
– मनिराम मञ्जिल
उज्यालोमा देखिदैनन्
अक्सर सत्यहरू
अँध्यारो कोठि भित्रका सत्य
अध्यारो गल्ली भित्रका सत्य
अँध्यारो युगका अनाम सत्यहरू
सबै सधैं गुमनाम छन् यहाँ
उज्यालोमा टल्कने झुटलाइ नै
अक्सर सत्य ठानिन्छ
झुटहरू अक्सर झलमल
उज्यालोमा नै बोलिन्छन्
उज्यालो दिनमै नेताले भाषण गर्छ
उज्यालो दिनमै खान्छन् प्रेमी प्रेमिकाले कसम
उज्यालो मै बसेर लेख्छ कविले कविता
उज्यालो मै चाहिन्छ यथार्थ छुपाउन
श्रृङ्गारको सहारा
सबका सब उज्याला रङ्गिन झुटहरू
उज्यालोको भ्रामक आवरणले ढाकिएर
संधै संधै विक्षिप्तछन्
उज्याला कुनामा यथार्थहरू
अध्यारोमा एकदमै निस्पट्ट अध्यारोमा
झनै उज्यालो भई चम्कन्छ सत्य
अध्यारोमा न लेखिन्छ कविता
न नेताले भाषण गर्छ
न कसम खाने भोक लाग्छ अध्यारोमा
न चाहिन्छ श्रृङ्गारको सहारा
न आइलाग्छ दुनियाँको लागि
राम्रो देखिनु पर्ने बाध्यता
अन्धकारमा केवल सत्य मात्र घटित हुन्छ
अँध्यारो कुनाबाटैे निस्कन्छ
पानीको अजस्र मूल
अँध्यारोबाटै प्रारम्भ हुन्छ
जीवनको यो विराट अस्तित्व पनि
उज्यालोमा सञ्चित तिर्सना
अक्सर अँध्यारोमै मेटिने गर्छन्
अँध्यारो अन्धकारमै प्रस्फुटित हुन्छ सत्य
किनकि अँध्यारो एकान्तमा
एक्लै एक्लै टहलिरहँदा मान्छे
महसुस गर्छ
आफूले दिएको अर्थहीन आस्वासन
आफूले बनाएको खोक्रो आदर्शको पहिचान
दमीत तिर्खा मेट्नु अघि अभिशप्त वासनाले
जबर्जस्ती खुवाएका कसमहरू
शब्दको थुप्रो भित्रको कवित्व
बलिष्ठ तन भित्रको मुर्छित मन र मनोदशा
आफ्नै जीवनको खोक्रो अट्टाहास
तस्बिरमा आफ्नै कोमल मुस्कान भित्र
छुपेको उदास हृदय
तमाम उपलब्धि बीच
निरर्थक प्रतीत हुने जीवनको क्षणभङ्गुरता
प्राप्तिको अविराम शृङ्खलामा
पाउँदा पाउँदै छुटे जस्तो लाग्ने,
हराए जस्तो लाग्ने, नपाएझै लाग्ने
यो मनको विचित्र मनोदशा
अँध्यारोमै महसुस गर्छ मान्छे….
उज्यालोमा त मान्छे केवल !
आँखा अगाडि रहेका इस्पात र हतियारमा
आफ्नो अहङ्कारको रङ्ग लगाएर
आफैलाई बहादुर सम्झन्छ
बुद्धिमा बिर्को लगाएको भिडले
ताली बजाउदा आफूलाई प्रतिभावान सम्झन्छ
अपरिचित मुस्कानमा अल्झन्छ
अविदित तर्कनामै रमाउछ
आत्मरतिको उत्साहमै सकाउछ उर्जा
जत्ति धेरै झुट उत्ति नै ज्यादा
आफूलाई सफल ठान्छ, सफल मान्छ
अस्तु बगाउदै हिँडेको
बाग्मतीको कालो पानीमा छुट्टिदैन
सफलता असफलताको रङ्ग
यथार्थमा बस् सत्य कालो हुन्छ
अन्धकार परम सत्यहो किनकि
यसको आफ्नै अस्तित्व छ तर
प्रकाश त केवल सुर्यको उपस्थित मात्र हो
प्रकाश आफैमा एक भ्रम मात्र हो
विशाल ब्राह्मणको विराट अन्धकारबिच
चम्किने क्षीण ताराहरू सकिनेछन् कुनै दिन
तर कहिल्यै सकिँदैन अध्यारो
र कहिल्यै हार्दैन सत्य
खोइ यहाँ सत्यका पुजारी?
त्यो पत्थर जति नै कुँदे पनि
जति नै श्रृङ्गारे पनि
जति नै भरे पनि फुल र बुट्टाहरू
बडो मेहनतका साथ भरे पनि
सजीव लाग्ने अङ्गहरू मुर्तिमा
जतिनै पहिर्याए पनि आभूषण र रङ्गहरू
त्यो पत्थर नै हो
विकृत पत्थर अशुद्ध ढुङ्गो
आफ्नो स्वरुप गुमाएको
आफ्नो स्वभाव गुमाएको पत्थर
असत्य पत्थर!
आउ अब हामी शुद्ध पत्थरको पुजा गरौ
नकुँदिएको कसैको हातले
छिनोको सयौ प्रहारले विकृत नभएको
आफ्नै स्वरुपको आफ्नै स्वभावको
प्रकृतिले आफै कला भरेको
गोला ,चेप्टा, थेप्चा जस्ता छन्
त्यस्तै पुजौँ
आउ अब सत्यको पुजा गरौँ
***
प्रतिक्रिया
-
४