
-शारदा पौडेल ” निशा”
आइतबारको बिहान अबेला उठ्ने सोच थियो । सधैँ बिहानै उठ्ने बानीले होला, निद्रा लागेको थिएन । बिस्तारा छोड्न मन लागेनँ । यता र उता कोल्टे फर्कँदै थिएँ । साइड टेबुलको मोबाइल बज्यो । हातमा मोबाइल लिएँ । फोन आमिगाको रहेछ । उसले भनी – आज घुम्न जाऊँ है निशा ?’
मैले सोधेकी थिएँ – ‘कहाँ जाने ?’
उसको छोटो उत्तर थियो – ‘सिमातोरियो ।’
छुट्टी भएकाले म पनि फुर्सदिली थिएँ । ‘हुन्छ’ भनि दिएँ । सिमातोरियो चिहान डाँडा हो । त्यो परतिर एउटा यमानको पार्क छ । रमाइलो नै हुने भो आजको आइतबार भन्ने ठानेँ ।
अनि मैले फेरि सोधेँ- ‘कति बजे ?’
उसले भनी – ‘सक्दो छिटो तयार भएर बिहान ७ बजे नै निस्की है । ढिलो गर्यौँ भने बाटोमा जाम हुन्छ ।’
म उठेँ । हातमुख धोएँ । कपडा फेरेँ । फ्रिजबाट जुस निकालेर पिएँ । अनि सडकमा निस्किएँ ।
ऊ गाडीमा आइपुगी ।
‘मैले ढिला गरेँ हो ?’ मैले औपचारिकता बोलेँ ।
‘होइन । ठीक समयमा निस्किस् । तँलाई फोन गर्दा म नै उठेकी थिइनँ । त्यसपछि मात्रै उठेँ ।’ उसले स्पष्टीकरण दिई ।
‘अनि आज हामी कहाँ जाने रे ?’ मैले कुरा अघि बढाएँ ।
‘अघि नै भनेकी होइन, सिमातोरियो भनेर ।’ उसले उत्तर दिई ।
‘सिमातोरियो नै किन ?’ मैले जिज्ञाशा राखेँ ।
‘आज मेरा बुबा बितेको दिन हो ।’ उसले भावुक भएर भनी ।
‘त्यसो भए किन त चिहान डाँडा जाने ? यस्तोमा त समुद्रमा जानु पर्छ होइन र ?’ मैले भनेँ ।
‘किन समुद्रमा ?’ उसले आश्चर्य मान्दै सोधी ।
‘बुबाको नाममा पानी चढाउन – मैले भनेँ ।
‘जहाँ लास गाडेको हो त्यहीँ पो जानुपर्छ ।’ उसले भनी ।
कार आफ्नै गतिमा कुदिरहेको थियो । मेरो दिमागले एकाएक सोच्न थाले छ कि हाम्रो संस्कार ठीक या उसको ।
घरिघरि झ्यालबाट परपर हेर्थेँ । हरियाली वातावरण थियो । आँखाले देख्नसक्ने सबै भुभागमा हार मिलेर उभिएका सल्लाका बोटहरू थिए । केही पर पुगेपछि सल्लाका बोटहरूमा मानिसहरू चढेको देखेँ । नियालेर हेरेँ कसैले फल झारिरहेका थिए भने कोही ट्रकमा लोड गरिरहेका थिए ।
त्यो दृष्य देखेपछि मैले सन्नाटा चिर्दै भनेँ – ‘आमिगा, यिनीहरूले सल्लाको खेती गरेका हुन् ?’
उसले बाहिरतिर हेर्दै भनी – हो । यहाँ खेतीयोग्य जमीन भएपनि सिचाइको सुबिधा छैन । बोरिङबाट सबै ठाउँमा सिचाइ पुर्याउन सम्भव हुँदैन ।’
मैले उसको कुरा बीचैमा काटेँ र सोधेँ – यहाँ ठूलाठूला नदी छन् । समुन्द्र छ । यति हुँदा पनि सिचाइको स्रोत छैन भन्न मिल्दैन आमिगा ?’
‘हो, स्रोतहरू छन् । तर सिचाइका लागि सम्भव छैनन् । तसर्थ अधिकांश भाग सुख्खा छ । सुख्खा भूभागका मानिसहरू सल्लो खेतीतर्फ आकर्षित भएका छन् ।’ उसले भनी ।
म एकछिन आफ्नै कल्पनाका डुबेँ । हाम्रा नेपालका भीर पाखा सम्झेँ । सम्झेँ भुइँफुट्टा सल्लेघारी र सल्लेडाँडाहरू । सुसेली रहेछन् ।
‘अब हामी नजिकै आयौँ । यो पार्क पार गर्ने बित्तिकै सिमातोरियो आउँछ ।’ उसले भनी ।
‘हामी पार्क हेर्न नजाने ?’ मैले जिज्ञाशा राखेँ ।
‘जाने हो । तर पहिला सिमातोरियो नै जाऊँ । त्यहाँ भीड लाग्न सक्छ ।’ उसले भनी ।
‘भीड ? आज त्यहाँ केही विशेष छ र ?’ मैले सोधेँ ।
‘होइन होइन, विशेष केही छैन । तर पनि कहिलेकाहिँ मरेका बुबाआमाको यादमा फूल चढाउन आउनेहरू धेरै हुनसक्छन् ।’ उसले भनी ।
आफ्नै गतिमा हिँडिरहेको कार एक्कासी रोक्दै भनी – ‘यहीँ ओर्लौँ र हिँडेर जाऊँ ।’
हामी ओर्लियौँ । उसले नजिकैको पसलमा गएर फूल किनी । केही पर धारा थियो । झोलाबाट रित्तो पानीको बोतल झिक्दै धारा तर्फ लागी । बोतलमा पानी भर्दै भनी – यसभन्दा पहिले यहाँ आएकी थिइस् निशा ?’
‘थिइनँ ।’ छोटो जवाफ दिएँ ।
‘थाहा छ तँलाई, यी मरेका मानिसहरू सिएलोमा जान्छन् । सिएलोबाट उनीहरूले हामीलाई नियालेका हुन्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ ।’ उसले आकाशतिर हेर्दै सिएलो देखाउँदै भनी । मैले बुझेँ कि सिएलो भनेको आकाश रहेछ ।
मैले चिहानलाई नियालेर हेरेँ । लहर मिलाएर ढुङ्गाका पिलरहरू उभ्याइएका थिए । ती पिलरमा मर्ने मान्छेलाई चिन्हाउने अभिलेख थियो । चिहान डाँडाभरि स्मारकको अघि गह्रा गह्रा बनाएर फूलहरू रोपिएका थिए । चिहान डाँडा सुन्दर फूलबारीझैँ देखिन्थ्यो ।
तत्कालै मैले इटहरीपूर्वको यात्रा सम्झेँ । जहाँ जङ्गलभरि अलपत्र र जतापायो त्यता बनाइएका चिहानहरू देखिन्थे । मन दुखी भयो । मनमा लाग्यो चिहानघारीलाई पनि सुन्दर बनाउन सकिने रहेछ ।
अनि सम्झेँ, हाम्रो विश्वासको स्वर्ग र नर्कलाई । स्वर्गको सुख सयल आनन्द र नर्कको पीपको कुण्ड र तातेको तेलको कराइलाई । म केहीबेर स्वर्गको आनन्द लिन थालेँ । त्यहाँको मनोरम दृष्यको कल्पना गर्दै हराउन थालेँ । नर्कको पनि सम्झना आयो । केहीबेर नर्कमा पुगेँ । नर्कमा रहेको पीपको कुण्डमा पौडी खेल्न थालेँ । तिखा काँडाहरूले मेरा पैतालाहरू कोप्न थाले । तातो तेलले पोल्न थाल्यो । साँच्चिकै पोले जस्तै गरेर म चिच्याउन थालेँ – ‘आत्था ।’
होइन, के भयो तँलाई ?’ आमिगाले सोधी ।
‘होइन केही भएको छैन ।’ मैले भनेँ ।
यतिबेलासम्म हामी उसको बाको चिहान राखेको ठाउँ नजिकै पुगिसकेका थियौँ । त्यहाँ एकजना सुरक्षा गार्ड उभिएका थिए । उसलाई देख्नासाथ आमिगाले झोलाभित्रबाट केही रकम झिकी र उसलाई दिई ।
‘उसलाई पैसा दिनुपर्छ ?’ मैले सोधेँ ।
‘हो पर्छ । हामीले यिनीहरूलाई केही रकम दिन्छौँ । त्यसैले यिनीहरूले चिहानको सुरक्षा गर्छन् । चिहानको सुन्दरता हेर्छन ।’ उसले भनी ।
उसले मलाई अगाडि देखाउँदै भनी – ‘ऊ त्यही हो हाम्रो बुबाको चिहान ।’ उसले ब्याग भुइँमा राख्दै फूल र पानी लिएर अगाडि बढी । छेउमै पुगेपछि लगाएका चप्पल फुकाली । चिहानमाथि फूल चढाइ । पानी राखी । एकछिन हात जोडेर नमस्कार गरी । र पानीले हात धोई ।
मलाई यतिबेलासम्म हामीले घरमा श्राद्ध सक्थ्यौँ होला जस्तो लाग्यो । आखिर हामी मानव हो । मानवलाई मानवीय मूल्य र मान्यतामा बाँधेर राख्नका लागि धर्म बनाइयो । चाहे जुनसुकै धर्म होस् आफ्ना पितृलाई सम्झने आआफ्ना तरिका हुन्छन् । र सम्झन्छन् । हात जोड्छन् र क्षमा माग्छन् ।
‘जाऊ हिँड् ।’ झोला टिप्दैे भनी ।
हामी केही अगाडि बढ्दै थियौँ । मैले उसको कपडा देखाउँदै भनेँ – ‘के को दाग लागेछ ?’
उसले सहजरूपमा भनी -‘फूलको दाग हो । कालो कपडामा दाग चाँडो देखिन्छ । म जहिले यहाँ आउँछु, यिनै कालो कपडा लगाएर आउँछु । थाहा छ तँलाई हामी मानिस मरेको दिन प्रायः कालो कपडा लगाउँछौँ ।’
‘किन ?’ प्रश्न गरेँ ।
‘सबै कुरा त मलाई पनि थाहा छैन । तिमीहरूका विधवाले रातो वस्त्र छोडे जस्तै भनूँ । या दुःख व्यक्त गरेको भनूँ ।’ उसले भनी ।
आखिर मानिसमा पर्ने दुःख चोट उही हो । व्यक्त गर्ने तरिका फरक । मानव मानव नै हो । उही मानवमा धर्म फरक, संस्कार फरक, संस्कृति फरक ।
‘किन चुप लागिस् ?’ उसले सोधी ।
‘छैन । अब हामी कहाँ जान्छौँ ?’ प्रश्न गरेँ ।
‘पार्कमा ।’ उसले भनी ।
कार चढ्यौँ र पार्कतिर लाग्यौँ । पार्कभरि मानिसहरू थिए । बूढाबूढीदेखि बच्चाबच्चीसम्म खेलिरहेका देखिन्थे । बूढाबूढीलाई छुट्टै खेल्ने र बस्ने ठाउँको व्यवस्था गरिएको थियो । चारैतिर रंगीचंगी फूलहरू फुलेका थिए । बीच बीचमा ठूलो र सफा चौर थियो । कतिपय मानिसहरू चौरमा सुतिरहेका थिए । केहीपर अलग्गै बच्चाहरू खेल्ने ठाउँ थियो । आफ्ना अभिभावकसहित बच्चाहरू मिलेर खेलिरहेका थिए ।
हामी पार्क घुम्दै जाँदा झरनाको छङछङ आवाज सुन्यौँ । झरना कहाँ रहेछ भन्दै यताउता हेर्यौँ । चौरबाट कृत्रिम धाराहरू जडान गरी झरनाको रूप दिइएको थियो । जस्का वरिपरि विभिन्न थरिका लहराहरू रोपिएको थियो ।
म त्यही कृतिमतालाई पछ्याउँदै कल्पनामा देशतिर फर्केँ । र प्राकृतिकरूपमा बग्दै गरेका छहरा झरनासँग रमाउन थालेँ । तिनैसँग भित्रभित्रै मन रमाउन थाल्यो । एक मन त दुःखी पनि भयो । सायद ‘बाँदरको हातमा नरिवल’ भनेको यही हुुनुपर्छ ।
‘हिँड अब हामी जानुपर्छ ।’ आमिगाको यो वाक्यले मलाई झसङ्ग झस्कायो । मनलाई सम्हालेँ र भनेँ – ‘आमिगा, जस्तो भएपनि संस्कार संस्कृति धर्म र देश आफ्नै राम्रो लाग्दो रहेछ । आफ्नैको सम्झना आउँदो रहेछ ।’
खै उसले के बुझी कुन्नि, प्रतिउत्तरमा हाँसी मात्र ।
०००००
केही महिनापहिले आमिगासँग अचम्मले चिनजान भएको थियो । यो विदेशको ठाउँमा आमिगा मेरो मन मिल्ने साथी भएकी छे । म उसलाई सम्झने बित्तिकै मेरी हजुरआमालाई सम्झन्छु । ऊ मेरी हजुरआमाभन्दा २ वर्ष जेठी छे । ऊसँग मेरो पहिलो भेट पार्कमा भएको थियो । ऊ एक्लै थिई । रातो चम्किलो गाउन लगाएकी थिई ।
मैले उसलाई यसो बोलाएकी थिएँ ः
‘ बोइनस् दियास, आबोएला ।”
(शुभविहानी हजुरआमा ।)
उसले रिसाएझैँ जवाफ फर्काएकी थिई – ‘पोर्के आबोएला ? (किन हजुरआमा ?)’ अनि उसले भनेकी थिई – म तेरी हजुरआमा होइन । न तँ मेरो छोराकी छोरी होस् न छोरीकी ।
उसले मलाई कि त नामले ‘कार्मिना कि त ‘आमिगा’ भन्न लगाई । त्यति बूढी मान्छेलाई नामले बोलाउन मन लागेन । आमिगा भनेको साथी भन्ने बुझेकी थिएँ । अनि कार्मिनालाई ‘आमिगा’ भन्न थालेँ ।
घर आएपछि मैले मेरो बाल्यकाल सम्झेँ । म बोर्डिङ पढ्थेँ । बोर्डिङमा ‘हाइ’ भन्न सिकाएका थिए । त्यो दिन मावलको हजुरआमा आउनु भएको रहेछ । मलाई ‘जिउ गर’ भनेर लगाए । मैले ‘हाइ’ भनेकी थिएँ । त्यो दिन मैले ‘आफूभन्दा ठूलो मान्छेलाई हाइ भन्ने हो’ भनेर कुटाइ नै खाएकी थिएँ ।
तर आज उसलाई मैले कि त नामले बोलाउनु पर्छ कि त आमिगा भन्नु पर्छ भन्ने सिकाई । नाम काढेर बोलाऊँ उमेर सम्झन्थेँ र जिब्रो टोक्थेँ । र पनि कार्मिना आमिगा भई मेरो ।
हाम्रो उमेर असमान छ । ठूला मान्छेलाई नामले बोलाउनु हाम्रो संस्कारमा राम्रो मानिदैन । तर तेरो चाहना अनुसार मैले ‘आमिगा’ भन्छु’ मैले भनेँ ।
उसले खुशी व्यक्त गर्दै मेरो गालामा म्वाई खाई । यसको यसरी खुशी व्यक्त गर्ने तरिका मलाई मन पर्दैनथ्यो । तर खुशी मानेझैँ देखाउने मेरो बाध्यात्मक परिस्थिति बन्दथ्यो ।
उसले प्रायःजसो बिदाका दिन फोन गर्थी । र आफ्ना दिनभरिका योजना सुनाउँथी । एकदिनको कुरा थियो । कार्मिना र म सपिङ गएका थियौँ । उसले केही खानका लागि चाहिने सामान किन्न थाली । म त्यही मौकामा नेपाल जाने कोसेलीपात किन्न नजिकैको कपडा पसलमा पसेँ । र कपडा हेर्न थालेँ ।
मैले एउटा स्वीटर हेर्दै थिएँ । ‘तँलाई यो स्वीटर मन पर्यो’ भन्दै मेरो नजिकै आई ।
‘मन पर्यो तर मेरो लागि होइन ।’ मैले भनेँ ।
‘कसको लागि त ?’ उसले प्रश्न गरी ।
‘आमाको लागि ।’ मैले छोटो जवाफ दिएँ ।
उसले नै केही सम्झेझैँ गरी र भनी ‘अँ साँच्ची अघिल्लो हप्ता बुबाआमासँग बोलेकी होइनस् ?’
