– हिरा लामा

आज  चाँडै उठेछु । उठेँ कि ब्युझेँ ? सायद म ब्युझेँ ।  किन ? थाहा छैन । नराम्रो सपना ? हैन । भोक, प्यास ? अहँ त्यो पनि हैन । मैले सारा बल मस्तिष्कको त्यान्द्रा त्यान्द्रामा पुयाएँ तर पनि म किन ब्युझेँ? थाहा पाउन सकिनँ । म एकछिनसम्म टोलाई रहेँ । निदाउन खोजेँ । सकिनँ । पटक्कै सकिनँ । त्यसपछि सिरानी नजिकको स्वीच “अन” गरे । बत्ती हाँस्यो । यस्तै लाग्यो । कोठा उज्यालियो । कोठा बत्ती भयो । अनि मलाई लाग्यो म जीवित छु त्यही भएर ब्युझेँ । दीप्त बल्वमा गति छ । सङ्घर्ष छ । प्रत्येक सेकेन्ड सेकेन्डमा करोडौ ,अरबौ गतिमान इलेक्ट्रोनहरुको सङ्घर्ष र त त्यसमा प्रकाश छ । प्रकाश छ अनि त्यसमा जीवन छ । म भित्र पनि गति छ । सङ्घर्ष छ । सङ्घर्ष छ र त जीवन छ । जुनदिन म भित्र सङ्घर्ष र गति शुन्य हुन्छ , त्यो दिन म रहन्न अर्थात् म कहिल्यै ब्युझने छैन ।
एकछिनसम्म यस्तै लागिरहयो । त्यसपछि मेरो दृष्टि सामुन्नेको भित्ते घडीमा गएर रोकियो तर रोकेन घडीको सुई । घुमिरह्यो अनवरत । दुई बजेको रहेछ, बिहानको । रात, दिन, बिहान, बेलुका सबै समयका अवयवहरु । अवयवहरु ? म एकछिनसम्म गमिरहें। समयलाई पनि टुका पार्न सकिन्छ र ? समय पदार्थ हो र ? आखिर समय के हो त ? वैज्ञानिकहरुले प्रतिपादन गरेको धारणा ? या अरु नै केही ? म एकैछिन ‘बिग ब्याङ् थ्योरी” तिर मोडिएँ । “प्रिमोर्डियल फायर बल” विष्फोटसँगै समयको जन्म भएको रे । त्यसपछि ब्रह्माण्डको विस्तारसँगै समय पनि ब्रह्माण्डको दिशामै दौडिरहेको छ रे । समय अचानक रोकिए यो विश्वको रुप कस्तो होला ? के भयो भने समयको अन्त्य हुन्छ ? साँच्चै समयको अन्त्य हुन्छ ? समयलाई उल्टो दिशामा दौडाउन सकिन्छ कि सकिदैन ? हामी भूतकाल मात्र सम्झन्छौ, त्यसमा प्रत्यक्ष प्रवेश किन गर्न सक्दैनौं ?  यस्तै यस्तै प्रश्नहरु आइरहे अनि म निरुत्तर रहें । उता सेकेन्ड सुई ‘टिक’ ‘टिक’ आवाजसँगै गतिमान थियो । घडीको सुईको हरेक फन्कासँगै म मेरो, भूतकालको जालो भित्र अल्झिन पुगेँ।अनि भिन्न भिन्न पात्रहरु तँछाड मछाड गर्दै मतिर गुर्गुर्ति दौडिदै आए । म अवाक् भएर हेरिरहें । यी कस्ता दृश्यहरु हुन् , आफ्नै अगाडि भएर पनि नभेटिने अनि देखेर पनि यिनका वर्तमानमा अस्तित्व नहुने । म एकछिन टोलाईरहेँ । सोचेँ –  मैले केले देखेँ त ? आँखाले ? मनले ? या त्यो देखाई  थियो / हो  एउटा भ्रम !

