वियोगी बुढाथोकी नेपाली गजल, मुक्तक, कविता र निबन्धमा परिचित नाम हो । काठमाण्डौ बुढानिलकण्ठका स्थायीबासी बुढाथ‍ोकी बिभिन्न बिधामा १६ कृतिहरू प्रकाशित छन् । राष्ट्रिय स्तरका दर्जनौ पुरस्कार सम्मानले सम्मानित उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानमा समेत प्राज्ञको रुपमा योगदान दिनुभएको अनुभव संगाल्नु भएको छ ।

उहाँको परिचयलाई मुखारित हुनेगरि भर्खरै उहाँको वियोगी व्यक्ति र कृति प्रकाशित भएको छ । यसै कृतिमा आधारित रहेर सम्मपादक जीवन खत्रीले गरेका पाँच प्रश्न र उहाँका जवाफ ।

१) वियोगी व्यक्ति र कृतिको बारेमा छोटकरीमा परिचय गराइदिनु होस् न जुन पढेर पाठक यस पुस्तक छनोटका लागि आफ्ना धारणा बनाउन सकुन् ।

– धन्यवाद प्रिय भाइ प्रश्नका लागि । वियोगी एउटा साधारण र सधैं लेख्न चाहना राख्ने काँठे स्वभावको साहित्यको साधारण विद्यार्थी हो । त्योभन्दा बढी मभित्रको मैले बुझेको वियोगीको बारेमा अरु नयाँ कुरा केही पनि छैन । झन्डै पाँच दशकदेखि कविता, गजल, मुक्तक र नियात्रामा पोखिँदै आएको छ वियोगी । सबैले देख्ने, पढ्ने, बुझ्ने हामीभित्रको समाजकै स्थिति र परिस्थिति हो । त्यसैलाई कविता, गजल, मुक्तक र नियात्रामा आफ्नै खाल्को अभिव्यक्ति अभिव्यक्त गर्न प्रयास गरिरहनेको हाराहारीमा उभिन खोजेका कारण वियोगीलाई पढ्न र बुझ्न सजिलो होस् भनेर वियोगी, व्यक्ति र कृति नामको एकै पुस्तक भए पुग्छ भन्ने मेरो बुझाइ हो । वियोगी को हो, के हो भनेर जान्न इच्छुकहरूको लागि आँखीझ्याल हो वियोगी व्यक्ति र कृति ।

२) झट्ट सुन्दा यो कृति कुनै कलेजको विद्यार्थीले थेसिसको लागि तयार गरेको सामग्रीजस्तो सुनिँदो रहेछ । तर भित्र अलि भिन्न छ भन्ने कुरा यहाँबाट जानकारी पाइयो । खासमा यस्तो कृति किन आवश्यक महसुस भयो ?

– विशेष गरेर मित्रहरू बुद्धिराज पाण्डे र तुल्सीराम पुडासैनीको सोचको परिणाम हो यो वियोगी व्यक्ति र कृति । वियोगीलाई कसैले कवि भनेर, कतिपयले गजलकार भनेर, केहीले मुक्तककार बुझेर, अन्य कतिले नियात्राकारको रुपमा चिने । चिन्नेहरूले शिवपुरी सन्देशको प्रधान सम्पादक र प्रकाशक मात्र विभिन्न कोणबाट चिन्न खोजेको चर्चा हामीभित्रै चल्यो । केही बसाइँ हामीले यस्तै चिन्तन गर्यौं । आखिर के हो त वियोगी ? कि केही पनि होइन ? बुझ्नेले यसरी पनि बुझेको हुनसक्छ, त्यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । यथार्थमा यस्तै प्रश्नैप्रश्नको बिचमा पाठक, चिन्तक र शुभचिन्तकहरू रुमल्लिइरहेको हुनसक्छ भन्ने हामी तिनै जनाको धारणा रह्यो । १६ वटा कृति प्रकाशन भइसकेका छन् । तिनका कतै न कतै टिकाटिप्पणी, समीक्षा र समालोचना भइसकेका छन् । तर अन्योल भने यथाबत नै छ को हो वियोगी रु व्यक्तिलाई चिनाउने काम, परिश्रम र सिर्जनानै हो ।

