
– सुस्मिता नेपाल
सडकको किनारामा उसले सुटकेस बिसाई। कसैको प्रतीक्षामा आफ्नो दृष्टि तन्काएर त्यही किनारामा बसी। त्यहाँ बस्दा उसले जीवनको आधा बाटो पार गरिसकेर प्रेममा बाँधिएको आफ्नो मनको बारेमा सोच्न थाली – फेसबुक।
फेसबुकले विछोडिएका आफन्त र साथीहरूसँग भेट गराएको थियो। नयाँ साथी बनाउने वातावरण पनि सिर्जना गरेको थियो। त्यस्तै कतिका प्रेम कथाहरू कोरिएका थिए भने कतिका प्रेम विछोड भएर विरहका गीतमा पनि गुञ्जिएका थिए। यो सुखदुःख साट्न सकिने चौतारी पनि बनेको थियो। यही चौतारीमा उसले मन साट्ने साथी भेटेकी थिई।
गाउँमा उसको घर थियो। दुईवटी छोरी कलेज पढ्दै थिए। परिवार पाल्नका लागि पति विदेश गएका थिए। मन भुलाउन ऊ फेसबुक चलाउने गर्थी। फेसबुकमा पोस्ट भएका फोटाहरू हेरेर दङ्ग पर्थी। आफ्ना फोटाहरू पनि अपलोड गरेपछि फोटामाथि गरिएका लाइक र कमेन्टहरू पढेर आनन्द मान्थी। पतिसँग बेलाबेलामा च्याट गर्थी। त्यस्तै साथीहरू र आफन्तहरूसँग पनि च्याट गरेर मन भुलाउँथी। यसैक्रममा उसको फेसबुक मार्फत् कसैसँग प्रेम बस्न गएछ। उसले आफूले मनपराएको केटाको बारेमा खासै जानकारी लिन जरूरी पनि ठानिन, एकोहोरो उसैलाई माया गरिरही ।
फेसबुकमा धेरै च्याट हुँदा उनीहरू एकअर्कालाई भुल्न नसक्ने भइसकेका थिए। उनीहरूको फोनमा समेत कुराकानी हुन थाल्यो। उसले आफ्नो पति, छोरीहरू, आफन्त सबैलाई बिर्सिन थाली।
केटालाई केटीको उमेर थाहा थिएन न केटीलाई नै केटाको उमेर थाहा थियो। केटो रूपले नराम्रो देखिने भएकोले उसले आफ्नो काकाको राम्रो फोटो अपलोड गरेर फेसबुक आइडी खोलेको थियो। उसले अरू केटीहरूसँग पनि च्याट गर्थ्यो। तर उसले भने त्यही केटासँग मात्र च्याट गर्थी र उसलाई त्यही फोटोसँग माया बसेको थियो, त्यही फोनको आवाजले तानेको थियो।
एकदिन उसले घर छाडेर त्यही केटासँगै बस्ने कुरा गरी। केटाले पानि उसको फोटो सुन्दर देखेको थियो। सँगै बस्न पाउने कुराले दुवैजना दङ्ग परे। ऊ पूर्वकी थिई भने ऊ पश्चिमको थियो।
आफ्नो प्रेमीलाई फोनमा कुरा मिलाएर आधारातमा सुटकेस बोकेर ऊ घरबाट निस्की। मनमा अनेकौँ कल्पना सङ्गालेर सिधै केटाको घरतिर हिँडी। उसलाई मनभित्र एक प्रकारको खुसी लागेको थियो भने आफूले जन्माएका छोरीहरू र आफूलाई धेरै माया गर्ने पतिलाई पनि सम्झिरहेकी थिई।
फोनको सल्लाह अनुसार केटा बस स्टपमा लिन आउने कुरा भएको थियो। बुटवलको बस स्टपमा ऊ झरी। आउने नयाँ पललाई हेरी। बस स्टपमा आफ्नो प्रेमीलाई देखिन। नरमाइलो मानेर यताउता हेर्न थाली। ऊ नजिकै एक जना केटा आयो। केटाले त उसलाई चिनिसकेको थियो। ऊ नै उसको प्रेमी थियो। तर उसले फेसबुकमा देखेको अनुहारसँग उसको अनुहार कतै पनि मिल्दैनथ्यो। त्यसैले केटीले उसलाई चिन्ने कुरै भएन। केटाले भन्यो उसको काकाले उसलाई लिन पठाएको। ऊ खुसी भई। दुवैजना एउटा रिक्सामा बसे। केटाको आवाज उसलाई परिचित जस्तो लाग्यो तर अनुहार फरक। कस्तो कस्तो लाग्यो उसलाई। केटाले सोचेको थियो केटी आफ्नै उमेरकी होली।तर उमेरमा आफूभन्दा धेरै फरक देखेर ऊ दिक्क भयो। कसरी ऊसँग छुटकारा पाउने भन्ने कुरा रिक्सामा बस्दा बस्दै सोच्न थाल्यो।
केटालाई थाहा भयो केटीले उसले चिनिन भन्ने कुरा। केही पर पुगेपछि दुवै रिक्साबाट ओर्ले। केटीलाई त्यही ठाउँमा राखेर उसको काकालाई लिएर आउँछु भनेर ऊ त्यहाँबाट गयो। ऊ आउँदै आएन। कतिपल्ट फोन गरी उसले। तर केटाले फोनको सूइच नै अफ गरिसकेको थियो।
साँझ पर्न लाग्दा उसको मन आत्तियो। उसले धेरैपल्ट सडकको किनारामा ओहोर दोहोर गरिरही। भोक र तिर्खाले उसको ओठमुख सुकिसकेको थियो। ऊ आत्तिएको एकजना बुढामान्छेले देखे। उसको नजिकै गए र उसको बारेमा बुझे। सुरुमा त उसले भन्दै भनिन । बुढामान्छेले धेरै कर गरेर सोधे पछि रुँदै सबै कुरा भनी। फेसबुकमा भएको फोटो समेत देखाई। उसलाई बस स्टपमा केटाको भतिजा लिन आएको कुरा पनि भनी। बुढामान्छे छक्क परे। बुढा मान्छेलाई त्यो केटाको बारेमा धेरै कुरा थाहा थियो। फेसबुकमा भएको केटामान्छे असल र उसको भतिजा चाहिँ खराब भएको कुरा उनले जानकारी दिए। केटाको अनुहार राम्रो नभएको हुनाले उसले आफ्नो काकाको नाम र फोटो राखेर फेसबुक आइडी खोलेको रहेछ भन्ने कुरा थाहा पाएपछि उसको संसार नै अन्धकार भयो। उसले केही सोच्नै सकिन। बुढामान्छेलाई उसको धेरै माया लाग्यो र भने, “नानी अहिले पनि केही भ’को छैन। तपाईँ बच्नुँभयो।यो केटाले अरू केटीलाई पनि झुक्याएको थियो। जानुस् आफ्नै घर ।”
उसको अगाडि घोप्टिएको अन्धकारलाई त्यही छाडेर ऊ पहिलेको आफ्नै संसारमा फर्की।
**
प्रतिक्रिया
-
४