
-बालकृष्ण गजुरेल
“खोइ ! आज वर्षा बढी होला जस्तो छ ज्यो ज्यो ।” कान्लो ताछ्दै निमा लामा बोले ।
“माथि आकासमा हेर्नुस् त ! पश्चिमबाट बादल पहाडतिर ठोक्किँदै छ । साम्प्रदायिक वादल जस्तो लाग्यो । हाम्रो प्रकृतिले सजिलै चिन्छ ।” पानी पर्ने सम्भावना नरहेको फुर्वाले स्पष्ट गरे ।
निमाको गाउँमा कुलो लग्ने सम्भावना थिएन । पहाड माथि गाउँ थियो । स्थानिय प्रतिनिधीहरू प्राय: सबैसँग डोजर थियो । पैसा कुम्ल्याउन पहाडै भरि बाटो खन्थे । बर्सेनि बाढी पहिरो जान्थ्यो । धारो, पानी तथा कुलो खन्न तीनले कहिल्यै जानेन् । अत: निमा चिन्तित थिए । किनुवा चामल भन्दा स्थानिय चामल कता कता राम्रो लागेर धानको बिऊ राखेका थिए । आर्गनिक खाना खाने उनको बानी थियो ।
दिउँसो फेरि वादल लाग्यो । आँगनको डिलबाट पेमा बोले, “साँझमा पानी पर्ला जस्तो छ । भोलि खेत रोप्नुपर्छ है साथी हो ।”
फुर्वाले धेरैवेर लगाएर आकाश नियाले । दिउँसो खाजाको रुपमा आलु थियो । उनले आलु ताछ्दै भने, “यी वादल धार्मिक बादल हुन् । एकाध घण्टा सानो पानी पर्छ । हाम्रो भुईँ भिजाउँदैन । ”
अर्को दिन विहान जोड जोडले हुरी बादल आयो । गोठ कटेरा उडाउला जस्तै गर्यो । यो देखेर फूर्वाले सतर्क गराए, “यो जातिय वादल हो । धेरैको बस्ति उजाड्न सक्छ । होस् गरम ।”
अचानक रेडियोमा समाचार बज्यो, “बंगलादेशको खाँडीमा तुफान आयो रे ! हिमाल र पहाडमा धेरै बर्षा भयो भने बाढी तथा पहिरो जान सक्छ । तराई डुबाउने खतरा छ । सचेत रहनु होला । ”
सबै गाउँले समाचार सुन्दै थिए । छड्के पानी घरभित्रै पर्यो। सबै जना त्रसित बने । उक्त अवस्थाको मुल्यांकन गर्दै दोर्जे लाामाले भने, “खाँडीको मनसुन नेपाल प्रवेश गर्दैछ । बादल पश्चिमतिर ठोक्कियो भने अम्लिय वर्षा गराउँछ। हावाको कणमा अक्सिजन भन्दा द्वन्दको कार्वनडाइअक्साईड बढी छ । देश रहे भेष रहन्छ ।”
***
प्रतिक्रिया
-
४