– दिव्य गिरी

आफूले ल्याएको फलफूल, मिठाई, बिस्कुट र हर्लिक्सको सिसीलाई दुई वटा किस्तीमा राखेर आमाको नजिकै गई कृपाले भनी– ‘आमा लिनुस् ।’
आमा सोफामा बसेर छोरीेले फलपूmल र मिठाई आदिलाई किस्तीमा राखेको चुपचाप हेरिरहेकी थिइन् । उनको अनुहार मलिन देखिन्थ्यो । उनले छोरीले ल्याएको सबै सामानतिर नियाल्दै भनिन् – ‘तैँले यतिका सामान किन ल्याएकी कृपा ? दुःखले कमाएको पैसा धेरै खर्च गर्नुपर्दैनथ्यो ।’
‘आमाको मुख हेर्ने औँसीको दिनमा पनि रित्तो हात कसरी आउनु ? यो त मेरो कर्तव्य हो नि आमा, के भन्नुभएको यस्तो । अरूहरूले सुने भने के भन्लान् ?’ कृपाले अनुहारको पसिना पुछ्दै भनी ।
‘दुःख गरेर ल्याउन त ल्याइस्, तर तेरी आमा अब रोगी भइसकी । म हिजो मात्र डाक्टरकहाँ देखाएर आएकी । डाक्टरले अब गुलियो नखानुस् आमा, तपाईंलाई पनि चिनी रोग लागेछ । दुब्लाउनु भएको कारण पनि त्यही हो भनेका छन् छोरी । तेरो बालाई पनि यही रोगले बेलैमा लग्यो । के गर्नु ? समय सधैँ उस्तै नहुनेरहेछ । उसबखत जीवन धान्नै मुस्किल थियो । तिमीहरूलाई हुर्काउन, बढाउन र पढाउनमै धेरै खर्च हुन्थ्यो । पैसाको अभावमा मन लागे पनि यस्ता चिज खान पाइएन । अहिले रोग लागेर खान नहुने भयो ।’ आमाले खिन्न हुँदै भनिन् ।
कृपा घरि मिठाईको किस्ती त घरि आमाको अनुहार हेरेर ट्वाल्ल परिरही ।
आमाले फेरि भनिन्– ‘फलामलाई खिया र काठलाई धमिराले खाए जस्तै यो शरीरलाई पनि रोगले खानेरहेछ छोरी । अब मेरोे ज्यानमा पनि खिया लाग्न सुरू भयो । कति नै बाँचिएला र ?’

चैत २०, २०८०

***

प्रतिक्रिया

सम्बन्धित खवर