– प्रविण डुङ्गेल

कहिलेकाहीँ नाम नसुनेको, लेखक नचिनेको र पहिलोपटक भेटमा हुने कुराकानीबाट मोहित भएर उक्त लेखकको कृति उठाएर पढिन्छ। नाम अलिकता चर्चामा नआएका गुमनाम – अनाम – बेनाम साहित्यकारका किताब हात पर्दा पढेर सकिसक्दासम्म एउटा छुट्टै तृप्ति बोध हुन्छ। झन् रोचक, नौलो अनि विचित्र मार्काको शीर्षकले यदाकदा यस्तो नि शीर्षक हुन्छ र किताबको अर्थ न बर्थको भन्ने लागे तापनि पाठकको हृदयमा शीर्षक फलानो राख्नुको रहस्य भित्री गुदी कुरो पढेपछि थाहा हुन्छ कि भन्ने आस हुन्छ, र किताबको अन्त्य – मध्यसम्म आउँदा यो कारण रहेछ फलानो शीर्षक राखेको भन्ने बोध हुन्छ।

हरिश सरको यसै कृतिको भूमिका पढ्न मजेदार लाग्यो कथा, समय र कथा-सन्दर्भ प्लस कथाका चिरफार पढ्नलाई। भूमिकामा चै मलाई रुचिकर लागेको कथाले के गर्ने सामर्थ्य राख्दछ र राख्नुपर्छ बारे हो जुन सुरुमा पढे भने कथाहरुबारेको चिरफार गर्दा नपढेकाका निम्ति सबै कुरा प्रकाशमा नआओस् भन्नाका खातिर भूमिकाको बाँकी भाग अन्त्यमा पढेँ।

कुल १३ कथाहरु रहेको यस संग्रहका मलाई ७ कथाहरु सशक्त लागे, ३ कथा दमदार र अरु ३ कथा औँसत लागे। नेपाली र जापानी समाजका विविध पक्ष, प्रेम, विछोड, बाबुआमा र सन्ततिबीचको अगाध प्रेम र सपोर्ट साईनो, द्वन्द र मतभेद, आदिबारेका सुन्दर, सरस र रसिला कथाहरु छन्। आफुले देखे-भोगेको जापानी संस्कृति, पारिवारिक र मैत्रीय सम्बन्धका विविध आयाम,  कार्यस्थलमा गर्नुपर्ने काम – कर्तव्य – गतिविधिर  रहनसहन आदिबारेका सचित्र दृश्य परिदृश्य आँखामा पढ्दै गर्दा। कुनै कथा पढ्दापढ्दै भावुक हुँदै तुरुक्क आँशु नि निकालियो (कमलो मन, सजिलै कथानकका घटनासँग धेरथोर बुझ्ने अनुभव गरेकोले र बालखैदेखि भावनात्मक व्यक्ति भएकोले)।

कथा संग्रहको पहिलो कथा “मोहभङ्ग” मा एकाघरमा सगोलमा बसे तापनि निसन्तान दम्पत्ति र दाजुभाइबीचको अंशको लफडाको कारण हुने मोहभङ्ग को कथा छ। नारीले जसरी घर-परिवार एकीकृत गर्न, सबल र सबल राख्न सक्षम राख्छन् त्यस्तै केही नारी यस्ता नि छन् जो घर-परिवार भाड्न, सम्पत्तिको निम्ति जेसुकै गर्न नि तयार रहने र केवल आफ्नो मात्र स्वार्थ हेर्न माहिर हुन्छन् (यस्तै मामिलामा केही नर पनि के कम र त्यस्ता पात्र चरित्रका नारीलाई काँटे कि टक्कर दिन)। यसै कथामा वैवाहिक सम्बन्धमा गाँसिएर नयाँ परिचय बुहारीको रुपमा छोरीको गृहप्रवेश भएको बोध हुनु,  विवाहको दिन हुने आमा र छोरीको गम्भीर आत्मीय कुराकानीको कुरा छ। देवर भाउजु र नन्द भाउजु बीच अगाध नाता रहे तापनि पछि अकस्मात बज्रने परिवारबाट अंश-सहित अलग थलग रहने निस्चय र जतिसुकै सम्झाए पनि सँगै नरहने अन्तिम निर्णय र देवरलाई आफ्नै कोखको छोरोसरह लालनपालन गरेर हुर्काएकी निसन्तान भाउजु र दाइको भावनाले ओतप्रोत कथा छ। दाजु र भाइबीचको सम्बन्धमा यस्तै लफडालाई लिएर चिसिने चिडिने सम्बन्धको नि कथा छ यसैमा।

त्यस्तै, ” बिहे” कथामा आफुले प्रेम गरेको व्यक्तिसँग बिहे नहुने, स्वदेशमै रहने भन्दा बिदेशमा बस्ने , घर – गाडी – धन- बैंक ब्यालेन्स भएको घरमा बिहा गर्ने परिपाटी, प्रत्येक आमाबाबुको आफ्ना सन्तानको बिहा राम्रो घरमा गराएर नाति-नातिनाको मुख हेर्न पाए आफ्नो जिन्दगी पुरा हुने आस्था विश्वासको कुरा छ। मुख्य सन्दर्भ त यस कथामा ठुलो घरमा दिएको भने पनि उल्टै स्थिति आउने कथा छ। हामीले न्युजमा पढ्ने गरेको बिहापछि दाइजोमा मोटरसाइकल , कार, सुनका गहना नपाउँदा ससुरालीमा नव बुहारीको हत्या, विवाह कै दिन आत्म-हत्या वा यस्तै उल्टो स्थितिको साविती याद आयो।