एक दिन केही मित्रहरू गोरखाको भच्चेक र वारपाक घुम्न निस्कियौं । यी प्रश्नहरू हामीसँगै साथमै यात्रारत थिए । प्रसंग उठाए बुध्दिराज पाण्डेले सबैको साँझ हुन्छ, साहित्यकार र साहित्यिकपत्रकारको साँझ किन नगर्ने ? राजकुमार बानियाँले थपें राम्रो प्रसंग उठाउनु भयो अब यसो गरौं दाइको जन्मदिन नजिकिदै छ । वियोगी साँझको कार्यक्रम गर्ने र हालसम्म प्रकाशित भएका कृतिहरू र वियोगीका बारेमा पत्रपत्रिकामा लेखिएका सम्भवसम्मका समीक्षा, टिप्पणी र समालोचनालाई केन्द्रमा राखेर वियोगीको परिचय, वियोगीमाथि काँठीय लोचन, मित्रवाणी, अनुजचक्षु, साहित्यकारिता, प्रकाशित भइसकेका कृतिमाथि विहङ्गमदृष्टि, वियोगी विविध, वियोगीका रोज्जा रचना राखेर वियोगी व्यक्ति र कृति प्रकाशन गरेर वियोगी साँझ मनाउने निष्कर्षमा हामी पुग्नुको परिणाम हो यो ।

प्रश्न ठिकै पनि हो वियोगीको बारेमा थेसिस लेख्न चाहनेको लागि त झन सुनमा सुगन्ध नै हो एक किसिमले एउटै थलो हो वियोगीः व्यक्ति र कृति ।

३) जिन्दगीको लामो समय साहित्य भनेरै बिताउनु भयो अझ सक्रिय हुनुहुन्छ । यहाँ जस्तै अरु थुप्रै लेखकहरू छन्, यसरी आफ्नो जीवन समर्पण गर्ने लेखकहरूलाई साहित्यिक संस्था, साहित्यकै काम गर्ने सरकारी निकायले यस्तो कृति प्रकाशन गरी स्रष्टालाई जीवन्त राख्ने कार्य गर्नु पर्ने हैन र ? कमजोरी साहित्यकारले त्यो उचाईमा लेख्न नसकेर हो कि, सम्बन्धित निकायले ध्यान नपुर्याएर हो ?

– प्रश्न समसामयीक र बहुतै सान्दर्भिक पनि छ । म आफूलाई त्यति माथि राख्न सक्ने हैसियत मैले बनाउँनै बाँकी छ । जेजति नाम चलेका र गुमनाम लेखकहरू छन् मभन्दा माथि शिखरमै छन् । म त बामे सर्दै छु भन्दा फरक नपर्ला । खोज्नु भो भने गुणस्तरीय र विश्व बजारमा देखिनु पर्ने कृति र कृतिकारहरू पनि नभएका होइनन्, छन् । तर त्यस्को मूल्यांकन गर्ने निकाय मौन छ । नयाँ सोच र हेर्ने दृष्टिकोणको कमी प्रशस्त मात्रामा हुनु हामी र हाम्रो साहित्यको लागि दुर्भाग्य हो । आस्थाको आधारमा त्यस्ता निकायमा भर्ति गरिन्छ, पदपूर्ति गरिन्छ अनि नुनको सोझो बाहेक अरु के हुन्छ ? निराशा र नैराश्यताको मनस्थिति बोकेर पनि केही पाउन होइन केही दिन लागिपर्ने साहित्यकार र साहित्यिक पत्रकारको कमी हामीकहाँ छैन । तर तिनलाई हेर्ने सम्बन्धित निकायको कमीकमजोरी भने औंल्याएर नसकिने खाल्का पीडादायी छन् । तर पनि पीडा सहेरै होस् कि भोकै बसेरै होस् सिर्जना कर्ममा लाग्नेहरूको कमी भने हामी कहाँ छैन । यो मेरो व्यक्तिगत विचार हो । साहित्य, साहित्यकार, साहित्यिक पत्रपत्रिका र साहित्यिक पत्रकार अर्थात् भाषा, साहित्य, कला र संस्कृतिलाई बुझ्ने सोच माथिल्लो पदमा विराजमान नभएसम्म यस्तै अवस्था झेल्नु पर्ने देख्छु म ।

४) कविता, गजल, मुक्तक र नियात्रामा कलम चलाइ रहनुभयो । लामो समय साहित्यिक पत्रकारिता गरिरहनु भएको छ । शिवपुरी सन्देश यसको उदाहरण हो । लेख्नु र पत्रकारिता गर्नुको भिन्नता के हुँदो रहेछ रु नेपाली साहित्यिक पत्रकारिताको अवस्था के छ नेपाली साहित्यको बजारमा छ ?

