– निर्दोष जीवन

`तथागत´ पढेर सकेँ । आख्यानकार सिर्जन अविरलको यो आख्यान पढ्दै जाँदा नसकिए हुन्थ्यो भन्ने लागिरह्यो । उपन्यासका हरेक पाना सुस्तरी पल्टाउँथेँ ता कि यो ढिलो सकियोस् ।

पहिलो उपन्यास `मोक्ष´बाट पाठकको मन जितेका अविरलले दोस्रो उपन्यास तथागतमा आफूलाई अब्बल साबित गरेका छन् । बुद्धकालीन समय र दर्शनमा टेकेर लेखिएको तथागत वास्तवमै एउटा सुन्दर र कलात्मक आख्यान हो ।

यही जगतको कथालाई लोभलाग्दो गरी प्रस्तुत गरेका छन् । सिङ्गो जगतलाई नै दु:खालय हो भनेर पनि मानिसको दुख र आँसुको कथा मात्र भनेका छैनन् , ध्यानमा भेटिने मनको आनन्द र जीवनको उज्यालो पनि देखाइएका छन् । कथा भन्ने आफ्नै शैली छ यिनको । वास्तवमा लेखकको शक्ति पनि यही हो ।
हरेक पाठकलाई उपन्यासको कथावस्तुले यसरी तान्छ कि पाठक एकोहोरिँदै जान्छ । पढ्न सुरु गरेपछि छोड्नै सक्दैन पाठकले उपन्यास ।

सामान्य पाठकले जे जस्तो कल्पना गरेर तथागत पढ्न सुरु गर्छ, ऊ चकित हुन्छ ।
प्रायःजसो म कुनै पनि किताब पढ्न शुरु गर्दा सकेसम्म एकै बसाइमा किताब पढेर सिध्याउने लक्ष्य लिएर बसेको हुन्छु । तथागत पढ्न बस्दा पनि मैले यस्तै लक्ष्य लिएर पढ्न शुरु गरें । हरेक हरफहरुले मनलाई यतिसम्म छुन सफल हुन्छन् कि जुन हरफहरुलाई हाइलाइट कलमको माध्यमले चिह्न नलगाई मनले मान्दै मान्दैन । आख्यानकार अमर न्यौपानेको उपन्यास `सेतो धरती´ पछि सबैभन्दा धेरै हाइलाइट गरेर पढ्न बाध्य भएको किताब तथागत हो मेरा लागि ।

तथागतमा मलाई मन परेका केही हरपहरु यहाँ प्रस्तुत गर्न चाहन्छु ।
– भयको अस्वीकार गरेपछि पूर्ण मुक्ति मिल्छ । क्रोध आफ्नै हातमा राखिएको आगोको कोइला हो, जुन हामी अरु तिर फाल्न चाहन्छौं । धर्मको मार्ग भुलेर विवेकहीन भई बाँच्यो भने उसको जीवन नै अनन्त दु:खको कारण बन्छ ।

– मानिसले अनेक अनुष्ठान गरोस् या नीतिमा चलोस् यसले केही फरक पार्दैन । संसारिक भ्रमबाट मुक्त नभएसम्म ऊ जीवनको किनारामै सीमित हुन्छ ।
– जहाँ समाधान छ त्यो नै समाधि हो ।
–  यो जगतको चरित्र नबुझी मोक्ष प्राप्त गर्न असम्भव छ । जगतमा प्राणीको मृत्यु सामान्य हो । मृत्युसँग डराउनु भनेको शरीरसँगको मोह हो ।
– सम्बन्धमा अल्झिँदा अल्झिँदै सकिन्छ मान्छे ।
-भौतिक संसारमा कोही जानीजानी गलत बाटोमै त हिँड्दैन । तर उसले गलत बाटोमा हिँडेको मेसो नपाउने मात्र हो ।
-सत्य हामीबाट निकै टाढा हुन्छ तर संसारिक बाटो नछोडेसम्म हामी सत्यको भेउ पाउन सक्दैनौँ ।
-संसारिक मोहबाट मुक्त भएपछि मुक्तिको मार्ग र सत्यको द्वार खुल्छ ।
– आफ्नो सत्य आफैमा खोज, आफ्नो उज्यालो आफैँमा खोज ।

