– गाेविन्दबहादुर कुँवर
घल्सिनी दिदीकाे छाेराकाे टाउकाे ठूलाे थियाे, जीउ भने सानाे र सुकेकाे । त्याे वच्चा टाउकाे उठाउन पनि सक्तैनथ्याे ।
दुई तीन वर्ष पछि ऊ गयाे, कहिल्यै नफर्किने गरी ।
अरुले जे भयाे, ठिकै भयाे भने तर घल्सिनी दिदी धेरै दिनसम्म भक्कानिदै, राेइरहिन् ।
हुन त त्याे वच्चा पेटमा आएदेखि नै त्यसलाई फाल्न उनले अनेक घरेलु औषधी र जडीबुटी खाएकी थिइन् रे । तर त्याे जाँदै गएनछ ।
उनका कतिपय गाेप्य कुरा गाैरीबाट मलाई थाहा हुन्थ्याे ।
झण्डै चालीस वर्ष अघि एउटा सुइते सुइते पू्र्व पल्टनेजस्ताे मान्छे हाम्राे घरमा डेरा खाेज्न अाएकाे थियाे र हाम्राे कटेराे सच्च्याएर उनीहरु लाेग्ने स्वास्नी बस्न थालेका थिए ।
दाेर्दी खाेलाकाे माथिल्लाे भेक पाखे गाउँबाट अाअाफ्नाे घर छाेडेर झरेका रहेछन् तिनीहरु ।
त्याे भारतीय आसाम राइफल्सकाे पूर्व सैनिक रहेछ ।
उसकी स्वास्नीकाे सुत्केरी हुने दिन नजिकिएकाे रहेछ । केही दिनमै तिनी हाम्राे धन्सारकाे भान्सा काेठामा सुत्केरी भइन् ।
सुत्केरीका लुगा कपडा धुने देखि, काेठा सफा गर्ने र सुत्केरी सिहार्ने सबै काम उसैले गर्याे ।
बिस्तारै हामीहरु उनीहरुसँग झ्याम्मिदै गयाैँ ।
त्याे पल्टनेकाे नाम जङ्गबहादुर रहेछ । ऊ अलि सन्के पाराकाे रमाइलाे मान्छे रहेछ । ऊ उटुङ्गे कुरा गरेर हसाउँथ्याे ।मूर्ख्याइँका कुरामा जिद्दी गर्थ्याे ।
उसले एकदिन भनेकाे थियाे, “मैले एक पटक एउटा गाेठालाेकाे सुकेकाे गाँड खूर्पाले चिरिदिएँ । त्यहाँ त मसिनाे काठकाे धुलाेेजस्ताे थुप्रेकाे रहेछ । मैले त्याे फाली दिएँ र जडीबुटी घाेटेर लाइदिएँ । त्याे गाेठालाे त हामीजस्तै भयाे । त्यसकाे गाँड हरायाे ।”
उसका कुरा सुनेर हामीलाई डर लाग्थ्याे ।
तिनीहरुकाे उमेरमा दस पन्ध्र वर्षकाे फेर हुँदाे हाे । घल्सिनी दिदी मभन्दा चार पाँच वर्ष जेठी रहिछन् ।
जङ्गबहादुर कहिले दाउरा टिप्न वन तिर जान्थ्याे । कहिले माछा मार्न जान्थ्याे । खसी,कुखुुरा नखाने भएकाले कहिले भेडाे तान्न पनि जान्थ्याे ।
एक पटक खर्च धान्न गार्हाे परेकाेले हाेकि थकालीका खच्चर धपाएर पनि हिँड्याे केही महिना त।ऊ जे काम गरे पनि त्यसकाे बढनी नै राख्थ्याे । ऊ खुशी र सन्तुष्ट नै देखिन्थ्याे ।
कुुनै पनि सामान्य कुरा वा घटनालाई पनि ऊ राेचक पाराले प्रस्तुत गर्थ्याे र सुनिराखाैँजस्ताे वनाइदिन्थ्याे ।
हामीले घल्सिनी दिदीकाे नाम साेधेनाैँ । साेध्ने आवश्यकता नै परेन ।
सुत्केरीबाट थाेरै तङ्ग्रिए पछि उनीअाफ्नाे नियमित दैनिकीमा फर्किन् । खान बनाउन, लुगा धुन थालिन् । छरछिमेकीसँग पनि उनकाे सम्पर्क बढ्याे ।
घल्सिनी दिदी राम्री थिइन् । तिनकाे हाँसाे मिठाे थियाे । तिनकाे वाेली ब्यबहारमा निर्दाेषपन झल्किन्थ्याे ।
उनले स्थानीय लवजमा नेपाली बाेलेकाे सुन्न सबै पनपराउँथे ।
त्यतिखेर गाेकर्ण छ सात वर्षकाे हुँदाे हाे वेला वेला अामासँग अरल्थ्याे । कहिले थाकेकाे, कहिले भाेकाकाे वेला पर्थ्याे । गाैरी रिसाउँथिन्, पाट्टपुट्ट पनि पार्थिन् । घल्सिनी दिदी,” कान्छालाई नपिट, त्यसले के बुझ्या छ र । केटकेटी त हाे, “भन्थिन् र आफूसँगै लिएर जान्थिन् । खानेकुरा दिन्थिन् । सुका माेहर गाेजीमा हालिदिन्थिन् । ऊ फुरुक्क पर्थ्याे ।
कुनै बेला गाैरीलाई काम भ्याइ नभ्याइ हुन्थ्याे, उनी आफैँ आएर सघाउँथिन् गाैरीलाई । कहिले भाेक लाग्याे हाेला । दिनभरी टुसुक्क नि बस्याछैन तिमी, भनेर गाैरीलाई तानेर लान्थिन् र खाजा ख्वाउँथिन्।
बिस्तारै तिनले रक्सी पनि पार्न थालेकी थिइन् । घरखर्चलाई थपथाप हुन्थ्याे हाेला । जङ्गबहादुरलाई पनि बेलुका दुई तीन ट्वाक रक्सी नभै हुन्थेन ।
चाडबाडमा तिनले मलाई पनि, “आज पारेकाे मिठाे छ, अलिकति खा । बाजेले थाहा पाउदैन “, भनेर दिन्थिन्। म आँखा चिम्लेर घुट्क्याइ दिन्थेँ र फरर उनकाे मातृ भाषामा उनीसँग वात मार्थेँ । दिदी हाँस्थिन् र खुशी हुन्थिन् ।
अघिपछि अड्कली अड्कली बाेल्थेँ तर त्यस्ताे बेला राेकिनुपर्थेन ।
कहिले दिदी सुख दुखकाे कुरा गर्थिन् । एक दिन दिदीले, “मलाई माग्न र फकाउन कस्ता कस्ता राम्रा धनी केटा आथे । मलायाका लाहुरे पनि आथे। तर मैले बाउआमाकाे वचन काटिन र फुपुकाे छाेरासँग बिहे गरेँ । हाम्राे समाजमा उमेर मिल्दाे भएथिन् मामाकाे छाेरीमा फुपुकाे छाेराकाे हक लाग्छ।”, भनिन्।
हामीसँग यति मिठाे बाेल्ने, हाँस्ने र मिल्ने घल्सिनी दिदीकाे भित्र पीडाकाे संसार छ भन्ने हामीलाई के थाह र ?
एक दिन जङ्गबहादुर घरमा नभएकाे बेला दिदीले,”शंकर भाइ एउटा चिठी लेख्देन ।” भनिन् । “कसलाई लेख्ने दिदी”, साेधेँ मैले ।”मायाकाे बाबालाई । ऊ भर्खरै भारतीय पल्टनबाट घर विदामा आएकाे छ ।” भनिन् तिनले । “माया काे हाे र दिदी ?”, मैले साेधेँ । “मेरी छाेरी हाे । दस एघार वर्षकी उसैले घर गरेर बसेकी छ ।”, भनिन् दिदीले ।
लाैे भन्नस् त दिदी म लेखिदिन्छु ।
दिदीले भनिन्, “म परिबन्दमा परेँ । यस्तै भयाे । मेराे बुध्दि पुगेन । हाम्राे भाग्यमा यस्तै हुन लेख्या हाेला ।
जे नहुनु भैगाे । तिम्राे लाटाे रिस उठेकाे हाेला । अब रिस नगर ।छाेरी माया र काली अनि छाेरा प्रसादलाई माया गर ।
अब एउटी उमेर मिल्दी राम्री केटी खाेजेर घरबार गर । पेन्सन पाक्ने बितिक्कै जागीर छाेडेर घर अाउनू । केटाकेटी सानै छन् ।”
यति भनिसक्दा नसक्दै दिदी रुन थालिन् र पछ्याैराले मुख छाेपिन् ।
मेरा दुबै अाँखा पनि हिल्याएर साउन ठिक पारेका असारे खेतका गराजस्तै भए ।
मैले चिठी टुङ्ग्याएँ र खाममा राखेँ, अनि मायाकाे बाकाे नाम ठेगाना लेखेर दिदीलाई दिएँ । दिदीले चिठी सिरानी मुनि राखिन् ।
भाेलिपल्ट दिदीले भनिन्, ” पृथ्वीनाथले चिठी हेरेछ । “के भन्याे त ?” रिसायाे मात्र, केही पनि भनेन । “दिदी थाेरै हाँसिन् ।
कहिले कहिले मायाकाे बाउलाई जङ्गबहादुरले के के भन्दाे रहेछ । दिदी चित्त दुखाउँथिन् र उसकाे पछाडि गाली गर्थिन् ।