– म मेरा मनभित्र उठेका भावनाहरूलाई कविता, गजल र मुक्तकको माध्यमबाट अभिव्यक्त गर्दै आइरहेको थिएँ । समय समयमा घरदेशबाट परदेशसम्म जाने अवसरका ढोकाहरू समय समयमा खुल्न थाले । स्वदेशभित्रकै हिमाल,पहाड र तराईले साहित्यको विद्यार्थी भनेर बोलायो । स्वास्थ्य क्षेत्रमा कार्यरत रहेकाले स्वास्थ्य शिविर गर्ने अवसर दियो । मिलनसार स्वभावले नै होला साहित्यिक गतिबिधिमा लाग्न र प्रेरणा र प्रोत्साहनका अवसरहरू दियो । यता, त्यता र उता जाँदै गर्दा त्यहाँको वातावरण, परिस्थिति, प्राकृतिक सौन्दर्यता र समाजले भोग्नु परेको पीडाहरू छरपस्ट हुने गरी देखाउँदा कमलो मन पग्लियो । नजिकै बसेर छाम्न, बुझ्न र पढ्न पाएका कारण नियात्राका पानाहरू भरिन थाले । र, एउटा विधा थपियो नियात्रा ।

जहाँसम्म लेख्नु र साहित्यिक पत्रकारिता गर्नुको भिन्नता सम्बन्धि प्रश्न छ । मेरो व्यक्तिगत बुझाई के छ भने आफूले लेख्नु र सम्पादन गर्नु फरक स्वाद लिनु, दिनु हो । लेख्दा आफ्ना भावहरू छरपस्ट पार्ने चाहना हुँडलिएर आउँछ भने पत्रकारितामा पस्नु भनेको अर्काको भावनालाई छाम्न, बुझ्न र सम्पादन गर्न पाउनु हो । अतः मेरो बुझाइमा नयाँ रचनाको पहिलो पाठक र अदृश्य समीक्षक हो सम्पादक ।

सरकारले साहित्यिक पत्रिकालाई हुलाक सुबिधासमेत उपलब्ध नगराउनु नै उस्को हेर्ने दृष्टिकोण बुझिएला भन्छु म ।

५) यो कृति नपढ्दा कुनै पाठकले के छुटाउला । जुन कारण उसलाई पढ्नु परोस् ।

– वियोगीः व्यक्ति र कृति नढ्दा कसैलाई पनि केही फरक पर्दैन । तर एकै कृतिभित्र अटाएका, जान्न चाहेका एकै व्यक्तिको सिर्जना, रचना र धेरै जनाको विचार बुझ्न छुट्छ । एउटा व्यक्तिलाई जन्माउने काँठ, लेख्न प्रेरणा र प्रोत्साहन गर्ने समकालीन र अग्रजहरूको बुझाइ र भावना बुझ्न छुट्छ । यस्तै कृति प्रकाशन गरेर छुट्टै किसिमको माहोल तताउन गरिने साँझको महत्व छुट्छ ।

मलाई लाग्छ साहित्यकार र साहित्यिक पत्रकारको नाममा यो पहिलो साँझको आयोजना भएको हो भन्ने लागेकोले सो को बारेमा बुझ्न छुट्छ । केही न केही कतै न कतै सानो अंश छुट्दा थोरै मात्रामा भए तापनि केही अवश्य छुट्छ । केही गरौं भन्ने व्यक्तिको लागि थप हौंसला र प्रोत्साहन छुट्छ । वर्तमान साहित्यिक वृत्तमा क्रियाशील ४५ जनाको विचार पढ्न र बुझ्न छुट्छ । वियोगीका १६वटा कृतिभित्रका केही मुख्य अंश पढ्न छुट्छ । सम्पादक प्रोल्लास सिन्धुलीयको सम्पादनको क्षमता बुझ्न पढ्न छुट्छ । भुँडीपुराण प्रकाशनले राम्रै प्रकाशन गरेछ भन्ने छुट्छ । आयोजक बुद्धिराज पाण्डे, तुल्सीराम पुडासैनी, विष्णुबहादुर सिंह शंकर भारती र प्रकाश घायलले वियोगी साँझ गरेर केही नयाँ र नौलो काम नेपाली साहित्यमा उद्घाटन गरेकै रहेछन् भन्ने बुझाई छुट्छ ।

केही त अवश्य छुट्छ । वियोगीलाई नपढेका र पढ्न चाहनेहरूको चाहना छुट्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर