– सबिता केसी

मुक्तक १
उड सानू अब तिमी क्षितिज छुनुछ
भुईँ मान्छे भन्दा केही माथि त हुनुछ
जति गरे नि सङ्घर्ष, मृत्यु सत्य रहेछ
पृथ्वीमा लागेको मैलो पृथ्वी मै धुनुछ

मुक्तक २
व्यवहारले धमिलिन्छ मन दर्पण अपुरो
मुखले ठिक्क कामले दिक्क, अर्पण अपुरो
बाँच्दा पनि मर्दा पनि सुख छैन, दुःखीलाई
अभाव र ईर्ष्या दुवै भएर तर्पण अपुरो

मुक्तक ३
बेलाबेला द्वन्द्व भए उर्ले जगत सारा
गोली चल्यो छातीमाथि बग्यो रगत सारा
आउन त लोकतन्त्र गणतन्त्र सबै आयो
तर उल्टो नीति बन्यो, भयो फगत सारा

मुक्तक ४
जति होउन् सुरक्षा सबै एकै ठाउँ गयो मुकुट खेर
राज खलक नाश हुँदा पत्ता नलाग्ने हाम्रो देश हेर
हिउँद लाग्यो फुर्सद भयो यसै बेरोजगारी जनता देशका,
हत्यारा नै छन् राज्य गर्ने बन्धुत्व मास्ने चाहिएको फेर

मुक्तक ५
दुःख नपाई मुग्लान को पस्छ र ?
घर छाडेर जङ्गल को बस्छ र ?
दुई छाकको अभाव नहुँदो हो त
कुनै माछा बल्छीमा किन फस्छ र ?

***

***

प्रतिक्रिया

सम्बन्धित खवर