– मस्तिष्कको बाटो हिँड्ने मानिस सधैँ दु:खी छ, पृथ्वीमा । खुशी हुन मनको बाटो हिँड।
– संसारलाई जित्नुपूर्व आफूलाई जित्नुपर्छ ।
– आफ्नै मनलाई परास्त नगरेसम्म भौतिक संसारलाई जित्न गाह्रो छ ।
– वासनाबाट मुक्त नभएको पुरुष बौद्ध धर्मको गुरु हुनै सक्दैन ।
– उमेरको नदी कसैले छेक्न नसक्ने नदी हो ।यही नदीमा डुबेका छन् कति ।
– जगतमा आधा दु:ख गलत मान्छेको सङ्गतले र बाँकी दु:ख सत्यमाथि शङ्का गर्नाले हुन्छ ।
– कुनै काल्पनिक र अलौकिक ईश्वरको भक्ति वा प्रार्थना गरेर मुक्ति मिल्छ भन्नू भ्रम हो ।
-भयबाट मुक्त हुनु भनेको मृत्युलाई जित्नु रहेछ । मृत्युलाई जित्नु भनेको आफैंलाई जित्नु रहेछ ।
– शरीरसँग खोजिने सुख नै दु:खको कारक हो ।
-मनको बत्ती बल्यो भने कुनै ठाउँ अँध्यारो हुन्न ।
– यो जगतमा त्यो मात्र खुशी छ, जसले जगतमा पूरै सुखी कोही छैन भन्ने बुझेको छ ।

बुद्धकालीन समयका कयौँ विषय र प्रसङ्ग छन् उपन्यासमा । पाठकलाई कयौँ कुरा नवीन अनुभूत हुन्छ ।

गहिरो अध्ययन नभई यति गहन उपन्यास लेख्न असम्भव छ । अनेक विषय, कथा र उपकथाहरूको समायोजन उत्कृष्ट र कलात्मक छ ।
एउटी आनीको कथा मात्र होइन तथागत । यो भित्र कयौँ भन्ते, लामा गुरु, झुमा र साना गुरुहरूको कथा पनि छ । बाहिरी जगतबाट छेलिएको गुम्बाको गहिरो कथा भेटिन्छ यसमा ।

तथागत सुखको खोजीमा दुःखको बाटो दगुरिरहेका कयौँ मान्छेहरूको स्पर्शी कथा पनि हो । उपन्यासको सुरुदेखि अन्तिमसम्म नै एक एक वाक्यले मनलाई स्पर्श गर्दै जान्छ । पाठक हराइरहेको हुन्छ कथामा ।
बुद्ध धर्ममा कोही अवतारी लामा हुँदैन र कुनै भिक्षु वा आनी प्रसिद्धिको मोहमा अल्झनु दुखद हो भन्ने कुरा पनि उपन्यासमा भेटिन्छ । संवादको शैलीमा रहेको प्रस्तुत आख्यानमा आख्यानकार अविरलले दर्शनको पिरामिड ठड्याएका छन् । लामो समय लगाएर मोबाइलमा नै लेखिएको यो उपन्यास यो समयको उत्कृष्ट कृति हो । तथागत यस वर्षको प्रतिनिधि आख्यान  बन्ने कुरामा म ढुक्क छु ।

आनी र भन्तेको दैनिकी, चिन्तन र उनीहरूको सिङ्गो जीवन पद्धतिलाई बुट्टा भरे जसरी आख्यानको निर्माण गरिएको छ ।
चितवनको माटोबाट निस्किएको  प्रस्तुत आख्यानले पुनः एकपटक नेपाली साहित्यमा तरङ्ग सिर्जना गर्ने कुरा निश्चित छ ।
अन्तत: तथागत हरेक पाठकको हृदय स्पर्श गर्न सफल हुने कुरा निश्चित छ ।  यो एउटा  गरुङ्गो पुस्तक हो ।
तथागतले सम्पूर्ण पाठकहरुको मन जित्न सफल रहोस् ।
हार्दिक शुभकामना ।

***

प्रतिक्रिया

सम्बन्धित खवर