“जाे चाेर, उसैकाे ठूलाे स्वर । उही अर्काकी
स्वास्नी चाेर्छ, उहीँ ठूलाे पल्टिन्छ ।” भन्थिन् ।
“गाममा हुँदा जङ्गहादुर स्वास्नीसँग झगडा गरिरख्थ्याे । उसकी जेठी पनि ऊ भन्दा कम थिइन । जङ्गबहादुर कहिले भाँडा बाहिर फाल्थ्याे । कहिले बन्चराेले धुरी खामाे काट्थ्याे । त्यै भर त्यसकी स्वास्नीले उसकाे नाम पृथ्वीनाथ राखेकी थिई । याे त संसार भरिकाे ठूलाे मान्छे हाे, भन्थी ।” दिदीले हाँस्दै भनेकी थिइन् एक दिन ।
म पनि कहिलेकाँही ,”के खवर छ, पृथ्वीनाथकाे “, भन्दै भित्र पस्थेँ । ऊ खिस्स हाँस्थ्याे ।
दशैँमा नाैरथा लागे पछि नहरा लाउने प्रचलन थियाे । उसकाे कटेरामा पनि धमनले नहरा लगाएछ । झिसमिसेमा।डम डम गरेकाे अावाज सुनेर जङ्गबहादुर त केले तर्सायाे भनेर हातमा खूर्पा लिएर निस्केछ । “झण्डै नहानेकाे मैले । नानेले छेक्याे र पाे”, भन्याे त्यसले एक दिन ।
ऊ स्वास्नीलाई नाने भनेर बाेलाउँथ्याे । घल्सिनी दिदी “हाेए” भन्थिन् ।
चार पाँच वर्ष पछि स्थिति सामान्य भएर हाेला, उनीहरु गाउँ फर्के । त्यस पछि उनीहरु पाेखराबाट पेन्सन लिएर अाउँदा एक दुई पटक भेट भएकाे थियाे ।
केही महिना अघि घल्सिनी दिदीकाे सँग्रेलाे लागेर साेधखाेज गरेँ । कसैले जङ्गबहादुर वितेकाे त चार पाँच वर्ष भैसकेकाे बतायाे ।
दिदी एक्लै छिन् रे गाउँमा । मेराे मन अमिलाे भयाे, दिदीकाे अनुहार आँखा अगाडि आयाे । दिदी पनि काँस जस्तै फुलिछन् हाेला, संझे।
तिनीहरु गाउँ जानू अघि एक दिन, ” कसरी यस्ताे भयाे दिदी ?तपाईँले यस्ताे गर्नु भयाे हाेलाजस्ताे त लाग्दैन । ” मैले दिदीलाई साेधेँकाे थिएँ । तिनले गहभरि अाशु काढ्दै भनेकी थिइन् ।
“उसकाे घर सिरानमा थियाे । मेराे पुछारमा । उ गाउँ बेसी गर्दा मेरै घरकाे बाटाे भएर आउ जाउ गर्थ्याे । मायाकाे बाउ पेन्सन अाउने वेला भएकाे थिएन । म छाेराछाेरी सिहारेर बसेकाे थिएँ । सानाेतिनाे खेतीपाती थियाे । कुखुरा, भेडा,बाख्रा थिए ।दुईचार पैेसा पनि हाेला भनेर रक्सी पारेर बेच्थेँ । काेही घरैमा पनि आएर खान्थे ।
जङ्गबहादुर पनि वेला माैकामा रक्सी खान पस्थ्याे । नखाए पनि बाेलाउँथ्याे । अनेक हुने नहुने उटुङ्गे कुरा गरेर हाँस्थ्याे, हसाउँथ्याे ।
ऊ पेन्सन अाएकाे धेरै भएकाे थिएन । त्यस्तै तीन चार वर्ष भएकाे थियाे हाेला ।
मेराे मनमा कुनै पाप थिएन ।
एक दिन अवेलासम्म रक्सी खाइरह्याे । पहिले घर जान्छु भन्दै थियाे पछि त रक्सी लाग्याे जान सक्दिन । अाज यहीँ सुत्छु, भात पनि खान्न भन्याे । गामकै चिनेजानेकाे मान्छे, मैले उसलाई निकाल्न पनि सकिन । उसले बख्खुकाे एक पत्र अाेछ्यायाे र अर्काे पत्र ओडेर सुत्याे ।
मैले नि भात खाएँ र जुठाेचुलाे गरेँ। भाँडा माझेँ र अाेछ्यानमा पल्टेँ । दिन भरि घरकाे टण्टा र बाहिरकाे कामले थाकेकाे थिएँ, भुसुक्क निदाएछु । राती कति खेर कसैले चलाएकाे जस्ताे लागेर बिउँझेकाे त मेराे शरीर माथि जङ्गबहादुर खेलिरहेकाे रहेछ ।”
***
प्रतिक्रिया
-
४
