– कस्तुप गैरे

गजल १,
हिजो परदेश पठायो, घर बन्धकी राखेर
र बाँच्न सिकायो आफ्नै रहर बन्धकी राखेर

को आफ्नो को हो पराइ चिन्दैन सरकारले अचेल
जब भिर्‍यो चस्मा अर्कैको नजर बन्धकी राखेर

दिन यस्तो आयो भने पनि अचम्म मान्नु पर्दैन
माछाहरूले धर्ती खोजेको, सागर बन्धकी राखेर

आमाको भागबन्डा खोज्दै भाइभाइ फुटेको मौकामा
देवता माग्दैछ छिमेकी, पत्थर बन्धकी राखेर

गजल २,
केही त गुमाउनुपर्छ भनेर केही पाउनका लागि
तिमीले आँखा बेचिदियौ चस्मा लगाउनका लागि

हिजो सम्झनाका लागि भन्दै तस्बिर मागेकी थियौ
आज माला बुनिरहेछौ त्यसैमा ओढाउनका लागि

कसैले संसार त्यागेर निस्किएको त्यसै होइन रहेछ
मुटु नै चुटिएपछि के हुन्छ र बाँकी बचाउनका लागि

प्रत्येक पल मरिरहेको सत्यसँग संसार बेखबर छ
यसकारण कि ऊ बाँचेजस्तो गरिरहेछ देखाउनका लागि

प्रतिक्रिया

सम्बन्धित खवर