दृश्य १

“विश्व ! तिमी समयलाई बुझ्ने कोशिश गर ।” यो मेरो सुझाव थियो विश्वलाई ।

” म मान्छे बुझ्न चाहने र मन पराउने मान्छे हुँ ।” उसको प्रतिक्रिया ।
“मान्छे स्वार्थी हुन्छ । बुझेर बुझ्नै नसक्ने प्राणी हो, यो । ” म उसलाई बुझाउँदै थिएँ ।

“मान्छे स्वार्थी हुन्छ तर उसमा चेतना हुन्छ, विवेक हुन्छ ।” ऊ मलाई चेतनाको महत्त्व प्रष्ट पार्दै थियो ।

“ जे भए नि मान्छे भन्दा समय नै बलवान हुन्छ । ” म अझै समयलाई बलियो बनाउँदै थिएँ ।

ऊ अझै मान्छेकै बकालत गर्दै थियो ।

विश्वराजसँग भएको करीब बाह्र वर्ष अघिको यो संवादलाई अर्का दृश्यले विस्थापित गन्यो । अहिले ऊ कहाँ छ ? कुन रुपमा छ ? उसले कति मान्छेलाई चिन्यो ? मान्छेलाई कहाँसम्म बुझ्यो ? ऊ आफैँले आफूलाई कतिसम्म बुझ्यो ? कुनै दिन भेट भएमा उसलाई अवश्य सोध्नेछु ।

दृश्य २

यो दृश्यमा मैले लुसीलाई भेटें । लुसी मेरो औधि मिल्ने साथी । हामी एउटै वोर्डिङ्मा पढाउथ्यौ । यो दृश्यमा हामी दुवै नारायणी नदीको तीरमा छौं । बेलुकीपख । गोधुली साँझको समय ।
“घर अनि बोर्डिङ, बोर्डिङ् अनि घर….. ! बस् यति हो जीवन ? यो भन्दा अरु संसारै छैन ? म यस्तो यान्त्रिक जीवनदेखि थाकिसकेकी छु । आठ वर्ष भैसकेछु चक, डस्टर र ब्ल्याकवोर्डमा जीवन खोजेको पनि । जीवनमा कुनै परिवर्तन छैन । जहाँबाट हिँडेको थिए, त्यहीँ छु आज ।  जीवन झन् भासिदै गएको आभास हुँदैछ ।” लुसीले त्यो दिन नारायणीको सङलो पानीमा खुट्टा डुबाउँदै आफ्नो धमिलो अस्पष्ट जीवन व्यक्त गरेकी थिइन् ।

“परिवर्तनको पनि नियम हुन्छ । वस्तु र घटनाहरू बेढङ्ग र बेनियमसंग बन्दैनन् र घट्तैनन् । हामी आफ्नो यान्त्रिकताको परिधिलाई नाघ्ने हो भने हाम्रो अगाडि आइपर्ने जस्तो सुकै चुनौतिलाई पनि स्विकार्नुपर्ने हुन्छ । हो, तिमीले भने जस्तै हाम्रो जीवनमा परिवर्तन छैन किन भने हामीमा विद्यमान ‘कम्फोर्ट जोन’ त्याग्न सक्ने आँट छैन । बाँच्नको लागि बोर्डिङ्कै जागिर खानुपर्छ भन्ने छैन । बोर्डिङ्को जागिर छाडेको भोलिपल्ट के गर्ने ? थुप्रै विकल्पहरु छन् तर पनि हामीमा ती विकल्पहरु रोज्ने हिम्मत छैन किनभने हामीमा ‘कम्फोर्ट जोन’ को मानसिकता हावी भएको हुन्छ । “यदि रोजेको विकल्पमा असफल भइयो भने म त यता न उता हुन्छु ।” यो हिनताबोधको चक्रब्यूहबाट जबसम्म हामी बाहिर आउन सक्तैनौं, तबसम्म हामीलाई नवीनताको कुनै किरणले स्पर्श गदैन । ”

