मूलकवि, नीमा हसन 

गाजामा, आमा निदाउँदिनन्
उनी अन्धकारलाई कान लगाएर सुन्छिन्
त्यसको किनारलाई जाँच्छिन्
त्यसबाट आउने आवाजलाई चिनेर
प्रत्येक आवाजलाई एक एक गर्दै छान्छिन्
कि सुनाउन सकियोस् सुत्नुअघि बच्चाहरूलाई
उपयुक्त र उपयोगी कहानीको लोरी ।

जब हरेक सुतिहाल्छ
उभिन्छिन् मृत्युको अगाडि ढाल बनेर ।

गाजामा, आमा रुँने गर्दिनन्
उनले डर, रिस र प्रार्थना सबथोक आफ्नो फोक्सोमा जम्मा गर्छिन्
त्यतिन्जेल साँस रोकेर पर्खिन्छिन्
जबसम्म समाप्त हुँदैन युद्धविमानको कोलाहल ।

गाजामा, आमा अरू आमाहरू जस्तो होइन
उनी आफ्नो आँसुको ताजा नुनले
आटा मुछेर रोटी पकाउँछिन्
र आफ्ना बच्चाहरू
पस्किदिन्छिन् मातृभूमिलाई ।

***

प्रस्तुत कविता कवि तथा अनुवादक चन्द्र गुरुङले अनुवाद गरेेे हुन् । उनका ‘जब एउटा मान्छे हराउँछ’ अङ्ग्रेजीमा ‘फादर फेस’ लगायत चर्चित कविता सङ्ग्रहहरू प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर