– मनु ब्राजाकी

‘आज म खाली हात छैन’ भन्दै उसले टेबुलमुनिबाट हात छिरायो। खाम रहेछ। खोली हेरें। छक्क परें। बोकाहरू पनि बाठा भएछन्।
वर्षा लाग्यो, छाता छैन।
उसो त वर्षामा मात्रै होइन, हिउँदमा पनि छाता चाहिन्छ। घाम लाग्दा होस् कि पानी पर्दा, छाता चाहिन्छ नै। अत: छाता वर्षभरि नै चाहिन्छ। अतः जीवनभरि नै चाहिन्छ। घाम-पानीको प्रहारबाट सुरक्षित हुन छाता अनिवार्य भएको छ।
जीवन रक्षक छाता।
यही जीवन रक्षक छाता मसित छैन। मागूँ भने कोसित मागूँ? यस्तो झरीवर्षाको वेला कसले छाता देला र? देश चलाउने शुभकार्यमा सहयोग पुर्‍याउन अफिस जानैपर्‍यो। देश चलाउँदा देशै डुब्छ भने मेरो के लाग्छ र? डुब्छ भने पानीमै डुब्छ र यही झरीवर्षाले गर्दा डुब्छ। बचाऊँ भने आफूसित छाता छैन। आफूलाई जोगाउने छाता छैन, देशलाई कसरी जोगाउनु?
जे होस्, देश जोगाउने नाउँमा डुबाउनै भए पनि अफिस त जानैपर्‍यो। अन्यथा स्वास्नी, छोराछोरी सहित आफू समेत डुबिनेछ। यसर्थ, कृषिप्रधान देशका कृषकहरूको अमृत-वर्षा झरीलाई सराप्दै छिटोछिटो गाँस टिपें, दौरा-सुरुवालमाथि ढाकाको टोपी ढल्काएँ र एउटा चुरोट सल्काएँ। चुरोटको धुवाँले एकछिन मगज रङमगिएपछि मेरो हावादारी बुद्धि फुर्‍यो र बूढीलाई आदेशात्मक स्वरमा कराएँ।
“ए, छाता ले न भन्या! हेर् त कस्तो हात्तीसुँडे पानी परेको छ बाहिर!”
घरबूढी मभन्दा पनि चर्को स्वरमा कराई, “हन, हावा त खुस्केन तिम्रो? घरमा कहिले छाता थियो र छाता मागेको? जाने भए जाऊ घुम ओढेर।”

“के रे, घुम ओढेर रे? देखिनस् दौरा-सुरुवालमाथि ढाकाटोपी ढल्काएको। यो सगरमाथा ढल्यो भने तेरो बाउको बिहे देखाउँछन् राष्ट्रवादीहरूले।”
“मेरा बाउले त आफ्नो बिहेमा कल्लरी छाता ओढेका थिए, तिम्रो जस्तो चारदामको मुग्लाने छाता ओढेका थिएनन्, बुझ्यौ!”
मुखभरिको गहकिलो जवाफ पाए पनि मैले हरेस खाइनँ। राष्ट्रवादीहरूको डरले टोपी जोगाउन प्रतीकात्मक भाषामा बिलौना गरें, “हेर् न, कतै क्यै होला। थाप्लोमाथिको यो सगरमाथा जसरी भए पनि जोगाउनैपर्‍यो। घुम कसरी ओढ्नु?”
अहिले स्वास्नी बरन्डामा आई र मलाई थोत्रो जुत्ता टल्काएर नयाँ पार्न लागेको देखेर नरम दृष्टि र गरम स्वरमा भनी, “नचाइने कुराको रडाको किन मच्चाउँछौ सधैं। तिम्रो र तिम्रो सगरमाथाको सुरक्षाका लागि घरमा क्यै छैन। बोराको घुम बनाएर ओढेर जाने भए जाऊ, नत्र छरछिमेकसित माग।”
‘ए, हो त नि’ मैले झल्याँस्स सम्झिएँ आफ्ना ठूलाबडा छिमेकीहरूलाई। उनीहरू छिमेकत्व पालन गर्न हामीलाई सदैव छाता ओढाउन तत्पर छन्। साँच्चि भनूँ भने ओढाइरहेकै पनि छन् अहिलेसम्म। छिमेकी ठूलाबडाका ठूलठूला छातामुनि स्वास्नी पनि रमाएर हिंडेकी छे, सिंगारिएर छोरी पनि हिंडेकी छे, बूट बजाउँदै छोरो पनि हिंडेकै छ। सम्पूर्ण घरै छिमेकीको छातामुनि भएपछि म पनि त्यही छातामुनि परें नि। म हाँसें।
स्वास्नी अहिलेसम्म पनि बरन्डामै रहिछे। मलाई बेफ्वाँकमा हाँसेको देखेर बम्किई, “सन्कियौ कि कसो? जुत्तामा हैन पालिस हातमा दल्दै छौ।”
“हा-हा-हा-हा! हा-हा-हा-हा!”
स्वास्नी अहिलेसम्म पनि बरन्डामै रहिछे। मलाई बेफ्वाँकमा हाँसेको देखेर बम्किई, “सन्कियौ कि कसो? जुत्तामा हैन पालिस हातमा दल्दै छौ।”
“एहे, हो त!” आफ्नो उल्लु कामलाई अर्थ्याउन स्वास्नीतिर ठट्यौलो पाराले हेर्दै भनें, “जुत्ता अघि नै टल्कियाथ्यो, अलिकता हात पनि टल्काऊँ भनेर पो ता, लाटी!”
स्वास्नीले हाँस्नुसट्टा आँखा तरी, “एकछिनपछि यसैले मुख पनि टल्काउने होला। त्यै मुख लिएर छिमेकमा छाता खोज्न जाने होला, कसो?”
“छातै खोज्न जानुपऱ्या त हैन, मैयाँ।” झल्लरी छाता ओढेको बाउकी छोरीलाई �‘मैयाँ’ भनेर अगाडि भनें, “छाता त छिमेकीहरूले ओढाइदिएकै छन्, मात्र आफ्नो निजी छाता ओढेको छु भन्ने स्वाङ गर्न पो खोज्या त। देश चलाउनेले यति स्वाङ ता गर्नैपर्‍यो। नत्र!”
“नत्र-सत्र क्यै हैन, छिटो जाऊ। अफिस जाने… क्या नाम, तिम्रो देश चलाउन जाने वेला भएन?”
अझै के के भुनभुनाउँदै स्वास्नी भित्र पसी। मलाई आफ्नो निजी छाता, अर्थात् स्वाङे छाता, चाहिएको हो। स्वाङे छाता नै भए पनि छातै चाहिएको हो, घुम होइन। घुम ओढेर कसले देश चलाएको छ र?
घुम ओढेर सिंहदरबारभित्र पस्न कहाँ पाइन्छ र? भगवानको, ज्या…। पशुपतिनाथको लीला यस्तै छ। मेरो कौनै दोष छैन। म आश्वस्त भएँ।
हात धुन गएँ। हात धोएँ। जुत्ता लगाएँ। घुम, छाता केही नओढेरै देश चलाउन सिंहदरबारतिर धाएँ।
वर्षा जाँदै छ।
हिउँद आउँदै छ।
यिनैको दोसाँधमा दशैं बसेको छ। खस, मङ्गोल, डङ्गोल सबैलाई दशैं लाग्छ। कसैले पूजाआजा गरे के, नगरे के! भूत लागेपछि मन्साउनैपर्‍यो। सगर्व बाँच्नु भनेको यही हो। आफूलाई खानु छ- पाठी दुर्गालाई चढाएर भए पनि, बोको बुद्धलाई चढाएर भए पनि, जाँड भैरवलाई चढाएर भए पनि, रक्सी गणेशलाई चढाएर भए पनि।
पहाडका घर घरमा दशैं आउँछ। तराईका प्रत्येक माईस्थान र देवी-दुर्गा थानहरूमा दशैं आउँछ। सबै नेपालीहरू भेला हुन्छन् र आफ्नो राष्ट्रिय परिचय प्राप्त गर्छन्।
साहुजीमुखी उपभोक्तावादी महँगीले आलु, प्याज, जिरा, मरिचको मात्रै हैन, यो जाबो अनिवार्य बोकाको मूल्य पनि अभूतपूर्व रूपले बढाएको छ।
नेपालीत्व जनाउने यो चाड राष्ट्रिय चाड भइदिएपछि यसलाई निजी स्वाङे छाता झैं स्वाङे चाड बनाउनु पनि भएन। अत: आफूलाई, स्वास्नीलाई, छोरीलाई, छोरालाई जे-जे चाहिए पनि सबैका लागि एउटा बोको ता चाहिन्छ चाहिन्छ। गाँठी कुरा बोकामै आएर गाँठो परेको छ। त्यसै हुनाले दशैंभन्दा झन्डै महीना दिन पूर्वदेखि नै स्वास्नी, छोराछोरी समवेत दयनीय स्वरमा म्याँम्याँ गर्न थाल्छन्। साहुजीमुखी उपभोक्तावादी महँगीले आलु, प्याज, जिरा, मरिचको मात्रै हैन, यो जाबो अनिवार्य बोकाको मूल्य पनि अभूतपूर्व रूपले बढाएको छ।
अतः म वर्षा लागेदेखि नै दशैं नआउन्जेल जता हेर्‍यो, जसलाई हेर्‍यो बोकै देख्न थाल्छु। म र म जस्ता देश चलाउनेहरू मात्रै होइन, देश बनेर चल्नेहरूको अवस्था पनि यो अवधिभरि यस्तै हुन्छ। जता हेर्‍यो उतै मेरा नजरमा ‘बोका’ प्यारा छन्।
यस्तो वेला देश बनेर चल्नेहरूका लागि हामी कारिन्दा हाकिम हुन्छौं। हाकिम सरदार हुन्छन्। सरदार भगवान् भइदिन्छन्। हाम्रो स्वाङे छाता देखेपछि देश बनेर चल्नेहरू हामीलाई नै घाम-पानीको रक्षक ठानेर नतमस्तक हुन्छन्। हाम्रा लागि उनीहरू मात्र बोका हुन्छन्। अन्यथा राष्ट्रिय दशा कसरी टर्छ त?
एकदिन एउटा बोको आयो।
“हजुर, धेरै पटक धाइसकें। मिलाइदिनुपर्‍यो।”
“आज हुँदैन। भोलि आउनुस्।”
‘आज म खाली हात छैन’ भन्दै उसले टेबुलमुनिबाट हात छिरायो। खाम रहेछ। खोली हेरें। छक्क परें। बोकाहरू पनि बाठा भएछन्। यतिले मैले के खाने, हाकिम साहेबले के खाने, हाकिम साहेबका हाकिम साहेबले के खाने? म झोक्किएँ।
“यतिले भोलि हैन पर्सि आउनुपर्छ।” बोकाले पटुकाबाट असंख्य गाँठागुँठी फुकाएर थप रकम झिक्यो र टेबुलमुनि हात छिरायो।
“माथिबाटै दिए हुन्छ। थाहा छैन? प्रजातन्त्र पुनःस्थापना भएको दश वर्ष हुन आँट्यो। सबै कुरा अब पारदर्शी हुनुपर्छ। हाम्रा नेताले यसै भन्नुभा’छ।”
“तपाईं यहाँ बसेर राजनीति गर्नुहुन्छ?” बोको अचम्मित भयो।
“देश चलाउन बस्याछौं, अनि राजनीति नगरे के जननीति गर्नु त?”
“क्या कुरा गर्छे यो! देश चलाउनका लागि एउटा स्वाङे छाता चाहिएन? नकरा, ह्याँ आफूलाई बोकाले पिरोलेको छ,” म झर्केर भन्दो भएँ।
यसरी गाँठागुँठी फुकाएर यसपालिको दशा राम्रोसित टर्ला जस्तो लागेन। भदौकै कुनै गते, बारतिर हरितन्नम बोकाहरूको सानातिना गाँठागुँठी फुकाएर घर फर्किएको थिएँ, स्वास्नी, छोराछोरीहरू बोकोमय अनुहार लिएर मेरोभन्दा पनि बोकाको प्रतीक्षा गर्दै रहेछन्। कसैसित केही नबोली चिया खाएँ र चौध इन्चीको श्यामश्वेत इन्डियन टीभी खोलें, जसमा केबुल नेटवर्कको आन्द्रो जोडिएको थियो। सीएनएनबाट हो कि बीबीसीबाट हो परमाणु बम विस्फोटको विश्व शृङ्खला देखाउँदै थियो। एक्कासि बाठी स्वास्नीले लठेब्रो पारामा सोधी, “हन, यो के हो छाता जस्तो? झन् झन् ठूलो हुँदै छ!”
“यो चाइनिज बुट्टे छाता हो। हामी यसैमुनि छौं, तर अलि टाढा छ।”
“अनि यो नि?” एकछिनपछि बाठी।
“यो पाकिस्तानी कालो छाता हो। हामी यसै तल छौं, तर अलि टाढा छ।”
“अनि यो?” एकछिनपछि लठेब्री।
“यो इन्डियन सेतो छाता हो। हामी यसैमुनि छौं, र यो नजिक हुनाले हाम्रो थाप्लैमाथि छ।”
“यत्रा छाताहरू हाम्रो थाप्लोमाथि रहेछन्, अनि तिमी सधैं किन घाम-पानी घाम-पानी भन्दै नभएको छाता खोज्छौ?” लठेब्रीको बाठो सोधाइ।
“क्या कुरा गर्छे यो! देश चलाउनका लागि एउटा स्वाङे छाता चाहिएन? नकरा, ह्याँ आफूलाई बोकाले पिरोलेको छ,” म झर्केर भन्दो भएँ। र जता हेर्‍यो उतै बोको देख्दो भएँ।
“हो त नि, राष्ट्रिय परम्परा हो। मान्नैपर्‍यो। यसैले गर्दा त हामी नेपाली भइटोपलेका छौं,” स्वास्नी बुझ्झकी भई।
अन्तत:
दशैं आयो। षष्ठी, सप्तमी गएर अष्टमी आयो।

बोका न सोकाको म मार हान्न उद्यत भएँ। ठूलो इन्डियन छातामुनि आफ्नो सानो स्वाङे छाता देब्रे हातले ओढेर दाहिने हातले एकै चोटमा बोको छिनालें। दंगदास परें।
छक्क परेर सम्पूर्ण विश्व करायो- “ए, बहादुर! यो के गरेको? आफ्नै सन्तानलाई मारेर तँ खुशी हुन खोज्दै छस्! थुक्क बुद्धवीर!”
एक्कासि मैले देखें, दशैंका लागि बोको छिनालें भन्या त आफ्नै सन्तान पो ठुन्क्याएछु। विश्व-वचन सुनेर पहिला त म किञ्चित् लजाएँ। तर, लगत्तै निर्लज्ज र निष्ठुरी बनेर देश चलाउने मूर्खतापूर्ण उन्मादमा हाँस्न थालें।
मेरो यस पटक पनि दशैं राम्रैसित बित्ने भयो।
आफ्नो परम्परा सुचारु रूपले सम्पन्न गरें।

***

प्रतिक्रिया

सम्बन्धित खवर