म उसलाई यसरी थमथमाउदै थिएँ, उनले थोरै प्रसङ्ग मोडिन् – “जागिर एउटा कुरा हो, शोषण अर्का कुरा ! फाउन्डरहरूले शिक्षकको मात्र शोषण गरेको छैन, अभिभावक तथा अन्य कर्मचारीहरुको पनि । वास्तवमा बोर्डिङ् भनेको त भाषालाई हतियार बनाएर शोषण गर्ने थलो पो रहेछ ।”

“तिमी अलि बढी नै बहकिएछौ । ” म सम्झाउन थालें , “जबसम्म यो दुनियाँ रहन्छ तबसम्म शोषक र शोषित वर्ग रहिरहन्छ । किन्ने र बेच्ने प्रथा चलिनै रहन्छ भलै तिनका नाम अलग अलग रहला । शोषणरहित समाज काल्पनिक समाज हो । म्याथमेटिक्समा इम्याजनरी नम्बर आई (i) भने जस्तो, जसको अस्तित्त्व वास्तविक संसारमा हुँदैन । ”

म उसलाई सम्झाउदै थिए, बीचैमा रोकी र भनी , ” ल ठिक छ । शोषण छ, शोषण छ भन्दैमा दासलाई जसरी दलाउन त मिल्दैन नि । ”

म लुसीलाई अझै सम्झाउन थालेँ , “तिमीले बुझेन छौ । हामी परिष्कृत दासहरु हौं । एक्काइसौ शताब्दीका दासहरु । यसमा हामीलाई , हाम्रो मनोविज्ञानलाई थोरै घुमाइदिएको हुन्छ र हामी पनि थाहै नपाइकन घुमिसकेका हुन्छौ । अर्को कुरा, हामी जस्ता जनशक्तिहरु आलुको भाउमा पाउँछ भन्ने भने कुरा उनीहरुलाई थाहा छ र यसकै फाइदा उठाउँछन् अनि हाम्रो नाडी छाम्दै दर भाउ तय गर्छन् ।”

“जे सुकै भए पनि अब बोर्डिङ्को जागिर गरिन्न । बरु विदेश जान्छु । ममीको सल्लाह पनि त्यही छ ।” उसले आफ्नो मनको भित्री तहबाट आफूलाई बाहिर निकाली । म अझै उनलाई सम्झाउदै थिएँ , “ तिमीले अझै बुझेनछौ । कुरा एउटै हो- देशभित्र बेचिनु र देश बाहिर बेचिनु । त्यहाँ पनि तिमीले आफ्नो श्रम बेच्नै पर्ने हुन्छ । अझ कतिपय ठाउँमा त ज्यानै पनि जोखिममा पार्नुपर्छ ।”

यो अन्तिम वाक्यपश्चात मेरो मानसपटलमा अर्को एउटा दृश्य अचानक आयो । दृश्य माओवादीले माडीमा गरेको बम बिष्फोटको थियो । त्यो दृश्य मैले ‘कान्तिपुर’ दैनिकमा देखेको थिएँ जहाँ लुसीले पनि आफ्नो ज्यान गुमाएकी थिइन् । पछि थाहा पाएँ उनी त्यस दिनको तेस्रो दिनमा इजरायल उड्दै थिइन् । यो दृश्य मेरो मस्तिष्कमा धेरै बेर सम्म रह्यो । मैले एकैछिन आँखा चिम्ले । निदाउन खोजेँ । सकिनँ । सक्दै सकिनँ । मस्तिष्कका नसाहरु तात्दै आएको अनुभव भयो । ओढिरहेको सिरक फालेँ , नजिकैको बोतलको पानी पिएँ र फेरि बेडमा पल्टिन आएँ । करीब पाँच मिनेटपछि त्यो दृश्यलाईअर्को दृश्यले विस्थापित गन्यो ।

दृश्य ३

(पुल्चोकको एउटा म:म पसल अनि चार पाँच जना केटाहरुको सम्वाद )

रातो टि-सर्टवाला – ‘पढेको सडेको हुन्छ भन्थ्यो, हो रहेछ यार ।”
कोक तान्दै गरेको उसकै नजिकको –  “त्यसले त हाम्रै बेइजत गन्यो नि !”

रातो टि-सर्टको सामुन्नेको – ” कम्तीमा एक वर्ष त कुर्न पर्थ्यो ।”
उसकै नजिकको – ” छाड्दे यार….! उसको आफ्नै खाले बाध्यता होला । अचानोको पीर खुकुरीलाई थाहा हुँदैन क्या !”

त्यसपछि आवाजहरु कताबाट आए, थाहा भएन तर आवाजहरु भने निरन्तर आइरहे ।

“कुचोले बढार्नु पर्ने धूलो हावाले उडाएको जस्तो देखिन आयो नि ! ”

“आफन्तहरुको दबाब होला नि । ”
“मैले त व्यक्तिगत निर्णय हो भनेको सुनेको छु । ”
“लभ म्यारिज थियो रे नि ”

“जस्तो म्यारिज भएपनि पहाड जस्तो, एक्लो जिन्दगी कसरी बाँच्ने ? विवाह गर्नु पर्ने नै छ भने किन ढिलो ?” भन्ने पनि सोच्यो होला ।
“यदि त्यो दुर्घटनामा त्यो टिचरको श्रीमती बाँचेर ऊ मरेको भए श्रीमतीले त्यस्तो कदम त्यति चाँडो चाल्न सक्थिन् र ? ”
“दोस्रो विवाह त के जीवनभर विधवा भएर बाँच्नु पर्थ्यो ।”

“आईमाई र लोग्नेमान्छे बीच यही त फरक छ ।”

‘छाड्दे यार, विधवा भएर बाच्ने दिन पनि गएछ । विदेशमा श्रीमान् मरेको थाहा पाएर पनि रासलिलामा डुब्दै हिँडेको, त्यतिले नपुगेर दुई महिना नबित्दै बिहे नैं गरेको यै आँखाले देखियो । समय धेरै छिटो कुछ क्या आजभोलि । धन्न, त्यो टिचरले त ६ महिना कुरेछ ।

“हामीलाई के को टाउको दुखाई भन्या । अरुले जे गरे नि । ”
“ह्या छाडदिऊँ यस्ता कुरा….। टपिक्स् चेन्ज गरौं । ”

” जाऊँ बरु हलतिर सलमानको ‘वान्टेड’ चल्या छ, सुपर डुपर हिट छ रे ।”

यो दृश्य पनि मेरो मस्तिष्कबाट धेरै बेर सम्म हटेन । जानी जानी भुल्न चाँहे तर त्यसो भएन । अनि अरु कुनै दृश्य पनि सल्बलाउन आएन । एकछिन सम्म टोलाई रहेँ । घरि विचार शून्य भएँ, घरि नानाथरीका बिचारहरु म भित्र द्वन्द्र गर्न आए । को होला त्यो शिक्षक ? को होला ती महिला ? धेरै बेर यो दुइटा प्रश्नले मलाई चिमोटी रह्यो । के नै रहेछ र जीवन ? फगत पानीको सानो एउटा रङ्गीन फोका । फोका फुट्यो, रङ्ग हरायो अनि जीवन समाप्त भयो । एउटा रङ्गको अस्तित्व समाप्त भयो । अनि अर्को रङ्गले अर्कै रङ्गको खोजी गन्यो, अर्कै रङ्गतिर आकर्षित भयो, दुवैको भेट भयो अनि दुबै रङ्ग एउटै रङ्गमा विलय भयो । बस् यही त रहेछ  जीवन । मैले आफूलाई त्यो शिक्षक र त्यो केटीको स्थानमा उभ्याएँ । तर खै किन किन मैले उनीहरुले लिए जस्तो निर्णय लिन सकिनँ । म त्यो शिक्षक, त्यो केटी बन्न सकिनँ ।
त्यसपछि खै किन हो, म उकुसमुकुस भएछु । हात सिरकबाट बाहिर झिकेँ, लामो पारें र अनि स्वीच प्याट्ट पारेँ । अँध्यारो छायो कोठामा । पानीको रङ्गीन फोका फुटे झैं लाग्यो । म झन् डराएँ । अँध्यारोदेखि मलाई डर लाग्छ । सानैदेखि यस्तै थिएँ रे !  सुत्ने बेलामा बत्ती नभए म रुन्थे रे । अँध्यारो जीवन हैन, मृत्यु हो जस्तो लाग्छ  मलाई ।  मृत्युदेखि मलाई खै किन हो डर लाग्छ । अस्वाभाविक र अप्राकृतिक मृत्युदेखि त झनै डर लाग्छ । मान्छे किन सधै बाँच्न सक्दैन ? एउटी आमाले ‘डिजिज प्रुफ’ बच्चा किन जन्माउन सक्दैन ?
दुई महिना अघि त हो बुवाले हामीलाई छोडेर जानू भएको ! पाउनु र गुमाउनुको नियम थाहा नभएको हैन । तैपनि म त्यो रात धेरै रोएँ । बुबालाई गुमाएपछि मैले सबै कुरा गुमाएँ जस्तो लाग्यो । चारैतिर अध्यारै अँध्यारो छाएको अनुभव भयो । मैंले बुबा गुमाएँ । मैंले बुबा गुमाएँ कि बुबाले मलाई ? शायद दुवैले दुवैलाई । मैंले त बुबालाई गुमाएँ तर बुबाले त संसारै गुमाउनु भो तैपनि रुन चाहि म एक्लै रोइरहें । बुबालाई गुमाउनुको पीडा धेरैदिन सम्म मभित्र दुखिरह्यो र रहिरहनेछ ।
निद्रा अझै छैन । छाती भारी भयो । निमोनियाले च्यापेको छाती जस्तो भयो मेरो छाती । बुबाको मृत्युलाई अझै पनि आत्मासाथ गर्न नसकेको जस्तो लाग्यो । ‘बुबा कतै जानुभएकोछ, घर फर्किन मात्र ढिलो भाएको हो’ जस्तो लागिरह्यो । लागिरहेको छ । थाहा छ यो एउटा मीठो भ्रम मात्र हो । यो भ्रमलाई चिर्न अझै सकिरहेको छैन । कता कता लाग्यो मान्छे भ्रममा बाँच्दो रहेछ । भ्रमको सहारामा बाँच्दो रहेछ । मान्छे भ्रममा बाच्ने प्राणी रहेछ ।  मिलन विछोड, प्राप्ती- समाप्ती, विजय पराजय, मित्रता, माया, मोह, त्याग, समर्पण, आमा, बुबा, दाजुभाई, श्रीमती, श्रीमान् अनि अनेकौ यस्तै सम्बन्धहरु भ्रमकै अनेकन् रुपहरु हुन् । यस्तै लाग्यो । ‘मसँग सबै चीज छ ” एक भ्रम । ” मसँग केहि पनि छैन ” अर्को भ्रम । ” म जे पनि गर्न सक्छु । ” एउटा भ्रम । ” म सकिएँ, म क्यै पनि गर्न सक्तिनँ !” अर्को भ्रम । समग्रमा जीवन भ्रमहरुको थुप्रो हो जस्तो मात्र लाग्यो ।

मान्छे भएर मान्छे बुझ्न चाहने विश्वराजलाई मान्छेले नै भ्रममा पारेको हो जस्तो लाग्यो । बोर्डिङ्को जागिरमा जीवन नदेख्ने र विदेशी डलरमा राम्रो जीवन देख्ने लुसीलाई आफ्नै भ्रमले खाएको हो जस्तो लाग्यो । अनि बस दुर्घटनामा आफ्नो श्रीमती गुमाएको ६ महिना नबित्दै अर्की श्रीमती भित्र्याउने त्यो शिक्षक पनि “एक्लै बाँच्न सकिन्न” भन्ने भ्रममा परेको जस्तो लाग्यो अनि विदेशमा आफ्नो श्रीमान् मारिएको त्यो महिला पनि त्यो शिक्षकको जस्तै भ्रममा परेको जस्तो लाग्यो ।

मोवाइलको स्वीच अन गरें । मोवाइलमै समय नापेँ । चार बज्न थालिसकेको रहेछ । निद्रा अझै छैन । के गरौं, के नगरौं भैरह्यो । बत्ती बाल्न मन लाग्यो । स्वीच अन गरेँ । फेरि  कोठा उज्यालो भयो ।  बाहिर गएँ । आकाशतिर दृष्टि फिजाएँ । अनगिन्ति ताराहरु चम्किरहेको देखें । लाखौ लाख यी ताराहरु देख्ने वित्तिकै म भित्र थुप्रै प्रश्नहरु मडारिन थाल्यो । यो अनन्त ब्रहमाण्डको उत्पत्ति, सौर्य मण्डलको उत्पत्ति, पृथ्वीको उत्पत्ति, अनेकौ प्रजातिका प्राणी र वनस्पतिका उत्पत्ति मान्छेको उपस्थिति मेरो मस्तिष्कले सोच्नै सक्तैन म फेरि एक पटक ‘विग ब्याङ् थ्योरी’ तिरै फर्कन्छु । हो जस्तो पनि लाग्छ । हैन जस्तो पनि लाग्छ ।

म भगवान् सम्झन्छु । यो सबै लीला भगवान् कै खेल् हो जस्तो लाग्छ । भगवान् छ जस्तो पनि लाग्छ, छैन जस्तो पनि लाग्छ । भगवान् छ, कम लाग्छ, छैन बढी लाग्छ । फेरि कताकता विज्ञानको सिद्धान्त र भगवान्‌को सिद्धान्त दुबै भ्रम मात्र हो जस्तो लाग्छ । विज्ञान र भगवानलाई एकै ठाउँमा उभ्याएर हेर्छु । दुवै हेराहेर गर्छ र हाँसेको पाउछु । दुवैको बीचमा मान्छे लगेर उभ्याइदिन्छु । मान्छे विज्ञानतिर फर्कन्छ र भगवान तिर  देखाउँदै भन्छ- यसको छुट्टै वास्तविक अस्तित्व छैन । यो मेरो मस्तिष्कको उपज मात्र हो, मेरो विचारको उत्पादन मात्र हो । जुन दिन मान्छे सकिन्छ भगवान पनि सकिन्छ तर विज्ञान त अघि बढि नै रहन्छ ।” मान्छेको कुरा हो कि झैं लाग्यो ।

