– संजोग सहयात्री

१,
न रोकिएको छ जीवन, न पाइला चालिएको छ
आफ्ना आफ्ना भन्दा भन्दै, आफ्ना सँगै टाढिएको छ
सम्बन्ध जोगाउन सकेको छैन, पराई हैन आफ्नैसँग
खोटो सिक्काझैँ रहेछु, हेरिएको छ अनि पुन फालिएको छ

२,
सुनिरहन्छु तिम्रा बारे, प्रत्येक चोकमा गुन्गुनाउँछन्
नजिकैका भमराहरु, रसका खोजमा भुन्भुनाउँछन्
सुन्दरताको पनि एउटा हद हुन्छ पार गर्याै
हेर इन्द्र पनि आजभोलि, पृथ्वी लोकमा छुन्मुनाउँछन्

३,
तिमी फूल बनि आउनु, म सुवास छरिदिउँला
फिक्कै भए पनि हुन्छ, म रंग भरिदिउँला
भन्छ्यौ सुन्दरताको संसार, कहाँ होला लैजाउ मलाई
इन्द्रलोकमा छ नि प्रिय, तिम्रै नाउँमा गरिदिउँला

४,
नरित्याउ त्यो प्याला, म पनि हुँ धोका खाएको
आफ्नैलाई फसाउन किन, शत्रुको दैलो धाएको
लाग्छ जमाना ठीक रहेन, अमृत दिँदा विष ठान्छन्
पालो आउँछ धोका हो, कर्णले नि अन्तिममा पाएको

५,
झरी छेक्न नसके पनि, छहारी दिन सक्दो रैछ
पर्खाइको अन्त्य सँगै, भेट्ने अत्यास बढ्दो रैछ
तिमी आफैँ दूर गयौ, सजायमा म तड्पिरहेँ
बिहानीको किरण सरि, हुटहुटि तिम्रो लाग्दो रैछ

***

प्रतिक्रिया

सम्बन्धित खवर