– मोमिला

अग्निजडित अस्तित्व–यात्राका उनी सिद्ध नायक !
उनी कसैकी नायिका होइनन् आज, उनी आफै  नायक ! उनी कसैकी नायिका थिइन् त्यो प्रहरसम्म; जतिखेरसम्म युगौँदेखि हिमाल एकान्तमा टल्किरहेजस्तै, पहाड शून्यतामा उभिरहेजस्तै, खोला शून्यतामै बगिरहेजस्तै उनै हिमाल, पहाड, खोलाको शून्यतामा पनि कसैका नाममा प्रेमको आदर्श स्वप्न फूल सिउरिएर उनी आफ्नै एकान्त आँसुको प्रवाहमा पौडिरहिन् ।

आज आँसुको सम्पूर्ण बाँध तोडेर आफ्नो भावनाको वादशाह आफै  उनी स्वच्छन्द यमुना बगिन् र ताजमहल आइपुग्दा आफ्नै किनार सिर्जेर अडेसा लागिन् । त्यहाँ आफ्नो अस्तित्व थाहा दिन बतास पनि उनलाई बारबार अदृश्य स्पर्श गरेर जान्थ्यो, पानीको बहाब पनि सङ्गीत भएर अस्तित्वको झङ्कार दिन्थ्यो । उनकै छायाँमा सूर्यतेज पनि आफ्नो अस्तित्वको दाबी गर्न चुक्दैनथ्यो । धरती र आकाश भने हुनुपछिको नहुनु या नहुनु भनेकै पहिले हुनुको दाबीजस्तै हरियो अनि नीलो विस्तारको उत्सबमा अस्तित्वनिमग्न देखिन्थे । र देख्दा उनी पनि उल्लिखित पञ्चमहाभौतिक तत्वको एकमुष्ट महाशक्ति स्वरूप शून्य आकाशलाई डाम्न सक्ने प्रखर पुच्छ्रेताराझैँ लाग्थ्यो र कहिले खरानीसरिको धरतीभित्र लुकेको भरभराउँदो आगाको फिलुङ्गोझैँ  लाग्थ्यो । मानौँ तीहरू उनकै अनुयायी हुन् र उनकै अस्तित्व प्रवक्ताझैँ  उनीहरू पनि विशेष प्रभावी देखिन्थे ।

पानीमा ताजमहलको छायाँ हल्लिरहँदा उनको आफ्नो स्वरूप पनि पानीमा हल्लिरहेको उनलाई सायद, अघि होसै भएन ! किनकि आजसम्म उनले आफूलाई चिनेकी थिइनन् । अघिसम्म उनको अस्तित्व पानीमा हल्लिरहेको त्यही आकारहीन अस्थिर स्वरूपभन्दा बिल्कुल फरक थिएन । मानौँ, देखिएको तलाउरूपी उनको भ्रमिल अस्तित्वमा देख्य–अदेख्य ढुङ्गा फालिरहेका थिए, मानिसहरू  ।

आँखा चिम्लेर घाउहरू सहलाउँदै प्रेमपूर्वक आफैलाई एकपटक सम्झिन् । कसैकी छोरी, पत्नी र आमाको सम्बोधनमा उनले आफ्नो फेर कतै अल्झेको भेटिन् । मानौँ आफूनजिकैबाट चेतनाको सहस्र जुलुस एक कम्पन दिएर पार भएको छ । पश्चात् अचानक उनलाई आफ्नो जिन्दगीमाथि कालो आकाश घोप्टिएर प्रेमपथ अवरुद्ध हुँदा अन्योलग्रस्त धुनमा बज्दै गरेको आफ्नो जीवनगीतको उदासीप्रति सारो दया जागेर आयो र आफ्नो सग्लो अनि निरपेक्ष पहिचान मुठ्ठीबाट झरेर पानीमा हल्लिरहेको स्वरूपप्रति एकाएक टिठ लागेर आयो । अनगिन्ती प्रश्न बनेर फैलिएका तरङ्गहरू भित्तामा ठोक्किएर झर्याम्म चकनाचुर भएपछि उनी झस्किन् र यथार्थमा उही ताजमहलअघि आफैप्रतिको प्रेममा निमग्न आफूलाई सग्लो भेटेर एकाएक मुस्कुराइन् । उनको अस्तित्वको मुस्कुराहटले मलाई पनि एकपटक मस्तसँग उजिल्यायो ।
साँचो अर्थमा मुस्कुराउन अस्तित्वको बहाना चाहिँदोरहेछ, उनलाई यस्तो लाग्छ । उनलाई केही भन्नु थियो तिमी सुन्न सक्छौ भने । उनी भन्छिन्— आँसु नुनिलो हुन्छ, तर आँसुसँग जोडिएका कथाहरू अमिलो, तितो जस्तो पनि हुन सक्छ । आफ्नो जवानीको कथा त जताततै लेखिएला, तर आमाको कथा जब आँसुको मसीले हृदयमा लेखिन्छ भने तिमी कसरी पढ्न सक्छौ त्यो आमामनको कथा ? उनलाई कहिलेकाहीँ लाग्छ— बिनलादेनकी प्रेमिका हुन सकेको भए आतङ्कवादको परिचय फेरिएर प्रेमवादको उदय हुने थियो कि ! उनी कट्टर नारीवादका पूजारी होइनन्, तर उनलाई पितृसत्ता नामक सामाजिक जराको फैलावट फेदैसम्म थाहा छ— ढुङ्गाको मूर्तिलाई पूजा गरेर महिमामण्डन गर्ने यो समाज साकार महिलालाई ज्ञाननिर्माता भएको देख्नुमा उसलाई चरम हीनताबोध हुन्छ । यसमा ऊ आफ्नो पौरुष हारेको ठान्छ । स्वास्नीमान्छेलाई वेश्या बनाएर भोग्न एक सेकेन्ड नहिच्किचाउने, तर विदूषी भएर ससम्मान फूलमालाले सजिएको पनि सहन नसक्ने शासक सोचले ग्रस्त छ, समाजको मूल धार । त्यही संरचनाभित्र तपाईँ स्थापित मान्यतालाई चुनौती दिन उभिनुहुन्छ भने बुझ्नुस् अब तपाईँ धेरैका लागि खतरा बन्दै हुनुहुन्छ …! मानौँ, तपाईँ एउटा अघोषित युद्धको प्रधान सेनापति घोषित हुँदै हुनुहुन्छ ।

कुनै बेला सारा डर र धकहरूभन्दा प…र सादा सपनाहरूसँग विल्कुल सादा बाँच्न मन लाग्थ्यो, उनलाई । फेरि पनि सपना त सपनै हो ! सपनाका गुच्छाहरू इन्द्रेणी बनेर एकाएक आँखामा रङ्गिन्थ्यो…! एकातिर सपनाको इन्द्रधनुषी आकर्षण र अर्कातिर सपना छेक्न माहिर विपनाको धुमिल तुवाँलो…! चेतनाको त्यही उकुसमुकुसबाट विस्फोट भएर प्रारम्भ घोषित हुँदोरहेछ, युद्ध !…र यसरी उनी आगामा खारिएको सुनजस्तै साहसी योद्धा बन्न पुगिन् ।

यद्यपि यहाँ त आफ्ना सपनाहरूको मृत्युमा शोकाकुल छन् कति योद्धाहरू ! यसैले उनीहरूलाई यो विश्वास छ कि सपनाका लागि आफ्ना सहिद भएका सारा समयहरू एक दिन पुनः एकमुष्ट ज्वाला भएर आफैसामु बौँरिने छन् र आफैविरुद्ध नारा लगाउने छन् ।

आखिर समय बलवान् छ ! आज उनी स्वयम् नायक भूमिकाका योद्धा हुन् । उनी आ आफैमा सग्लो बाँच्न सक्ने भएकी छन् । जिन्दगीको बेसुरा बाटो आज सुरिलो सङ्गीत भएर बज्दा उही मौसम पनि उत्सवजस्तो खास लागिरहेछ । कथित मैलो जिन्दगी बग्दाबग्दै आज सङ्लिएर आफ्नो अनुहार स्पष्ट देख्दा मानौँ, युद्ध जितेको यौद्धाको चम्किलो ओजझैँ  आफू विशेष बाँचेको महसुस गरिरहेकी छन् । एकातिर आजसम्मको दासत्वका सारा बन्धनहरू हारेर भाग्दै गरेको दृश्यमा विगत अनि अर्कातिर आफ्नो जिन्दगीसँग प्रेम बस्दै गरेको अनुभूतिमा भविष्य । आहा ! उही विगत र भविष्यको सङ्गम स्वरूप वर्तमानको दिव्य दोभानमा औधी रोमाञ्चित छिन्, उनी । यही प्रेमको शक्तिले दिनभरि आफूले एकान्तमा खेलेको पोल्ने घामलाई न्यानो बनाएर र रातभरि खेलेको चिसो जूनलाई शीतल बनाएर जिन्दगी नामको आफ्नो छुट्टै आकाश–धरतीका लागि घामजून साच्ने तरखरमा छिन्, उनी ।

भनिन्छ— इच्छा आधा जीवन हो; उदासी आधा मृत्यु हो । यद्यपि आज उनी अर्धसत्यभन्दा माथि अँध्यारोमा झटारो हान्दा झुक्केर खसेको फलजस्तो आरक्षित खुसी नभएर अर्जुनदृष्टि लगाई विश्वाससहितको कर्मले प्राप्त गरेको सम्पूर्ण फलप्रति गर्वबोध गरिरहेकी छन् । अर्थात् सचेत र विशिष्ट मृत्युको सहर्ष स्वीकृतिपश्चात्को भरभरभउँदो जीवन प्लस गरेर सग्लो जिन्दगीको मजा झुमिरहेकी छन् । लाग्छ,  आजबाट त्यो मूर्तिमा साक्षात ईश्वरले वास गर्न थालेको छ । अब तिमी उनको पूजा–आराधना गर्न सक्छौ ।

कुरा अप्रसङ्ग होइन है ! साच्चै, यदि लोकले मज्नुलाई ढुङ्गा नबर्साएको भए, यदि लोकले गर्भिणी सीतालाई बात नलगाएर रामले पुनः वनतिरै नपठाएको भए या मुनासँग बिछोडिएर भोटको यात्रामा रहँदा मदनको जीवनमा दुःखको पहिरो नखसेको भए सायद, कहानी सुरुचिपूर्ण नभएर कति निरस र पट्यारलाग्दो हुन्थ्यो होला नि !

तर, उनको कहानीमा रात जति पर्नु थियो परिसक्यो; निरीह साबित गरेर हुरीले जति बिगार गर्नु थियो गरिसक्यो; दुःखको पहिरो जति खस्नु थियो खसिसक्यो; अरूको रुचि, सुरुचिअनुकूल जति हुनु थियो भइसक्यो ! हार्नुजति हारेर तिमीलाई जिताउने खेल सकिसक्यो ! अब उनलाई एकै ठाउँ कुहिएर ताल जम्नु छैन; स्वतन्त्र नदी भएर बग्नु छ । कठपुतली आफ्नै हातले भाँचेर आगो बालिसकिन् …। किनकि उनी अब खिया लागेको शास्त्रीय बन्धनबाट मुक्त आफ्नै जिन्दगीको प्रवाहलार्ई निजी स्वप्नको पवित्रता एवं आफ्नै उज्ज्वल संवेदनाभन्दा पनि बढी नजिकबाट माया गर्न थालेकी छन् । यसरी आफ्नै अस्तित्वप्रेमले जन्माएको सचेत योद्धा उनी, असत्यका विरुद्ध युद्ध लड्न रणभूमिमा उत्रिसकिन् । साच्चैमा अब, उनी कसैकी नायिका नभएर स्वयम् नायक भूमिकामा छिन् । यस्तो लाग्छ, कहाँकहाँबाट पानी बोकिआएको बादल अचानक आफ्नै मरुभूमि परिसरमा बर्सिएर जीवन लहलह मौलाएझैँ  परिसर नै अचानक कौतुहलपूर्ण जीवन्त आत्मीय र प्रिय अनुभूत गरिरहेकी छन् । उनको नायकत्वको स्वीकृतिसँगै यतिखेर हामी एकसाथ उज्यालिएका छौँ र जीवनोत्सवको घडाभरिभरि हाम्रो आस्तित्विक चेतना शिविरमा फक्रिएको मोहक फूलगुच्छा सजाएर तिम्रै अगाडि सगर्व मार्च पास गरिरहेका छौँ ।

हो, हामी किनाराबाट सृष्टिको मूल धारमा बग्न चाहन्छौँ…! हामी स्वयम् सारथि, संसार हाँक्न चाहन्छौँ…!! अब कुनै बादलको क्रुरताले हाम्रो मनमा चट्याङ पार्ने छैन, अब कुनै निर्दयी बादलले हाम्रो आँखामा उकालो चढ्दै गरेको सूर्यचन्द्र छेक्ने छैन । आखिर, आदर अर्थात् सम्मानको सन्दर्भले लिङ्गभेद अस्वीकृत गर्दछ भन्ने यथार्थ पूर्ण स्वीकृत नभए पनि अस्वीकृत भने होइन । यसर्थ जिन्दगीको जुलुसपछिको धुलोमा जिन्दगी खोज्ने भ्रान्तिजस्तो आदतबाट मुक्त भएकी छन्, उनी । आँखा, बाटो र मनमस्तिष्क नै हतारमा कतै बिर्सेर हिँडेको यात्राभन्दा विल्कुल फरक एउटा सुरुचिपूर्ण सचेत कहानीको स्वयम् नायक भूमिकामा आज उनीसँग साक्षात्कार हुँदा कतै अर्कै सूर्यले उज्यालो छरिरहेको त छैन ! कतै अर्कै जूनले शीतल आभाको स्पर्श दिइरहेको त छैन ! अर्थात् सम्पूर्ण ग्रहहरू पनि उनलाई नै केन्द्रविन्दु बनाएर घुमिरहेजस्तो आज हामी उभिएको आकाश–धरती नै छुट्टै त होइन भन्ने लागिरहेछ…!
मानौँ, आज हामी अर्कै चन्द्रसूर्य उदाउने छुट्टै आकाश–धरतीमा नारीशक्तिको नायकत्व सेलिब्रेट गरिरहेछौँ…!… !!…!!!
***

(समकालीन नेपाली कविताकी चर्चित कवि तथा ललित निबन्धकार मोमिलाको भर्खरै ललित निबन्ध सङ्ग्रह ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ प्रकाशित छ ।) 

प्रतिक्रिया

सम्बन्धित खवर