‘हो नि ।’ मैले जवाफ दिएँ ।
‘कतिवटा हुन्छन् तेरा बुबाआमा ?’ उसले पुनः प्रश्न गरी ।
‘आफ्ना दुई र सासूससुरा दुई हो नि । हामी सासूससुरालाई पनि बाबुआमा नै भन्छौँ ।’ मैले अथ्र्याएँ ।
मेरा कुराले ऊ खित्का छाडेर हाँसी । मानौँ हाँसोले उक्त पसल नै उचाली । र मलाई भनी ‘तेरो देशमा भएको भए त मेरा बुबा आमा झन् धेरै हुनेरहेछन् । हाहाहाहा, हाँसी ऊ ।’
उसको कुरा सुनेर म पनि हाँसे । अनि ऊ ‘यो स्विटर राम्रो छ’ भन्दै स्वीटर उचालेर देखाई । मैले उसले देखाएको स्विटर हेरिसकेकी थिएँ । त्यो रातो रङमा थियो ।
उसले उचालेको स्विटरतिर हेर्दै भनेँ – राम्रो छ । तर रातो छ । यो रङ आमाले लगाउन हुँदैन ।’
‘किन ?’ उसले अचम्ममा परेर प्रश्न गरी ।
‘मेरी सासुआमा विधवा हुनुहुन्छ ।’ मैले अथ्र्याएँ ।
‘मतलब ?’ उसले पुनः प्रश्न गरी ।
‘मेरो ससुराबुबा हुनुहुन्न । बुबाको मृत्यु भैसक्यो । बुबाको मृत्युपछि आमाले रातो रङ भएको कुनैपनि चीज लगाउन हुँदैन ।’ मैले बुझाउने पारामा भनेँ ।
ऊ निकै आश्चर्यजनक तरिकाले हाँसी र भनी – ‘ ससुराबुबाको मृत्युसँगै सासुआमाको रातो रङमाथि आकाशमा भगवानसँगै पठायौ ?’
‘हामीले होइन नि ।’ जवाफ दिएँ ।
‘कसले हो त ?’ जिज्ञाशु भएर ठाडै प्रश्न गरी ।
‘हाम्रो धार्मिक परम्पराले । संस्कार र संस्कृतिले ।’ मैले नजर नजुधाइ भनेँ ।
‘रातो कपडा मात्रै हो न लगाउने ?’ उसले पुन सोधी ।
‘रातो रङ नै वर्जित हुन्छ ।’ मैले भनेँ ।
ऊ बेस्सरी हाँसी र भनी – ‘मेरा त दुईवटा लोग्नेहरू मरेका हुन् । म तिम्रा देशमा जन्मेको भए त । म पागल हुन्थेँ । मर्ने मरेर जान्छन् अनि बाँच्नेलाई सास्ती किन ?’
०००००
मेरा दिमागमा यही संसारको एउटा कुनामा बसेकी कार्मिनाको रातो चम्किलो पहिरन र उसको संसार आइरह्यो । र अर्को कुनामा मेरै देश नेपालको देवघाटमा बस्दै गर्नु भएकी बूढी फुपूको अनुहार एकैपल्ट आयो । उहाँ वालविधवा हुनुुहन्थ्यो । आठ वर्षमा बिहे भएको थियो रे । जग्गेको आगो मात्र तापेकी फूपुले आँखा निकै कम देख्नुहुन्थ्यो । पोहोर साल नेपाल जाँदा मैले फुपूलाई भेटेकी थिएँ । खराने रङको सारी लगिदिएकी थिएँ । लगिदिएको सारी यसो हातले छामेर भन्नु भएको थियो –‘नानी, कतै रातो थेग्लाथेग्ली पो छ कि ?’
प्रतिक्रिया
-
४