फेरि म डार्विन बुढा सम्झन्छु । उसको ‘ओरिजिन अफ् स्पेसिज्’ सम्झन्छु । यो भ्रमको एउटा ठूलो किताब मात्र हो जस्तो लाग्छ । म  स्टेफिन सम्झन्छु । उसको “ब्रीफ् हिस्ट्री अफ् टाइम” र ‘बेवी यूनिभर्स’ सम्झन्छु । दुवैको मस्तिष्क देखि मलाई ईर्ष्या लागेर आउँछ । म एडविन हबल सम्झन्छु र उसको टेलिस्कोप सम्झन्छु । टिलपिल टिलपिल गरी चम्किरहेका यी ताराहरु ठूलै गतिले ब्रह्माण्डको अज्ञात ठाउँतिर भासिदै छन् रे । ताराहरु पनि विष्फोट हुन्छन् रे सूर्य पनि आफ्ना सदस्यहरु लिएर आकाशगङ्गाको चक्कर लाउछ रे ! अर्थात् पृथ्वी पनि खै कता हो कता सूर्यसंगै अनन्त ब्रह्माण्डको एउटा कुना खोज्दै भाग्दै छ रे । यात्रा हो, शुरु भएपछि अन्त्य हुन्छ नै । यस्तै लाग्छ । एकदिन पृथ्वीको यो अनवरत यात्रा समाप्त हुन्छ । त्यो यात्रा सूर्य सकिनु अगावै पनि हुन सक्छ । सूर्य सकेपछि त सबै सकिहाल्यो नि । माया क्लालेन्डरको चर्चा, नोत्रेदामसको भविष्यवाणी, सन् साइकल, पृथ्वीको ध्रुव परिवर्तन, आकाशीय पिण्डको आक्रमण अनि २०१२ डिसेम्बरको चर्चा सम्झन्छु । अर्थात् पृथ्वी एक दिन सकिनेछ । कुनै न कुनै कारणले । अनि विलिन हुने छ यस अनन्त ब्रह्माण्डमा । यसको अस्तित्व समाप्त हुनेछ । उफ्… त्यो क्षण कस्तो हुन्छ होला ? म सोच्नै सक्तिनँ । मलाई मेरो बुबाको मृत्युले भन्दा पृथ्वीको मृत्युले पोल्न र गाल्न थाल्छ । मृत्यु भैसकेको मेरो बुबा भन्दा जीवित , यो हराभरा पृथ्वीको मायाले मलाई च्याप्दै ल्याउन थाल्छ । बुबाको मृत्यु सामान्य लाग्न थाल्छ । म माथि आकाशतिर हेर्न सक्तिनँ । म मेरो  प्यारो धर्ती , प्यारो माटोतिर हेर्छु । अन्धकार पाउँछु । टुसुक्क बस्छु अनि छाम्छु म मेरो धर्तीलाई । म  सुगन्ध आइरहेको पाउँछु । मन खुशीले ढक्क फूल्छ र कोठाभित्र प्रवेश गर्छु ।

कोठाभित्र प्रवेश गरेपछि म टि.भी. ‘अन’ गर्छु र देख्छु एउटा  अपत्यारिलो समाचार ‘ आजतक ‘ च्यानलले फुकिरहेको !  मलाई विश्वास लाग्दैन । एकजना व्यक्तिलाई पाँच छ जना पुलिसहरुले पुलिस भ्यानमा लगिरहेको देख्छु । उसको अनुहार कालो कपडाले छोपेको हुन्छ । शारीरिक बनावट र उचाईले समाचारले भनेको व्यक्ति उ नै हो जस्तो लग्छ ।  ‘बलत्कारले के बाद हत्या’ को शीर्षकको समाचारमा ” नेपाल के  विश्वराज क्षेत्री ने ……बालत्कार किया और उस के बाद हत्या ..”  यो समाचारमा विश्वराजलाई अभियुक्त बनाईएको हुन्छ । के त्यो व्यक्ति उनै विश्वराज हुन् ? विश्वराज  अर्थात मेरो साथी ? मान्छे भएर मान्छे जान्न चाहने साथी ? अहँ  , हैन । त्यो मेरो साथी विश्वराज हैन । त्यो अर्कै विश्वराज होस् !  मैले अचानक भगवान् सम्झेँ । प्रार्थना गरेँ , भगवानलाई । त्यसपछि भगवान छ जस्तो लाग्यो । एकछिन सम्म दिमाग भाउन्न भैरह्यो अनि  टि भी बन्द गरेँ  र सम्झेँ भोलिदेखि सेण्डअप् परीक्षा छ, सातै बजे स्कूल पुग्नुपर्छ । त्यसपछि ‘एकैछिन भएपनि निदाउन पर्छ’ भन्ने सोचले म सिरक भित्र गुटमुटिएँ ।

***

अगष्ट २०११ , भरतपुर चितवन

प्रतिक्रिया

सम्बन्धित खवर