बेलामा घिउ सुँघेर भए पनि एक थाल डप्याउँछ ।’
मित दिदीले धेरै बखान्नु भो ।
पहिला–पहिला शिशाका पठाउँदा फुटेर चर्केका झुर्काले घिउ खान नहुने भएछ । त्यही भएर अचेल प्लाष्टिक, टिनका बट्टामा घिउ पठाउने बानी गर्नुभएछ मित दिदीले ।
‘सिङमाङमा पठाउनु हुन्थ्यो नि । जोहो गर्न जान्दैन ।’
‘अनि बट्टैमा पठाउँछु । बजारमा भने–भनेका बट्टा पाइन्छन् । मिलाएर हालेर पठाउन नि सकियो भने सरसामान नपोखिई पुग्छ ।’
मित दिदीले आफ्नो पौरख भनिरहनु भयो ।
मसँग कुनै ज्ञान वा बलियो तर्क थिएन । सुन्थेँ । हजुर, मात्र सुनिरहन्थेँ ।
उता घिउ रित्तिँदै गएपछि कोठाका कुना–कुनामा लड्ने, गुड्ने, थुप्रिने गर्थे ती बट्टाहरु । घिउले भरिँदा पो तिनको जतन हुन्थ्यो– रित्ता भएपछि लात्ताले गोल खेलिन्थे । ढ्याङढ्याङ बज्दै यो कुनाबाट त्यो कुना, त्यो छेउबाट यो छेउ गुड्थे ।
कति पटक खाटमुनि कुच्चिएर बज्रिन्थे । कति पटक अनुहार विरुप हुने गरी हुर्याइन्थे ।
तर मित दिदीले हिसाब बलियोसँग गरिरहनु हुन्थ्यो ।
‘नौ वटा बट्टा लगेको छ सखरेले ।’
‘घर आउँदा नबिर्से हुन्थ्यो ।’
उहाँको यो पिरलो धेरै पटक भान्जासँग पुगिसकेकै हुन्थ्यो । अनि घर जाने बेलासम्म तिनै अंगभंग भएका टिनका, प्लाष्टिकका बट्टा तन्काउन, मिलाउन, कुच्चिएकालाई सिधा पार्न र आफ्नो मौलिक स्वरुपमा ल्याउन भान्जालाई २–४ दिन राम्रै लाग्थ्यो । नत्र मित दिदीको पुराण सुरु भइहाल्थ्यो ।
घर आउने बिहानै मित दिदीले भान्जालाई एक फेर सम्झाउनु हुन्थ्यो– ‘त्यो अमूलको बट्टा भुल्लास् है । त्यो रातो रङको बिस्कुटको बट्टा बेलैमा हेर है । छुट्ला नि ।’
घर पसुन्जेलसम्म पनि भान्जालाई मनमा सानोतिनो पीरको पराकम्पन गइरहेकै हुन्थ्यो– ‘मैले कति बट्टा ल्याएँ । कति छुटे । कतै धेरै त उतै रहेनन् ?’
मित दिदीले भान्जाको ख्याल गर्ने कुरामा कुनै कमी ल्याउनु भएन । आफैँले खाए सरह छोराले पनि खाओस् भन्ने सधैँ भयो ।
आमाहरुसँग सधैँ समयले यही प्रश्न गर्ने रहेछ– ‘तिमीले गर्भमा च्यापेको साँझबिहान जस्तै अहिलेको समयमा तिम्रो सन्तानले सास फेरिरहेको छ ?’
यही प्रश्नहरुका घोचाइले आमाहरुलाई झसङ्ग–झसङ्ग पारिरहँदो हो कि । मित दिदीले पनि यही झसङ्गाइ खेप्नु परेको हुनु पर्छ ।
‘मैले हिजै त हो नि सिरानेका खोलमा दुई धार्नी मकै हालेर पठाएँ । सखरे अलिक मकै मन पराउँछ । भुटेर खाए पनि भो, उसिनेर खाए पनि भो । छोडाएर घिउमा तारेर खाए पनि भो ।’
मित दिदीले मलाई खराखरी भन्नुभयो ।
‘अहिलेसम्म तीन खेप पठाइसकेँ । अब त नयाँ हरिया नै आउने बेला छ ।’
‘पुरानोमा घुन लागिसके । अब पठाउनु हुन्न ।’
मित दिदी आफैँले भन्नुभो ।
औंला भाँचेर गन्नु भो– ‘सिरानेको खोलमा मकै हालेर पठाइ दियो, पोखिने डर पनि नाइँ, खस्ने डर पनि नाइँ ।’
‘तीन वटा बलिया ग्याबडिनका खोलमा पठाएको छु । ल्या है भनेको छु ।’
भान्जाका कोठामा मकै भुँडीभित्र गएपछि खोलले अर्कै रुप पाउँथे । भुइँ पुछ्ने, भान्छाको हन्बेर्ना हुने र पानी पोखिए ठाउँमा पुछपाछ गर्थे । तर मित दिदीको ताकेता आइरहने हुनाले ती घरै पुग्थे ।
घर पुगेपछि मित दिदीले गोटा गन्ती गर्नु हुन्थ्यो– ‘के गरिस्, यो रङ खुइलेछ त । यो अर्काको तुना खोई ?’
