
– गोविन्द नेपाल
मृत्युसँग
आमनेसामने भएँ म
अचानक अस्ति !
आवेशमा
मैले त्यसको कठालो समातेँ
दुई थप्पड लगाएँ
र गलहत्याएँ ढोकाबाट
त्यो मेरो ढोकासम्म
चिहाउन आएथ्यो
त्यसअघि पनि
कैयन पटक
त्यसले मलाई पछ्याएथ्यो
भद्दा मजाक गरेर
मलाई जिस्क्याएथ्यो
मैले वास्तै गरिनथेँ
आज घोक्राएर निकालेँ
ढोकाबाट !
खुसीको सम्मेलनमा व्यस्त मलाई
त्यसको गनगन सुन्नु थिएन
त्यसको मुखै हेर्नु थिएन
बरु लागेको थियो
त्यसको हत्या नै गरिदिउँ
अफसोस् निहत्था थिएँ म
फगत कठालो समातेँ
दुई थप्पड लगाएँ
र गलहत्याएँ ढोकाबाट !!
***
प्रतिक्रिया
-
४