“पुष्पलता” कथा चै प्रेम, त्याग र विछोडको कथा रहेको भावुकता प्रधान सिर्जना लाग्यो। अलिअली फिल्मी भएन र यो कथा भन्ने लागे तापनि जस्तै दु:ख -पीर- मार्का- डिप्रेसनको चरम चुलीमा रहे तापनि साथीभाइ, घर- परिवार, अफिस अनि सोसल सर्कलमा मन्द मुस्कानले असली चेहरा लुकाउनेहरुको  यथार्थ कथा याद आयो। म ठीकै छु यार भनेर मुखले भने पनि विविध कारण आफ्नो हृदय नखोल्नेको स्मरण हुन्छ यो कथा पढ्दा। सपना र विपनामा हुने आकाश पातालको फरक, जिन्दगी सोचेको योजना गरेको मुताविक नचल्ने, बाध्यता र विवशताको नाता मज्जाले आएको छ। यसमा अव्यक्त प्रेमको परिणति पनि आएको छ।

अर्को कथा “मोहजाल” मा बिदेश गएको छोरो उतै स्थायीबासी भएपछि अनेकौं बहाना र कारण देखाउँदै नफर्केको, बुढेसकालमा सँगै जिउने सँगै मर्ने कसम खाएकि जीवनसंगिनीले आधा बाटोमा साथ छाडेर परमधाम भएकी र नितान्त निरस एकलासे एकान्तमा बस्नुपर्दा बोध भएको मोहजालको कथा सन्दर्भ छ।

त्यस्तै शीर्षक कथा “ग्याब्रियले” चै मलाई निकै सुन्दर र सशक्त कथा लाग्यो। यस कथामा लेखकले पति- पत्नीको मनमुटाव भएपछि पत्नी छोरीसहित बेपत्ता लापता भएपछि छोरीको प्रेम र यादमा पागल झैँ भएको पतिको कथा छ। ग्याब्रियले को अर्थ ईश्वर नै मेरो शक्ति हो भन्ने हुने रहेछ जसको बोध यो कथा पढ्दा प्रष्ट हुन्छ। लेखकले आफुले देखे-भोगेको काम र पैसाको दौडमा अरुलाई त्यति बाल-मतलब नदिईकन काम, काम, काममा व्यस्त अभ्यस्त जापानी समाजको कथा राखेका छन्। लैङ्गिक हिंसा र घरेलु/ घरायसी दुर्व्यवहारका मुद्दा  मामिलामा जापानी सरकारले अवलम्बन गरेको बलियो नितिको कुरा पनि आएको छ यसमा; मेसिन लाइफ र हावापानीमा रहेको तनाव उत्पन्न गराउने तत्व जसका कारण जापानमा व्याप्त रहने आत्महत्या को स्मरण हुन्छ।

यस संग्रहका अन्य कथाहरुमा लेखकले यथार्थपरकता, काल्पनिकता र देखेका- भोगेका दृश्य बयान गरेका छन्। बिहाको छिनोफानो गर्ने काम सकिएपछि तोकिएको तिथि-मितिमा बिहा हुने तयारी गर्दाताका हुने आकस्मिक वियोग, गर्भाशयमा छोरा भए राख्ने र छोरी भए अबोर्सन गरेर फाल्ने परिपाटी, छोराले कमाउने धन पैसा = मान सम्मान र समाजमा पहिचानको कुरा र विविध कारण छोरीलाई जन्म दिने आमाको ध्रुढ आशय र छोरीको हक अधिकारका निम्ति लड्ने संकल्पको कथा छन्। यस्तै अरु कथाहरुमा जापानी सेन्सेइ वा गुरुको रोचक किस्सा, वैवाहिक सम्बन्धमा जोडिएपछि नेपाली र जापानी संस्कृति र घर-व्यवहारको सामन्जस्य मिलान एवम् एकाध जापानी भाषा शब्दको अर्थ र प्रयोग सिक्न बुझ्न पाइन्छ।

संवाद, कथानकमा आउने उतारचढाव, किताबका पानामा आउने भावनात्मक उछाल, मनमा उब्जने केही प्रश्न र किताब सकिदा पाउने केही उत्तर, मनो-सामाजिक यथार्थ, विचार र दर्शनका कुरा, नेपाली र जापानी संस्कृति व्यवहारको सचित्र सजीव बयान र समकालीन ओज बोध हुन्छ। बहु-आयामिक कथा भएको कारण फरकफरक फ्लेवर, चिन्तन मनन र तुलनात्मक अध्ययन विमर्श गर्न मन लाग्ने रहेछ। बस गुनासो चै कुनै कुनै कथामा अलि कम भयो डिटेलिङ्ग बढी भो कि लाग्ने अनि कुनैमा अलि बेसी भयो भन्ने लाग्ने के। तर समग्रमा  भन्नुपर्दा चै उम्दा कथा संग्रह लागेको छ अहिले को समय- स्थिति – परिस्थिति – मनोवैज्ञानिक- सामाजिक – सांस्कृतिक आरोह अवरोह हेर्दा भोग्दा बुझ्दा। कथाहरुमा आउने आएका पात्रहरू पनि हामीले आफ्ना वरपर गाम-शहरमा देखे भेटेका हुन्छौं।

लेखकलाई धन्यवाद र बधाई फेरि पनि! ! !

***

प्रतिक्रिया

सम्बन्धित खवर