मित दिदीसँग फेरि पठाउन नपाउँला भन्ने पीर । सखरेलाई बोकेर ल्याउने झन्झट ।
‘प्रयोग भयो । अब फेरि किन्न वा खोज्दा पाइन्छ । त्यति धेरै चिन्ता पो किन हो ?’
भान्जा सखरेसँग यही तर्क, सिद्धान्त र ज्ञानको छाल छ समुद्रैसरि । तर मित दिदी मान्न तयार हुनुहुन्न– ‘त्यसो भनेर हुन्छ । त्यो ल्याउनु । फेरि लैजानलाई चाहिन्छ । त्यो नभुली ल्याउनु ।’
दशैंको नौरथा लागेको थियो । पारिजात फुल्दै झरिरहेको उन्मादी साँझ छ । बादल भाग्दै अकासमा सकेसम्म नीलो गहिरिएर थुप्रिरहेको थाक छ । पालुवा पुछिएर उज्यालो मौसम थिग्रिरहेको समय छ ।
मित दिदीले चिन्ता गर्नुभो– ‘सखरे, त्यो तन्ना ल्याउन नबिर्सनु है ।’
भान्जाले फोनमा बोलेको सुनेँ– ‘के काम त्यो तन्नाको । धेरै पुरानो भइसक्यो । अब गाउँको घरमा सहरको फोहोर ल्याउनु सरह हो– त्यो तन्ना ल्याउनु ।’
हुन त मैले नै त्यो तन्ना भिनाजुले ओछ्याएको देखेको थिएँ । अरु तीन वटी भान्जीहरुले पनि खाटमा घोटी–घोटी ओछ्याएका थिए । मित दिदी आफैँले पनि त्यो तन्ना केही वर्ष ओछ्याएको देखेको थिएँ ।
अझै केही मैना त सखरे भान्जाले नै ओछ्याएका थिए– आफ्नो भुइँ खाटमा । अनि काठमाडौं पढ्न जाँदा केही लुगाफाटो बेरबार पारिएर त्यही तन्नामा पठाइएको थियो ।
त्यसो त सखरे भान्जाकै कोठामा पनि त्यो तन्ना खुबै चलायमान भयो । तास खेल्दा, बियर खाँदा, केरम खेल्दा, पुसअप गर्दा, लुँडो खेल्दा, च्याट गर्दा वा बासी भातको माम्री पुलाउ खाँदा यही तन्नामै ओछ्याइयो ।
कहिलेकाहीँ हठात् साथीहरु आएर थपिँदा ओछ्याउने तन्नाले ओड्ने काम गरेथ्यो । जाडोमा खुबै इज्जत पाउँथ्यो त्यो तन्नाले ।
त्यसको सबै शक्ति, ऊर्जा, तागत र बल गाउँदेखि सहरसम्म सबैले बुझिसकेथे । धागाको रेसा–रेसामा भएको क्षमता थुतेर सबैले उपयोग गरिसकेथे ।
नौरथाको यही सुकोमल साँझमा मित दिदीले भन्नुभयो– ‘त्यो तन्ना ले है सखरे ।’
‘किन आमा ? त्यो त फाटिसक्यो । धेरै ठाउँमा प्वाल परेको छ ।’
सखरेको उत्तर थियो ।
‘आ होस्, त्यो पुरानो, झुत्रो, मैलो, फोहोर । तन्ना ल्याउँदिन है म त ।’
उत्तर भान्जाकै थियो ।
म पनि आमाछोराको कुरा सुनिरहेको छु । दुई पुस्ताका तर्कले तानिएको छु । अनि कान ठाडा पारिरहेको छु ।
अब आग्रह के होला ? अनुग्रह के होला ?
वाद, प्रतिवादका कुरा कस्ता आउलान् ? आफैँलाई जतन गरी–गरी सुनिरहेको छु म ।
‘होइन छोरा, अब आउँदा त्यो ल्याउनु । नभुली ल्याउनु ।’
मित दिदी बोलिरहनु भएथ्यो ।
‘आमा पनि ! पचास ठाउँमा च्यातिएको, रङ उडेको, धुजा–धुजा भएको त्यो तन्ना के ल्याउनु बेकारमा ।’
भान्जा उफ्रिरहेथे ।
म जोखिरहेथेँ मित दिदीका कुरा, भान्जाका कुरा । कतातिर तुलो ढल्किने हो ? म मन थामी–थामी तराजु हेरिरहेथेँ ।
‘ल्याउनु र ?’
भान्जाको विरक्ति ।
‘ल्याउनु–ल्याउनु । याँ गाउँमा पेलेर डसना बनाउनु पर्छ । नभुली ल्याउनु ।’
मित दिदीको उर्दी ।
अब म अवाक् भएँ । उपयोगको अन्तिम बिन्दुसम्म संसार पुगिसकेको रहेछ । दौड, कुदाकुद, लखेटालखेट वा स्वाँस्वाँ–फ्वाँफ्वाँको तर्क त यहाँ पनि रहेछ ।
मित दिदीलाई एक पटक खराखरी हेरेँ ।
जीवन यस्तै खिइउन्जेलसम्म बनाउन सकिएला त ?

०००

प्रतिक्रिया

सम्बन्धित खवर